
मानव समुदायको विकाशसित भौतिक उन्नतिबाट शरीरको भोक मेट्न सकिने पद्धतिको स्थापना भयो किन्तु यिनलाई सन्तुष्ट गर्नको लागि मानव समुदायले आफ्नो जुन विकास र उन्नति गर्दै आयो यसैलाई संस्कृति भनिन्छ । मानव समुदाय जिज्ञासु समुदाय हो जिज्ञासाको परिणाम धर्म र दर्शन बाहेक आराम र मनोरञ्जन पनि खोजीको विषय हो सौन्दर्यको खोज गर्दै त्यो संगीत, साहित्य, मूर्ति, चित्र र वास्तु आदि अनेक कलाहरूलाई उन्नत गर्दछ । सुखपूर्वक निवासको लागि सामाजिक र राजनीतिक संघटनहरूको निर्माण गर्दछ । यस प्रकार मानसिक क्षेत्रमा उन्नतिको सूचक उनको प्रत्येक पर्व वा ऋतु संस्कृतिको अंग बन्यो यिनीहरूमा प्रधान रूपबाट धर्म, दर्शन, सबै ज्ञान–विज्ञानहरू र कलाहरू, सामाजिक तथा राजनीतिक घटनाहरु पनि जोडिएका हुन्छन ।
नेपाली हिन्दुहरुको साँस्कृतिक पर्वको रुपमा मानिदै आएका कैयौं उत्सवमाथि अहिले बजारले कब्जा गरेको छ । तीज, दशैँ, तिहार, छठ ल्होसार जस्ता परम्परित पर्वा र जन्मोत्सव बेबि सावार जस्ता आयतित पर्वहरूमा बजारले अधिक प्रभाव पारेको छ । इतिहास र हाम्रो आर्थिक सामाजिक अवस्था हेर्दा साँच्चै हामी नाङ्गो पुँजीवादमा फँसिसकेको पुष्टि हुन्छ । हामीले बाध्यातावस स्वीकार्नु परेको यथार्थ हो । इतिहासलाई गहिरो गरी अध्ययन गर्ने हो भने चाडपर्व भनेको बन्धुत्व र आफन्तहरुको मिलन हुने समय हो । आफ्नो आर्थिक र सामाजिक हैसियत अनुसार पर्वहरुमा खुशी साटिन्थ्यो तर जब पुँजीवादी युगको विकाश भयो अनि यसलाई कमाउ पर्व मान्न थालियो ।
बजार र विज्ञापनले उपभोक्ताको दिमाग भुटिरहेको छ । परम्परित खाद्य परिकार भान्सामा तयार हुन छोडेको छ भने अखाद्य रसायन मिसिएका खाद्य र पेय वस्तुले बजारमा अड्डा जमाएका छन । हाम्रा रैथाने उत्पादनको जगेर्ना हुनुको सट्टा आयतित बस्तुको प्रयोगमा हामी अभ्यस्त भैसकेका छौँ ।
मानव समाजको सुरुवाती दिनहरुमा कुनै धार्मिक आर्थिक वा सामाजिक नियम विनियमहरु बनेका थिएनन न त कुनै देवदेवीहरु नै थिए । सिकार श्रम र झुण्डझुण्डमा उनीहरुको जीवन चल्ने गर्दथ्यो । त्यहाँ धर्म सम्प्रदायको पनि उपस्थिति थिएन । त्यहाँ जात थर र गोत्रको पनि अस्तित्व थिएन । झुण्ड झुण्डका मानवहरुमा आमा कै अह्रन खटन चल्दथ्यो । जब जब मानव चेतनाले ठूलो आकार लिँदै गयो त्यसपछि केही मान्यताहरुले समाजमा स्थान पायो । जङ्गली अवस्थाबाट कृषि युगतिर फड्को मारेपछि मानव समाजले नयाँ नयाँ विषयको खोजी गर्न थाल्यो ।
नदीनाला, जमिन र जङ्गलको सहारा लिएर कृषि उत्पादन र पशु पालनले जिविका चलाउन सिकेपछि विभिन्न स्तुतिहरुको स्मृति कथन भयो र विस्तारै देवदेवीको परिकल्पना भयो । जब राज्यको अवधारणा विकास भएर आयो अनि शासकहरुले राज्यलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादनमा मानिसहरुलाई वर्र्गीकरण गर्दै लगे । राज्य बलियो र विस्तार गर्न युद्ध हातहतियार निर्माण, अन्न, तरकारी, फलफूल उत्पादन, कृषि तथा पशुपालन कर्म , शासकहरुका लागि ज्ञान विद्या प्रवचन र कल्पना गरिएका देवदेवीको स्तुति पूजा अर्चना आदिको लागि जनशक्तिको व्यवस्थापन गरिदै आयो । आठौं शताब्दीसम्म आइपुग्दा आर्य सम्प्रदायका शासकहरुले मानवलाई चार जातमा विभाजन गर्न सफल भए । हिन्दु वर्ण व्यवस्थामा सबैभन्दा पुरानो प्रचलनमा रहेको जात प्रथाले समाजलाई विभाजन मात्र गरेको छैन शोषण उत्पीडन र सामाजिक समस्या खडा गरेको छ ।
