यसकारण भ्रष्टाचारविरुद्ध अभियान

शशिधर भण्डारी
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भर्खरै जनसम्बन्ध विस्तारको अभियान समापन गरेको छ । देशका ६० भन्दा धेरै जिल्लामा सञ्चालित ४५ दिने लामो जनसम्बन्ध विस्तार अभियानले देशको वस्तुस्थिति बुझ्न र जनताको प्रतिक्रिया बुझ्न निकै सहयोग पु¥याएको छ । मेचीदेखि महाकालीसम्मका पहाडका सुन्दर वस्तीहरु रित्तिदै छन् । नेपाली समाजमा बेरोजगारी समस्या एउटा जटिल समस्याका रुपमा रहेको छ । त्यसैले नेपाली युवाहरुको मात्र होइन युवतीहरुको समेत रोजगारीको गन्तव्य भारत तथा खाडी मुलुक हुने गरेका छन् । नेपाली समाजको तल्लो तहका जनताको अवस्था अत्यन्त दयनीय छ । भारत र विश्वको श्रमबजारमा सबभन्दा निम्न स्तरको काम कम तलवमा गर्ने जाति नेपाली जाति भएको छ । देशमा दलाल तथा नोकरशाही पूँजीपति वर्गले नेतृत्व गरेको भ्रष्ट तथा जनबिरोधी व्यवस्था छ । यो देशमा घुस बेगर एउटा जग्गा पाससम्म हुँदैन । यातायात व्यवसायीले नियामक संस्थालाई महिनावारी घुस बुझाउनुपर्छ । पैसा खाएर चालक लाइसेन्स बाँडिन्छ । नेपालको समग्र बजेटको करिब २० प्रतिशत मात्र विकासमा छुट्याइन्छ । त्यसमा ११ महिनामा ४० प्रतिशत मात्र काम भएको छ । बाँकी ६० प्रतिशत बजेट यही असारको एक महिनामा हाटहुट टालटुल गरेर सिध्याइन्छ । सरकार, व्यवस्था, संविधान जे फेरिए पनि यो मुलुकमा हाटहुट र लाटलुटको भ्रष्ट संस्कृति न्यूनीकरणसम्म भएन । अब त जनतामा सचेतना जागृत भएको छ । हामीले जनसम्बन्ध विस्तारको अभियानका दौरान जनतालाई भ्रष्टाचारको अखडाहरुको बारेमा बुझ्न खोज्यौं । जनताले हामी भन्दा अगाडि बढेर बताए– मालपोत कार्यालय, अदालत, प्रहरी प्रशासन, वडा कार्यालयदेखि सिंहदरबार भ्रष्टाचारका अखडा भएको बताए । तिनीहरुले कर्मचारीतन्त्र भनेको सबभन्दा भ्रष्टतन्त्र भएको बताए । नेतासँगको सेटिङमा डरलाग्दा भ्रष्टाचार हुने गरेको बताए । गाउँमा मिटरब्याजको चक्रिय शोषणमा परेर धेरैको उठिबास भएको रहेछ । सहकारी पीडितका कथाव्यथाहरु त्यत्तिकै कारुणिक छन् । सरकार किसानमुखी छैन । असारे विकासमा भ्रष्टहरु काम गरे जस्तो गर्ने र बिल भर्पाई मिलाएर खाने ध्याउन्नमा छन् । जनता यूरिया र डिएपी मलको एउटा बोरा नपाएर ओठमुख सुकाएर बसेका छन् । ‘देशमा आएको विकासको पैसा नेता, ठेकेदार र प्राविधिक कर्मचारीको पोल्टामै जान्छ’– तिनीहरुले अलपत्र योजना देखाउँदै बताए ।

