
फेरी आयो तीज पनि म चेलीलाई रुवाउन
आका छैनन् माइती लिन दर खुवाउन ।
साह्रै शून्य हुँदै गयो माइतीको आगन
टोलाउँदै छन् रुख,पात साँझ ,बिहान ।
चरी पनि विरहमा रुँदै बोल्छे डालीमा
यसपालीको तीजमा पनि जान पाईन म ।
जान्छु भन्छु ,तीज आउँदा ,माइतीलाई सम्झेर
दिन त्यसै बिताउँदै छु आँसु पुछेर ।
आउँ चेली माइत भनी बोलाउँछे चरीले
विरहको गीत गाउँछे मिठो बोलीले ।
पङ्ख खोली उड्ने चरी डाली समाइ रुँदैछ
झरी, बतास, असिनाको चोट खाँदैछ ।
साह्रै निष्ठुर ,चोटहरु वषौंदेखि सहेको
मुटुभित्र पीडा लुकाई बाँची रहेको ।
चोटले विदेश पुगेका छन् माइतीमा दाजुभाई
एक्लै आँगन हेर्नुपर्छ बुढीआमालाई ।
घर शून्य ,गाउँ शून्य भयो माइती देशमा
दिदीबहिनी ,दाजुभाई पुगे परदेशमा ।
रित्तो गाउँमा हुन्न बरै रमाइलो र रमझम
देश ,परदेश जहाँ भएनी गाउँकै सम्झना ।
मुटुभित्र प्यारो गाउँ, घर आँगन खेल्दैछ
विदेशमा पसिनाको धारा बग्दैछ ।
अति माया लाग्छ बरै विदेशीनेहरुको
मुटुभरी याद मात्रै रात दिन खेलेको ।
आउँछन् लिन अर्को साल बस्छु बाटो हेरेर
दुःख ,सुख साट्छु भेटमा धोका फेरेर ।
यो सालमा जान पाईन अर्को साल जाउँलानी
दिदी बहिनी सबै मिली गीत गाउँलानी ।
सबै सन्तान , आफन्ती ,चेली भेला भएर
देशको गीत गाउँछु माइती ,देशमा गएर ।