एकता महाधिवेशनले दिएको सन्देश

लेखक – सन्तबहादुर नेपाली

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यता र हर्षोल्लासका साथ सम्पन्न भएको छ । तीनवटा क्रान्तिकारी पार्टीहरुको, नेकपा (क्रा.मा.) र नेकपा (बहुमत) को २०८० वैशाखमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनेपछि त्यो सित नेकपा (मशाल) को, २०८१ वैशाख १८ गते भएको एकता अधिवेशनले अगाडि सारेको एकता प्रक्रियाले पूर्णता पाएको छ र अब पूर्व समूहको रुपमा सबै पार्टीहरु पूर्व अस्तित्व समाप्त भएर एकीकृत पार्टीको रुपमा उभिन पुगेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा साना साना सामान्य कार्यनीतिक तथा नीतिगत वा व्यक्तिका प्रवृत्ति, चिन्तन र व्यवहारका कारण कैयौं टुट फुटहरु बेहोर्नु प¥यो । त्यसमा कैयौं पार्टी कार्यकर्ताहरु, राजनीतिक वा विचारलाई बुझेर वा नबुझेर एक वा अर्को पार्टी, समूह वा गुटमा सामेल हुने अवस्था रहँदै आएको थियो । त्यसप्रकारको अवस्थाको अन्त गर्ने सबै क्रान्तिकारीहरुको मनशाय र प्रबल इच्छा रहँदा रहँदै पनि त्यो सम्भव भइरहेको थिएन । अहिले सबै क्रान्तिकारीहरु एउटै पार्टी निर्माण गर्न किन सम्भव भयो त ? त्यसका केही ऐतिहासिक कारणहरु छन् । तीन वटै पार्टी पूर्व पार्टी नेतृत्वको दक्षिणपन्थी संशोधनवादी लाइनसित संघर्ष गर्दा गर्दै त्यसको नेतृत्वसितको संघर्षमा रुपान्तरणको सम्भावना समाप्त भएपछि विद्रोह गरेर जन्मिएका पार्टीहरु हुन् । त्यसकारण तीनवटै पार्टी क्रान्तिकारी विचारको रक्षा तथा नेपालको नयाँ जनवादी क्रान्तिको खुडकिलो पार गरेर समाजवादमा पुग्ने दृढ इच्छाशक्ति भएका पार्टी भएको हुनाले यो पार्टी एकता सम्भव भएको हो । कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादी प्रवृत्ति हावी भइरहेको बेला यसरी क्रान्तिकारी विचारलाई दिगो र जीवित राख्नुपर्ने एउटा ऐतिहासिक आवश्यकता र जिम्मेवारी पनि हो । त्यही जिम्मेवारीबोधलाई पार्टीले क्रान्तिकारी पार्टी निर्माणमा रुपान्तरण गरेको छ ।
कम्युनिस्ट पार्टीमा विवाद वा फरक मतहरु हुने कुरालाई स्वभाविक मानिन्छ । हाम्रो पार्टीमा पनि फरक मतहरु थिए र छन् । त्यो कुरा जगजाहेर छ । तर ती फरक मतहरु लाइनको सन्दर्भमा होइन । कतिपय जुडसुत्रवादी चिन्तन भएकाहरुले त्यो कुरा बुझ्दैनन् । उनीहरु के बुझिराखेका हुन्छन् भने कुनै विषयमा फरक विचार भएपछि एकता गर्नुहुँदैन र गरे पनि त्यो केही समयपछि फुट अवश्यमभावी छ । उनीहरु एकमनावादी पार्टीको कुरा बुझेका हुन्छन् । उनीहरु कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने भन्दा पनि आफ्नो गुटको रक्षा गर्न जीवनभरी पसिना बगाएका हुन्छन् । त्यही संकीर्णताका कारण आजसम्म कम्युनिस्ट आन्दोलनले उँचाई प्राप्त गर्न सकेन । लाइनमा अर्थात् कार्यदिशामा एकमत हुँदाहुँदै पनि कतिपय तात्कालिक नीतिगत प्रश्नमा हाम्रो बीचमा मतान्तर थिए । ती मतान्तरहरुलाई महाधिवेशनले सापेक्षतामा समाधान गरेको छ । समाधान गर्नमा तीनवटै पार्टीको महत्वपूर्ण भूमिका रहेको छ । कतिपय संचार माध्यममा क. किरणको प्रस्ताव पारित भयो, पूर्व मशालले माओवाद र संघीयतालाई स्वीकार ग¥यो भनेर नकारात्मक ढंगले विषयलाई तोडमोड गरिरहेका छन् । उनीहरु यो एकता देखेर छटपटाउन थालेका छन् । फुटको प्रवृत्तिलाई फेरि जगाउन खोजिरहेका छन् । त्यसप्रकारका प्रवृत्तिहरुलाई हामी निस्तेज पार्न सक्षम छौं र भविष्यमा गर्दै