नेपाल विश्वको सबभन्दा धेरै भ्रष्टाचार हुने मुलुकहरुमध्ये एक हो । दक्षिण एसियाको सबभन्दा भ्रष्ट मुलुक हो । त्यसकारण हाम्रा उत्तर दक्षिणका मुलुकले त्यति ठूलो समृद्धि प्राप्त गर्दा हाम्रो मुलुक थप विपन्न र परनिर्भर हुँदै गएको छ । नेपालको इतिहासको लामो कालखण्डबाट नेपालमा व्यापक रुपमा भ्रष्टाचार हुँदै आएको छ । वीर शमशेरको पालादेखि नेपालको पैसा विदेशी बैंकमा राख्ने प्रचलन शुरु भएको हो । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको सोह्र वर्ष भयो । लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दश वर्षको अवधिको अध्ययन गर्दा नेपालमा भ्रष्टाचारजन्य क्रियाकलाप घट्ने होइन झन् बढ्ने गरेका तथ्यांकहरु सार्वजनिक भएका छन् । भ्रष्टाचारजन्य क्रियाकलापका कारण देशका केही एलिटहरु झन्पछि झन् सम्पन्न हुँदै गएका छन् । तर आमजनताको अवस्था अरु दयनीय भइरहेको छ । सामान्य कामका लागि घुस खानदेखि लिएर ठूला–ठूला तस्करीका धन्दा चल्ने मुलुकका रुपमा नेपाल बदनाम छ । राज्यसञ्चालनको नेतृत्वमा रहेका नेताको सेटिङमा नेपाल मानव तस्करी, सुन तस्करी, रक्तचन्दन तस्करी, गैंडा र सर्पको छाला तस्करी, लागूऔषधको तस्करीलगायत धन्दाका लागि एउटा अखडाका रुपमा परिणत भएको छ । समुन्नत भनिएको लोकतान्त्रिक गणतन्त्रमा समेत बत्तोत्तरी पाएको भ्रष्टतन्त्रले देशको अवस्थालाई बर्बाद बनाउँदै गएको छ । देशमा एउटा सञ्जालका रुपमा तलदेखि माथिसम्म झांगिएको भ्रष्टाचार तथा तस्करीतन्त्रको अन्त्यबिना मुलुकले टाउको उठाउन नसक्ने अवस्था सिर्जना भएको छ । नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सतर्कता केन्द्र जस्ता नियामक संस्थाहरु पनि छन् । कतिपय भ्रष्टाचारका प्रश्नमा मुद्दा चलाएको जस्तो देखिन्छ । तर एकातिर ‘जो रक्षक उही भक्षक’ को अवस्था छ । जस्तो ती नियामक संस्थाको कतिपय अधिकारहरु नै घुसकाण्ड र भ्रष्टाचारको अभियोगमा परेका छन् । कतिपय यी नियामक संस्थाले मुद्दा चलाएका भ्रष्टहरुलाई अदालतले उन्मुक्ति दिएका उदाहरण छन् । अदालत भनेको अन्तिम न्यायिक निकाय हो । त्यही निकाय नै भ्रष्टाचारमुक्त नभएको देखिन्छ । कैयौं मुद्दाहरु अदालतले आर्थिक प्रलोभनको जगमा उभिएर फैसला गर्छ भन्ने प्रतिक्रियाहरु आइरहन्छन् । त्यसअन्तर्गत अफताव आलम प्रकरण यसको पछिल्लो उदाहरण हो ।

देशको यो गम्भीर अवस्थालाई मध्यनजर गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले यही जेठ ५ गते भ्रष्टाचार विरोधी अभियान सञ्चालनको उद्घाटन गरेको छ । यही जेठ ५ गते भ्रष्टाचार बिरोधी अभियानको उद्घाटनको क्रममा देशका अधिकांश जिल्लाहरुमा कोणसभाहरु सम्पन्न भएका छन् र प्रत्येक जिल्लामा भ्रष्टाचारजन्य क्रियाकलाप, महंगी, किसान मजदुरका समस्या, दलाल तथा बिचौलियाहरुको जनबिरोधी क्रियाकलाप, भारतबाट अवाञ्छितरुपमा आइरहेको विषादीयुक्र फलफूल, तरकारी, मिटरब्याज पीडित, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचार, पर्यावरणीय मापदण्ड विपरीत स्थापना गरिएका सिमेण्ट तथा क्रसर, उद्योगले फ्याँक्ने धुलोका कारण मानव स्वास्थ्यमा पारेको गम्भीर नकारात्मक असर, मुक्त कमैया, कम्लरी, भूमिहीन तथा अव्यवस्थित बसोबासी गरिबहरु, हरुवा चरुवा तथा हलियाका समस्या, युवा बेरोजगारी, अवैज्ञानिक तथा गैर उत्पादनमूलक शिक्षालगायत विषयलाई उठाएर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले प्रत्येक जिल्लाका जिल्ला प्रशासन अधिकृतलाई ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले यो भ्रष्टाचार बिरोधी अभियान पहिलेको जनसम्बन्ध विस्तार अभियानमा प्राप्त सूचनाको जगमा टेकेर अगाडि बढाउँदैछ र पार्टीले सेवाप्रदायक भनिएका प्रत्येक कार्यालयको सूक्ष्म अनुगमन गर्नेछ र प्रमाणसहित वर्तमान सरकारको प्रशासनलाई कारवाहीका लागि माग गर्नेछ । सरकार यो प्रश्नमा गम्भीर भएन भने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ता भ्रष्टहरुलाई शान्तिपूर्ण जनकारवाही गर्न बाध्य पनि हुनुपर्नेछ ।