धार्मिक वा साँस्कृतिक मान्यतानुसार हरेक पर्वको अघि हामी ब्राह्मण क्षेत्रीको आँगनमा पुरोहित आएर उभिन्छ र उसित कर्मकाण्ड भास्कर हुन्छ । हामी बिचारमा भौतिकवादी भएर पनि पुरोहितवादको दास छौँ । हाम्रा केही साँस्कारिक पर्वहरु छन तर चेतनाले भौतिकवादी बनेकाहरु परम्परित तरिकाले कर्म गरेका हुन्छौं अझ विशेष गरी महापुराण, सप्ताह एकाहको आयोजना गरेर पुण्य प्राप्त वा मरेका आफन्तहरुको नरक मोचनको भ्रम पालिरहेका हुन्छौँ यस्तो कर्मको मुख्य प्रेरक भने पुरोहितवाद हो । यस्तो कर्महरुमा कम्युनिष्ट भनिएका नेतृत्वले पितवस्त्र धारण गरेर फूल अक्षता समाएको दृश्य कति घिन लाग्दो देखिन्छ भन्ने भेउ नपाउने पात्रहरु देख्दा घृणा जागेर आउनु स्वभाविक हो । बालक जन्मदा होस वा मृत्यु हुँदा होस् सबैभन्दा अगाडि आएर कर्मकाण्डिय सँस्कार उभिन्छ । धर्म वा सँस्कृतिको निहुँमा जातीय विभेद जहिँको त्यहिँ छ । धर्म निरेपक्ष भनिएको राज्यमा मठ मन्दिर वा गुम्बाका लागि अनुदान दिनु सर्वथा गलत हुन्छ तर हाम्रो राज्य गम्भीर भने देखिदैंन ।
“सीप चल्छ श्रम चल्छ पानी नचल्ने भो” यो दुषित मान्यता अहिले पनि बाँचिरहेको छ । खासगरी तागाधारीहरुले इतर तागाधारी र अझ दलित बनाइएका वर्गमाथि गरिने दुव्र्यवहारको पराकाष्टा नै छ । अहिले पनि गाउँ घरतिर गरिने कर्मकाण्डीय संस्कारमा दलित बनाइएकाहरुको समतामूलक सहभागिता हुँदैन । नेपालको संविधान २०७२ वा देवानी सँहितामा जे जे कुरा लेखिए पनि व्यवहारमा भेदभाव कायमै छ । हाम्रो समाज र सभ्यता एक्काइसौँ शताब्दीमा उपस्थिति जनाइरहँदा पनि सामाजिक मान्यताहरु भने सोह्रौँ शताब्दीतिरकै बाँचिरहेको छ । कालो धन आर्जन गरेका पुँजीले सम्पन्न धनाढ्यहरु पण्डित पुरोहितलाई लाखौँ दान गरेर नाम लेखाउन उद्दत हुन्छन तर उनीहरु दलित या असहायका लागि दान सहयोग गर्न तयार हुँदैनन ।
चाडपर्व भित्रका विरुप पक्षलाई जब भत्काउने कुरा आउँछ हामी कतिपय कम्युनिष्ट भनिनेहरु विकल्पको कुरा उठाएर यथास्थितिमै उभिन्छौँ र बाहिर भने सांस्कृतिक क्रान्तिको कुरा गर्छौँ । पुर्खाले गरी आएको काम त्यत्तिकै कसरी छोड्न सकिन्छ भन्ने बासी मान्यता जोगाइ राख्छौँ । एकातिर जडता कायम नै छ भने अर्को तिर बजारको आक्रमणले अति उदारता भित्रिएको छ ।
केही व्यापारीहरु चाडपर्वलाई अति कमाउको साधन बनाइ रहेछन । सस्ता र नक्कली वस्तुलाई महङ्गो मोलमा बिक्री गरेर मुनाफा लिन उनीहरु खप्पिस बनिसकेका छन । यस्तो कुकृत्यप्रति राज्यको ध्यान जाँदैन बरु आफ्ना एजेण्टहरु मार्फत् कमिशनको व्यवस्था मिलाउन खटाउँछन । यो स्थिति मौलाउँदै जानाले न्यून आयभएका श्रमिक र किसानहरु ठूलो शोषणमा पर्न पुग्छन ।
हाम्रा साँस्कृतिक पर्वभित्र केही भौतिक मान्यताहरु पनि छन । शारदीय ऋृतुसित आउने पर्वहरुले जीवन निर्वाहका लागि घरमा पालिएका पशुहरुको स्याहार स्वरुप सम्मान गर्नु दाजुबहिनी, दिदीभाइ बीच सौहाद्र्ध सम्बन्ध जोगाइ राख्नु आफ्ना नातेदारसित भेटिनु आफ्नै उत्पादनले सन्तोषका साथ पर्वहरुको समापन गर्नु जस्ता जनमुखी तरिकाहरु पनि छन । दशैँ होस या तिहार जन्मोत्सब होस कि पास्नी हुने खानेले विपन्नको सामु खिसी गर्दै ढर्रापूर्वक मनाउनु उचित होइन । बत्तिको चाड मानिएको तिहार पर्वमा सम्पन्नशालीले आफ्नो निवाश झिलिमिलि बनाउनु र भुइँघरको अँध्यारोलाई खिसी गर्नु सामाजिक सद्भाव विरुद्ध हुन्छ भन्ने हेक्का राख्नु उचित हुन्छ । यहाँनेर के हेक्का राख्न जरुरी छ भने माओकालीन चिनियाँ साँस्कृतिक क्रान्तिको अबलम्बनले सबैखाले विभेदको अन्त्य हुन्छ ।