जाने छौं । एकता महाधिवेशन कसैको जीत र हारका लागि गरिएको थिएन र कसैको जीत र हार भएको पनि छैन । एकता महाधिवेशनको एउटा अनुपम प्रक्रिया के रह्यो भने महाधिवेशनले हरेक प्रश्न, सैद्धान्तिक, वैचारिक तथा संगठनात्मक पक्षमा असहमतिका बीचबाट सहमति कायम गरेको छ । किनकि प्रथम, पार्टीमा दुई लाइनको संघर्ष थिएन र द्वितीय, यो एकता महाधिवेशन भएको हुनाले एकले अर्कोलाई जनवादी केन्द्रीयताका आधारमा बहुमत बनाएर होइन, सम्मान गरेर अगाडि बढ्नु पर्ने आवश्यकता प्रति सहमति थियो । त्यसैले गर्दा महाधिवेशनमा माओवाद आधिकारिक पदावली मान्ने र माओवाद वा विचारधाराका बारेमा आफ्नो मत खुला रुपले लैजान सकिने निर्णय भएको छ । त्यस्तै प्रकारले संघीयताको प्रश्नमा एकात्मक प्रणाली अन्तर्गत प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासन तथा जातीय÷क्षेत्रीय स्वशासनको विचारलाई पनि खुला रुपले लैजान सकिने निर्णय भएको छ । जनयुद्धको समीक्षाबारे “माओवादी जनयुद्धको दौरानमा उग्र“वामपन्थी” गल्ती भएको” भन्ने मत पार्टीभित्र सुरक्षित रहने निर्णय भएको छ । त्यो निर्णयका आधारमा बाहिर खुला छलफल नगरे पनि पार्टीभित्र छलफल गर्न सकिने भएको छ । यसरी एउटै पार्टीभित्र यति गम्भीर विषयमा सार्वजनिक रुपमा आफ्नो मत प्रकट गर्न पाउनुले छलफलको स्वतन्त्रता पार्टीभित्र मात्र होइन, बाहिर पनि हुनुुले विचारमा एक ठाउँमा पुग्नका लागि वैज्ञानिक प्रक्रियाको अभ्यास गरिएको छ । यसप्रकारको छलफललाई आधार बनाएर पार्टी विरोधी तत्वहरुले फुट र विभाजनतिर दुरुत्साहन गर्न सक्ने सम्भावना प्रति पनि पार्टी अत्यन्तै सचेत छ ।
दलाल संसदीय व्यवस्थाका कारण देश आज अत्यन्त गम्भीर मोडमा उभिन पुगेको छ । संसदवादी दलहरु देशमा भइरहेको भ्रष्टाचार, तस्करी, कमिशनखोरी, बेरोजगारी, विदेश पलायन, कुशासन, महंगी, लुट, ठगी आदिको मूल कारण एउटै पार्टीको शासन नहुनुले हो भनेर जनतालाई भ्रम दिइरहेका छन् । त्यसैले उनीहरु आगामी निर्वाचनमा आफ्नो पक्ष बलियो बनाउनका लागि विपक्षी पार्टीहरुलाई एक्ल्याउँदै चुनावको तयारी तिर लागि सकेका छन् । अर्कोतिर जनता अकल्पनीय पीडा भोगिरहेका छन् । सरकार आफ्नो कर्मचारीलाई तलव खुवाउन समेत असफल हुँदै गएको छ । अर्बौं रुपियाँ दलाल पुँजीपति वर्गले ओगेटेको छ । सरकारले उनीहरुलाई संरक्षण गरिरहेको छ । नेपाली जनतालाई पच्चीस खर्ब ऋण बोकाइएको छ । तर कैयौं नेताहरु विदेशी बैंकमा अर्बौैं रकम लुकाएको कुरा सार्वजनिक भइरहेको छ । उनीहरुमाथि छानवीन हुने गर्दैन । किनकि स्वयं भ्रष्टाचारीले नै सरकारको नेतृत्व गरिरहेका छन् । किसान, मजदुर, साना व्यापारी, गरिब दुःखी जनतालाई यो देशमा बाँच्न गाह्रो भएको छ । तर सचेतनाको अभावमा जनतालाई यो वा त्यो दलालहरुको पार्टीलाई भोट दिएर संसदमा पठाउनु पर्ने बाध्यता छ । अहिलेकोे वास्तविकता यही हो ।
त्यसैले जनताको जनविद्रोह आजको अनिवार्य आवश्यकता बनेको छ । विश्व साम्राज्यवाद, खास गरेर अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको प्रत्यक्ष शोषणले नेपाल झनपछि झन लुटिंदै गएको छ । त्यसरी देश अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक शोषणबाट थिचिंदै गएको छ । नेपाली जनतालाई दास बनाएर शासन गर्ने राजनीतिक दलहरुलाई जनताले विश्वास गर्ने आधार छैन । त्यसकारण कतिपय प्रतिगामी तत्वहरुले जनताको सत्ता विरोधको भावनालाई सानातिना खुद्रे नारा दिएर आफ्नो पक्षमा