भीमदत्त पन्तको ७२औँ स्मृति दिवस

काठमाडौं : आज श्रावण १७ गते भीमदत्त पन्तको ७२औँ स्मृति दिवस हो । भीमदत्त पन्तले समाज सुधार, जातीय विभेदको अन्त्य तथा किसान–मजदुर वर्गको मुक्ति र अधिकार स्थापनाका निम्ति गरेका संघर्ष, त्याग र बलिदानले नेपाली समाजमा क्रान्तिकारी परिवर्तनको निम्ति जग बसाल्ने काम गर्‍यो। सहिद पन्तको अमूल्य योगदानले सबै परिवर्तनकामीहरुलाई समतामूलक, न्यायपूर्ण समाज निर्माणको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गर्दछ । “ कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो ” भन्ने सहिद पन्तको मुख्य नारा थियो ।

भीमदत्त पन्तको जन्म तारानाथ पन्तका छोराका रूपमा डडेलधुराको घटाल कारीगाउँमा (हाल अमरगढी न.पा.१०) मा वि.सं.१९८३ साल मंसिर १० गते सरस्वती देवीको गर्भबाट भयो। १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याट्रिक पास गर्नु भयो । डडेल्धुराको विरखन भन्ने ठाउँमा संस्कृत पाठशाला खोल्नु भयो । त्यसपछि उहाँले तल्लो सोरड र रूपालमा पनि पाठशाला खोल्नु भयो । २००१ सालमा भारत पढ्न गएका पन्त अङ्ग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुट्नु भयो । उहाँले डडेल्धुराको शैक्षिक विकास एवं सामाजिक परिवर्तनका लागि प्रमुख भूमिका निर्वाह गर्नु भएको थियो । उहाँले दलितहरूको घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा गर्नु भएको थियो ।

भीमदत्त पन्तको विवाह ११ वर्षको उमेरमा पार्वतीदेवी (ईश्वरी)सँग भयो। पार्वतीदेवीबाट भीमदत्तका दुई छोरा र एक छोरी जन्मे पनि कोही जीवित रहेनन्।

लेखक रतन भण्डारीले भिमदत्त पन्तबारे भन्नु हुन्छ – “ नेपाल फर्केर २००७ सालमा नेपाली कांग्रेस पार्टीको सशस्त्र आन्दोलनमा सहभागी हुनु भयो । नेपाली काँग्रसको नेपालगञ्जबाट गएको मुक्ति सेनाको टोलीमा कञ्चनपुरको बेलौरीबाट उहाँ संलग्न हुनु भयो । उहाँ डडेल्धुराको बडाहाकिम बन्नु भयो । तर त्रिपक्षीय दिल्ली सम्झौता भएर काँग्रेसले हतियार बिसाए पछि भिमदत्त पन्तले हतियार बिसाउन मान्नु भएन । उहाँलाई पक्रिएर काठमाडौं ल्याइयो । ५–६ महिना थुना पछि उहाँ मुक्त हुनु भयो । उहाँले प्रजापरिषदको सदस्यता पनि लिनु भएको थियो । उहाँ वाम विचारको नजिक हुनु भयो । उहाँलाई काठमाडौंबाट गएको टोलीले गिरफ्तार गरी हत्या गरेको थियो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै हुनुहन्थ्यो । नेता पन्तले त्यति बेलाका गरीब सर्वसाधारणले नुन समेत खान नपाएको देखेर नुन आन्दोलन समेत गर्नु भएको थियो । कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरीबहरूलाई नुन वितरण गर्नु भएको थियो ।” उहाँको टाउको काटी डडेलधुराको चोकमा झुन्ड्याइएको थियो । भिमदत्त पन्तको मृत्युले पुरै गाउँ शोकमा ढुबेको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?