वक्ताहरुले भने,‘क्रान्तिको लागि वस्तुगत परिस्थिति तयार भएको छ’

काठमाडौं : शनिबार काठमाडौँमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले लेनिनले भनेजस्तै नेपालमा क्रान्तिको लागि वस्तुगत परिस्थिति तयार भएको दावी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेकपा (मसाल)मा प्रवक्ता रामप्रकाश पुरी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लेखनाथ न्यौपाने लगायतका नेताहरुले यस्तो बताएका हुन् । मुलुकमा सत्ता फासिस्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउन नदिन क्रान्तिकारी एजेन्डासहितको कम्युनिस्ट पार्टी सडकमा आउनुपर्नेमा नेताहरुले जोड दिए ।

एकीकृत समाजवादीका महासचिव भूसालले भन्नुभयो, “परिस्थिति भन्ने हो भने लेनिनले भनेको त्यो क्रान्तिकारी सङ्कट रेभुलुशनरी क्राइसिसकै बेला छ । हेर्नुहोला–आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक पपुलिष्ट हुँदै जानेछ । यो बेला एउटा एजेन्डाका साथ क्रान्तिकारी एजेन्डाका साथ एउटा विश्वासिलो सानै भएपनि कम्युनिस्ट पार्टी सडकमा आयो भने त्यसका लागि हाम्रो भयङ्कर वस्तुगत स्थिति तयार भएको छ ।”

त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्यले वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व नमान्नेहरुलाई कम्युनिस्ट पार्टी भन्न नसकिने जिकिर गर्दै आफूलाई कम्युनिस्ट हुँ भन्ने पार्टीहरुले लेनिन, लेनिनवाद र अक्टोबर क्रान्तिको मूल स्पिरिटलाई समातेर अगाडि बढ्नुपर्ने बताउनु भयो । माक्र्सवाद र संशोधनवादको खेमा प्रुधोको पालादेखि नै देखापरेको भन्दै नेपालमा पनि माक्र्सवाद र संशोधनवादको खेमामा कम्युनिस्टहरु बाँडिएको बताउनु भयो । माक्र्सवाद, लेनिनवाद, माओवादको अन्तवस्र्तु तोडमोड गरेर आवरणमा मात्र कम्युनिस्टको कुरा गर्ने संशोधनवादी समूहहरुले गर्दा मुलुकमा भ्रमहरु पैदा भएको भन्दै लेनिन, अक्टोबर क्रान्ति र लेनिनवादलाई पनि आ–आफ्नो स्वार्थअनुकूल व्याख्या गर्ने गरेको दावी गर्नुभयो । उहाँले वास्तविक कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भएर क्रान्तिको कार्यभार पूरा गर्ने बेला आएको पनि बताउनु भयो ।

त्यसैगरी मसालका प्रवक्ता रामप्रकाश पुरीले पनि क्रान्तिका लागि एक अनुशासित पार्टी बनाउन लेनिनले विकास गरेको लेनिनवादी संगठनात्मक सिद्धान्तलाई बलियो गरी पकड्नुपर्ने र पार्टी जीवनमा अभ्यास गर्नुपर्नेमा जोड दिनु भयो ।

नेकपा (माओवादी केन्द्र)का युवा नेता लेखनाथ न्यौपानेले अक्टोबर क्रान्तिताका लेनिनले खेलेको भूमिका र योगदानको चर्चा गर्दै नेपाली क्रान्तिको कार्यभार पूरा गर्न लेनिनजस्तै प्रतिभाशाली नेतृत्वको खाँचो रहेको औल्याउनु भयो । उहाँले क्रान्तिको उठान राम्रैसँग भएपनि सम्झौतामा टुंगिने गरेको भन्दै अब त्यस्तो चक्रलाई कसरी क्रस गर्न सकिन्छ भन्ने विषयमा कम्युनिस्टहरु घोत्लिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले माक्र्सवादको विकल्प नभएपनि विकासको आवश्यकता रहेकोमा बढी जोड दिनुभयो ।

लेनिन शतबार्षिक समारोहका लागि निनु चापागाईले अध्यक्षता गरेको अन्तरक्रिया कार्यक्रमको सञ्चालन संगीतस्रोताले गर्नुभएको थियो । २०२४ को जनवरीबाट सुरु भएको लेनिन शतबार्षिक समारोहले २०२५ सम्म कार्यक्रम गर्ने पनि समारोहका संयोजक निनु चापागाईले जानकारी दिनुभयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?