कविता

कहिलेकाहिँ
अक्टोबर क्रान्तिको
स्वप्न हुन्छ
आकाशमा उदाउँदो
रक्तिम उषा हुन्छ ।
अँध्यारो विरुद्धको
मानिसको ऊर्जा हुन्छ
स्पाटार्कसदेखि
पछिल्ला सबै
सर्वहाराको उत्सर्ग हुन्छ ।
बेअर्थका शब्दमा
असभ्य घृणित
छिल्लिएका सङ्गीतमा
मात्तिनेहरूका निम्ति
क्रूर आतङ्ककारी पनि हुन्छ ।
निरङ्कुश शासकका
अन्तःपुरमा फुलेका
फुलमा पनि त हुन्छ
बुर्जुवाहरूका
सत्ता मलमा बेचिन
तयार फुलमा पनि
त्यस्तै त्यस्तै हुन्छ ।
ओ मानिस !
तिम्रो रातो रङमा
न बिहानको आभा देखिन्छ
न जुद्धै गरेको
आगोको लाभा देखिन्छ
उत्तरआधुनिकसँगै
नवउदारवादको बर्बरतामा
लत्पतिएर
सुवासहीन बनेको
तिम्रो पताकामा
न इतिहासको गाथा सुनिन्छ
न उदात्त जीवनको कथा पढिन्छ
व्यवस्थाको नग्नतामा
सुरुपता कहाँ पो हुन्छ
दृष्टिकोणको कोषिका मरेपछि
न रक्तगर्भी सुन्दरता हुन्छ
न जीवनमुखी वसन्त हुन्छ ।