आज म यहाँ कुनै दलगत विवादको पक्ष वा विपक्षमा बोल्न उपस्थित भएको छैन। म यहाँ एउटा गम्भीर राष्ट्रिय प्रश्न उठाउन उपस्थित भएको छु— के नेपाल आफ्नो ऐतिहासिक यात्राको निर्णायक मोडमा उभिएको छ?
म विश्वासपूर्वक भन्न चाहन्छु—हो, नेपाल आज आफ्नो आधुनिक इतिहासको सबैभन्दा गम्भीर अस्तित्वगत संकटको सामना गरिरहेको छ।
हाम्रो राज्यको इतिहास करिब तीन हजार वर्ष पुरानो छ। यो केवल राजाहरू, युद्धहरू र राजनीतिक परिवर्तनहरूको इतिहास होइन। यो मानव सभ्यतालाई मार्गदर्शन गर्ने ज्ञान, दर्शन र प्रज्ञाको इतिहास हो। यही भूमिले विश्वलाई गौतम बुद्ध दियो; यही भूमिले सहअस्तित्व, बहुलता र आध्यात्मिक मानववादको सन्देश दियो; यही भूमिले विविधतालाई विभाजन होइन, साझा सभ्यताको आधार बनायो।
तर आज हामी आफैसँग प्रश्न गर्न बाध्य भएका छौँ—के हामीले आफ्नो इतिहासको उचाइअनुसारको राष्ट्र निर्माण गर्न सकेका छौँ?
हामी राजनीतिक अस्थिरतामा छौँ। हाम्रो अर्थतन्त्र परनिर्भर बन्दै गएको छ। लाखौँ युवाहरू आफ्नो भविष्य खोज्न विदेशिन बाध्य छन्। वा देशभित्र निराशाको कालो बादलबीच आत्मदाहसम्म गर्न बाध्य छन्। राज्यका संस्थाहरूमाथि जनविश्वास कमजोर हुँदै गएको छ। समाजमा निराशा, आक्रोश र अनिश्चितता बढ्दै गएको छ। हामी विकासका सम्भावनाले भरिएको राष्ट्र भएर पनि आत्मविश्वासको संकटमा बाँचेका छौँ।
यति मात्र होइन, विश्व राजनीति स्वयं एक नयाँ युगमा प्रवेश गरिरहेको छ। शक्ति सन्तुलन बदलिँदै छ। एसियाको उदय भइरहेको छ। भारत र चीन विश्व राजनीतिको निर्णायक शक्तिका रूपमा उभिएका छन्। यस्तो समयमा नेपाललाई केवल प्रतिक्रियात्मक राजनीति होइन, एउटा स्पष्ट राष्ट्रिय दृष्टिकोण र सभ्यतागत आत्मविश्वासको आवश्यकता छ।
म स्पष्ट रूपमा भन्न चाहन्छु—नेपालको संकट कुनै एक सरकार, कुनै एक दल वा कुनै एक नेताको असफलता मात्र होइन। यो हाम्रो सामूहिक राष्ट्रिय असफलताको परिणाम हो। हामीले विगतका दशकहरूमा राज्य सञ्चालनमा दीर्घकालीन राष्ट्रिय सोचको अभाव देखायौँ। हामीले आधुनिकताको नाममा आफ्नो जरोबाट आफैलाई अलग गर्यौँ र अरुको नक्कलमा आफूलाई मानसिक र भौतिक रूपमा दासत्वमा समायौँ। हामीले संस्थाहरूलाई बलियो बनाउन सकेनौँ। हामीले राष्ट्रिय हितभन्दा दलगत र व्यक्तिगत स्वार्थलाई माथि राख्यौँ। हामीले राजनीतिक परिवर्तनलाई राज्य रूपान्तरणमा बदल्न सकेनौँ।
बुद्धिछिरिङ मोक्तान राजनैतिक बिश्लेसक