
कम्युनिष्ट घोषणा पत्र वैज्ञानिक साम्यवादका आविष्कारद्वय कार्लमाक्स र फ्रेडरिक एंगेल्सको ऐतिहासिक कृति हो । १८४७ मा वेलायतमा भएको युरोपियन कम्युनिष्टहरुको सम्मेलनमा कम्युनिष्ट लिगको गठन भएपछि माक्र्स एेंगेल्सले घोषणापत्र तयार गरेका थिए । कम्युनिष्ट घोषणापत्र विश्वका मजदुर र क्रान्तिकारी आन्दोलनको एउटा धारिलो हतियार बनेको छ । यो हतियारले अन्तर्राष्ट्रिय सर्वहारावादी आन्दोलनको कामलाई गतिशिल बनाएको छ । घोषणापत्र विश्व विख्यात कृतिको रुपमा स्थापित भएको छ । १८४८मा जर्मनभाषामा यसको पहिलो प्रकाशन भएको थियो । संसारका धेरै भाषामा यसका संस्करणहरु निष्केका छन् । नेपालीभाषामा पनि यो प्रकाशन भएको छ । विश्वका विभिन्न मुलुकहरुमा मजदुर आन्दोलन र प्रगतिशील जनवादी आन्दोलनको विकास सँगसँगै यसको प्रचार प्रसारमा पनि त्यतिकै वृद्धि भएको छ । कम्युनिष्ट घोषणापत्र मुलत दुईभागमा बाँडिएको छ । पहिलो भागमा पूँजीपति र सर्वहारा वर्गबारे र दोस्रो भागमा सर्वहारा र कम्युनिष्टबारे ।
१. पूँजीपति र सर्वहारा : कम्युनिष्ट घोषणापत्रको प्रारम्भमा अहिलेसम्मको मानव समाजको इतिहास वर्ग संघर्षको इतिहासबारे प्रकाश पािरएको छ । वर्ग संघर्षको इतिहास शुरु हुनु अगावै वर्ग विहीन आदिम साम्यवादी समाज भएको कुरा उल्लेख गरिएको छ ।आदिम साम्यवादी युगपछि समाजमा बेग्ला बेग्लै स्वरुपका शोषक र शोषित वर्गहरु देखा पर्ने गरेका छन् ।दासयुगमा दास मालिक र दासहरु, सामान्ती युगमा सामान्त र किसानहरु र पूँजीवादी युगमा पूँजीपति र सर्वहारावर्ग अथवा मजदुर वर्गहरु रहने गरेका छन् । सामन्तवादी युगमा उत्पादन प्रणाली र यातायातको विकास भएपछि पूँजीवादको जन्म भयो । पूँजीपति वर्ग आर्थिक रुपमा शक्तिशाली हुँदै गएपछि राजनैतक रुपमा पनि उनीहरु शक्तिशाली बन्दै गए । त्यही शक्तिको बलमा पूजीपति वर्गले कैयन प्रगतिशील तथा क्रान्तिकारी कामहरु गरेको छ । जस्तै पूँजीवादले पितृसत्तात्मक समाज र त्यसको सम्बन्धहरुलाई तोडिदिएको छ ।मानिसका गुणहरुलाई बजारमा विक्ने बस्तु बनाइदियो । वैद्य,डाक्टर, वकिल र वैज्ञानिकहरु पूँजीपति वर्गका मजदुर बने । पारिवारिक सम्बन्ध पैसाको सम्बन्धमा बदलियो । उत्पादन प्रणालीमा विकास हुँदै गयो । दक्षिण अफ्रिकाको वे अफ गुडहोप भएर भारत जाने बाटो र अमेरिका पत्ता लागेपछि पूँजीपतिवर्गको उद्योग व्यापार धेरै ठूलो पैमानामा वृद्धि भएर गयो ।
पूँजीपतिहरु व्यापार बढाउन विश्वको कुना कुनामा पुग्न थाले। अर्थतन्त्रले अन्तर्राष्ट्रिय रुप ग्रहण ग¥यो । राष्ट्रिय आत्मनिर्भरताका साथै अन्तर्राष्ट्रिय आत्म निर्भरताको स्थिति बन्न पुग्यो । यसरी विकसित मुलुकहरुको सम्पत्ति मुठ्ठिभर पूँजीपतिहरुको हातमा जम्मा हुन थाल्यो । पूँजीवादी उत्पादन प्रणाली शुरु भएपछि उत्पादनमा व्यापक वृद्धि भयो । समाजको आवश्यक भन्दा बढी उपभोगका सामानहरु पैदा हुन थाले । अति उत्पादनको अवस्था उत्पन्न भएपछि बजारको अभावमा पूँजीवादभित्र संकट उत्पन्न भयो । उत्पादन भएका सामान बिक्री नभएपछि कारखानाहरु बन्द हुन थाले । आखिर पूूँजीवादले आफ्नो विकासको