राजनीतिक अर्थशास्त्र (क्लास नोट)

१. सामान्य परिचय
राजनीतिक अर्थशास्त्र एउटा व्यापक विषय हो । यो मालको उत्पादन, त्यसको व्यापार, व्यापारसँग सम्बद्ध सरकारी कानुन र राष्ट्रिय आम्दानीको वितरणको समग्र प्रक्रियासँग सम्बन्धित हुन्छ ।
समाज विकासको क्रममा मानिस आफैले तयार पारेका औजार र आफ्नो श्रमसहित उत्पादन प्रक्रियामा जोडिन गयो । एङ्गेल्सले मानिसलाई जनावरबाट फरक गराउने चिज यही श्रम हो भन्नु भएको छ । उत्पादनको त्यो प्रक्रिया स्वामित्व र वितरणको एउटा सम्बन्धसहित अगाडि आयो । त्यही सम्बन्धलाई उत्पादन सम्बन्ध भनिन्छ । माक्र्सवादी राजनीतिक अर्थशास्त्रको विषय यही उत्पादन सम्बन्ध हो । यसले कुनै पनि समाजको अर्थसामाजिक अवस्थालाई चित्रण गर्दछ ।
मानिस श्रम प्रक्रियासँग जोडिएपछि मानव समाज आजसम्म पाँच प्रकारका उत्पादन सम्बन्ध हुँदै अगाडि बढेको छ र त्यो प्रक्रियामा समाजका स्वरुप पनि बदलिएका छन् । ती हुन् ः आदिम समाज, दास–मालिक समाज, सामन्ती समाज, पुँजीवादी समाज र साम्यवादी समाज ।
विभिन्न सामाजिक प्रणालीको विकास प्रक्रिया र तीसँग सम्बन्धित उत्पादन सम्बन्ध बारे यहाँ छलफल गरिएको छैन । यहाँ पुँजीवादी उत्पादन सम्बन्ध मार्फत्् पुँजीपतिले मजदुरहरुको अतिरिक्त श्रमबाट कसरी अतिरक्ति मूल्य दोहन गर्दछ भन्नेबारे मात्र सङ्क्षिप्त अध्ययन गरिने छ ।
त्यो मूल विषयमा प्रवेश गर्नु भन्दा पहिले अर्थशास्त्रसँग सम्बन्धित निम्नानुसार केही पारिभाषिक पदावली माथि छलफल गरिएको छ ।
क) मूल्यको श्रम सिद्धान्त
मूल्यको श्रम सिद्धान्त भनेको मूल्यको त्यस्तो सिद्धान्त हो जसले कुनै पनि वस्तु वा सेवाको आर्थिक मूल्य, त्यसलाई उत्पादन गर्न आवश्यक पर्ने सामाजिक श्रमको कूल योगफलद्वारा निर्धारित हुन्छ भन्ने मान्दछ । अर्को शब्दमा यसको अर्थ कुनै पनि वस्तुको मूल्य भनेको त्यस वस्तुलाई उत्पादन गर्न आवश्यक पर्ने सम्पूर्ण श्रमको मूल्य हो । यो अवधारणा सबैभन्दा पहिला बेलायती अर्थशास्त्री आदम स्मिथले अगाडि सारेका हुन् । माक्र्सले यसैमा टेकेर माक्र्सवादी राजनीतिक अर्थशास्त्रका नियमहरु विकास गर्नुभएको हो ।
प्रकृतिमा यस्ता मूल्यवान् वस्तुहरु पनि पाइन्छन्, जसको उत्पादन गर्न कुनै प्रकारको श्रमको आवश्यकता नै पर्दैन । ती वस्तु बिनामूल्य पाइन्छन् जस्तो सूर्यको प्रकाश, हावा, पानी आदि । यस्ता प्रकृति प्रदत्त वस्तुमा मूल्यको श्रम सिद्धान्त लागु हुँदैन ।
ख) माल
