क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भावी एकता महाधिवेशनमा छलफलका लागि प्रस्तुत वैज्ञानिक समाजवादी कार्यदिशा सम्बन्धि प्रस्तावमा प्रवेश गर्नुभन्दा पहिले कमरेड कञ्चनले गर्नुभएको मेहनतको प्रशंसा गर्न चाहन्छु र उहाँलाई धन्यवाद दिन चाहन्छु ।
विषय प्रवेश
प्रथमतः यो प्रस्तावित दस्तावेज महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज जस्तो नै भएन । एउटा पाठ्यसामाग्री जस्तो बनेर आयो । हामीले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा यति भद्दा दस्तावेजको प्रथमपल्ट अनुभव गर्दैछौं । विश्व कम्युनिष्ट आन्दोलनमा दस्तावेज पेश गर्दा जनता र कार्यकर्तालाई बुझाउन प्रयत्न गरिन्छ, दंग पार्न होइन । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा तत्कालीन सोभियत संघको बिसौं पार्टी महाधिवेशन, १९५६मा निकिता खु्रश्चेवले स्टालिनको विरुद्धमा एउटा भद्दा दस्तावेज पेश गरेका थिए । तर पनि त्यो दस्तावेजले सोभियत जनता र कार्यकतालाई आफ्नो संशोधनवादी लाइन बुझाउने प्रयत्न गरेको देखिन्छ । तर कमरेड कंचनको प्रस्ताव वस्तुस्थितिमा टेकेर आफ्ना कार्यनीति प्रष्ट पार्नेभन्दा सारसंग्रहको रुपमा दंग पार्ने हिसाबले सार्वजनिक भएको छ । धेरै कुराहरु अन्तर्विरोधी छन्, क्रान्तिका असीम परिकल्पनाहरु छन् । तर त्यसका लागि पार्टीका आत्मगत स्थिति संगठनात्मक अवस्था राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको ख्याल गरेर क्रन्तिका लागि आधारभूमीको खोजी गरेको पाइन्न । त्यसो त दस्तावेज धरातलमा उभिएको देखिन्न जसमा यथार्थ भन्दा वामपन्थि लफ्फाजीहरु धेरै छन् । त्यसका लागि केही मात्र तथ्यहरुलाई हेरौं ।
१.कमरेड कंचनले आफ्नो दस्तावेजमा लेख्नुभएको छ–“जनताको अद्वितीय विरता, अदम्य शाहस, जीवन बलिदान गर्ने स्पिरिट र निर्मम प्रकारको संघर्षले पुरानो सत्ताको सामन्ती संस्कृति चर्मराएको हो । अद्र्धसामन्ती, नवऔपनिवेशिक राजनीतिक प्रणालीको जरा उखेलिएको हो र नेपालमा जनताले, जनताबाट जनताका लागि शासनको सिद्धान्तका आधारमा गणतन्त्र स्थापना भएको हो ।”(पृष्ठ ४)
प्रथमतः कंचनले नेपालमा अद्र्धसामन्ती र नवऔपनिवेशिक राजनीतिक प्रणालीको जरा उखेलिएको बताउनुभएको छ, जुन सही माक्र्सवादी विश्लेषण होइन । नेपालमा अद्र्धसामन्ती व्यवस्थाले धक्का खाएको छ । दलाल पूँजीवाद हावी भएको छ । नेपालमा नवऔपनिवेशिकवादले थप व्यवस्थित र योजनाबद्ध रुपमा जरा गाड्दै गएको छ । द्वितीय, कमरेड कंचनले आजको प्रतिक्रियावादी लोकतान्त्रिक गणतन्त्रलाई जनताले, जनताबाट जनताकालागि शासनको सिद्धान्तमा आधारित गणतन्त्र भनेर स्वीकार गर्नुभएको छ । यो दलाल पूँजीवादी व्यवस्थालाई यसरी स्वीकार्नु माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारासँग मेल खाने कुरा होइन । कमरेड कंचनको यस्तो विचारले जान या अन्जान दक्षिणपंथी भड्कावको प्रतिनिधित्व गर्दछ र उहाँलाई बुर्जुवा पूँजीवादी व्यवस्थाको रणनीतिक समर्थनमा पु¥याउँछ ।
