
अनुशासन भन्नासाथ अनुशासित र अनुशासनविहीन चरित्र बीचको भिन्नतालाई जनाउँछ । अनुशासित व्यक्तिहरु अनुशासनमा बस्न सक्ने अनुशासनको पालना गर्ने हुन्छन् भने अनुशासनविहीनहरु विना भरोसाका जे पनि गर्ने झुट बोल्ने, भ्रममा पार्ने, सोझासाझालाई ठग्ने, लुट्ने, छलछाम गर्ने, सधैभरी अरुको खेदो खन्ने, सधैभरी अरु कै खान खोज्ने, अरुलाई झुटा आश्वासन दिने, आफैले आफूलाई बुद्धिजीवी ठान्ने, कृृत्रिम कुराहरु गर्ने, आफू बाहेक अरु ठिक नभएको सबै आफैले जानेको छु भन्ने, अरुको काममा भाँजो हाल्ने लगायतका थुपै्र नचाहिंदा काम गर्दैै हिंड्ने, बैमान मानसिकता बोकेका छट्टुहरुलाई जो कुनै पनि प्रणाली, निर्णय, विधि वा मूल्य मान्यता विपरीत काम गर्छ, लाई अनुशासन विहीन भन्ने गरिन्छ । अनुशासित व्यक्तिहरुले यस्ता अनुशासनविहीन तत्वहरुसँग निरन्तर सम्झौताहीन संघर्ष गरिरहनु पर्ने हुन्छ । अनुशासनविहीनहरुको भ्रममा पर्नासाथ कार्यशैलीमा, पद्धतिमा, व्यवहारमा, हर क्षेत्रमा निकै ठूलो नोक्सान हुन पुग्छ । प्रणाली नै धरासायी बन्न पुग्छ । सबै गतिविधि सफल हुन लागेका कामहरु, संरचनाहरु लथालिङ हुँदै जान्छन् । अन्ततः सबै ध्वस्त भएर बदनाम हुँदै बेथिति र विसंगतिको भाँडभैलोमा जाकिन पुग्छ । अनि कसैले पनि विश्वास गर्न लायक रहँदैन ।
ठीक त्यस्तै छद्मभेषी अनुशासनविहीनहरुको कम्युनिस्ट पार्टीमा प्रवेश हुन पुगेकोले वा उनीहरु कुनै न कुनै हिसाबले नेतृत्वकारी स्थानमा पुग्न सफल हुनुले नै आज नेपालमा र कम्युनिस्ट पार्टी अथवा विश्वमा नै कम्युनिस्ट पार्टी रक्षात्मक अवस्थामा पुगेको छ । माओ र लेनिनको निधनपछि सत्ता सम्हाल्न पुगेकाहरुले फाइदा उठाएर पदको दुरुपयोग गरी सिंगो पार्टीलाई दक्षिणपन्थी संशोधनवादमा पतन गराएर समाजवादलाई असफल पारे । नेपाल पनि त्यसबाट अछुत रहन सकेन ।
नेपालमा नेपाली जनताले कम्युनिस्ट व्यवस्था आउनु पर्छ भनेर ठूलो जनमत दिएका थिए । तर विडम्वना कम्युनिस्टको नाम राखेर बसेका माथि उल्लेखित छद्मभेषी, विदेशीका दलाल अनुशासनविहीनहरुले त्यसको नेतृत्व गरेका थिए । अराजक तथा सिद्धान्तविहीन दलालहरुले सिंगो कम्युनिस्ट पार्टीलाई सकेसम्मको बदनाम गराए । धरासायी पारे । उठ्नै नसक्ने गरि थला पारे । विभिन्न बाहना बनाएर सिंगो कम्युनिस्ट पार्टीलाई जनताबाट तिरस्कृत हुने स्थिति बनाए । कम्युनिस्टहरु प्रति नै घृणा जगाउने, देश विदेशमा बदनामी गराउने काम गरे, देशी विदेशी प्रतिक्रियावादी, सामन्त, पुँजीपति, साम्राज्यवादी, विस्तारवादीहरुको सेवा गर्ने उनीहरुको दलाली गर्ने काम गर्दै आए । नेपाली जनताको चाहना विपरीत काम गर्दै सिंगो मुलुक र जनतालाई अनिर्णयको बन्दी बनाउने काम गरे । यिनीहरुलाई अनुशासन, सिद्धान्त, नैतिकता, व्यवहारसँग मतलव हुँदैन । दलाल भ्रष्टहरुको न कुनै धर्म हुन्छ न जात हुन्छ, न कुनै देश हुन्छ ।