मानिसको दैनिक आवश्यकतालाई पूर्ति गर्न श्रमद्वारा उत्पादन गरी बजारमा विक्रिका लागि राखिएको वस्तुलाई माल भनिन्छ । मालका दुइओटा पक्ष हुन्छन् । ती हुन् उपयोग मूल्य र विनिमय मूल्य । कतिपय वस्तुहरुको अत्यधिक उपयोग मूल्य भए पनि तिनको विनिमय मूल्य हुँदैन । जस्तो, सूर्यको प्रकाश, हावा, पानी आदि । यसरी अर्को शब्दमा उपयोग मूल्य र विनिमय मूल्य भएको वस्तुलाई मात्र माल भनिन्छ ।
ग) मूल्य
मालका विभिन्न मूल्यहरु हुन्छन् । ती निम्नानुसार छन् ः
१) उपयोग मूल्य (Use Value)
उपयोगी वस्तुको उपयोग मूल्य हुन्छ । अर्को शब्दमा, वस्तुको उपयोगिताले त्यसको उपयोग मूल्य दिन्छ । कुनै वस्तु उपयोगी छैन भने त्यसलाई निर्माण गर्न जतिसुकै खर्च गरे पनि त्यसको कुनै उपयोग मूल्य हुदैन । उपयोग मूल्य नभएका वस्तुहरु बजारमा किनबेच हुँदैनन् । सामान्यतः जुन वस्तुको उपयोगिता बढी हुन्छ त्यसको मूल्य बढी हुन्छ ।
२) विनिमय मूल्य ( Exchange Value )
समाजमा कुनै एउटा वस्तु अर्को वस्तुसँग विनिमय गर्न सकिने हुन्छ । वस्तुको यस्तो विशेषता हुनु भनेको त्यसको विनिमय मूल्य हुनु हो । त्यसलाई उत्पादन गर्न लाग्ने श्रमका आधारमा मापन गरिन्छ । मानौं एउटा किसानले १ किलोको कुखुरो दिएर ५ लिटर तोरीको तेल साटेछ । यसबाट यो बुझ्नु पर्दछ कि १ किलोकोे कुखुरो उत्पादन गर्न लाग्ने श्रम र ५ लिटर तोरीको तेल उत्पादन गर्न लाग्ने श्रम बराबर छ । यो उदाहरणमा ५ लिटर तेलको विनिमय मूल्य १ किलोको कुखुराको मूल्यसँग र १ किलोको कुखुराकोे विनिमय मूल्य ५ लिटर तेलको मूल्यसँग बराबर छ ।
मालहरु बजारमा किनबेच हुन्छन् । सम्बन्धित मालको माग र आपूर्तिका आधारमा वजारमा त्यसको मूल्य घटबढ हुने गर्दछ । खास समयमा बजारमा कुनै वस्तुले प्राप्त गर्ने मूल्य नै त्यस वस्तुको बजार मूल्य हो । सामान्यतः बजारमा मालको आपूर्ति कम भए त्यस मालको बजार मूल्य बढी हुन्छ र मालको आपूर्ति बढी भए बजार मूल्य पनि कम हुन्छ । त्यसरी नै, बजारमा मालको माग कम भए त्यसको मूल्य कम हुन्छ र माग बढी भए मूल्य पनि बढी नै हुन्छ । सामान्यतः वस्तुको बजार मूल्यलाई त्यस वस्तुको मोल (Price) भन्ने गरिन्छ ।
घ) सम्पत्ति
कुनै व्यक्ति, समुदाय वा कम्पनीको स्वामित्वमा रहेकोे सम्पूर्ण स्रोत साधन तथा सामग्रीको मूल्य उसको सम्पत्ति मापनको आधार हुन्छ । सम्पूर्ण सामग्रीको बजार मूल्यको योगफलबाट सबै ऋण घटाए पछि बाँकी रहेको रकम उसको सम्पत्ति हो । सारमा, सम्पत्ति भनेको साधन तथा स्रोतहरुको सञ्चय पनि हो । जुन मानिस वा संस्थाले धेरै स्रोत र साधन जम्मा गरेको हुन्छ, उसको सम्पत्ति धेरै हुन्छ, । उसलाई धनी अर्थात् सम्पत्तिवान् भनिन्छ ।
ङ) मुद्रा