खाडल आफै खन्यो । पूँजीवादले आफ्नो चिहान खन्ने शक्ति मजदूरवर्गलाई जन्म दियो । पूँजी र उद्योगमा विकासका साथै मजदूर वर्गको पनि विकास हुँदै गयो । मजदुरहरु मेसीनका दास बन्न थाले । उनीहरुमाथिको शोषण बढ्दै गयो । त्यो अवस्थामा मजदुरवर्गको संघर्ष पनिबढ्दै गयो । सामन्ती व्यवस्था ताका संसारका मजदुरहरु पूँजीपतिवर्गहरुसँग मिलेर निरंकुश राजतन्त्रका विरुद्ध संघर्ष गर्दथे । तर पछि मजदुरहरुले आफ्नै हक हितका लागि पूँजीपतिका विरुद्ध संघर्ष गर्न थाले । सन् १८८६ मा अमेरिकाको सिकागो शहरका मजदुरहररुले ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग गरेर ठूला ठूला मजदुर आन्दोलन गरे । अमेरिकन मजदुरहरुले गरेको संघर्षको सफलतालाई संसारका मजदुरले संझिन्छन् । १८८६ मे१तारिकलाई अन्तर्राष्ट्रिय मजदुर संगठनहरुले आफ्नो विजयको दिन मान्दछन् ।
साना किसान, व्यापारी बुद्धिजीविलाई निम्न पूँजीपति वर्ग भनिन्छ । उनीहरु मध्य केही मान्छेहरु पूजीपति बन्दै जान्छन् । धेरै मान्छे मजदुर बन्दै जान्छन् । मजदूर वर्गले प्रारम्भमा सामान्य प्रकारले संघर्ष गर्दछन् । उनीहरुका सानातिना मागहरु पनि पुरा हुन्छन् तर उनीहरुको सफलता आंशिक र अस्थाई हुन्छ ।त्यस प्रकारका संघर्षहरुद्वारा उनीहरुको चेतना, एकता, संगठन र आन्दोलन बढ्दै गएपछि हिंसात्मक र क्रान्तिकारी रुप लिन्छ । अन्त्यमा पूँजीपति वर्गबाट सर्वहारा वर्गले सत्ताकब्जा गर्दछ । सर्वहारा वर्ग भनेको नै मजदुर वर्ग हो । उनीहरुसँग केवल श्रम शक्तिमात्र हुन्छ । मजदुरहरुसँग जिते संसार हुन्छ, हारे केही पनि हँुदैन ।मजदुर वर्गले जति बेला शासन सत्ता कब्जा गर्दछन् । त्यसपछि मात्र संयुक्त रुपले वस्तु उत्पादन गर्दछन् । उत्पादनका सबै साधनहरुले सामाजिक रुप लिन्छन् । त्यसपछि शोषणरहित समाजको स्थापना हुन्छ । गरिब मजदुर किसान तथा सुकुम्बासीहरुको शासन स्थापित हुन्छ । पूजीपतिवर्गबाट सर्वहारावर्गले सत्ता प्राप्त गर्नका लागि सर्वहाराको नेतृत्वमा सशस्त्र संघर्षबाट समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्दछ ।
२. सर्वहारा र कम्युनिष्टःकम्युनिष्ट पार्टी सर्वहारा वर्गको पार्टी हो । यसले सर्वहारा वर्गको प्रतिनिधित्व गर्दछ ।कम्युनिष्टहरु जातिपातिको भेद नगरीकन सम्पूर्ण मेहनतकश जनताको हितको लागि लड्दछन् । कम्युनिष्टहरुले व्यक्तिगत तथा पूँजीवादी सम्पत्तिको अन्त्य गर्न संघर्ष गर्दछन् । सम्पत्तिलाई पूँजीपति वर्गले नै सामाजिक आधार बनाउने काम गर्दछन् । मजदुरहरुले संयुक्त रुपले परिश्रम गरेर सामाजिक सम्पत्ति पैदा गर्दछन् । त्यसकारण कम्युनिष्टहरुले खाली त्यसको चरित्रलाई मात्र बदल्ने काम गर्दछन् ।उनीहरुले सामाजिक सम्पत्ति माथिको व्यक्तिगत स्वामित्वलाई समाप्त गरेर सामाजिक स्वामित्व कायम गर्दछन् । पूँजीवादी समाजमा मजदुरहरुलाई बाँच्न आवश्यक पर्ने मात्र ज्याला दिने गरिन्छ । उनीहरु नबाँचेमा पूँजीपतिवर्गको काम नचल्ने भएकाले बाँच्ने सम्म ज्याला दिन्छन् र उनीहरुको कमाईको अरुसबै अंश पूँजीपतिले लिने गर्दछन्।कम्युनिष्टहरु व्यक्तिगत स्वन्त्रतालाई समाप्त गरिदिन्छन् भनेर पुँजीपतिहरु कराउने गर्दछन् ।
