महिला मुक्ति र वैज्ञानिक समाजवाद

लेखक : सन्तबहादुर नेपाली

नेपालको कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनमा नेपाली महिलाहरुको महत्वपूर्ण योगदान रहेको छ । अहिलेसम्मका जनसंघर्ष,जनयुद्ध र जनआन्दोलनमा महिलाहरुको उल्लेखनीय सहभागिता रह्यो । जनताको पटकपटकका संघर्षहरुको परिणामस्वरुप अहिलेको दलाल पुँजीवादी संसदीय व्यवस्था आएको हो । अहिलेको व्यवस्थामा महिलाहरुलाई आंशिक रुपले भए पनि राज्यका विभिन्न अंग र निकायहरुमा सीमित रुपमा भए पनि सहभागिता रहँदै आएको छ तरयो पनि भन्ने गरिएको छ कि नेपालमा महिलाहरुलाई अरु देशको तुलनामा धेरै नै अधिकार दिइएको छ । राष्ट्रपति, सभामुख तथा सर्वोच्च अदालतमा महिलाहरुलाई प्रमुख स्थान प्राप्त भएको छ । अहिले जेनजी विद्रोह पछिको अवस्थामा आइपुग्दा पूर्व प्रधान न्यायाधीश सुशिला कार्की नै यो देशको सरकार प्रमुख अर्थात् प्रधानमन्त्री बन्ने अवसर पाएकी छिन् । सरसर्ती हेर्दा महिलाहरु राज्यको सर्वोच्च स्थानमा पुगेको कुरालाई लिएर महिलाहरु अधिकार सम्पन्न भएको देखिनु स्वाभाविक होला । तर के वास्तवमै नेपाली महिलाहरु पुरुषसरह अधिकार सम्पन्न भएकै हुन त ?

आज नेपाली महिलाहरु रोजगारका नाममा विदेश पठाइएका छन् । त्यहाँ कुनै अफिस, उद्योग वा सम्मानजनक ठाउँमा काम दिइदैन । दिइएको भए पनि सीमित रुपमा अस्पताल, होटेल जस्तो ठाउँमा दिइन्छ । अधिकतर युवतीहरु साहु महाजनहरुको घरमा घरेलु कामदारको रुपमा काम गरिरहेका हुन्छन् । स्वदेशमा केही सक्षम तथा भनसुनका आधारमा विभिन्न अस्पताल,बैंक,स्कूल, संस्था तथा कार्यालयहरुमा काम पाएका हुन्छन् । अधिकांश युवतीहरु होटेल,यातायात,नीजि उद्योग, पसल आदिमा काम गरिरहेका हुन्छन् । उनीहरुका लागि रोजगारको अधिकार राज्यले व्यवस्था गरेको छैन । फलतः ठूलो संख्यामा महिलाहरु घरधन्दामा अल्मलिनु पर्छ । उनीहरु पुरुषहरुको कमाईमा आश्रित हुनुपर्ने बाध्यता छ । त्यसरी पुरानो प्रकारको कृषि प्रणाली, पशुपालनमा महिलाहरु सिंगो जीवन बित्छ । नेपाली युवाहरुलाई वैदेशिक रोजगारी खुलेपछि महिलाहरु घरधन्दा गर्ने, बच्चाहरुको पालनपोषण, पढाई, लेखाईमा व्यस्त हुनुपर्ने बाध्यता छ । उनीहरुको न त आर्थिक विकास हुन्छ, न बौद्धिक विकास हुन्छ । चाहेर पनि उनीहरु सामाजिक, आर्थिक, शैक्षिक, कुनै पनि प्रकारको विकास गर्न अवसर मिल्दैन । वैवाहिक जीवन नरक तुल्य हुन्छ । त्यसमाथि समाजले उनीहरुमाथि विभिन्न प्रकारका अनर्गल, बेवुनियाद चारित्रिक आक्षेपहरु लगाउन पनि पछि पर्दैनन् । उनीहरुलाई यो देशको हिन्दु ब्राम्हणवादी समाजले प्रहरी चौकी, अदालत, प्रशासन सबैतिर न्यायको ढोका बन्द गरिदिएको हुन्छ । यहाँसम्म कि कैयौं प्रतिष्ठित, क्षमतावान तथा प्रतिभाशाली महिलाहरु पनि सामान्य पुरुषका अगाडि कमजोर सावित बनाइन्छ । किनकि पुरुष सामान्य वा दुष्ट नै भए पनि उसलाई सामन्ती राज्यव्यवस्था र पुरुष प्रधान समाजले उसैको संरक्षण गरेको हुन्छ । महिलालाई न्याय पाउन कठिन हुन्छ । फलतः उनीहरु जीवनभरी प्रताडित जीवन जिउन बाध्य पारिन्छन् । कैयौं महिलाहरु जीविकोपार्जनका सबै ढोका बन्द भए पछि देहव्यापारका लागि बाध्य तुल्याएका हुन्छन् ।