मालको उत्पादन र विनिमयको प्रक्रियामा मुद्रा (पैसा)को उत्पत्ति भएको हो । छोटोमा भन्नु पर्दा मुद्रा भनेको एक, मुल्यको इकाइ हो दुई, विनिमयको माध्यम हो तीन, भुक्तानीको मापदण्ड हो चार, मूल्यको भण्डारण हो र पाँच, सार्वभौमिक मुद्रा हो । यी मध्ये, पैसाको मुख्य काम भनेको मूल्यको इकाइ र विनिमयको माध्यम हो ।
च) उत्पादनका साधन
माल उत्पादन गर्नका लागि कच्चा पदार्थ अर्थात् श्रमका विषय र मेसिन अर्थात् श्रमका औजारहरु प्रयोग हुन्छन् । श्रमका विषय र श्रमका औजारलाई एकमुष्टमा उत्पादनका साधन भनिन्छ ।
छ) उत्पादक शक्ति
उत्पादक शक्ति अन्तर्गत् श्रम, श्रमका विषय र श्रमका औजारहरु पर्दछन् । विज्ञान र प्रविधिको विकासले उत्पादनमा औजारहरुको महत्वपूर्ण भुमिका खेल्दछ । तर ती औजारहरु जतिसुकै महत्वपूर्ण भए पनि मानिसको श्रम नै निर्णायक हुन्छ । मानिसले प्रविधिको विकास गरेको हो, प्रविधिले मानिसको निर्माण गरेको होइन ।
ज) उत्पादन सम्बन्ध
उत्पादनका साधनमाथि स्वामित्वको स्वरुप, उत्पादनमा मानिसको भूमिका र मुख्यतः उत्पादित वस्तुको वितरण प्रणालीको समग्रतालाई उत्पादन सम्बन्ध भनिन्छ । उत्पादन सम्बन्धको स्वरुपले सम्बन्धित समाजको चरित्र निर्धारण गर्दछ ।
२. अर्थतन्त्र
अर्थतन्त्र भनेको सङ्गठन तथा संस्थानहरुको एउटा यस्तो प्रणाली हो जसले समाजका सदस्यहरुको बीचमा श्रोत–साधनको उत्पादन र उत्पादित वस्तुको वितरणलाई व्यवस्थित गर्न सहयोग गर्दछ । अर्को शब्दमा, यो उत्पादक, वितरक र वस्तु तथा सेवाका उपभोक्ताको स्थानीय, क्षेत्रीय वा राष्ट्रिय समुदायका बीचमा निर्मित हुने एउटा बृहत सञ्जाल हो । अर्थतन्त्र सामान्यत दुई प्रकारका हुन्छन् । ती हुन् ः पुँजीवादी र समाजवादी अर्थतन्त्र ।
क) पुँजीवादी अर्थतन्त्र
पुँजीवादी अर्थतन्त्र त्यस्तो आर्थिक प्रणाली हो जसमा उत्पादनका साधनहरु र उत्पादित मालमा निजी स्वामित्व रहन्छ र मालको उत्पादन नाफालाई केन्द्रमा राखेर गरिन्छ । यसमा मुद्रा (M) र माल (C) को चक्र M–C–M’ हुन्छ । यसको अर्थ M बराबरको मूद्रा लगानी गरेर मा C उत्पादन हुन्छ र त्यसलाई M बराबरको मूद्रामा बेचिन्छ ।
कुनै पनि लगानीकर्ताले नाफा नहुने देख्यो भने उसले त्यस्तो वस्तुको उत्पादनमा आर्थिक लगानी नै गर्दैन । यसरी, पुँजीवादी प्रणालीमा मालको उत्पादन सामाजिक आवश्यकताका आधारमा होइन बरु बजारमा कुन माल बढी विक्री हुन्छ र नाफा कमाउन सकिन्छ भन्ने उद्देश्यले गरिन्छ । स्वभावतः यसले उत्पादनमा अराजकता ल्याउँछ । उत्पादनमा हुने यही अराजकताले अति उत्पादनको स्थिति पैदा हुन जान्छ र यसले पुँजीवादी अर्थतन्त्रमा बारम्बार आर्थिक सङ्कट सिर्जना गरिरहन्छ ।
ख) समाजवादी अर्थतन्त्र
