
– रामबहादुर बुढा
यस काव्यको सुरुवात मजदुरी गर्न भारतको दिल्ली पुगेका एक जना “म” पात्रले लेखेको चिठीको व्यहोराबाट सुरु हुन्छ । “म” पात्रले आफ्ना बाबालाई चिठी लेख्दै नेपाली पहाडी समाजमा दलित भएकै कारण भोग्नु परेको छुवाछूत र विभेद स्मरण गरेका छन् । काव्यमा “म” पात्रले साहुको फाँटमा जोत्न जाँदा अर्नि (नास्ता) खाने बेला “छोइएला पर बस्” भनेको, गाउँले होटेलमा चिया खाँदा अलग्गै पर बसी चिया खाएर गिलास माझ्नु परेको, एकपटक विष्टले तातो चिया टाउकोमा खनाएर अन्याय गरेको तर त्यति अन्याय हुँदा पनि न्याय नपाएको घटना उल्लेख छ । न्याय नपाएपछि “म” पात्रले मनको दुःख यसरी कहन्छन्–
कराएँ रुएँ माग्नलाई न्याय सबैले भने रीत,
आफैले रुन्छु आफैले गुन्छु आँसुले मेट्छु धित्
राजा पाँच दाइना उनका सबै पुलिस र प्रशासन
दाइभाइ नि हाम्रा का हुन् र उनले खर्चिन सक्छन् धन् ।।
(पृष्ठ ५)
यो गीतिकाव्य २०५३ सालतिर सानो पुस्तिकाको रुपमा प्रकाशन गरिएको थियो । त्यसमा भएका कतिपय कुराहरु हटाएर र कतिपय कुराहरु थप गरी पुनः प्रकाशन गरिएको छ । मानिस चेतनशील मात्र होइन मनन्शील प्राणी पनि हो तर धर्म परम्परा र स्वार्थले अन्धो भएपछि अरुका मर्म पीडाले छुदो रहेन छ । जातीय भेदभाव छताछुल्ल सतहमा छन् तर मानिसले मानिस प्रति गर्ने उपेक्षा र घृणा आज पनि उस्तै छ ।
लेखकले आफ्नो चिठीमा भान्जलाई सम्बोधन गर्दै गाउँको पुजापाठको घटना सम्झाएका छन् । दमाईले थुक लगाई लगाई सिंयोमा धागो राखेर सिलाएको कपडा लगाई पण्डित जग्गेमा बसेको हुन्छ । कामीले बनाइदिएको त्रिशुल मन्दिरमा राखिन्छ र पुजिन्छ तर सिलाउने र बनाउनेवालालाई हेला गर्दै पण्डितले पुजापाठका बेला कामी, दमाई अलि परपर बस्न भन्छन् । सुनारले पानीमा चोपी बनाएको सुनको गहनालाई पानी चोपेपछि सुन चोपेको पानी (सुनपानी) खाँदा चोखिने शुद्ध भइने ठान्छ तर त्यही सुनको गहना बनाउने सुनारलाई अछूत भनिन्छ, हेला गरिन्छ ।
धर्मको नाममा शोषण भइरहेको कुरालाई कवि यसरी बोल्दछन्–
पर्लोक जाने त्यो पिण्ड खाने जातभात सिकाए
धर्मको नाममा शोषण गर्ने शोषकलाई टिकाए ।
वर्तमान समाजमा सजिव मान्छेलाई बेवास्ता गर्ने, मान्छेको दुःख र बेथा नहेर्ने तर निर्जिव ढुंगालाई सम्मान गर्ने/ पुज्ने चलनबारे गीति लयमा कवि भन्छन्:
नबुझ्ने मान्छे–मान्छेले रुँदा मान्छेको जलन
ढुंगालाई पुज्ने मान्छेलाई थुक्ने यहाँको चलन ।
मान्छे भएर पनि मान्छेको जस्तो जिन्दगी जीउन नपाएको तथ्यलाई काव्यशैलीमा कविले यसरी प्रस्तुत गर्दछन्–