२. (क) कमरेड कंचन लेख्नुहुन्छ – “पृथ्वीनारायण शाहले काठमाडौमा केन्द्रिकृत राज्यको राजधानी १७६९मा स्थापना गरेसँगै सेनालाई तलब बापत जमिन दिने गरिएको थियो । यो प्रचलनमा रैकर, विर्ता, गुठी, किपट, मौजा र सनद गरी जमिनको वितरण गरिन्थ्यो । नेपाली सामन्तवादको श्रेणीमा राजा, सामन्त तथा जिमुवाल र किसान गरी तीन श्रेणीमा विभाजित थियो । यो सामन्तवादको स्वरुप थियो ।(पृष्ठ ५)”
(ख) काठमाडौभित्र पूँजीवादको विकास पृथ्वीनारायण शाहले काठमाडौमा राजधानी स्थापना १७६८ गर्नुभन्दा पहिले नै भएको थियो । (पृष्ठ ६)
कमरेड कंचनले एकातिर पृथ्वीनारायण शाहले काठमाडौमा केन्द्रिकृत राजधानी स्थापना गरेपछि सामन्तवादको स्वरुप तयार भएको बताउनुहुन्छ । अर्कोतिर पृथ्वीनारायण शाहले केन्द्रिकृत राजधानी स्थापना गर्नुभन्दा पहिले नै पूँजीवादको सुरुवात भएको मात्र होइन, पूँजीवादको विकास नै भइसकेको बताउनुहुन्छ । यस्तो अन्तर्विरोधी विचारका कारण कमरेड कंचनको दस्तावेजले वैचारिक रुपमा जमिन टेकेको देखिन्न ।
३. कमरेड कंचन लेख्नुहुन्छ – “माक्र्सले कल्पना गरेअनुसार पूँजीको यथेष्ट विकासले समाजवादको मात्र होइन, विश्व साम्यवादका लागि आधार तयार े छ । सर्वहारा वर्गको अग्रदस्ता कम्युनिष्टले संघर्षको प्रकृति मिलाउन सक्ने हो भने अहिले विश्व साम्यवादका लागि आधार तयार भइसकेको छ ।”(पृष्ठ ८)
प्रथमतः कमरेड कंचनको यो भनाइले उहाँ एउटा मनोगत हवाई निश्कर्षमा हुनुहुन्छ भन्ने देखाउँछ । साम्यवाद त धेरै परको कुरा हो । समाजवाद निर्माण लागि पनि पूँजीको विकासले मात्र पुग्दैन । समाजमा समाजवादी चेतनाको पनि विकास हुनुपर्दछ । यो नै माक्र्सवादी सच्चाई हो । द्वितीय, कमरेड कंचनले विश्व साम्यवादकै लागि आधार तयार भइसकेको भन्ने उहाँको तर्क भूमण्डलीय राजनीति, कम्युनिष्ट आन्दोनलको रक्षात्मक अवस्था, उपभोक्तावादी पूँजीवादले पैदा गराएको मनोविज्ञान, र नवउदारवादी अर्थनीतिको चकचकी आदिको आलोकमा हेर्दा कमरेड कंचनको तर्क हास्यास्पद देखिन्छ ।
४. कमरेड कंचन लेख्नुहुन्छ – “चीनमा सर्वहारा अधिनायकत्वको संभावनामाथि स्टालीन र बाकुनिकले नै प्रश्न उठाएका थिए ।” (पृष्ठ ९)