समाजवादी अर्थतन्त्रमा मुद्रा र मालको चक्र C–M–C हुन्छ । यसको अर्थ जनताको भौतिक आवश्यकता पुरा गर्ने उद्देश्यले समाजमा मालको उत्पादन गरिन्छ, जसमा मुद्राले मध्यस्थकर्ताको भूमिका खेल्दछ । यो बाहेक मुद्राको अरु कुनै भूमिका हुँदैन । राज्यको नियन्त्रणमा उत्पादनका साधन र उत्पादित मालमा श्रमिकहरुको सामूहिक स्वामित्व रहन्छ । यसरी समाजवादी आर्थिक प्रणालीमा पुँजीवादी प्रणालीमा जस्तो मजदुरको श्रमको हिस्सा कसैले कब्जा गर्न पाउँदैन । र अर्को कुरा यो समाजको तत्कालीन आवश्यकताको आधारमा गरिने योजनाबद्ध अर्थतन्त्र हुनाले यस प्रणालीमा अति उत्पादनका कारण पैदा हुने आर्थिक सङ्कटको कुनै गुञ्जायस नै हुँदैन । समाजको आवश्यकता अनुसार उत्पादन र वितरणलाई सुनिश्चित गरिएको हुन्छ ।
३ पूँजीवादी शोषण
पुँजी सम्पत्तिको त्यो हिस्सा हो जसले कसैको आर्थिक क्षमता बृद्धि गर्ने कामलाई बढावा दिन्छ । अर्को शब्दमा पुँजी सम्पत्तिको त्यो हिस्सा हो जसलाई कुनै व्यक्तिले माल उत्पादन गर्न प्रयोग गर्दा त्यसबाट उसले नाफा आर्जन गर्छ । यसरी, एउटा पुँजीपतिको स्वामित्वमा रहेको सबै सम्पत्ति उसको पुँजी होइन । उद्योगपतिको आवासीय घर पुँजी होइन, सम्पत्ति हो किनभने त्यसको मुनाफा आर्जनमा कुनै भुमिका हुँदैन । तर, उद्योगपतिको स्वामित्वमा रहेको कारखाना भवनको मुनाफा आर्जनमा भुमिका रहन्छ, त्यसकारण त्यो उसको पुँजी हो । माक्र्सका अनुसार पुँजी दुई प्रकारका हुन्छन् । ती हुन् ः स्थिर पुंँजी र अस्थिर पूँजी ।
पुँजीपतिले उद्योगमा आर्थिक लगानी गरेर मालको उत्पादन गर्दछ । पुँजीपतिले माल विक्री गर्दा हुने कुल फाइदाको एउटा हिस्सा मात्र मजदुरहरुलाई ज्यालाका रुपमा दिने गर्दछ र बाँकी आफ्नो खल्तीमा राख्छ । यहीँनेर मजदुरको शोषण हुन्छ । यो नै पुँजीवादी आर्थिक प्रणालीको सार हो ।
१) स्थिर पूँजी
स्थिर पुँजी भनेको उत्पादनसँग जोडिएका सबै वस्तुहरुको मूल्यको कुल योगफल हो । जस्तो, कारखानाका भवनहरुको मूल्य, मेसिन तथा त्यसका सहायक उपकरणहरुको मूल्य र कच्चा पदार्थको मूल्य आदि । मजदुरको ज्याला बाहेक बाँकी सबै लगानी स्थिर पुँजी हो ।
२) अस्थिर पूँजी
अस्थिर पुँजी भनेको नयाँ माल उत्पादन गर्न आवश्यक पर्ने लगानीको मात्रा हो । अर्थात्् यो श्रमशक्ति किन्न मजदुरलाई दिइने ज्याला हो । यो मालको नयाँ मूल्य निर्माण गर्न प्रयोग हुने पुँजी भएको हुनाले यसलाई माक्र्सले अस्थिर पुँजी भन्नु भएको हो ।
३ ) अतिरिक्त मूल्य
