नेपालका संसदवादी कम्युनिस्टहरुले समाजवादका नारा दिएका छन्, समाजवादी मोर्चा पनि बनाएका छन् । नेपालको संविधान२०७२मा समाजवाद उन्मूख अर्थतन्त्र लेखाएकोमा नेपालमा समाजवाद आएजस्तै गफ दिने गर्दछन् र आफूलाई खाँटी समाजवादी भनिरहेका छन् । संसदभन्दा बाहिरका विप्लव र धर्मेन्द्र नेतृत्वका कम्युनिष्ट समूहहरुले पनि यीनै संसदवादी कम्युनिस्टहरुले भने झैं समाजवाद, वैज्ञानिक समाजवाद भनिरहेका छन् । तर यी दुवैको मिलनविन्दु एउटै छ त्यो हो यिनीहरु दुवैले सर्वहारावर्गको अधिनायकत्व अन्तरगत समाजवादबारे उनीहरुका दस्तावेजहरुमा कही कतै उल्लेख गर्न आवश्यक ठान्दैनन । परिणाम ती दुवैको समाजवादको आधार लासालवाद कि माक्र्सवाद बहसको विषय बनेको छ । जुन समाजवादको कुरा अहिले विभिन्न कम्युनिस्ट पार्टीहरु, समूहहरु र बुद्धिजीवीहरुले उठाइरहेका छन् र जनतालाई भ्रम पारिरहेका छन्, ती सबैले लासालले झै सर्वहारा वर्गको अधिनायकत्वको विसर्जन गर्ने काम गरेका छन् ।
माक्र्सको भनाइमा लासालवादीहरु नक्कली समाजवादी थिए र मूलतः वुजुवा समाजवादी थिए । तिनीहरुले विद्यमान समाजबाटै त्यसका आधारहरुलाई यथावत सुरक्षित राखेर नयाँ समाज निर्माणको बाटोको अडान लिएका थिए (हेर्नुहोस एङ्गेल्स–साम्यवादका सिद्धान्तहरु) । यसैगरी नेपालका आफूलाई कम्युनिस्ट भन्नेहरु नेपालमा माक्र्सवाद होइन लासालवादीहरुको हुबहु नक्कल गरिरहेका छन् । सन् १८७१को पेरिस कम्युन क्रान्तिको असफलतापछि माक्र्स–एङ्गेल्सले विश्वका सर्वहारावर्गकालागि पेरिस कम्युन सम्वन्धी आफनो अनुभवको सारका आधारमा पेरिस कम्युनपछि सर्वहाराका सामु विद्यमान बुर्जुवा राज्य मेशिनरी कब्जा गरी ध्वस्त पारेर सर्वहारा राज्यसत्ता स्थापना गर्नु पर्ने कामको महत्वलाई अगाडि सार्नु भएको थियो । यस किसिमको महत्वपूर्ण अनुभवलाई लाशालवादीहरुले त्यसवेला नै खारेज गरि दिएका थिए । अहिले नेपालमा ओली–प्रचण्डले त्यही गर्दैछन्, जो एकसमय लासालवादीहरुले गरेका थिए । विडम्बना अझै ओली–प्रचण्डहरुले आफूलाई माक्र्सवादी–लेनिनवादी भन्न छाडेका छैनन् । माक्र्सवादका अनुसार राज्य वर्ग पक्षधरतामा आधारित हुन्छ, जसद्धारा एउटा वर्गले अर्को वर्गलाई दबाउने काम गर्दछ ।
अहिले नेपालमा कम्युनिस्टको नाममा प्रचण्ड, ओलीले र माधव नेपालहरु वुर्जुवा प्रजातन्त्रवादीहरुले चुनावी नाराहरु अघि सारेझै आफ्नो “समाजवादी”नारा अगाडि सारेका छन् । यिनीहरुको उद्देश्य ठुला जमिन्दार र ठुला पुँजीपति वर्गहरुको संयुक्त अधिनायकत्व कायम गर्ने हो । माक्र्सले भन्नुभएको निम्न भनाइ प्रचण्ड, ओलीले र माधव नेपालहरुको समाजवाद केवल हावादारी कुरा हो भन्ने स्पष्ट पार्न मद्दत गर्दछ, जसमा माक्र्सले भन्नु भएको छ —“पुँजीवादी समाज र समाजवादी समाजबीच एउटाबाट अर्कोमा जाँदा क्रान्तिकारी रुपान्तरणको काल रहेको हुन्छ । त्यसको साथसाथै राजनीतिक सङक्रमणकाल पनि हुन्छ, जसमा एउटा सर्वहारावर्गको क्रान्तिकारी अधिनायकत्वबाहेक अरु केही हुन सक्दैन् ।”