कम्युनिष्ट पार्टीमा अनुशासन पहिलो स्थानमा रहन्छ । अनुशासित र इमान्दार व्यक्ति नै कम्युनिस्ट पार्टीको समर्थक, सदस्य, नेता हुन सक्छ । कम्युनिस्ट पार्टीको अनुशासित, इमानदार र व्यवहारिक समर्थक, कार्यकर्ता सदस्य, नेताहरु रहेको पार्टी नै सच्चा कम्युनिस्ट पार्टी हुन सक्छ । तिनीहरुको नेतृत्वले सत्ता सम्हाल्दा नेतृत्व गर्दा बल्ल देशमा आमूल परिवर्तन हुन्छ । त्यसरी नै देशमा आमूल परिवर्तन हुन्छ । दिगो शान्ति स्थापना हुन्छ । विकासका बन्द भएका सबै ढोकाहरु खुल्न जान्छन् र जनता, देश परिवर्तनको संवाहक बन्न पुग्छ । त्यो दिगो बन्दछ । समाजवाद र साम्यवादमा पुग्न मार्ग प्रशस्त गर्दछ ।
अनुशासनबारे माओका उक्तिहरु निकै सान्दर्भिक छन् । माओले भनेका छन्, “ जनताका पंक्तिभित्र जनवाद, केन्द्रीयता र स्वतन्त्रता अनुशासनसित सम्बन्धित छ । ती एकै अस्तित्वका दुई विपरीत पक्ष हुन्, परस्पर विरोधी हुनाका साथै संयुक्त पनि हुन र हामीले एक तर्फी भएर एउटालाई अस्वीकार गरी अर्कोलाई मात्र जोड दिनु हुँदैन । जनताका पंक्तिहरुभित्र स्वतन्त्रता विना हामी चल्न सक्दैनौं न त अनुशासन विना नै चल्न सक्छौं । जनवाद विना हामी चल्न सक्दैनौं, न त केन्द्रियता विना नै चल्न सक्छौं । जनवाद र केन्द्रीयताको स्वतन्त्रता र अनुशासनको सम्मिश्रणले जनवादी केन्द्रियता बन्दछ । यस अवस्थामा जनताले पर्याप्त जनवाद र स्वतन्त्रताको उपयोग गर्दछन् । तर यसका साथै उनीहरुले समाजवादी अनुशासनका सीमाभित्र रहेर बस्नु पर्ने हुन्छ ।” माओका उद्धृत उक्तिहरुमा माओले भनेका छन्, “हामीले पार्टीको अनुशासनलाई पुनर्पुष्टि गर्नैपर्छ । जस्तै १) व्यक्ति संगठनको अधिनस्थ हुन्छ । २) अल्पमत बहुमतको अधिनस्थ हुन्छ । ३) तल्लो तह माथिल्लो तहको अधिनस्थ हुन्छ । ४) जम्मै सदस्यता केन्द्रीय सदस्यको अधिनस्थ हुन्छ । कसैले अनुशासनका यी नियमहरुको उल्लंघन गर्छ भने उसले पार्टी एकतालाई भंग गर्दछ ।” (राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका अक्टोबर १९३८)
अल्पमतले बहुमतलाई मान्यता दिनु पार्टी अनुशासन मध्ये एक हो । अल्पमतको विचार अस्वीकृत गरिएको छ भने बहुमतले स्वीकृत गरेको निर्णयलाई समर्थन गर्नैपर्छ । यदि आवश्यक प¥यो भने अर्को बैठकमा यसले पुनः विचारार्थ त्यस कुरालाई ल्याउन सक्छ तर त्यसबाहेक कुनै किसिमबाट पनि यसले निर्णयको विरुद्ध काम गर्नुहुन्न ।” (माओ, गलत विचारहरुलाई सच्चाउने विषयमा (डिसेम्बर १९२९)