पुँजीवादी बजारमा पुँजीपतिले कुनै माल उत्पादन गर्दा प्रयोग भएका सबै कच्चा पदार्थ, उत्पादनमा प्रयोग भएका मेसिनको घसाइको मूल्य र श्रमिकलाई तिरेको ज्यालाको एकमुष्ट योगफल भन्दा बढी मूल्यमा बिक्री गर्दछ । जति बढीमा विक्री गर्छ त्यसलाई उसले आफ्नो लगानीबाट प्राप्त भएको नाफा भन्छ । वास्तवमा त्यो नाफा मजदुरको श्रमबाट पैदा हुन्छ, तर पुँजीपतिले श्रमिकको श्रमबाट निर्मित नाफाको त्यो रकम मजदुरलाई ज्यालाको रुपमा नदिएर आफैले खल्तीमा हाल्छ । यसरी मजदुरले दुई थरी श्रम गर्छ ः एक आफ्नो ज्यालाका लागि र दुई पुँजीपतिको मुनाफाका लागि । मजदुरले आफ्नो ज्यालाको रकम आर्जन गर्न खर्चेको श्रमलाई आवश्यक श्रम र पुँजीपतिको मुनाफाका लागि मजदुरले गर्ने विना ज्यालाको श्रमलाई अतिरिक्त श्रम भन्दछन् । र त्यो अतिरिक्त श्रमको मूल्यलाई अतिरिक्त मूल्य भन्दछन् । अतिरिक्त मूल्य नै पुँजीवादको सार हो । अतिरिक्त मूल्य विनाको पुँजीवादको कल्पना पनि गर्न सकिँदैन ।
४) अतिरिक्त मूल्यको दर
अतिरिक्त मूल्यको दरले शोषणको मात्रालाई दर्शाउँछ । कुल अतिरिक्त मूल्यलाई अस्थिर पुँजीले भाग गरेर अतिरिक्त मूल्यको दर निकालिन्छ । यदि अतिरिक्त मूल्यलाई S र अस्थिर पुँजीलाई V ले सङ्केत गर्ने हो भने अतिरिक्त मूल्यको दर S’=S/V हुन्छ । साथै, अतिरिक्त श्रमघण्टालाई आवश्यक श्रमघण्टाले भाग गरेर पनि अतिरिक्त मूल्यको दर निकाल्न सकिन्छ । अतिरिक्त मूल्यको दरलाई प्रतिशतमा नाप्ने चलन छ । यहाँ के कुरा बुझ्न जरुरी छ भने अतिरिक्त मूल्य निर्माणको पक्रियामा स्थिर पुँजीको कुनै भूमिका नै रहँदैन । अतिरिक्त मूल्य र अतिरिक्त मूल्यको दरलाई प्रभाव पार्ने अस्थिर पुँजीले मात्र हो ।
५) नाफाको दर
माल बिक्री गर्दा भएको कुल नाफालाई त्यो माल उत्पादन गर्न लगानी गरिएको कुल पुँजीले भाग गरेर नाफाको दर निकालिन्छ । स्थिर पुँजीलाई C ले संकेत गर्ने हो भने, कुल पुँजी T=C +V अर्थातहुन्छ । यसरी नाफाको दर P’= S/Tअर्थात P’= S/ (C +V)हुन्छ । यसलाई पनि प्रतिशतमा नै व्यक्त गर्ने चलन छ ।
सामान्यतः पुँजीवादी उत्पादन प्रणालीमा नाफाको दर भन्दा अतिरिक्त मूल्यको दर धेरै हुन्छ । स्थिर पुँजीका लागि आर्थिक लगानी नै गर्न नपर्नेे स्थितिमा मात्र नाफाको दर र अतिरिक्त मूल्यको दर बराबर हुन्छन् । नाफाको दर भन्दा अतिरिक्त मूल्यको दर थोरै कहिल्यै पनि हुदैन ।
उदाहरण ः
मानौं एउटा साइकल कारखानाको मालिकले उत्पादनका साधनका निमित्त जम्मा रु ८०,००० लगानी गरेको छ । उसले मजदुरहरुलाई प्रतिदिन ८ घण्टा काम गराउँछ र उत्पादन गरेका सबै साइकलहरु रु १,२०,००० मा बेच्छ । यदि उसले मजदुरहरुलाई ज्याला स्वरुप रु २०,००० दिएको छ भने यो कारोबारमा अतिरिक्त मूल्यको दर र नाफाको दर कति कति होलान् ?