माक्र्सको यो वैज्ञानिक निष्कर्ष कम्युनिस्ट घोषणापत्रको प्रकाशनपछि सर्वहारा अधिनायकत्वको सिद्धान्तको क्षेत्रमा एउटा महत्वपूर्ण विकास थियो, जसलाई नेपालमा प्रचण्ड, ओलीले र माधव नेपालहरुले कम्युनिस्टको झण्डामुिन वुर्जुवा क्रान्तिले गर्ने काम –एउटाको निजी स्वामित्वलाई अर्कोको निजी स्वामित्वमा फेर्ने काम, एउटाले गरेको शोषणको स्थानमा शोषण गर्नका लागि हरेक पाँच–पाँच वर्षमा अर्को ल्याउने काम र वर्तमान सामन्ती उत्पादनबाटै लामो समय टिकाएर नेपालमा राष्ट्रिय पुँजी नभई दलाल पुँजीवादको विकास गर्ने काममा लगाएर उनीहरुले ल्याउने समाजवाद माक्र्सवादले व्याख्या गरेको समाजवाद नभई लासालवादको भद्दा नक्कल सिवाय अरु केही होइन् । यिनीहरुले रुपमा आफूलाई माक्र्सवादी–लेनिनवादी भनेता पनि सारमा यिनीहरु माक्र्सवाद विरोधी लासालवादी नै हुन ।
अब केहो लासालवादी त्यसवारे संक्षिप्त विवेचना गर्नु आवश्यक छ र पाठकहरुलाई त्यसवारे स्पष्ट पार्न निम्न विवेचना गर्ने प्रयास गरिएको छ ः
जर्मनको कम्युनिस्ट पार्टी जसलाई आइजेनाख भनिन्थ्यो, त्यसको र त्यहाँका लासालवादीहरु जसले पहिले नै सर्वहारावर्गको अधिनायकत्वको सवाललाई त्यागी सकेका थिए, का बीचमा एकताको जुन दस्तावेज तयार पारियो त्यो नै गोथा कार्यक्रम थियो, जसलाई माक्र्स र एङगेल्सले विरोध गर्नु भएको थियो ।
लासालवादीहरू, जो एक समय जर्मनमा निकै शक्तिशाली थिए र जो आइजेनाखको विरुद्धमा थिए, उनीहरूले अवसरवादी लाइन लिए र जमिनदार र पुँजीपति वर्गहरूको स्वार्थ पूरा गर्ने बाटो समाते, उनीहरूले विस्तारै आम जनसमुदायको समर्थन गुमाउँदै गए र अन्ततः एकदमै अलगथलग हुनपुगे । यस किसिमको स्थितिमा सन् १८७४ मा लासालवादीहरूले पहिले आइजेनाखसित संयुक्त भएर जान इन्कार गरेको अडान त्याग्दै आफ्नो खस्कँदै गएको हैसियत जोगाउन उनीहरूसित(आइजेनाखसित)एकता गर्न एकदमै तत्पर भए ।
माक्र्सले दृढताका साथ पुँजीवादी समाज र समाजवादी समाजमा रूपान्तरण हुने अवस्था भनेको सङ्क्रमणको अवस्था हो, जसमा राज्य सर्वहाराको अधिनायकत्वबाहेक अरू केही पनि हुन सक्तैन भन्ने कुरा प्रस्ट पार्नुभयो । एक सय वर्षदेखि यो वैज्ञानिक समाजवादको कार्यक्रमिक दस्तावेजले विश्वभरिका करोडौँ जनता र सर्वहाराको क्रान्तिकारी संघर्षलाई उत्साहित पार्दै नेतृत्व प्रदान गरिरहेको छ ।
यस किसिमको स्थितिको सामना गर्दै माक्र्स र एङगेल्स, जसले जर्मन श्रमजीवी वर्गको आन्दोलनप्रति सदैव एकता र ऐक्यबद्धता जनाउँदै ऊर्जा प्रदान गर्नुभयो, र एकता नै हुन नसक्ने भन्ने होइन भन्दै संगठनात्मक एकताको प्रश्नमा सिद्धान्तमा कुनै पनि किसिमको सौदाबाजी हुन सक्तैन भन्दै निरन्तर आइजेनाखका नेताहरूलाई सचेत पनि गराउनुभयो ।
सन् १८७५ मा अगस्त बेबेललाई लेखेको चिठीमा लासालवादीहरूसित सिद्धान्तको प्रश्न, जुनचाहिँ एकताको प्रधान पक्ष हो, यसमा अलिकति पनि छुट हुने छैन भन्ने कुरामा जोड दिँदै माक्र्सले भन्नुभयो —“एकताको पहिलो शर्त उनीहरूले लासालवादी फूटपरस्तवादीहरूलाई परास्त गरेको हुनुपर्छ” । तर लिब्कनेख्त र अरूहरू जो एकताका लागि पहिलेदेखि नै प्रयासरत थिए, माक्र्स—एङगेल्सको सल्लाहलाई अस्वीकार गर्दै उनीहरू आफ्नै किसिमले अघि बढे । उनीहरूले सिद्धान्तलाई तिलाञ्जली दिए र लासालवादीहरूले तयार पारेको मिसमासे एकता मस्यौदा