पूँजीपतिहरुको सम्पत्ति शोषणबाट जम्मा भएको हुन्छ । त्यसकारण कम्युनिष्टहरुले शोषणमुलक सम्पत्तिलाई समाप्त गरेपछि त्यो सम्पत्तिमाथि जसको वास्तविक हक छ उनीहरु नै संयुक्त रुपले सम्पत्तिको मालिक बन्न पाउँछन् । पूँजीपतिहरुका विचार वा चेतना पूँजीवादी व्यवस्थाको आधारमा नै बनेको हुन्छ । उनीहरुले त्यो विचारलाई कहिल्यै नबदलिने विचार ठान्दछन् । तर उत्पादन प्रणाली बदलिएपछि पूँजीवादी विचार स्वतः बदलिन्छ र सर्वहाराको पक्षमा उभिन्छन् । पूजीपतिहरुले भन्दछन् “कम्युनिष्टहरुले परिवारलाई समाप्त गरिदिन्छन् ।” तर परिवारलाई समाप्त गर्दै जाने काम पूँजीपतिहरुले नै गर्दछन् । पूँजीवादी व्यवस्थाको परिणामस्वरुप मजदूरहरुका परिवारहरुले पनि कारखानामा गएर काम गर्नु पर्दछ र उनीहरुलाई अत्यन्तै न्यून ज्यालामा कजाउने गरिन्छ र श्रमको अत्यधिक शोषण गर्दछन् । उनीहरुको जीवन समाप्त जस्तै हुन्छ ।
पूँजीपति वर्गले महिला र बालबालिकाको अवस्थालाई पनि पूँजीवादी व्यवस्थाको अधिन बनाएका हुन्छन् । महिलाहरुलाई सामाजिक सम्पत्ति र उपभोगको वस्तु बनाउँदछन् । वेश्यावृत्ति पनि शोषण प्रधान व्यवस्थाको परिणाम हो।पूँजीवादी व्यवस्थाको अन्त्य भएपछि महिला र बालबालिकाहरु माथिको पराधिनता पनि समाप्त हुन्छ र वेश्यावृत्तिको पनि अन्त्य हुन्छ । कम्युनिष्टहरुलाई देश र राष्ट्रियतालाई समाप्त गर्न चाहन्छन् भन्ने आरोप पुँजीपतिहरुले लगाउने गर्दछन् ।तर मजदुर वर्गको कुनै देश हुँदैन । संसारका मजदुर एक हुन्छन् । तर पनि मजदुर वर्गले सर्वप्रथम त आफू रहेको वा जन्मेको देशको पूँजीवादी व्यवस्थालाई समाप्त गर्नुपर्दछ र समाजवादी व्यवस्था स्थापना गर्नु पर्दछ । मजदुरहरु राष्ट्रियतालाई स्वीकार गर्दछन् ।मजदुरहरुको सत्ता कायम भएपछि राष्ट्रहरुका बिचमा भएका भेदभाव वा राष्ट्र राष्ट्र बीचमा भएका शत्रुता पनि समाप्त हुन्छन् ।
मजदुर वर्गको मुख्य उद्देश्य सर्वहारावर्गलाई शाषकवर्गको रुपमा माथि उठाउने नै हो । सत्तामा आएपछि मजदुर वर्गले पूजीपतिवर्गसित भएको सम्पत्ति माथि कब्जा जमाउने छ र सबै सम्पत्ति मजदुर वर्गको हातमा केन्द्रीत गर्नेछ । त्यसपछि उत्पादनको कार्य तीव्र रुपले अगाडि बढ्ने छ । तर त्यो कार्य त्यति सजिलो छैन । पूँजीवादी व्यवस्था माथि निर्ममतापूर्वक आक्रमण नगरिकन त्यो काम पुरा हुन सक्तैन ।
कम्युनिष्ट घोषणापत्रमा तात्कालिक महत्वका कैयौ मागहरुकालागि पनि संघर्ष गर्ने कुरा बताइएको छ । जस्तै जमिन्दारी प्रथा खतम पार्ने, उत्तराधिकारी प्रथाको अन्त्य गर्ने, यातायातका साधनहरुको पूर्ण अधिकार सरकारको हुने । सार्वजनिक पाठशालाहरुमा बालबालिकाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सम्बन्धी व्यवस्था गर्ने, रोजगारीको ग्यारेन्टी गर्ने जस्ता विषयहरु उल्लेख गरिएको छ ।वर्ग भेदभाव समाप्त भएपछि अन्त्यमा राज्य पनि समाप्त हुनेछ भनिएको छ । घोषणा पत्रको अन्त्यमा लेखिएको छ– सर्वाहारावर्गसित आफ्नो सिक्री बाहेक गुम्ने बस्तु केही पनि छैन, जित्नका लागि उनीहरुका लागि संसार छ ।