बाकुनिनको मृत्यु हुँदा स्टालिनको उमेर दश वर्ष पनि पुगेको थिएन । बाकुनिन र स्टालिन समकालीन थिएनन् । चीनमा कम्युनिष्ट पार्टीको स्थापना १९२१मा भएको थियो । कम्युनिष्ट पार्टीको स्थापना नै नभएको एसीयाली मुलुक चीनमा सर्वहारा वर्गको अधिनायकत्वको विषयमा बाकुनिनले कसरी प्रतिक्रिया दिए होलान् ? कमरेड कंचनले बाकुनिन र स्टालीनले सँगै प्रतिक्रिया दिएको आसयमा विचार संप्रेषण गर्नुभएको छ । आफ्नो शिघ्र क्रान्तिको अधैर्यतापूर्ण विचारलाई पुष्टी गर्न ट्राटस्कीको सहारा पनि लिनुभएको छ । यसरी इतिहासलाई तोडमरोड गरेर दृष्टिकोण पस्कने काम भ्रम सृजना गर्ने कार्य भएको प्रष्ट छ । यो गैह्रमाक्र्सवादी तरिका हो ।
५. कमरेड कंचन लेख्नुहुन्छ, “अहिलेको विश्वको प्रधान अन्तर्विरोध पूँजीवादी साम्राज्यवाद र विश्वका उत्पीडित जनताबीच रहेको छ । आधारभूत अन्तर्विरोधका रुपमा अन्तरसाम्राज्यवादी अन्तर्विरोध, साम्राज्यवाद र उत्पीडित राष्ट्रहरुबीचको अन्तर्विरोध र पूँजी र सर्वहाराबीचको अन्तर्विरोध रहेका छन् । (पृष्ठ ११)”
पूँजीवादी साम्राज्यवाद र विश्वका उत्पीडित जनताबीचको अन्तर्विरोध भन्नु र साम्राज्यवाद र विश्वका उत्पीडित जनताबीचको अन्तर्विरोध भन्नु एउटै कुरा हो । आजको विश्वको प्रधान अन्तर्विरोध यही हो । कमरेड कंचनले एउटै अन्तर्विरोधलाई प्रधान र आधारभूत अन्तर्विरोधका रुपमा उल्लेख गर्नुभएको छ । यसले कमरेड कंचनमा अन्तर्विरोधलाई नै हेर्ने प्रश्नमा अस्पष्टता, ढुलमुल र भद्दा दृष्टिकोण रहेको देखाउँछ । क्रान्तिकारी विश्वदृष्टिकोण निर्माणको प्रश्नमा यो ठूलो समस्या हो । यस्तो विचारले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउने प्रश्नमा दिशा निर्देश गर्न सक्दैन ।
६. कमरेड कंचन लेख्नुहुन्छ, “भाकपा (पिडब्लु) र माओवादी कम्युनिष्ट केन्द्र (एमसीसी)ले सन् १९८०देखि भारतमा शशस्त्र संघर्ष गरिरहेका छन् । दुबै पार्टी मिलेर भाकपा(माओवादी) बनेपछि यो युद्ध अझै घनिभूत रुपमा अगाडि बढिरहेको छ ।” (पृष्ठ १४)
कमरेड कंचनको भाकपा (माओवादी) युद्ध अझै घनिभूत रुपमा अगाडि बढिरहेको छ भन्ने तर्कले वास्तविकतासित मेल खान्न । समकालीन भारतीय कम्युनिष्ट आन्दोलनको इतिहास हेर्ने जो कोहीलाई थाहा छ, भारतको प्रतिक्रियावादी सरकारको नादिरशाही दमनका कारण भाकपा (माओवादी) कमजोर अवस्थामा रहेको छ । त्यसकारण भाकपा (माओवादी) रक्षा र संघर्षको मार्गमा हिडिरहेको छ । र रक्षालाई प्राथमिकताको सूचिमा राखेर काम गरिरहेको छ । हामीले विषयलाई अतिरंजना होइन, यथार्थ रुपमा राख्नुपर्छ । यही नै मालेमावाद र विचारधारात्मक सच्चाई हो ।
७. कमरेड कंचन लेख्नुहुन्छ, “भाकपा (माओवादी)ले औद्योगिक क्षेत्र, भित्री क्षेत्र र तटीय क्षेत्रको अर्थसामाजिक अवस्थाको अध्ययन गरेको छ र नयाँ परिस्थिति अनुसार जनयुद्धलाई निर्देश गर्ने संकेत देखाएको छ ।” (पृष्ठ १४)