प्रस्तावमा सामेल भए, जुन सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको सिद्धान्तबाट विचलित थियो र लासालवादीहरूको अवसरवादमा आधारित थियो । यही दुइटा समूहको एकता महाधिवेशनकालागि तयार पारेर स्वीकृत गरिएको ड्राफ्ट नै गोथा कार्यक्रम थियो । सो गोथा कार्यक्रमप्रति आफ्नो सैद्धान्तिक अडान प्रस्ट पार्दै, यसको गलत चिन्तनबाट अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमाथि पर्ने प्रभाव रोक्न, समग्र रूपमा, हरफहरफमा एकता महाधिवेशन अघि नै यसको निर्ममतापूर्वक आलोचना गर्दै माक्र्सले ‘जर्मन श्रमजीवी पार्टीको कार्यक्रमप्रति आलोचनात्मक टिप्पणीहरू’ शीर्षकमा दस्तावेज लेख्नुभयो, र त्यही दस्तावेज नै गोथा कार्यक्रमको आलोचना नामले अहिलेसम्म प्रख्यात छ ।
गोथा कार्यक्रम “समग्र रूपमै आपत्तियोग्य कार्यक्रम हो, जसले पार्टीको शिर झुकाउँछ” भनेर माक्र्सले प्रस्ट पार्नुभयो । यसको आपत्तिजनक भाग भनेको— “राज्य सहयोग” मार्फत समाजवादको स्थापनालाई स्वीकार गर्नु र सर्वहारा क्रान्तिको विसर्जन गर्नु हो, समाजवादलाई “राज्यसहयोग”मा ढाल्दै ‘स्वतन्त्र राज्य’ का लागि सङ्घर्षलाई अगाडि सारेर अन्तर्राष्ट्रिय सहयोगमार्फत समाजवाद स्थापना गर्ने लासालवादी विचारप्रतिको समथर्न र सर्वहारा अधिनायकत्वको विसर्जन हो ।
गोथा कार्यक्रम सन् १८७१ को पेरिस कम्युन क्रान्तिपछि आएको थियो । त्यतिबेला माक्र्स र एङगेल्सले पेरिस कम्युनसम्बन्धी आफ्नो अनुभवको सार निकालिसक्नुभएको थियो र पेरिस कम्युनपछि सर्वहाराका सामु विद्यमान बुर्जुवा राज्य मेसिनरी कब्जा गरी ध्वस्त पारेर सर्वहारा राज्यसत्ता स्थापना गर्नुपर्ने कामको महत्वलाई अगाडि सार्नुभयो । र पनि यस किसिमको महत्वपूर्ण अनुभवलाई बेवास्ता गर्दै लिब्कनेख्त र अरूहरू, “सबै लासालवादी, मूलतः आर्थिक पदावलीहरू र दाबीहरू र लासालको मुर्खतापूर्ण विचार स्वीकारेर” पछाडि फर्किए । कम्तीमा पनि कार्यक्रमको आधारमा भन्दा “आइजेनाख साँच्चिकै लासालवादी भयो ।” लासालवादीहरू नक्कली समाजवादी थिए र मूलतः बुर्जुवा समाजवादीहरू थिए । तिनीहरूले विद्यमान समाजबाटै, विद्यमान समाजको आधारलाई यथावत सुरक्षित राखेर नयाँ समाज निर्माणको बाटोको अडान लिए ”(एङ्गेल्स साम्यवादका सिद्धान्तहरू) । यसले गोथा कार्यक्रमभित्रको लासालवादी यथास्थितिवादलाई प्रस्ट रूपमा सतहमा ल्याइदियो ।
आरम्भदेखि नै यो कार्यक्रमले उत्पादनका साधनहरूको स्वामित्वको प्रश्नलाई खारेज गरिदियो र सबै सम्पतिको स्रोत श्रम नै हो भनेर बर्बरायो । यो लासालवादी यथास्थितिवादको एउटा पक्ष थियो । माक््र्सले खुलस्त पार्नुभयो ः श्रम सबै सम्पतिको स्रोत होइन, प्रकृति श्रमजस्तै सबै सम्पतिको स्रोत हो । यसकारण कि भौतिक सम्पतिको उत्पादनका लागि मानव श्रम मात्रले पुग्दैन, बरु यसमा विषयी र उत्पादनको श्रमको साधन पनि आवश्यक पर्छ । बहुचर्चित भनाइ “श्रमले विश्वजगतको सिर्जना गर्छ” ले यस स्थितिलाई महत्वपूर्ण पूर्वशर्तका रूपमा लिन्छ । श्रम रहस्यमय सिर्जनशक्ति होइन । जहाँसम्म एउटा श्रमिकको कुरा छ “आरम्भदेखि नै प्रकृतिसित श्रमको विषयी र साधनको प्रारम्भिक स्रोतको मालिकका रूपमा व्यवहार गर्छ” र उसले सम्पतिको सिर्जना गर्न सक्छ ।