तान्ने र उराल्ने काम पनि भइरहेका छन् । उनीहरुको दलाल व्यवस्था परिवर्तन गर्ने हैसियत छैन र दलाल व्यवस्थाको अन्तको कुरा गर्दैनन् पनि । यो अवस्थामा विद्यमान दलाल संसदीय व्यवस्थाको अन्त र सर्वहारावर्गको नेतृत्वमा मजदुर किसानहरुको एकतामा आधारित जन गणतन्त्र स्थापनाको कुनै विकल्प छैन । देशी विदेशी प्रतिक्रियावादीहरु नेपाली जनतालाई लुट्ने विषयमा अघोषित एकता गरेका छन् । सामन्तवर्ग, दलाल पुँजीपतिवर्ग, नोकरशाही पुँजीपतिवर्ग बीच अन्तर्विरोध छैन भन्दा हुन्छ । अहिलेको सामन्तवर्ग पुरानो सत्ता फर्काउन कोशिस गरे पनि दलाल पुँजीवादसित आत्मसमर्पण गरिसकेको छ । त्यसकारण दलाल तथा नोकरशाही पुँजीपति वर्ग साम्राज्यवादको आड भरोसामा शक्तिशाली अवस्थामा छ । यो अवस्थामा त्यसका विरुद्ध लड्न सर्वहारावर्गको पार्टी मात्र सक्षम छ । त्यो कुरा इतिहासले पुष्टि गरिसकेको छ । तर त्यो पनि निरपेक्ष रुपमा सत्य होइन । सत्य कुरा यो हो कि त्यसका लागि त्यो पार्टी अनुशासित, मिलिटेन्ट, संघर्षशील र क्रान्तिकारी हुनु आवश्यक छ । अर्को महत्वपूर्ण कुरा लाखौं लाख जनताको त्यो पार्टीलाई समर्थन प्राप्त हुनुपर्छ ।
हामी तीन पार्टीहरु भर्खर एकतामा बाँधिएका छौं । हामी हाम्रा आ–आफ्ना विरासतबाट माथि उठ्न सकिरहेका छैनौं । हामीले आफैलाई सर्वहाराकृत गर्ने तयारीमा छौं । लेनिनवादी संगठनात्मक नीतिलाई पूर्णरुपले लागु नगर्दासम्म हामी भित्रको महत्वकांक्षी, सामन्ती, व्यक्तिवादी, संकीर्णता, असहिष्णुता, निम्न पुँजीवादी, अराजक, निराशा, कुण्ठा, पलायन जस्ता प्रवृत्तिहरुबाट मुक्त हुन सकिंदैन । त्यसका लागि हामी कडा मेहनत गर्नु पर्ने आवश्यकता छ । सैद्धान्तिक, राजनैतिक र वैचारिक हिसावले हाम्रो पार्टी नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको मूलधारमा रुपान्तरण भएको छ । त्यसलाई संरक्षण गर्ने, मजबुत बनाउने, जनतामा फैलिने र जनताको भरोसायोग्य पार्टी बनाउने, तमाम क्रान्तिकारी समूह तथा व्यक्तित्वहरुलाई मूलधारमा ल्याउने जिम्मा अब इतिहासले हाम्रो पार्टीलाई जिम्मा दिएको छ । त्यो जिम्मेवारीबाट हामी पन्छिन मिल्दैन । हामीले हामीलाई क्रान्तिको नेतृत्व गर्ने, स्वाधीन राष्ट्र बनाउने, तमाम उत्पीडित, जाति÷क्षेत्र, समुदाय, पछाडि पारिएका सीमान्तकृत जात जातिहरुलाई मुक्ति दिलाउने, विश्वका सर्वहारा मेहनतकश जनतासित एकता कायम गर्ने, आदि विषयमा सचेत र कुशल बनाउन लाग्नै पर्छ । हाम्रो अगाडि रहेका सबै राजनीतिक चुनौतीको सामना गर्न हामी तयार रहनु पर्छ । तब मात्र हामीले सर्वहारावर्गको राजनीतिक प्रतिनिधिको जिम्मेवारी पूरा गर्न सक्नेछौं ।
पार्टीभित्र कतिपय विषय अहिले पनि छलफल मै रहेका छन् । तर ती हाम्रो लागि प्रधान वा मुख्य विषय होइनन्, पार्टी रहँदासम्म मतभेदहरु उत्पन्न हुने, समाधान हुने र फेरि नयाँ नयाँ मतभेद जन्मिरहन्छन् । सर्वहारावर्गको पार्टीले त्यसलाई वैज्ञानिक तरिकाले समाधान गर्दै अगाडि बढिरहन्छ । प्रधान वा मुख्य प्रश्न कार्यदिशा हो । सही कार्यदिशा नभइकन जनताको जीवनमा सुधार ल्याउने प्रकारको क्रान्तिम हुन सक्दैन र देश साम्राज्यवादी शोषण उत्पीडनबाट मुक्त हुन सक्दैन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशनले त्यो दिशामा आम कार्यकर्ता, न्यायप्रेमी तथा शोषित उत्पीडित जनतालाई जागृत गर्न सफलता प्राप्त गरेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?