अनुशासनका तीन मुख्य नियमहरु हुन्छन् ती निम्न प्रकार छन् –
१) आफ्ना सबै काममा आदेशहरुको पालना गर ।
२) जनताबाट एउटा सियो र धागोको टुक्रासम्म पनि नलेऊ ।
३) कब्जा गरेको प्रत्येक कुरा संगठनलाई बुझाऊ ।
माओको उक्तिमा ध्यान दिनुपर्ने आठ कुराहरु निम्न प्रकारका छन् –
१) नम्र भएर बोल ।
२) आफूले किनेको वस्तुको सुपथ मूल्यतिर वा सर सापट लिएको कुरा फर्काउ ।
४) आफूले बिगारेको जुनसुकै कुराको पनि मोलतिर ।
५) जनतालाई कुटपिट गर्ने, धम्काउने, तर्साउने, हप्काउने काम नगर ।
६) बाली नाली नबिगार ।
७) महिलाहरुसित छाडा व्यवहार नगर ।
८) बन्दीहरुसँग नराम्रो व्यवहार नगर ।
अनुशासनका तीन मुख्य नियम र ध्यान दिनुपर्ने आठ मुख्य कुराहरुको पुनः प्रकाशन चिनियाँ जन मुक्ति सेनाको केन्द्रीय कार्यालयको निर्देशन (अक्टोबर १०, १९४७) तिनीहरु (हाम्रो सेनाका सबै सेना नायक र सिपाहीहरु) ले अनुशासनको भावनालाई उँचो उठाउनैपर्छ र आदेशहरु हाम्रो नीति अनुशासनका तीन मुख्य नियम ध्यान दिनुपर्छ । आठ कुराहरुको (सेना र जनता, सेना र सरकार सेना–नायक र सिपाहीहरु सम्र्पूण सेनासित संयुक्त भएर ) दृढतापूर्वक पालन गर्नुपर्छ अनुशासन तोड्नु दिनु हुँदैन ।(चिनियाँ जन मुक्ति सेनाको घोषणापत्र (अक्टोबर १९४७))
आलोचना र स्व आलोचना ःक. माओले चिनियाँ जनमुक्ति सेनालाई धेरै शिक्षा दिनु भएको थियो । कम्युनिस्ट पार्टी आलोचनादेखि डराउँदैन किनभने हामीहरु माक्र्सवादी हौं । सत्य हाम्रो पक्षमा हुन्छ । आधारभूत जनसमूह मजदुर, किसानहरु हाम्रो पक्षमा हुन्छन् । पूर्णतः भौतिकवादीहरु निडर हुन्छन् । हाम्रा सबै योद्धा साथीहरुले आफ्ना जिम्मेवारीहरु साहसपूर्वक बहन गर्नेछन् । सबै कठिनाईलाई जित्ने छन् । बाधादेखि नडराई अरुले आफूलाई खिसी अथवा केही भन्छन् कि भनेर अनकनाउने छैनन् ।
हामी कम्युनिस्टहरुलाई आलोचना गर्न र सुझावहरु दिन विरोधीहरु अनकनाउने नै छन् । हामी आशा गर्छौं कि जो हजारौं मारबाट हुने मृत्युदेखि डराउँदैन उसले नै बादशाहलाई घोडाबाट खसाल्ने आँट गर्छ । समाजवाद र साम्यवादको निर्माण गर्न हाम्रो संघर्षमा चाहिने दुर्जय भावना यही हो । हामीसँग आलोचना र स्व आलोचनाको माक्र्सवादी, लेनिनवादी हतियार छ । हामीहरु खराब शैलीलाई फ्याँक्न सक्छौं । स्व आलोचनाको सचेतन अभ्यास हाम्रो पार्टीलाई अरु सबै राजनैतिक पार्टीहरुबाट छुट्टाउने अर्को चिन्ह हो । आफ्नो कोठा नियमित रुपले बढारिदैन भने धुलो जम्छ । आफ्नो मुख नियमति रुपले धोएनौ. भने फोहोर हुन्छ भने जस्तै हाम्रा कमरेडहरुको विचार र हाम्रो पार्टीको काममा धुलो मैलो लाग्न सक्छ त्यसैले बढार्नु, सफा गर्नु, धुनु आवश्यक छ । बगिरहेको पानी कहिलै