पुँजीवादी मुलुकहरूमा किन मजदुरहरू आफ्नो श्रमशक्ति पुँजीपतिहरूलाई बेच्छन् र अनि विस्तारै ज्यालादारी दास बन्नपुग्छन् ? यो महत्वपूर्ण कुरा हो, किन भने उत्पादनका साधनहरू पुँजीपतिहरूका हातमा हुन्छन् र श्रमजीवी वर्गसित आफ्नो श्रमशक्तिबाहेक अरू केही हुँदैन । गोथा कार्यक्रम श्रमका सम्बन्धमा ‘फोस्रो’ गन्थनमा सीमित छ र आधारभूत महत्वको पक्षको चर्चालाई खारेज गरिदिएको छ—उत्पादनका साधन कसको अधिनमा हुने—र पुँजीवादमा हुने शोषण र शोषण र दमनको जड, जसका कारण सर्वहारा उत्पीडित हुन्छ, त्यसलाई ढाकछोप गरिएको छ । यस किसिमको झूठ खुल्लमखुला बुर्जुवा वकवास हो । ख्रुस्चेव र ब्रेजनेव सत्तामा आएपछि सोभियत रूसमा बुर्जुवा एकाधिकारवादी पुँजीवादी वर्गद्वारा आमजनताको सामाजिक स्वामित्व व्यक्तिगत स्वामित्वमा परिणत गराइँदैछ । लासालवादी दीर्घकालीन झूठलाई अँगालेर ब्रेजनेव र उसका मतियारहरू पनि “श्रम नै सम्पतिको स्रोत” हो भनेर चिच्याए र सोभियत जनताका सामु “काम, काम र फेरि पनि काम” को धारणा अघि सारे । यसको उद्देश्य अरू केही थिएन, पुँजीवादी शोषणका सम्बन्धहरू र पुँजीवादको पुर्नस्थापना सम्बन्धी सत्यमाथि पर्दा लगाउनु मात्र थियो, जसबाट मजदुरहरूबाट बढीभन्दा बढी नाफा आर्जन गर्न सकियोस् । जेजे गरे पनि परालको यस त्यान्द्रोले पुँजीवादी व्यवस्था र सोभियत संशोधनवादी गद्दार गुटलाई उनीहरूको पतनबाट बचाउन सकेन ।
लासालको “मजदुरीको लौह नियम” लाई गोथा कार्यक्रममार्फत जर्मन पार्टीमा थोपरेर “मजदुरीको फलामे नियमसहित मजदुर–प्रणालीको उन्मूलन” मार्फत पुँजीवादका विरुद्ध लड्ने जुन आधार बनाइयो, यो बकवास सिवाय केही होइन । तथाकथित “मजदुरीको लौह नियम” लासालले बुर्जुवा अर्थशास्त्रीहरूबाट ग्रहण गरेको फोहरको थुप्रो मात्र हो र यसले मजदुरी मजदुरका लागि बाँच्नका लागि नभइनहुने तहसम्म मात्र उपलब्ध हुनसक्छ भनेर भन्छ । यदि लामो समयसम्म बाँच्ने तहभन्दा बढी मजदुरी प्राप्त भएर मजदुरको स्तर वृद्धि हुन्छ भने, यसले जनसङ्ख्या वृद्धिलाई प्रोत्साहित गर्छ र श्रम बजारमा आपूर्ति आवश्यकताभन्दा बढी हुन्छ । परिणाममा श्रम यसको मूल बिन्दुमा झर्न बाध्य हुन्छ । यसको अर्थ गरिबी र श्रमजीवी वर्गको स्थिति जनसङ्ख्या वृद्धिको प्राकृतिक नियमद्वारा निर्धारित हुन्छ, श्रमजीवी वर्गद्वारा चलाइएको आन्दोलनद्वारा होइन । यस किसिमको बुर्जुवा सिद्धान्तलाई माक्र्सको पुँजीमा पूर्ण रूपमा खारेज गरिएको छ । श्रमजीवी वर्गमाथि हुने शोषण र दासत्वको मूल जड, जसलाई माक्र्सले औँल्याउनुभएको छ , पुँजीवादी निजी स्वामित्वमा आधारित ज्यालादारी व्यवस्था हो । हिंसापूर्ण क्रान्तिमार्फत ज्यालादारी श्रम–व्यवस्थाको उन्मूलन भएपछि मात्र श्रमजीवी वर्गले आफूलाई मुक्त पार्न सक्छ । एकपल्ट ज्यालादारी श्रम–व्यवस्थाको उन्मूलन भएपछि यसका नियमहरू स्वाभाविकरूपमा आफैँ हराउँछन् । माक्र्सले सटिक किसिमले भन्नुभएको छ ः “यदि मैले ज्यालादारी श्रमको उन्मूलन गर्छु भने स्वाभाविक रूपमा म यसको कानुनको पनि अन्त्य गर्छु, चाहे ती लौह किसिमका हुन् अथवा भुवादारी ।” जहाँसम्म मस्यौदा कार्यक्रमको कुरा छ, यो ज्यालादारी श्रम–व्यवस्थाको उन्मूलनको उल्लेख समेत नगरी भागेको छ र घुमीघुमी कथित “लौह कानुन” को चर्चामा केन्द्रित भएको छ । यो भनेको श्रमजीवी वर्गलाई क्रान्तिको बाटो त्याग्न र लासालवादी समाजवादको अनुभूति गर्न “राजकीय सहयोग” का लागि पर्खन भने बराबर हो । “ज्यालादारी श्रमको लौह कानुन” जनसङ्ख्या सम्बन्धी कुख्यात माल्थसवादी सिद्धान्तमा आधारित छ । यस किसिमको दृष्टिकोणलाई आधार मान्ने हो भने जो–कोही पनि सबै क्रान्तिको उन्मूलनको बिन्दुमा पुग्छ । कारण के हो भने “ यदि यो सिद्धान्त सही छ भने फेरि म कानुनको उन्मूलन गर्न सक्तिन, चाहे मैले ज्यालादारी श्रमलाई हजारपल्ट उन्मूलन किन नगरौँ, किन भने त्यस नियमले ज्यालादारी श्रमको व्यवस्थालाई मात्रै नियन्त्रण गर्दैन, बरु त्यसले हरेक सामाजिक व्यवस्थालाई नियन्त्रण गर्छ ।”
गोथा कार्यक्रमले तथाकथित “न्यायोचित वितरण” र “समान अधिकार” र “श्रमको अक्षुण्ण आय” र यस्तै लासालवादी सूत्रको पनि ढोल पिटेको छ र बुर्जुवा अर्थशास्त्रसित सम्बद्ध “वितरणले उत्पादनलाई निर्धारण गर्छ” को सिद्धान्तलाई बारम्बार दोहोर्याएको छ । माक्र्सवादले उत्पादनमा आएको परिवर्तनको स्थितिले वितरणको स्थितिलाई प्रभावित पार्छ भनेर स्वीकार्छ । उत्पादन सम्बन्धको क्षेत्रमा पुँजीवादी निजी स्वामित्वलाई “विद्यमान सामाजिक स्थितिलाई बलपूर्वक मिल्काएपछि मात्र” उन्मूलन गर्न सकिन्छ । (कम्युनिस्ट पार्टीको घोषणापत्र) ।
लेनिनले के कुरामा जोड दिनुभयो भने बुर्जुवा राज्यलाई “सर्वहारा राज्यसत्ताले ( सर्वहाराको अधिनायकत्व) ले आम नियमझैँ, हिंसापूर्ण क्रान्तिबाट मात्र यो कार्य सम्पन्न गर्न सक्छ ।” (’राज्य र क्रान्ति’) । माओले यो आधारभूत सिद्धान्तलाई एउटा सरल सूत्रमा समेट्नु भएको छ ः “राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मिन्छ ।” (’युद्ध र रणनीतिका समस्याहरू’ ) । ऐतिहासिक अनुभवले यसलाई प्रमाणित गरेको सत्य हो, यही मात्रै सर्वहाराको मुक्तिको बाटो हो । लासालवादी “राज्य सहयोग” देखि “शान्तिपूर्ण सङ्क्रमण” को वकालत गर्ने नयाँ पुराना संशोधनवादीहरू सबैले सिद्धान्तमाथि गद्दारी गरेका छन् । तिनीहरूको झूठ अरू केही पनि होइन, बरु पुँजीवादी व्यवस्थालाई ग्रहण गर्ने र सर्वहारा क्रान्तिको विरोध गर्ने अधिभौतिकवादी हतियार मात्र हो ।
“स्वतन्त्र राज्य” का लागि प्रयास गर्ने भनेर जसरी गोथा कार्यक्रममा भनिएको छ, यो लासालको अवसरवादी राजनीतिक कार्यक्रम हो । माक्र्सवादका अनुसार राज्य वर्गपक्षधरतामा आधारित हुन्छ, जसद्वारा एउटा वर्गले अर्को वर्गलाई दबाउने गर्छ । राजनीतिक सत्ता हातमा लिएपछि सर्वहारा वर्गले सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नेछ, जसको उद्देश्य वर्गभन्दा माथिको “स्वतन्त्रता” कायम गर्नु नभएर, बरु बुर्जुवा वर्ग र अरू शोषक वर्गको प्रतिरोधलाई दमन गर्नुहुन्छ । “स्वतन्त्र राज्य” को झण्डा (व्यानर) टाँगेर लासाल र उसका अनुयायीहरूले बुर्जुवा प्रजातन्त्रवादीहरूले चुनावी नाराहरू अघि सारेझैँ आफ्ना नाराहरू अघि सारे । उनीहरूको उद्देश्य ठुला जमिनदार र ठुला पुँजीपति वर्गहरूको संयुक्त अधिनायकत्व कायम गर्नु थियो ।
