देश र समाज परिवर्तनका निम्ति बलिदान गरेका इच्छुकको शालिक किन ढालियो ? : तक्मा केसी

काठमाडौं : २५ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस २०८३, पुरस्कार तथा सम्मान समारोहलाई सम्बोधन गर्दै जनयुद्धका महान सहिद कृष्णसेन इच्छुककी जीवन संगिनी तक्मा केसीले जेनजी आन्दोलनताका इच्छुकको शालिक ढालिएको विषयलाई प्रमुखताका साथ उठाउँदै प्रश्न गर्नुभयो– देश र समाज परिवर्तनका निम्ति बलिदान गर्ने इच्छुकको शालिक किन ढालियो ?
उहाँले भन्नुभयो, “आज हामी इच्छुकको २५ औं स्मृति दिवस मनाइरहेका छौं । यस २५ वर्षमा धेरै उथलपुथलहरु भइसके । पछिल्लो समय त अझ फरक ढंगले निकै असहजिलो परिस्थिति विकसित भएको छ । गएको भदौमा एक्कासी एउटा ठूलो परिघटना भयो । त्यस क्रममा इच्छुक लगायत अन्य प्रबुद्ध व्यक्तित्वहरु, जसले विगतका ठूल्ठूला राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेल्नुभयो, उहाँहरुको शालिक ढालियो । इच्छुक, विपी, पुष्पलालका शालिकहरु किन ढालियो ? यसले के सन्देश र अन्तर्य के हो ? परिस्थिति कतातिर गइरहेको छ ? यो रहस्यमय लागेको छ । यो हुनुमा को जिम्मेवार छ ? यसको मिहिन ढंगले अध्ययन गर्नुपर्छ । जसले देश परिवर्तनको निम्ति, समाज परिवर्तनको निम्ति आन्दोलनको क्रममा बलिदान गरे, उनीहरुकै शालिक ढालिन्छ भने देश र जनताको भविष्य कतातिर जाँदैछ ? किन हो त यस्तो भएको ?
इच्छुकले जसरी समाज परिवर्तनको निम्ति कलम चलाउनु भयो, उहाँको पछाडि पनि ठूलो समाज छ, ठूलो जमात छ । यो आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा इच्छुकको विचार र आदर्श बोकेर हिँडिरहेको पार्टी र नेताहरुले गहिरो चिन्तन मनन गर्न जरुरी छ ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?