भकपा (माओवादी)को दस्तावेजको अध्ययन अनुसार भाकपा (माओवादी) हरेक परिस्थिति र अवस्थाको अध्ययनमा क्रियाशील छ । अहिले सो पार्टी इतिहासको विमर्श र क्रियाप्रतिक्रियाको फेजमा छ । नयाँ परिस्थिति अनुरुप जनयुद्धलाई निर्देशित गर्ने निश्कर्षमा पुगेको देखिन्न । अहिले पनि भाकपा (माओवादी) दीर्घकालीन छापामार युद्धका पुराना मूल्यहरुमा आधारित छ । प्रतिक्रियावादी प्रहरी मुकामहरुमा एक्सन लिने र लामो समय सुरक्षा तथा शक्ति संचयमा लाग्ने कार्यनीति लिएर यो शक्ति क्रियाशील देखिन्छ । वास्तविकता यही नै हो ।
८. कमरेड कंचन लेख्नुहुन्छ, “नेपालमा वैज्ञानिक समाजवादी कार्यदिशा हुनुपर्ने आधारहरु प्रथम नेपाल नवऔपनिवेशिक अवस्थामा रहेको छ । (पृष्ठ १५)”
पेज ४ मा कमरेड कंचनले नेपालमा नवऔपनिवेशिक राजनीतिक प्रणालीको जरा उखेलिएको वताउनुभएको छ । तर पेज १५ तथा अन्य पेजमा उहाँले नेपालको अवस्था नवऔपनिवेशिक रहेको अवस्था स्वीकार्नुहुन्छ । यसले कमरेड कंचन आज देशको अवस्थालाई मूल्यांकन गर्ने प्रश्नमा समेत ठूलो अलमलमा हुनुहुन्छ भन्ने देखाउछ ।
९. कमरेड कंचन लेख्नुहुन्छ, “सन् २००८मा औपचारिक रुपमा स्थापना भएको गणतन्त्रले दलाल पूँजीवादलाई निर्णायक र मजबूत मात्र बनाएन, यसले नोकरशाही दलाल पूँजीवादलाई समेत मजबूत बनाउने काम ग¥यो । दलाल पूँजीवाद र नोकरशाही दलाल पूँजीवादका विरुद्ध संघर्ष गर्नु सिधै साम्राज्यवादबिरुद्धको संघर्ष पनि हो । यो चरणलाई नयाँ जनवादको तेस्रो चरणको रुपमा लिन सकिन्छ । त्यसकारण हामीले पूरा गर्ने क्रान्ति नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति हुनेछ । नेपाली समाजबाट नवउपनिवेशवाद, दलाल पूँजीवाद, नोकरशाही दलाल पूँजीवादको अन्त्यसँगै समाजवादी समाजको युगको सूत्रपात हुनेछ ।” (पृष्ठ १९)
यो भनाईमा कमरेड कंचनले आजको देशको अवस्थालाई नयाँ जनवादको तेस्रो चरणका रुपमा मूल्यांकन गर्नुभएको छ । आजको अवस्थालाई नयाँ जनवादी क्रान्तिको तेस्रो चरण बताउने परिभाषाले प्रकारान्तरमा उहाँलाई नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो भन्ने निश्कर्षमा पु¥याएको छ । यो संशोधनवादीहरुको तर्क हो । अर्कोतिर कमरेड कंचनले अब गर्ने क्रान्ति नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति भन्नुभएको छ । त्यसो त हामीेले पनि नयाँ जनवादी क्रान्तिको चरण पुरा गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको मार्गमा अगाडि बढ्ने भनेका छौं । उहाँको यो वाक्यलाई हेर्दा कुरा उस्तै उस्तै देखिन्छन् । तर पनि कमरेडले वैज्ञानिक समाजवादी क्रान्तिको अलग समानान्तर दस्तावेज किन प्रस्तुत गर्नुभएको होला ? प्रश्न विचारणीय छ ।