लासालवादी “स्वतन्त्र राज्य” को आलोचना गर्दै माक्र्सले के पनि भन्नुभयो भने ः “पुँजीवादी समाज र समाजवादी समाजबीच एउटाबाट अर्कोमा जाँदा क्रान्तिकारी रूपान्तरणको काल रहेको हुन्छ । त्यसको साथसाथै राजनीतिक सङ्क्रमणको काल पनि हुन्छ, जसमा राज्य सर्वहारावर्गको क्रान्तिकारी अधिनायकत्वबाहेक अरू केही हुन सक्तैन ।” माक्र्सको यो वैज्ञानिक निष्कर्ष कम्युनिस्ट घोषणापत्रको प्रकाशनपछि सर्वहारा अधिनायकत्वको सिद्धान्तको क्षेत्रमा एउटा महत्वपूर्ण विकास थियो ।
पुँजीवादी समाजदेखि साम्यवादी समाजसम्मको अवधि अवश्य पनि क्रान्तिकारी रूपान्तरणको समय हुनैपर्छ र यो सर्वहारा क्रान्तिको विशिष्ट अवस्था र ऐतिहासिक कार्यभारद्वारा निर्धारित हुन्छ । यो क्रान्ति एकदमै गहिराइसम्म पुग्ने र क्रान्तिमार्फत मानव इतिहाससम्म पुग्ने पहिलेका क्रान्तिहरूभन्दा आधारभूत रूपमै फरक किसिमको हुन्छ । उदाहरणका रूपमा बुर्जुवा क्रान्तिले एउटाको निजी स्वामित्वलाई अर्कोको निजी स्वामित्वमा फेर्छ, एउटाले गरेको शोषणको स्थानमा शोषण गर्न अर्को आउँछ, सामन्ती उत्पादन सम्बन्धबाटै लामो समय लिएर पुँजीवादी उत्पादन सम्बन्ध विकसित हुन्छ । तर सर्वहारा क्रान्ति यस्तो हुँदैन, उत्पादनको समाजवादी सम्बन्ध पुँजीवादी समाज भित्रैबाट यथावत रूपमा विकसित हुँदैन । हिँसात्मक क्रान्तिमार्फत सर्वहारा वर्गले राज्यसत्ता कब्जा गरेपछि मात्रै समाजवादी स्वामित्वको उत्पादन सम्बन्ध स्थापना गर्नसक्छ । अझ समाजवादी स्वामित्वको उत्पादन सम्बन्धको आधारभूत रूपान्तरण पूरा गरेपछि पनि आर्थिक मोर्चा र खास गरेर राजनीतिक तथा वैचारिक मोर्चामा समाजवादी क्रान्तिमार्फत निरन्तर सङ्घर्ष चलाइरहनुपर्छ । त्यसैले सर्वहाराद्वारा राजनीतिक सत्ता कब्जा गर्ने कार्य समाजवादी क्रान्तिको आरम्भ मात्रै हो ।
समाजवादी समाज साम्यवादी समाजको प्रारम्भिक चरण हो, र यो भर्खरै “पुँजीवादी समाजबाट उदय भएको हुन्छ, जसमा आर्थिक, नैतिक, बौद्धिक हरेक पक्षमा पुरानो समाजको गर्भबाट आएका विकारहरू अझै बाँकी रहेका हुन्छन् ।” गर्भबाटै आएका पुराना समाजका यी विकारहरू समाप्त पार्न र साम्यवादको माथिल्लो चरणमा अगाडि बढ्न निश्चय पनि लामो ऐतिहासिक समय लाग्छ ।समाजवादी समाजमा उत्पादनका साधनहरू निजी स्वामित्वबाट साझा स्वामित्वमा रूपान्तरित गरिएको हुन्छ । एक हदसम्म बुर्जुवा अधिकार हराएको हुन्छ, तर यो अझै पनि अन्य पक्षमा विद्यमान रहिरहेको हुन्छ । उदाहरणका रूपमा हरेकलाई उसको काम अनुसारको सिद्धान्त लागू गर्ने काम “अझै— सिद्धान्तमा—बुर्जुवा अधिकार” भित्रै रहेको हुन्छ । यहाँ जो कसैले पनि एकै सामाजिक श्रम गर्दछ, उसले सामाजिक उत्पादनको उपभोग पनि समान किसिमले पाउँन सक्छ । तर व्यक्तिगत श्रम शक्ति तगडा अथवा कमजोर हुनसक्छ, केटाकेटीको सङ्ख्यामा पनि भिन्नता हुनसक्छ, त्यसैले पारिवारिक समुन्नताको स्थिति व्यक्तिव्यक्तिमा फरक हुन्छ । यही भिन्नतामा असमानता विद्यमान रहन्छ । यसका साथै पुरानो समाजका अवशेषहरू मजदुर र किसान, सहर र गाउँ, मानसिक र शारिरीक भिन्नता