
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न नदिने बताउनु भएको छ । अहिले बत्तिमा तेल कम भएको भए पनि क्रान्तिको बत्ति कुनै पनि हातलमा निभ्न नदिने बताउनु भएको हो । महासचिव गौरवले बुधबार जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।
उहाँले क्रान्तिको कार्यभार पूरा गरेर मात्रै इच्छुक लगायत जनयुद्धका हजारौं सहिदहरुको सपना साकार हुने र त्यो नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताउनु भयो ।
उहाँले जेनजी परिघटना कुनै विद्रोह नभएर साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको यहाँका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु र छिमेकी मुलुक चीनका विरुद्ध परिचालित एउटा परिघटना मात्र भएको दावी गर्नुभयो ।
विकसित पछिल्लो स्थितिमा छरिएर रहेका क्रान्तिकारीहरु क्रान्तिप्रति अझै आशावादी हुँदै हरेक प्रतिकूलताको समना गर्दै क्रान्तिको तयारीमा जुट्नुपर्ने आवश्यतामाथि जोड दिनुभयो ।
उहाँले सहिद इच्छुकको बहुआयामिक व्यक्तित्व र कृत्तित्वबाट शिक्षा लिँदै नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न अगाडि बढ्नुपर्ने पनि बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले नयाँ जनवाद, वैज्ञानिक समाजवाद सहिद कृष्णसेन इच्छुकको सपना भएको भन्दै त्यो सपना क्रान्तिकारीहरुले जसरी पनि पूरा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँको व्यक्तित्व र कृत्तित्वबाट शिक्षा लिएर क्रान्तिकारीहरुले आफूमा क्रान्तिकारी रुपान्तरण ल्याउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।