१०. कमरेड कंचन लेख्नुहुन्छ, “लेनिनको समयमा दिइएको विश्वका श्रमिक र उत्पीडिति राष्ट्र र जनता एक होऔं भन्ने नारा अहिलेको परिस्थितिमा बदलिएको छ र विश्वभरका उत्पीडित जनता एकातिर र अर्कोतिर साम्राज्यवाद र उसका दलाल पूँजीपतिहरु हुने अन्तर्विरोध पैदा भएको छ । यसले अहिलेको विश्वमा कुनै पनि देशके सर्वहारा वर्गले साम्राज्यवादका विरुद्ध संयुक्त मोर्चाको निर्माण गर्ने अवस्थाको अन्त्य गरेको छ । माओको समयमा चीनमा त्यसप्रकारको संयुक्त मोर्चा जापानी साम्राज्यवादको प्रत्यक्ष आक्रमणमा बनेको थियो । जुन कुरा अहिले अफगानिस्थान र प्यालेस्टाइनमा देखा परेको छ ।” (पृष्ठ २५)
कमरेड कंचनले लेनिनको नारालाई असान्दर्भिक बताउँदै गर्दा साम्राज्यवादविरुद्धको प्रधान अन्तर्विरोधको स्थानमा आधारभूत अन्तर्विरोधलाई उभ्याउनुभएको छ । यसप्रकारको चिन्तनले कमरेड कंचनलाई आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको लेनिनवादी युगको चरित्रको विरोधी धरातलमा उभ्याएको छ । लेनिनका नारा सन्दर्भहीन हुनु भनेको नयाँ युगको परिकल्पना हो । तर कंचनले लेनिनवादी युगको स्थानमा नयाँ युगको कुरा गर्नुभएको छैन । लेनिनको नारा असान्दर्भिक भएको परिदृष्यमा नयाँ र प्रष्ट नारा के हो ? खुलाउनुभएको छैन । त्यसका साथसाथै उहाँले साम्राज्यवादका विरुद्ध संयुक्त मोर्चा निर्माण गर्ने अवस्थाको अन्त्य भएको तर्क गर्नुभएको छ । यो तर्क सही र वस्तुसंगत देखिन्न । किनभने आजपनि साम्राज्यवादरिोधी राष्ट्रिय–अन्तराष्ट्रिय मोर्चाहरु निर्माण गर्ने संभावना र अवसरहरु छन्, त्यसका लागि प्रयत्न गर्न जरुरी छ । क्यूबा, बोलिभिया लगायत केही ल्याटीन अमेरिकी मुलुक तथा चिन र उत्तर कोरियाले अमेरिकी साम्राज्यवादका विरुद्धमा चलाएको वाक युद्ध समेतको प्रगतिशील महत्व छ । हामीले साम्राज्यवादका विरुद्ध एक्लै होइन, अन्य शक्तिहरुसँग पनि मोर्चाबद्ध भएर संघर्ष गर्ने कार्यनीति अपनाउनुपर्छ । कमरेड कंचनको एक्लै लड्ने तर्कले संकीर्ण वामपंथी अलगावावादको प्रतिनिधित्व गर्दछ, जुन बेठीक छ ।
११. कमरेड कंचन लेख्नुहुन्छ, “जसरी १८७१मा पितृभूमीको रक्षाको नारा पेरिस कम्युन खडा गर्ने क्रान्तिकारी नारा थियो, त्यसैगरि १९१४को पहिलो विश्वयुद्धसम्म आउँदा यो पश्चगामी भइसकेको थियो ।” (पृष्ठ २५)
कमरेड कंचनले भनेजस्तो प्रथम विश्वयुद्धमा आउदा पितृभूमीको रक्षाको नारा कार्ल काउत्सकीले उठाएपनि त्यो पश्चगामी नारा भइसकेको थिएन । प्रथम विश्वयुद्ध हुने कारणहरुमध्य यो एउटा कारण थियो । बोल्सेभिकहरुले नै सोभियत संघको राष्ट्रिय एकता र क्रान्तिमा जोड दिएका थिए । सर्वहारा अन्र्तराष्ट्रवादको प्रश्न अलग परिभाषाको विषय हो ।
