वडा सदस्यकै निर्देशन र संलग्नतामा तेस्रोलिंगीमाथि आक्रमण भएको आरोप

६ जनाविरुद्ध किटानी जाहेरी

ललितपुर : महालक्ष्मी नगरपालिका–२ इमाडोल उदयवस्तीमा तेस्रोलिंगीहरूलाई लखेटेर ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोपमा वडा सदस्य नवराज सुवेदीसहित ६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

पीडितका अनुसार वडा सदस्य सुवेदीसहित स्थानीय कृष्ण सुवेदी, अनिल सुवेदी, दिप भण्डारी, दिलीप थापा र सागर सुवेदीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिइएको हो।

२०८३ असोज १ गते बेलुका अन्दाजी ९:३० बजेतिर इमाडोल उदयवस्तीमा पाइप र लाठीले आक्रमण गरी ज्यान मार्ने प्रयास भएको पीडित तेस्रोलिंगीहरूले बताएका छन्। साथीको जन्मदिन मनाएर कोठामा फर्किँदै गर्दा आफूहरूमाथि एक्कासि पछाडिबाट आक्रमण भएको उनीहरूको भनाइ छ।

‘हामीमध्ये कोही खोलामा खसेर बाँच्यौँ। भागेर ज्यान जोगायौँ,’ पीडितले उजुरीमा भनेका छन्।

उजुरीमा गस्तीमा रहेका प्रहरी अधिकारीले समेत आक्रमणकारीलाई नरोकेको र उल्टै ‘हानहान’ भन्दै उक्साएको आरोप लगाइएको छ। आक्रमणकारीको भिड ठूलो रहेको र आफूहरूमाथि आक्रमण भइरहेको प्रत्यक्ष देख्दादेख्दै गस्तीमा रहेका प्रहरी दर्शक बनेको पीडितहरूको भनाइ छ।

‘आक्रमणकारीको निशानामा परेको प्रत्यक्ष देख्दासमेत गस्तीमा रहेको प्रहरी दर्शक बन्नुले हामीमाथि अझ ठूलो असुरक्षाको बादल मडारिएको प्रस्ट हुन्छ,’ उजुरीमा उल्लेख छ।

पीडितका अनुसार आक्रमणमा वडा सदस्यसमेत संलग्न रहेको आरोप लगाइएको छ। जनप्रतिनिधिकै निर्देशनमा तेस्रोलिंगी पहिचान भएका व्यक्तिहरूलाई उक्त क्षेत्रमा बस्न नदिन, लखेट्न, कुटपिट गर्न, आक्रमण गर्न र खोलामा खसालिदिनेसम्मका उर्दी जारी गरिएको प्रत्यक्षदर्शीबाट थाहा पाएको उनीहरूले बताएका छन्।

उनीहरूले वडा सदस्यले तेस्रोलिंगीहरूलाई बस्न नदिने र लखेट्ने विषयमा स्थानीयलाई उक्साएको आरोपसमेत लगाएका छन्। यस विषयमा निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने पीडितहरूको माग छ।

आक्रमणमा संलग्न भनिएका सागर सुवेदीले घटनाको भिडियो फेसबुकमा सेयर गरेको पीडितहरूले बताएका छन्। त्यस्तै, दिप भण्डारीले गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको समाचार बाहिरिएपछि आफ्नो फेसबुक खाता निजी बनाएको उनीहरूको दाबी छ।

पीडितका अनुसार आक्रमणमा संलग्न अनिल सुवेदी र कृष्ण सुवेदी दाजुभाइ हुन्। उनीहरूले दुवै जना आक्रमणमा मुख्य रूपमा संलग्न रहेको आरोप लगाएका छन्।

प्रत्यक्षदर्शीका अनुसार पुल नजिकै खोलाको छेउमा जुन किसिमले आक्रमण भएको थियो, त्यसबाट घटना ज्यान मार्ने उद्देश्यले भएको देखिएको दाबी गरिएको छ। प्रत्यक्षदर्शीले आक्रमणमा संलग्न व्यक्तिहरू समूह बनाएर नियमित रूपमा गुण्डागर्दी शैलीमा प्रस्तुत हुने गरेको आरोपसमेत लगाएका छन्।

दिप भण्डारीले पाइपले कुटेको आरोप लगाएका छन्। भण्डारीको घर पुल छेउमै रहेको छ। तेस्रोलिंगीमाथि आक्रमण गर्नेहरूविरुद्ध उजुरी परेको समाचार बाहिरिएपछि भण्डारीले फेसबुक खाता निजी बनाएको दाबीसमेत गरिएको छ।

