राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

संसदवादी, संशोधनवादी र अवसरवादी कम्युनिस्टहरुको व्यापक भण्डाफोर पर्नेमा जोड

गोविन्द पौडेल/ज्ञानु खतिवडा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षता र मोर्चाका सचिवालय सदस्य संगित श्रोताको सञ्चालनमा मोर्चाको भेला सम्पन्न भएको हो । प्रमुख अतिथि किरणले व्यानर पढेर उद्घाटन गर्नुभएको भेलालाई पुष्कर गौतमले स्वागत गर्नुभएको थियो ।


भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका संयोजक मोहन वैद्य किरणले नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न छरिएर रहेका सबै क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । सडकदेखि संसद र सरकारमासम्म संसदवादी, संशोधनवादी र अवसरवादी कम्युनिस्टहरुले ‘कम्युनिस्ट’को नाम बद्नाम बनाएको भन्दै संयोजक किरणले संसदवादी, संशोधनवादी र अवसरवादी कम्युनिस्टहरुको व्यापक भण्डाफोर गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । क्रान्तिकारी कम्युनिस्ट शक्ति र यथास्थितिवादी, प्रतिगामी र प्रतिक्रियावादीहरुका बिचमा रहेको भेदलाई खुट्याएर क्रान्तिकारी शक्तिलाई आम जनताको बिचमा स्थापित गरेर लैजानुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले पनि नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्नका निम्ति संसद बाहिर रहेका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु एकताबद्ध भएर बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनु भयो ।

नेकपा (माक्र्सवादी–पुष्पलाल)को तर्फबाट अच्युत ज्ञवाली, माक्र्सवाद तथा पुष्पलाल विचार मञ्चका तर्फबाट उदयराम अधिकारी, नेकपा (मसाल)का संयोजक विमल शर्मा, प्रतिरोृध जनअधिकार आन्दोलनका तर्फबाट प्रमोद धिताल, नयाँ जनवादी मोर्चाका संयोजक दिनेश बर्तौला लगायतले भेला सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । भेलाले मोर्चाको संयोजकमा नेकपा (अध्यक्ष) लोकनारायण सुवेदीलाई चयन गरेको छ । मोर्चामा आबद्ध सबै घटकहरुले रोटेसनमा मोर्चाको नेतृत्व गर्ने गरेका छन् ।

फोटोः जयनारायण दाहाल

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?