पनि अझै बाँकी रहन्छन् । शोषक वर्गीय विचारधारा र जब्बर रूपमा रहेका पुराना बानीव्यहोराहरू पनि एकैपल्टमा फ्याल्न सकिँदैन । क्रान्तिकारी रूपान्तरणको यस अवधिमा हटाइएका शोषक वर्गहरूले मात्रै पुरानो सत्ताको पुर्नस्थापना गर्ने प्रयास नगरी, निम्न पुँजीपति वर्गसित सम्बद्ध स्वच्छन्द शक्तिहरूसमेतले पनि नयाँ बुर्जुवा तत्वहरू जन्माउन सक्छन्, बुर्जुवाहरू र निम्न पुँजीवादी स्वच्छन्द तत्वहरूले गर्ने गरेको भ्रष्टाचारबाट प्रभावित भएर, मजदुर किसानसमेत गलत दिशातिर लाग्छन् र नयाँ बुर्जुवा तत्वहरू—बुर्जुवाहरूका दलालहरू श्रमजीवी वर्गको तह र तप्काभित्रैबाट, पार्टीका विशिष्ट व्यक्तिहरूबाट र राज्य संयन्त्रबाटै पनि बुर्जुवा तत्वहरू विकसित हुन थाल्छन् । अध्यक्ष माओले भन्नुभएको छ ः “लेनिनले भन्नुभयो ‘लघु उत्पादनले पुँजीवाद र बुर्जुवाहरूको विकासमा, घन्टाघन्टामा, दिनदिनै, अलिअलि गरेर र व्यापकरूपमै पनि निरन्तर सघाउ प¥ुयाउँछ ।’ यी प्रवृत्तिहरू श्रमजीवी वर्गभित्र र पार्टी सदस्यहरूमा समेत विकसित हुनथाल्छन् । दुवै, सर्वहारा तह र तप्काभित्र अनि राज्य र अन्य सयन्त्रमा रहेका व्यक्तित्वहरूसमेत, यस्ता पात्रहरू छन्, जसले बुर्जुवा जीवनशैली अँगालेका छन् ।”
जबसम्म विश्वमा साम्राज्यवाद र सामाजिक साम्राज्यवाद विद्यमान रहन्छन्, तबसम्म सर्वहारा वर्गको अधिनायकत्वलाई कमजोर पार्न घरेलु प्रतिक्रियावादीहरूका गतिविधिहरूमा अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरूका गतिविधिहरू प्रतिविम्बित भइरहन्छन् । यी सबै कुराले समग्र समाजवादी अवधिभर नै सर्वहारा र बुर्जुवाबीचको वर्गसङ्घर्ष दीर्घकालीन, बाङ्गोटिङ्गो र कतिपय समयमा चोटिलो पनि हुन्छ भन्ने कुरा देखाउँछ । बुर्जुवा वर्ग र अन्य शोषक वर्गको प्रतिरोधमाथि प्रभुत्व कायम गर्न, पुँजीवादको पुर्नस्थापना रोक्न, वर्गहरूको उन्मूलन गर्न, बुर्जुवा है हुकुममाथि प्रतिबन्ध लगाउन र अन्त्यमा यी उन्मूलन गरी साम्यवादको अनुभूत गर्न निश्चय पनि लामो समय लाग्ने छ, यसमा निश्चय पनि एउटा राजनीतिक सङ्क्रमणको समय हुनेछ, जसमा सर्वहारा अधिनायकत्वलाई निरन्तर रूपमा लागू गर्नुपर्ने हुन्छ । माक्र्सले भन्नुभएको छ ः समाजवाद क्रान्तिको स्थायित्वका लागि घोषणा हो, सर्वहारा अधिनायकत्व सामान्यतः वर्ग उन्मूलनको अनिवार्यतः प्रवेशविन्दु हो, जसले तिनीहरूसित सम्बद्ध उत्पादन सम्बन्धको उन्मूलन गर्छ, जसमा उत्पादन सम्बन्धसित सम्बद्ध सबै सामाजिक सम्बन्धहरूको उन्मूलन पनि पर्छ, यसको काम भनेको यी सामाजिक सम्बन्धबाट प्राप्त सबै विचारहरूलाई क्रान्तिकारीकरण गर्नु हो ।” (‘फ्रान्समा गृहयुद्ध’ )
सर्वहाराको अधिनायकत्व माक्र्सवादको निचोड हो । समाजवादको समग्र ऐतिहासिक अवधिभर सर्वहारा अधिनायकत्वलाई समातिरहने अथवा यसको विरोध गर्ने भन्ने कुरा सही र गलत माक्र्सवादको परिक्षणको मापदण्ड हो । वर्गसंघर्षको आवश्यकता बोध गर्नु मात्र पुग्दो छैन, त्यो मात्रै माक्र्सवादी हो, जसले वर्गसङ्घर्षको आवश्यकतालाई सर्वहारा वर्गको अधिनायकत्वसम्म पु¥याउनु आवश्यक ठान्छ भनेर लेनिनले भन्नुभएको थियो ।