
काठमाडौं : शिक्षकहरु माथि दमनको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले घोर भत्र्सना गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले २०८२ वैशाख १४ गते
एक प्रेस वक्तव्य जारी गर्दै शिक्षकहरु माथिको दमनलाई भत्र्सना गर्नु भएको हो । वैशाख १४ गते प्रहरी दमनमा परी ५० भन्दा बढी शिक्षक र पत्रकारहरु घाइते भैका छन् । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :
“शिक्षक महासङघ र नेपाल सरकारका बीच गरिएका पूर्व सहमतिहरु कार्यान्वयनको बाटो खोल्न कानून निर्माणको माग राखी गत चैत २० देखि शिक्षकहरुले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमाथि ओली नेतृत्वको गठबन्धन सरकार प्रहरी दमनमा उत्रेको छ । आज पानीको फोहरा तथा लाठीचार्जबाट करिब पाँच दर्जन शिक्षकहरु घाइते भएका छन् । प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीे दुइटै आँखामा चोट लागेर गम्भीर अवस्थामा छिन् ।
तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन अदालतले सरकारलाई दिएको आदेश समेतको अवज्ञा गरी प्रहरी दमनमा उत्रिने र व्यवस्थापिकामा विधेयक नै प्रस्तुत नगरी कानून बनाउने प्रक्रियामा अंकुश लगाउने कार्यले ओली सरकार गंभीर फासीवादको दिशामा गएको मात्र प्रमाणित गर्दैन यसले संसदीय व्यवस्थाको कथित शक्ति पृथकीकरणको सिद्धान्त समेतको धज्जी उडाएको छ । यसले वस्तुतः संसदीय व्यवस्था भनेको लोकतन्त्रको नाममा फासीवादको अभ्यास गर्ने थलो हो भन्ने पुष्टि गरेको छ ।
हाम्रो पार्टी शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमाथि गरिएको यस प्रकारको सरकारी दमनको तीव्र निन्दा र घोर भत्र्सना गर्दछ । साथै, घाइतेहरुको निशुल्क उपचार गर्न र सरकारले शिक्षक महासंघसँग गरेका पूर्वसहमतिहरु अविलम्ब लागुु गरी विद्यालयमा पठनपाठनको वातावरण बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ छ । ”