कहाँ खान्छ अन्न गिद्धले पनि त्यो सिनो खाएर
गुजारा गर्छ खाँदैन अन्न मुफतमा पाए र
खाए नि सिनो काँ छर झिनो त्यो बन्यो जटायु
हामी त मान्छे भए नि आयु रोएर कटायुँ ।
(पृष्ठ १८)
लेखकले चिठीमा भान्जलाई बहुदल पछि २०४८ सालको खुला समयमा चलेको भाषणलाई स्मरण गराएका छन् । बहुदल आए पनि ठूला ठाला, हुने खानेहरुकै रजगज चलेको, निमुखा पछाडि नै पर्नु परेको कुरा गीति काव्यमा दर्शाइएको छ ।
सत्ताको आडमा शोषण, दमन चलिरहेको छ । लुटलाई कायम राख्न सत्तालाई नै आड लिइरहेका छन् ।
लुटको संसार जीवित राख्न सत्ताको लिन्छ आड
विरुद्ध आफ्नो क्वै उठ्यो भने सेकाई दिन्छ ढाड
मुसुक्क हाँस्छ काँ लगि मास्छ पाउँदैन क्वैले चाल
अश्त्र फ्याँक्छ अर्कै को उसले अर्कै थाप्छ ढाल
(पृष्ठ २५)
दलितहरु पनि जनयुद्धमा लागेका थिए । तर पनि ती समुदायको मुक्ति भएको छैन भन्ने कुरा यहाँ कविले यसरी लेखेका छन्–
दलितले पनि बन्दुक बोके युद्धमा लागेर
पाएनन् तर बोल्न त सक्छन् अहिले जागेर
सामन्त धूर्त अज्ञानी मूर्ख दलितलाई हेप्दैछन्
फोहोर मैलो पैलेको उठाइ ऐले नि छेप्दछन् ।
(पृष्ठ २९)
संसदीय व्यवस्थाको गुटैगुट, लुटैलुटलाई कविले चित्रण गरेका छन्ः
गा.स.स. देखि रा.स.स.सम्म बाँधेर आफ्नो गुट
जनता देशको प्रवाह नगरी गर्नुसम्म गरे लुट
संसदमा बसेर जुहारी खेल्ने काग र कागेनी
आकाशे घरमा बसेर खाने बाघ र बघेनी
(पृष्ठ ३०)
कविले नेपालका संसदवादी पार्टी र त्यो पार्टीले चलाउने सरकारले देशलाई विदेशीसित भिक माग्ने मगन्ते र तिनको गुलाम बनाएकोमा आक्रोश पोखेका छन्–
सत्तामा बस्ने विदेशीसँग हात जोडी माग्छन् वर
वर त दिन्छ नेपालीलाई बनाउँदै परनिर्भर
स्वाभीमान होइन दरिद्र यिनला चाहिन्छ मात्र दाम
यिनले गरे मागेर देशको संसारमा बदनाम
(पृष्ठ ३३)
सुन्दरशैलीमा मीठा शब्दहरु कुँदेर प्रकृतिको वर्णन पनि पाइन्छ यस काव्यमाः
पानीको होइन पैसाको खोलो दुधको झरना
बगेको सम्झी यो मन फुट्यो सकिन्न मरन
धानका बाला झुलेका फाँट हरिया पखेरा
झ्याउँकिरी बास्ने फूलै फूल हाँसो सुन्दर टाकुरा ।
(पृष्ठ ३७)
मानिसलाई आफ्नै जन्मथलो प्रिय लाग्छ । कवि अर्घाखाँची निवासी भएकाले यस काव्यमा पनि अर्घाखाँचीको प्राकृतिक मनोरमताको वर्णन गरेका छन् ः
दक्षिणतर्फ त्यो सन्धिखर्क बसेको सहर
उत्तरतर्फ हाँसेर हेर्ने हिमचुली लहर
खनको गाउँ सम्थर ठाउँ पहाडी पाखाको
यो मुटु तेही हो, शरीर त्यै हो, नानी हो आँखाको ।
(पृष्ठ ४१)