बुर्जुवा शासन फ्याल्नु मात्र पुग्दो छैन, सम्पन्नहरूबाट विपन्नहरूले बलपूर्वक सत्ता कब्जा गर्नु र सर्वहार वर्गको अधिनायकत्व लागू गर्नु पर्ने आवश्यकता पनि हुन्छ । “राज्यसत्ता सम्बन्धी माक्र्सको शिक्षाको सारतत्वलाई तिनले मात्र सही किसिमले बुझेका छन्, जसले आमरूपमा हरेक वर्गयुक्त समाजमा एउटा खास वर्गको अधिनायकत्वको आवश्यकता हुन्छ मात्र होइन, बुर्जुवा वर्गलाई मिल्काउने सर्वहाराका लागि मात्र होइन, समग्र ऐतिहासिक अवधि जुन, साम्यवादी ‘वर्गविहीन समाज’ र पुँजीवादी समाजबीचको अवधि हुन्छ, त्यसमा पनि सर्वहाराको अधिनायकत्व आवश्यक पर्छ ।” (लेनिन, ’राज्य र क्रान्ति’) ।
गोथा कार्यक्रमले सर्वहाराको अधिनायकत्वका बारेमा केही पनि बोलेको छैन, बरु वैधानिक माध्यमबाट “स्वतन्त्र राज्य” को निर्माण गर्ने कुराको घोषणा गरेको छ । यसले यसको अवसरवादी सारलाई पुष्टि गर्छ । लासालको चिहान खोतलेर सोभियत संशोधनवादी गद्दार गुटले, “सम्पूर्ण जनताको राज्य” को बकवासलाई अगाडि सार्दै “राज्यसत्तालाई अगाडि बढाउन अब सर्वहारा वर्गको आवश्यकता छैन” भनेर चिच्यायो । यसले तिनीहरू जनताका ज्यानी दुस्मन हुन् भन्ने कुरा प्रस्ट रूपमा सावित हुन्छ ।
पार्टीमा विद्यमान आधुनिक संशोधनवाद र अवसरवाद विरुद्ध सङ्घर्ष गर्ने महान् नेता माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सकारात्मक र नकारात्मक दुवै अनुभवको सारभूत निष्कर्ष निकाल्नुभयो र सर्वहारा अधिनायकत्वको माक्र्सवादी सिद्धान्तलाई विकसित गर्नुभयो । माओले दुई वर्ग र दुई बाटाहरूको गम्भीरताकासाथ विश्लेषण गर्दै, समाजवादी सङ्क्रमणसित सम्बद्ध उत्पादनका साधनहरूको स्वामित्वको आधारभूत उन्मूलनपछि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको महान् सिद्धान्तलाई अघि सार्नुभयो र पार्टीको आधारभूत लाइनलाई सिङ्गो समाजवादी ऐतिहासिक अवधिभर गम्भीरतापूर्वक लागू गर्नुभयो । माओले प्रस्टताका साथ भन्नुभयो ः “समाजवादी समाजले अवश्य पनि निकै लामो समय ओगट्छ । ऐतिहासिक समाजवादी कालभरि त्यहाँ अझै वर्गहरू, वर्गीय अन्तरविरोधहरू र वर्गसङ्घर्षहरू रहिरहन्छन्, समाजवादी बाटो र पुँजीवादी बाटोबीच सङ्घर्ष भइरहन्छ र पुँजीवादको पुनस्र्थापनाको खतरा रहि नै रहन्छ । अवश्य पनि सङ्घर्षको दीर्घकालीन जटिल प्रकृतिलाई खुट्याउन सक्नुपर्छ । र यसमा उच्च सर्तकता अँगाल्नुपर्छ ।
कम्युनिस्टले समाजवादी शिक्षा लागु गर्नुपर्छ । वर्गअन्तर्विरोध र वर्गसङ्घर्षलाई सही किसिमले बुझेर परिचालन गर्नुपर्छ , कम्युनिस्टका आफ्नै र जनताका बीचमा रहेका शत्रुहरूबीचका अन्तर्विरोधहरूलाई राम्ररी पहिचान गरी तिनको सही किसिमले परिचालन गर्नुपर्दछ । नत्र भने एउटा समाजवादी मुलुक विपरीत दिशातर्फ जानेछ र पुँजीवादको पुनस्र्थापना हुनपुग्ने छ । यस विषयमा अहिलेदेखि नै हरेक साल, हरेक महिना, हरेक दिन आफूलाई सजग बनाइरहनु पर्छ, जसबाट यस समस्याको अझ सही बुझाइ राख्न सक्छौँ र माक्र्सवादी–लेनिनवादी कार्यदिशामा अडिग रहन सकिन्छ ।”ंंसमाजवाद सर्वहाराको क्रान्तिकारी अधिनायकत्वबाहेक अरू केही हुन सक्तैन । सर्वहाराको क्रान्तिकारी अधिनायकत्व नमान्ने समाजवाद लासालवाद हो माक्र्सवाद होइन ।