वासी हुँदैन, ढोकाको कब्जामा कहिले किरा लाग्दैन भन्ेन उखान छ । त्यस्तै निरन्तरताको गतिले जीवाणुहरु र अरु जीवजन्तुहरुको आक्रमणलाई रोक्छन् भन्ने हो । आफ्नो कामको निरन्तर जाँच गर्ने क्रममा जनतान्त्रिक कार्य प्रणाली विकसित गर्नु आलोचना अथवा स्व आलोचनादेखि नडराउनु आफूले थाहा पाएका सबै कुरा भन, केही पनि बाँकी नराखिकन वक्तालाई दोष नदेउ, तर उसका भनाईबाट होसियार हौं । आफूले गल्ती गरेको भए सच्चाउ अनि गल्ती गरेका छैनौं भने हुन नपाउन चनाखो बन भन्ने जस्ता असल र प्रख्यात चिनियाँ उखानहरु प्रयोग गर्नु नै हाम्रा कामरेडहरुको विचार र हाम्रो पार्टीको शरीरलाई दुषित पार्ने दुषित गर्ने सबै किसिमका राजनीतिक धुलो जिवाणुलाई रोक्ने एक मात्र प्रभावकारी बाटो हो । (माओका उद्धृत उक्तिहरु)
माओका यी भनाईहरुबाट यो स्पष्ट छ कि अनुशासितहरु व्यवहारमा पनि त्यत्तिकै चतुर हुनुपर्दछ । व्यवहारिकतामा परिपक्क बन्न सकिएन भने गरेका कामहरुले निर्णायक रुप अथवा मूर्त रुप पाउन सक्दैन । एकजना शिक्षकले बीस पच्चिस जना विद्यार्थीलाई धेरै वर्ष पढाएछन् । जब विद्यार्थीहरु डिग्री पास गरे । विद्यार्थीलाई विदाई गर्ने बेला भयो । शिक्षकले विदाई गर्ने बेलामा बाबुहरु । आज तिमीहरुलाई यस कलेजबाट विदा गर्दैछु । तिमीहरुलाई विदाईमा दिने गिफ्टहरु म सँग केही छैन । यही २५ माना तोरी छ । एक एक माना तोरी दिन्छु । यही लगेर घरमा जाऊ । आफ्नो जागिर पेशाहरु गर तर तीन वर्षपछि मलाई भेट्न आउनु । त्यसदिन रमाइलो गरौंला भनेर विद्यार्थीलाई विदा गरेछन् । विद्यार्थीहरु आ–आफ्नो घरमा गए । गुरुले दिएको तोरीलाई कसैले सिरानी मुनि राखे । कसैले मठमन्दिरुमा चढाए तर एकजनाले तोरी खेती गर्न थाले । मानोबाट मुरी मुरीबाट कैयौं कुन्टल बनाउँदै तोरीको गोदाम बनाए ।
तीन वर्षमा गुरुलाई भेटन जाँदा आ–आफ्ना कहानी सुनाए । तर एकजना विद्यार्थीले तोरी फलाएको मिल किनेको मिलको उद्घाटन गरिदिन गुरुलाई आमन्त्रण गरेको सुनेर चौबीस जना विद्यार्थी व्यवहारिकतामा फेल भएको र एकजना मात्र सफल भएको भन्ने एक कहानी छ । त्यसैले माक्र्सवाद एक आफैमा पूर्ण व्यवहारिक अनुशासित वैज्ञानिक पद्धति हो । यसलाई खाली अध्ययन गरेर मात्र पुग्दैन । यसलाई व्यवहारमा लागु गर्न पनि त्यत्तिकै जरुरी हुन्छ । त्यसैले जीव, जगत, आकाश, धर्ती, पानी, मानिस, बायु, पशु, पन्छी सबैलाई केलाएर अनुशासित र व्यवहारिक भएर वैज्ञानिक तरिकाले बुझ्ने र व्याख्या विश्लेषण गर्ने वैज्ञानिक पद्धतिलाई माक्र्सवाद भन्ने गरिन्छ । अनुशासन र व्यहारिकता कम्युनिस्टहरुको चरित्र बनाउन सकिन्छ । कम्युनिस्टहरु अनुशासित र चरित्रवान बन्नैपर्छ ।