१२. कमरेड कंचन लेख्नुहुन्छ, “माओेले १९४०मा जनवादी क्रान्तिको नारा दिनुभएको थियो । जुन त्यतिबेलाको सन्दर्भमा क्रान्तिकारी थियो र यसले चीनमा १९४९मा वैज्ञानिक समाजवाद स्थापना गरेको थियो ।” (पृष्ठ २५)
चीनमा १९४९मा वैज्ञानिक समाजवादी क्रान्ति होइन, नयाँ जनवादी क्रान्ति भएको थियो । १९४९को सेप्टेम्बरमा माओले नयाँ जनवादी कार्यक्रम अन्तर्गत २३ दलको भेला गराएका थिए, जसमा ६६२ प्रतिनिधिहरुको उपस्थिति थियो । सबैलाई समेटेर परामर्शदातृ समिति बनाइएको थियो । १९४९मा वैज्ञानिक समाजवाद स्थापना गरियो भन्ने कमरेड कंचनको तर्कले इतिहासको गलत ब्याख्या गर्छ । एउटा कम्युनिष्टले आफ्नो कुरा पुष्टी गर्न इतिहासकै तोडमरोड गरेर भ्रम सृजना गर्न हुँदैन । चीन १९५४ बाट मात्र वैज्ञानिक समाजवादको संक्रमणको दिशामा गएको थियो ।
१३. कमरेड कंचन लेख्नुहुन्छ, “परिवर्तित राजनीतिक तथा आर्थिक अवस्थामा नेपालमा नयाँ जनवादको नारा पश्चगामी हुनपुग्छ भने जनतालाई नेतृत्व गर्ने नारा वैज्ञानिक समाजवाद हुन्छ ।”(पृष्ठ २५)
आज नेपालमा दलाल तथा नोकरशाही पूँजीपति वर्गको शासन व्यवस्था छ, त्यसकारण कम्युनिष्ट पार्टीको नेतृत्वमा हुने नयाँ जनवादी क्रान्तिको कार्यदिशा अग्रगामी नै हुन्छ । नयाँ जनवादी क्रान्तिको नारा पश्चगामी भयो भन्ने कमरेड कंचनको दृष्टिकोणले उहाँलाई नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भैसक्यो भन्ने स्थानमा पु¥याउछ । यो विचारले कमरेड कंचनलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका संशोधनवादी दलहरुको समीपमा पु¥याएको छ । यो एउटा सोशल डेमोक्रेटिक भड्कावको जगमा उभिएको क्रान्तिकारी पलायनको दृष्टिकोण हो । एक प्रकारको लफ्फाजी पनि हो ।
१४. कमरेड कंचन लेख्नुहुन्छ, “अमेरीकी साम्राज्यवाद र रुसी राजकीय पूँजीवादको होडबाजीले अहिले युक्रेनमा युद्ध चलिरहेको छ ।” (पृष्ठ ३१)
रुस राजकीय पूँजीवादी मात्र होइन साम्राज्यवादी मुलूक पनि हो ।
१५. कमरेड कंचन लेख्नुहुन्छ, “१९२४मा लेनिनको देहान्तपछि समाजवादी सत्ताको बागडोर महान नेता स्टालिनको हातमा आयो ।” (पृष्ठ ३१)
सन् १९२२मा नै स्टालिन सोभियत संघको कम्युनिष्ट पार्टीको महासचिव भइसकेका थिए सत्ताको बागडोर हातमा लिइसकेका थिए । १९२७ बाट स्टालिनको नेतृत्वमा प्रथम पंचवर्षीय योजना सुरु भएको थियो । त्यही नै वैज्ञानिक समाजवादको आधार थियो ।
१६. कमरेड कंचन लेख्नुहुन्छ, “यो सन्धि (सुगौली सन्धि) लागू गरेपछि नेपाल नव औपनिवेशिक अवस्थामा प्रवेश ग¥यो ।” (पृष्ठ ३९)