यस उदाहरणमा मजदुरहरुले प्रतिदिन ८ घण्टा काम गरेर आफ्नो ज्यालास्वरुप रु २०,००० कमाउँछन् र पुँजीपतिको निजी नाफाको रुपमा रु २०,००० कमाइदिन्छन् । यसको अर्थ हुन्छ, मजदुरहरुले आफ्नो लागि ४ घण्टा र पुँजीपतिका लागि ४ घण्टा काम गरेका छन् ।
यहाँ, स्थिर मूल्य C. रु ८०,०००;
अस्थिर मूल्य V = रु २०,००० र
अतिरिक्त मूल्य s = रु २०,०००
त्यसकारण, अतिरिक्त मुल्यको दर S’= S/V
= रु २०,००० र रु ८०,०००
= रु १,००,०००
फेरि कुल पुँजी, T=C +V
= रु २०,००० ं रु २०,०००
=१०० %,
त्यस्तै, नाफाको दर P’= S/T
= रु २०,००० र रु १,००,०००
= २० %
पुँजीपति वर्गले विभिन्न तरिकाले आफ्नो अतिरिक्त मूल्यको दर र नाफाको दर बढाएर आर्थिक मुनाफा गर्ने कोशिस गरिराखेको हुन्छ । यसका लागि उसले धेरै विधिहरु प्रयोग गर्छ । ती मध्ये, यहाँ पँुजीपतिले नाफा बढाउने दुईओटा विधि मात्र छलफल गरिएको छ ।
एक ः अन्य कुराहरु यथावत राखी श्रमघन्टा बढाएर । यसरी कमाइने अतिरिक्त मूल्यलाई निरपेक्ष अतिरिक्त मूल्य भनिन्छ ।
उदाहरण ः
माथिको प्रश्नमा अन्य सबै कुरा यथावत राखी मजदुरलाई १२ घन्टा श्रम गरायो भने पुँजीपतिले आर्जन गर्ने अतिरिक्त मूल्यको दर र नाफाको दर कति कति होलान् ?
यहाँ, श्रमिकहरुले आफ्नो ज्याला रु २०,००० कमाउँनका लागि ४ घन्टा काम गर्दछन् । उनीहरुले गर्ने वाँकी ८ घन्टाको अतिरिक्त श्रमको मूल्य पुँजीपतिको खल्तीमा जान्छ । अर्थात्, मजदुरहरुले पुँजीपतिलाई रु ४०,००० कमाइ दिन्छन् ।
यहाँ, स्थिर पुँजी C = रु ८०,०००;
अस्थिर पुँजी V= रु २०,०००;
अतिरिक्त मूल्य C = रु ४०,०००
कुल पुँजी T=C +V
=रु ८०,००० + रु २०,०००
=रु १,००,०००
अतिरिक्त मूल्यको दर S’= S/V
= रु ४०,००० र रु २०,०००
= २०० %,
नाफाको दर उु . क र त्
कुल पुँजी T=C +V
. रु ८०,००० ं रु २०,०००
. रु १,००,०००
नाफाको दर P’= S/T
= रु ४०,००० / रु १,००,०००
= ४० %
नोटः (पुँजीपतिले ज्याला नबढाई श्रमघण्टा मात्र बढाउँदा श्रमिकहरुले आफ्नो श्रमको शोषण भएको सहजै थाहा पाउँछन् । त्यहाँ सजिलै विद्रोह भड्किन सक्छ । त्यसकारण, सामान्यतः पुँजीपतिले यो विधि प्रयोग गर्दैन ।)
दुई ः समय र ज्याला यथावत राखी मेसिनहरुको प्रयोग गरेर । यसरी कमाइने अतिरिक्त मूल्यलाई सापेक्ष अतिरिक्त मूल्य भनिन्छ ।
उदाहरण ः
(माथिको उदाहरणमा ज्याला र श्रम घन्टा यथावत राखेर पुँजीपतिले पहिले भन्दा दुईगुना छिटो काम गर्ने मेसिन प्रयोग ग¥यो भने अतिरिक्त मूल्यको दर र नाफाको दर कति कति होलान् ?)यसो गर्दा, नयाँ मेसिनको सहयोगमा मजदुरहरुले आफ्नो ज्याला जम्मा २ घण्टामा कमाउँछन् । बाँकी ६ घन्टाको श्रमले गरेको उत्पादन पुँजीपतिको खातामा जान्छ अर्थात्् पुँजीपतिले रु ६०,००० कमाउँछ ।