२०८१ मंसिर १३ देखि २३ गतेसम्म सम्पन्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ऐतिहासिक एकता महाधिवेशनले जनसंघर्ष, प्रतिरोध संघर्ष र सशस्त्र जनबिद्रोहको राजनीतिक लाइन पारित गरेको छ । अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल शान्तिपूर्ण जनसंघर्षको प्रारम्भिक चरणमा छ । यो परिदृश्यमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दश वर्षे माओवादी जनयुद्ध र ऐतिहासिक १९ दिने जनआन्दोलनबाट प्राप्त सीमित उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नपर्ने कुरामा पनि सचेत र सतर्क छ । प्रतिगमनको खतराका विरुद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी अग्रमोर्चामा रहेर संघर्ष गर्दै पनि आएको छ । तर प्रतिगामी खतराको हाउगुजीमा वर्तमान भ्रष्ट दलाल संसदीय व्यवस्थाले सिर्जना गरेको कुशासनका बिरुद्धको संघर्षलाई पनि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लगातार अगाडि बढाउने नीतिलाई नजरअन्दाज गर्न सक्दैन । आजको दलाल संसदीय व्यवस्थाले भ्रष्टाचार र कुशासनलाई सुधार गर्न चाहेन भने पार्टी शान्तिपूर्ण तर जुझारु जनसंघर्षको दिशामा अगाडि बढ्नेछ । त्यति गर्दा पनि आजको शासनसत्ता र राज्य सत्तामा सामान्य सुधार भएन भने पार्टी जुझारु जनसंघर्ष प्रतिरोध संघर्ष हुँदै अगाडि बढ्नेछ ।

यो व्यवस्थाले सिर्जना गरेको भ्रष्टाचार, लुटतन्त्र समग्रमा जनबिरोधी कुशासनको विकल्प प्रतिगमन या राजतन्त्रको पुनःस्थापना हुन सक्दैन । राजतन्त्र नेपाली जनताले भोग्दै आएको अझ ठूलो भ्रष्ट, निरंकुश तथा तानाशाही प्रकारको कुशासन हो । आजको यो व्यवस्थाले सिर्जना गरेको कुशासनको विकल्पमा केही जनताले राजतन्त्रको पुनःस्थापना देखेका छन् । केहीले राष्ट्रिय स्वतन्त्र पार्टी पनि देखे । यो सामान्य छिपछिपे चिन्तनप्रणालीमा आधारित दृष्टिकोणको परिणाम हो । राजनीतिमा उपस्थित कुनै पनि समस्याको समाधानको विकल्प अग्रगमन हुन्छ प्रतिगमन हुँदैन । यो नै इतिहासको सच्चाई हो । देशलाई सकारात्मक संक्रमणको दिशामा अगाडि बढाउन राजतन्त्रसित हिंजो के एजेण्डा थियो ? आज के एजेण्डा छ ? त्यसो त आजको व्यवस्थाको विकल्प नयाँ जनवादी गणतन्त्र मात्र हुन सक्छ । राजनीतिक लडाइँमा हारजीतको फैसला एक वा अर्को हतियारले गर्दैन । जनताको अजय शक्तिले गर्दछ । हतियार साधन हो । जनता साध्य हुन् । त्यसकारण माओको शब्दमा अजय शक्ति भनेको जनता हो । क्रान्तिको पक्षमा वहुसंख्यक जनता लामबद्ध नभइकन क्रान्ति सम्भव छैन । कतिपय अवस्थामा क्रान्तिको पक्षमा जनतालाई सडकमा उतार्न समय लाग्न सक्छ । क्रान्तिकारीहरु धैर्य हुनुपर्छ । जनताको बीचमा गइरहनुपर्छ । थाक्नु हुँदैन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भ्रष्टाचार बिरुद्धको आन्दोलन जनताको बीचमा जाने, जनताले सुसूचित र आन्दोलित बनाउने अभियान पनि हो । भ्रष्टाचारका बिरुद्धमा लाखौं जनता लामबद्ध भए भने प्रतिक्रियावादी सत्ताको बन्दुक, जेल, अदालत, प्रहरी प्रशासन आदि केही चल्दैन । जनभेलका अगाडि इतिहासमा भौतिक शक्तिको केही जोर चलेको छैन । फेरि पनि चल्दैन । अग्रगमन र सुशासनप्रति जनताको सचेतना मुख्य कुरा हो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?