द्वितीय विश्वयुद्ध (१९३९–१९४५) पश्चात विश्व साम्राज्यवादले पुरानो औपनिवेशिक नीतिलाई बदलेर नयाँ ढंगको औपनिवेशिक नीति अख्तियार गरेको थियो । त्यसको लामो परिभाषा छ । यसैलाई इतिहासमा नवउपनिवेशवादी नीति भनियो । नवउपनिवेश र अद्र्धउपनिवेशको परिभाषामा धेरै अन्तर छ । कमरेड कंचनले धेरै ठाउँमा अद्र्धउपनिवेश र नवउपनिवेशको शब्दलाई एउटै पर्यायवाचीका रुपमा प्रयोग गर्नुभएको छ । त्यसो गर्नु या त्यसरी बुझ्नु इतिहास सम्बन्धि गलत समझदारी हो र माक्र्सवादी दृष्टिकोण विपरितको कुरा हो । यो मनोगतवाद पनि हो ।
१७. कमरेड कंचन लेख्नुहुन्छ, “भूमण्डलीकृत वित्तीय पूँजीवादी साम्राज्यवादको विकास भएको अहिलेको युगमा संसार पछौटेभन्दा पछौटे अवस्थामा रहेको कुनै पनि मुलुकका कम्युनिष्टहरुले समाजवादी कार्यक्रमबिना क्रान्ति सम्पन्न गर्न सक्दैनन् । भलै क्रान्तिपश्चात उसले जनवादी कामहरु सम्पन्न गर्नु अनिवार्य कार्य पर्दछ ।”(पृष्ठ ४६)
नयाँ जनवादी क्रान्ति नयाँ प्रकारको पूँजीवादी क्रान्ति हो, जुन क्रान्तिको नेतृत्व कम्युनिष्ट पार्टीले गर्दछ । नयाँ जनवादी ब्यवस्थामा गैह्रसाम्यवादी पार्टीहरुको पनि अस्तित्व हुन्छ, नयाँ जनवादमा पूँजीको विकास गरेर समाजवादी संक्रमणको दिशामा अगाडि बढ्ने कार्यक्रम हुन्छ । चिनमा १९४९मा जनवादी क्रान्ति भएको थियो । १९५४बाट चिन समाजवादी दिशामा अगाडि बढेको थियो । वैज्ञानिक समाजवाद, सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत मात्र स्थापना गर्नसकिन्छ । सर्वहारा वर्गको अधिनायकत्वमा अन्य दलको अस्तित्व हुँदैन । नेपालजस्तो आश्रित कृषिप्रधान र नवऔपनिवेशिक मुलूकमा गरिने कम्युनिष्ट क्रान्तिको चरित्र नयाँ जनवादी नै हुन्छ । समाजवादी क्रान्ति गरेर नयाँ जनवादी काम पूरा गर्ने भन्ने कुराले प्रथमः क्रान्ति सम्बन्धि विपरित सैद्धान्तिक समझादारीको पक्षपोषण गर्छ । द्वितीय वैज्ञानिक समाजवादमा सर्वहारा अधिनायकत्व सम्बन्धि प्रश्नमा कुनै गम्भीरता देखाउदैन । त्यसैले जान या अन्जान यो प्रश्नमा कमरेड कन्चनको दृष्टिकोणले फेरि पनि क्रान्तिकारी पलायनको प्रतिनिधित्व गर्दछ । वैज्ञानिक समाजवादी क्रान्ति पश्चात नयाँ जनवादी कार्यक्रम लागू गर्ने भन्ने कुरा सैद्धान्तिक र व्यवहारिक दुबै हिसाबले मिल्दैन ।
१८. कमरेड कंचनले एक पार्टी दुई कार्यनीतिको आवश्यकता औल्याउनुभएको छ ।(पृष्ठ ६७)