यहाँ, स्थिर पुँजी c= रु ८०,०००,
अस्थिर पुँजी v = रु २०,०००
अतिरिक्त मूल्य s = रु ६०,०००
कुल पुँजी T=C +V
=(रु ८०,००० + रु २०,००००)
= रु १,००,०००
अतिरिक्त मूल्यको दर S’= रु ६०,००० / रु २०,०००
= ३०० %,
त्यस्तै, नाफाको दर P’= S/T
= रु ६०,००० / रु १,००,०००
= ६० %
दोस्रो अर्थात् कुशल मेसिनको प्रयोग पुँजीपतिका लागि नाफा कमाउने धेरै उपयुक्त विधि हो । श्रमिकलाई थाहै नदिई पुँजीपतिले यस विधिबाट पहिलेको भन्दा धेरै गुना अतिरिक्त मूल्य कुम्ल्याउँछ । पुँजीपति वर्गले प्रविधिको विकासमा निकै जोड दिने कारण यही हो ।
४. निष्कर्ष
पुँजीवादी उत्पादन प्रक्रियामा, श्रमिकको श्रमको एउटा हिस्सा पुँजीपतिले बिना ज्याला आफ्नो खल्तीमा पार्छ र यसैबाट मजदुरको शोषण हुन्छ । यही अतिरिक्त श्रमको मूल्य नै अतिरिक्त मूल्य हो र पंँुजीवादी अर्थतन्त्रको सार यही हो । अतिरिक्त मूल्य नभएको पुँजीवाद हुनै सक्दैन । माक्र्सले पुँजीवादी अर्थशास्त्रमा गरेको यो अनुसन्धान मानव इतिहासकै एउटा अद्वितीय उपलव्धि हो । आजसम्म कुनै पनि अर्थशास्त्रीले यसको तथ्यसङ्गत खण्डन गर्न सकेको छैन । अतिरिक्त मूल्यबाट प्राप्त आम्दानी पुँजीपतिको कुल पुँजीमा थपिँदै जाने, पुँजीपति झन–झन धनी बन्दै जाने र परिणामतः पुँजी तथा श्रमका बीचको अन्तर्विरोध पनि चर्किंदै जाने हुनाले त्यसको समाधानका लागि समाजवादी क्रान्ति अनिवार्य हुन्छ । माक्र्सले निकालेको एउटा निष्कर्ष यो हो ।
अर्कोतिर, अत्यधिक नाफाका लागि पुँजीपतिहरु माल उत्पादन गर्न यत्रतत्र भौंतारिने गर्दछन् । उत्पादनको प्रक्रियामा देखा पर्ने यो अराजकताका कारण बजारमा बारम्बार अति उत्पादनको समस्या आइरहन्छ र त्यसले देशमा आर्थिक सङ्कट पैदा गरिरहन्छ । यसरी पुँजीवादी उत्पादन सम्बन्धका कारण पैदा हुने आर्थिक सङ्कटको समाधान उत्पादन सम्बन्धलाई बदलेर मात्र गर्न सकिन्छ । त्यो भनेको समाजवादी उत्पादन सम्बन्ध कायम गर्नु हो । यसका लागि समाजवादी क्रान्ति अनिवार्य छ । माक्र्सले निकालेको अर्को निष्कर्ष यो हो ।
यसरी पुँजीवादले आफ्नो विनाशको कारण आफैसँग लिएर आएको छ । ती कारणहरु अतिरिक्त मूल्य र उत्पादनमा हुने अराजकता हुन् । पुँजीवादको विकल्प साम्यवाद हो । यसलाई माक्र्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा सानदार ढङ्गले पुष्टि गर्नु भएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?