क्रान्तिकारी खेलकुद महासंघ नेपालले दियाे यस्ताे चेतावनी

काठमाडाैँ : क्रान्तिकारी खेलकुद महासंघ नेपालले एएफसी वुमेन्स एसियन कप छनौट खेल सम्बन्धमा क्रान्तिकारी खेलकुद महासंघ नेपालको ध्यान आकर्षण भएको जनाएको छ । क्रान्तिकारी खेलकुद महासंघका संयोजक सूर्य भूजेलले २०८२ असार २६ गते एक प्रेस विज्ञप्ति जारी गरी सो कुरा बताउनु भएको छ ।

विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ – खेलकुद जगतको प्यारो संगठन क्रान्तिकारी खेलकुद महासंघ नेपाल, नेपालको खेलकुद क्षेत्रको विकृति र विसङ्गतिको विरुद्दमा साथै उन्नयन र विकासको पक्षमा लड्दै आएको कुरा सर्बबिदितै छ। नेपालको खेलकुद क्षेत्रको जुन रफ्तारमा विकास हुनपर्ने हो, त्यसो हुन नसक्नुका धेरै कारणहरुमध्ये खेल क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप, भागवण्डा र खेलकुद क्षेत्रमा मौलाएको भ्रष्ट्राचार नै मुख्य कारक हो।

हालै उज्वेकस्तानको तास्कन्दमा सम्पन्न भएको एएफसी वूमेन्स एसियन कप छनौट खेल सम्बन्धमा हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट आम नेपाली फुटबलप्रेमी जनसमुदायले जुन आशा र अपेक्षा राखेका थिए। त्यसमा ठुलो तुषारापात भएको छ। एसियन कप देखि विश्वकप र ओलम्पिकको ढोका बन्द भएपछि अब महिला फुटबल टीमले साफ च्याम्पियनसिप र केहि मैत्रीपुर्ण खेलमै खुम्चिनुपर्ने हुन्छ। उज्वेकिस्तानसँगको म्याच महत्वपुर्ण थियो तर त्यो सुखद हुन सकेन। उक्त छनौंट खेल प्रतियोगिताका लागि राम्रो अभ्यास, नियमित खेल, फ्रेन्ड्ली म्याच, खेलाडीका लागि आधारभुत सुविधा, टीम र टीम क्याप्टेन छनौट, जस्ता विषयमा प्रश्न उठिराखेको छ। महिला टीमको मुख्य प्रशिक्षक,सहायक प्रशिक्षक, सहयोगी स्टाफ, म्यानेजर, हेड अफ दि डेलिगेसन, फिजियो लगायतका खेल स्टाफ र एन्फाका विभिन्न विधाका पदाधिकारी र सदस्यहरु माथि सङ्का उत्पन्न भएको छ। खेलजगतलाई पश्चगमनतिर धकेल्न चाहने, यथास्थितिमै राख्न चाहने र सामान्य सुधारको कुरा गरेर नथाक्ने संस्था र जिम्मेवार पदाधिकारीका कारण यो अवस्था आएको हो। मुख्य प्रशिक्षक माथि दोष थोपरेर एन्फा उक्त घटनाबाट पन्छिन मिल्दैन। सरकारले उक्त प्रतियोगिताको अवधिभर घटित घटनाहरुका बारेमा उच्च स्तरिय छानविन समिति बनाई छानविन गरी दोषि माथि कडा कार्वाही गर्न र यथार्थ के हो रु सार्वजनिक गर्न समेत हाम्रो संगठन जोडदार माग गर्दछ। उक्त खेल नेपाल र नेपालको खेल जगतसँग मात्रै जोडिएको नभई नेपालको बाह्य छविसँग समेत जोडिएको विषय हो। आज हर क्षेत्रबाट भौतिक पुर्बाधारको विकास, खेलाडी उत्पादन, खेलाडी विदेश पलायन हुनबाट रोक्नुपर्ने र सुविधाको कुरा उठेको छ। खेल क्षेत्र र फुटबलमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुराको खोजी सरकारले गरेको अवस्था छैन। त्यसकै कडिको रुपमा पछिल्लो समय सिकार बन्न पुग्यो( नेपाली राष्ट्रिय महिला फुटबल टोली।
खेलकुद क्षेत्रमा राज्यको लगानी, खेलाडीका लागि चाहिने आधारभुत आवश्यकता र ब्यवस्थापन जस्ता कुराको कमिका कारणले उक्त प्रतियोगितामा च्याम्पियन भई छनौट हुन नसकेता पनि न्युन स्रोत साधन र कमजोर ब्यवस्थापनका बावजुद पनि उत्कृष्ट प्रदर्शन गरेको राष्ट्रिय महिला फुटबल टीमलाई हार्दिक बधाई छ। निराशा होईन, अन्यायका विरुद्द लडेर आशा र प्रतिबद्दताले मात्रै अघि बढ्न सकिन्छ भन्ने कुरालाई गहिरो गरी आत्मासाथ गर्न समेत सम्पुर्ण खेलाडी र खेलप्रेमी जनसमुदायलाई अनुरोध गर्दछौँ।

By जन बिहानी

Related Posts