लेनिनको नेतृत्वको रुसको कम्युनिष्ट पार्टीमा एउटा परिस्थितिमा वैचारिक लाइनको प्रवाहको सिलसिलामा एक पार्टी दुई कार्यनीतिको अवस्था सृजना भएको थियो । तर आजको परिस्थितिमा एउटा पार्टीमा दुई कार्यनीतिको खोजी गर्नु वा त्यसप्रकारको कार्यनीति सृजना गर्न खोज्नु गुटगत मनोविज्ञान हो । यस्तो दृष्टिकोणले पार्टी एकता र विकासमा बाधा पु¥याउँछ । यो गलत कार्यनीतिको माग हो । छलफलमा स्वतन्त्रता, कामकारवाहीमा एकताको जनवादी केन्द्रियतामा आधारित लनिनवादी विधि नै नेपालका कम्युनिष्ट आन्दोलनलाई ठिक दिशामा अगाडि बढाउने विधि हो ।
निश्कर्षः
कमरेड कंचनको दस्तावेजमा रहेका यी केही कुराहरु मात्र हुन्, उहाँका विचारहरु अन्तर्विारोधी छन् र आपसमा जुध्छन् । वैज्ञानिक समाजवादी कार्यदिशा अगाडि सार्ने दौरानमा कमरेड कंचनले समग्र दस्तावेजमा सर्वहारा वर्गको अधिनाकत्वको महत्वपूर्ण पक्षमा ध्यान पु¥याएको देखिन्न । उहाँको दस्तावेजमा विशाल ग्रन्थजस्तो छ । त्यसले उहाँलाई फेबियन समाजवादी विचारको दिशामा धकेलेको छ । मिहिनेत गर्नुभएको छ, तर दस्तावेजले नेपालको वस्तुगत अवस्था र धरातलीय यथार्थतामा टेकेको पाइन्न । समग्र दस्तावेज अध्ययन गर्दा यो दस्तावेज सोशल डेमोक्रेटिक भड्कावमा फसेको देखिन्छ । अग्रिम क्रान्तिकारीताको नाउँमा दक्षिणपंथी राजनीतिको सेवा गर्ने क्रान्तिकारी पलायनको मार्ग समातेको कमरेड कंचनको दस्तावेज थोरैमात्र वस्तुगत तर धेरै मनोगत देखिन्छ । फेरि पनि हामीले फरक विचारको सम्मान गर्नुपर्छ । पार्टीभित्र आउने सबै विचारहरु पार्टीका सम्पत्ति हुन्, तर उहाँको दस्तावेजमा देखा पर्ने क्रान्तिकारी अधैर्यता एउटा अर्को समस्या हो भन्ने लाग्छ । कमरेड कंचनले दस्तावेजमा भएका कमी कम्जोरीहरुलाई सच्याएर एकता महाधिवेशनसम्म समानान्तर होइन एउटै दस्तावेज प्रस्तुत गर्ने वातावरण सृजना गर्नुभयो भने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनले सकारात्मक संदेश प्रवाह गर्नसक्नेछ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको विकास, विस्तार र क्रान्तिमा योग पुग्नेछ । यो नै समयको माग हो । कमरेड कंचनको दस्तावेजलाई थप अध्ययन गर्ने हो भने यस्ता कैयन अन्तरविरोधी भेटिन्छन् । यो त सामान्य टिप्पणी मात्र हो ।
( नोट: यो लेख लेखक शशिधर भण्डारीले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आगामी एकता महाधिवेशनको फोरम ( विचारधारा) को लागि लेख्नु भएको हो । यो लेखमा लेखकले पार्टीको गत बैठकमा धर्मेन्द्र बास्तोलाले पेश गर्नु भएको राजनीतिक दस्ताबेजको खण्डन गर्नु भएको छ । बास्तोला महाधिबेशन प्रक्रिया सुरु भैसके पछि अचानक पार्टीबाट बहिर्गमन हुनु भयो । बास्तोलाले महाधिवेशन प्रक्रिया र पार्टीबाट बहिर्गमन भए पनि यो लेखको सान्दर्भिकता नसकिएको हुँदा यहाँ प्रस्तुत गरिएकोछ ।- सम्पादक ।