अर्का व्यक्ति दिलीप थापाले गाउँमा तेस्रोलिंगीलाई बस्न दिन नहुने र निकाल्नुपर्ने धारणा राख्दै आएको प्रत्यक्षदर्शीको आरोप छ।

प्रत्यक्षदर्शीले वडा सदस्य नवराज सुवेदीमाथि समेत तेस्रोलिंगीलाई बस्न दिन नहुने, खोलामा खसाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएर आक्रमणका लागि उक्साएको आरोप लगाएका छन्। 

तेस्रोलिंगीमाथि कुटपिट गर्नुपर्छ भन्दै आएका एक जना व्यक्ति खुट्टा खोच्याएर हिँड्ने भनेर चिनिने गरेको र सागर सुवेदीले घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको प्रत्यक्षदर्शीको भनाइ छ। सागर सुवेदी घटनाका प्रत्यक्षदर्शीसमेत रहेको उनीहरूले बताएका छन्।

घटनाबारे मायाको पहिचान नेपालका बागमती प्रदेश समन्वय अधिकारी बाबु दुमी राईले जनप्रतिनिधिको निर्देशन एवं संलग्नतामा तेस्रोलिंगी समुदायमाथि आक्रमण भएको आरोप लाग्नु गम्भीर विषय भएको बताएका छन्।

‘जनप्रतिनिधिको निर्देशन एवं संलग्नतामा तेस्रोलिंगी समुदायमाथि आक्रमण भएको घटनाले देशको मानवअधिकारको अवस्था उदाङ्गो पारेको छ,’ राईले भने।

आक्रमणकारीलाई कारबाही नहुने अवस्थाले तेस्रोलिंगी समुदाय थप असुरक्षित बनेको उनले बताए। ‘हामी हिँड्दैमा कारबाही हुने, तर हामीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्नेलाई प्रोत्साहन गर्ने कस्तो कानुन हो? हामीलाई यसको उत्तर पनि चाहिन्छ,’ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका जेनजी युवा राईले भने।

उनले गल्ती गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही हुनुपर्ने बताए। ‘यो उ भन्ने छैन, बस्नै नदिने, हिँड्नै नदिने उर्दी जारी गर्नुले समुदायमा असुरक्षा बढेको छ,’ उनले भने, ‘दोषीलाई कानुनअनुसार कारबाही गरियोस्।’

तर, तेस्रोलिंगीहरूलाई लखेट्न उर्दी जारी गरेको आरोप लागेका वडा सदस्य नवराज सुवेदीले आफू आक्रमणमा संलग्न नभएको बताएका छन्। उनले घटना सामसुम भइसकेपछि मात्रै आफू घटनास्थलमा पुगेको पहिचानसँग दाबी गरे।

वडा सदस्य सुवेदीले हरेक दिन ७–८ जना तेस्रोलिंगी व्यक्ति राति ९ बजेपछि देहव्यापारका लागि उभिने गरेको दाबी गरे। सम्झाइबुझाइ गरे पनि आफूले आक्रमण गर्न उर्दी जारी नगरेको उनले बताए।

‘मेरो नाम कसरी आयो, थाहा नै छैन। पहिले देखिनै देखिरहेको हो, पुलमुनि बस्ने गरेका थिए,’ उनले भने, ‘त्यो दिन साथीको जन्मदिन मनाएर आएको भन्ने पछि सुनेँ। घटना सामसुम भइसकेपछि म पुगेको हो। मैले पनि अरूबाट थाहा पाएको हो। मेरो नाम किन लिए, थाहा भएन।’

वडा सदस्य सुवेदीले आफू घटनामा प्रत्यक्ष संलग्न नरहेको बताए पनि पीडित तथा प्रत्यक्षदर्शीले भने उनीमाथि आक्रमणका लागि निर्देशन तथा उक्साहट गरेको गम्भीर आरोप लगाएका छन्।

घटनामा जनप्रतिनिधिको भूमिका रहेको वा नरहेको, आक्रमणको उद्देश्य के थियो, आक्रमणमा को–को प्रत्यक्ष संलग्न थिए तथा घटनास्थलमा रहेका प्रहरीको भूमिका कस्तो थियो भन्ने विषयमा निष्पक्ष अनुसन्धानबाट तथ्य बाहिर ल्याउनुपर्ने पीडितहरूको माग छ।

पीडितहरूले ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने वडा सदस्यसहित सबैमाथि छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। प्रहरी वृत्त सातदोबाटाले घटनाबारे अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने बताएको छ। 

By जन बिहानी

Related Posts