“म” पात्रलाई आफ्नी प्राण प्यारी श्रीमतीले लेखेको हृदयविदारक चिठीलाई काव्यमा ढालिएको छ । गाउँभरी मान्छेहरु यति राम्री अप्सरा जस्ती छोडेर कहाँ गएको होला भनेर कोही मिल्यो कि, कतै फस्यो कि, कहाँ भुल्यो भन्दै गाउँमा कुरा काट्छन् । म हजुरकै पर्खाइमा छु । हजुरको यादमा म यत्ति रोएँ, त्यति धेरै त साउन र भदौ पनि रोएन होला । यति धेरै विलौना पोख्दै पतिलाई घर फर्किन भनेकी छिन् । श्रीमतीको चिठी पढेर “म” पात्रको पनि हृदय रसाएको कथा यस काव्यमा भेटिन्छ ।
यस काव्यको “म” पात्र सचेत पात्र हो । “म” पात्र ले चिठीमा देश फर्कने अठोट गरेको छ । उसले सारा विभेद दुःख, पीडा, अन्याय, अत्याचारबाट मुक्ति पाउन व्यवस्था नै बदल्नु पर्ने विचार यस काव्यमा राखिएको छ :
यो संसदीय दलाल पुँजीपतिको व्यवस्था रहेसम्म
यहाँ सुध्रिन्न हाम्रो देशको अवस्था
यो कुरा सबै त्यहाँ सबैलाई भन दलित एक हौं
एक भई हामी दलित सबै संघर्ष गर्नेछौं
कसका धम्कीले हामी डर्ने छौं ।
(पृष्ठ ७६)
लेखक राम बसुलाई हिन्दु धर्मशास्त्र रामायण, महाभारत लगायतको पनि राम्रै ज्ञान छ भन्ने कुरा धार्मिक ग्रन्थ भित्रका अनेकों प्रसंगहरु काव्यमा जोडेबाट स्पष्ट हुन्छ । “लेखकीय” स्तम्भमा लेखिएको, “दण्ड पाउनु अघि आफूले गरेको दोष थाहा पाउने अधिकार संसारका हरेक व्यक्तिलाई छ तर हामीलाई छैन ।” कविले आफू ठूला हौं, राम्रा हौं भन्नेहरुमाथि व्यंग्य गर्दै लेखेका छन्ः
एउटा उच्च अर्को छ तुच्छ मानव वीचको भेद
ओम भनि पढ्ने अहम् गर्ने कस्तो छ यिनको चेत ।
(पृष्ठ १)

यस गीति काव्यको एउटा विशेषता के छ भने ८२ पृष्ठको झण्डै २ हजार काव्य लाइनमा यस काव्यमा कतै पनि खण्ड, उपखण्ड, पुस्तकको शीर्षक बाहेक भित्री शीर्षक, उपशीर्ष राखिएको छैन । शीर्षकहरु दिएको भए पाठकलाई पढ्न र गाउन सजिलो हुने थियो । आकारका हिसावले यो मझौला काव्य हो । लेखकको बौद्धिकता त यहाँ उजागर भएकै छ । शब्दहरुमा अर्घाखाँचीको स्थानीय लवज पनि आएका छन् । पुस्तकको कभरको अगाडि पेट्रोलिङ्गमा हिंडेको सेना, भारतीय मुद्रा आदि देखिन्छ भने कभरको पछाडि भागमा सुन्दर गाउँ (सम्भवत:) अर्घाखाँचीको कुनै गाउँको फोटो राखिएको छ । पुस्तकको प्रकाशक नराख्नु कमजोरी भएको छ । मिहेनत गरेर पुस्तक प्रकाशित गरेपछि आइ.एस.वि.एन. पनि राखेको भए हुन्थ्यो । सहयोग मूल्य रु. २५५/– राखिएको छ । छोराको झुठो आशा (खण्डकाव्य), घाइते व्यक्ति (गीतिनाटक), जीवनको उत्तरार्ध (गीति संस्मरण), शीर्षकै शीर्षक (कविता संग्रह) प्रकाशोन्मुख कृति हुन् । हामी कामना गर्छौं उहाँका ती रचनाहरु शीघ्र प्रकाशित होऊन् ।