योगमाया न्यौपानेको महिला विभेद विरुद्धको संघर्षदेखि लिएर २००७ सालको प्रजातान्त्रिक आन्दोलन २०४६ सालको राजतन्त्र विरोधी आन्दोलन, २०६२÷६३ को गणतन्त्र प्राप्तिका लागि आन्दोलन, दश वर्षे माओवादी जनयुद्ध लगायतका साना ठूला संघर्षहरुमा नेपाली महिलाहरुले क्रान्तिकारी इतिहास रचेका छन् । संघर्षमा हजारौं महिलाहरुले वीरगति प्राप्त गरेका छन्, जेलनेल, कुटपिट, झुठामुद्दा झेलेका छन्, आफ्नो व्यक्तिगत सम्पत्ति तथा पारिवारिक सुख गुमाएका छन् । तर किन लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि महिलाहरु अधिकार सम्पन्न हुन सकेनन् ? यसबारेमा बेग्लाबेग्लै सोंचले काम गरेका छन् । कतिपय बुर्जुवा बुद्धिजीविहरुले महिलाहरु क्रमशःअधिकार सम्पन्न हुँदै गएको र भविष्यमा महिलाहरु पुरुषसरह सक्षम हुने विचार व्यक्त गर्दछन् । तर हाम्रो दृष्टिमा महिलाहरु केही पुँजीवादी अधिकार पाए पनि पुरुष सरहको अधिकार पाएका छैनन् । वास्तविकता यो हो कि महिलाहरु जबसम्म उत्पादन प्रणालीमा पुरुषसरह अधिकार स्थापित गर्न सक्दैनन्, त्यतिबेलासम्म उपरी संरचनामा ल्याइने कुनै पनि सुधारबाट अधिकार सम्पन्न हुन सक्दैनन् । उनीहरु पुरुष आश्रित बनिरहनु पर्छ ।

देशमा धेरै आन्दोलनहरु भए, धेरै परिवर्तनहरु पनि भए । कैयौं महिला विरोधी प्रथाहरु कानुनद्वारा खारेज गर्ने र नयाँ नयाँ कानुनहरु पनि बन्ने गरेका छन् । तर पनि महिलाहरुको अवस्था आधारभूत रुपमा पहिले कै स्थानमा छ । बहुविवाह, बेमेल विवाह, बालविवाह, मागी विवाह, सम्पत्तिमा वंशीय अधिकार कायम हुन नसक्नु, सन्तानमाथि आमाको अधिकार हुन नसक्नु, प्रजनन अधिकार नहुनु, नागरिकता सुलभ ढंगले प्राप्त नहुनु जस्ता कैयौं समस्याहरु महिलाहरुले भोग्नु परेको यथार्थता हाम्रो अगाडि छन् । अहिलेसम्मका जनसंघर्ष, जन आन्दोलन, जनयुद्धमा महिलाहरुले भाग लिए, त्यो राजनीतिक अधिकारका लागि थियो र राजनीतिक अधिकार स्थापित हुँदै पनि गएको छ । जनप्रतिनिधित्वका हिसावले महिलाको उपस्थिति सापेक्षतामा सन्तोषजनक छ । त्यसैकारणले गर्दा महिलाहरु सरकारको समेत नेतृत्व गर्न अवसर प्राप्त भयो । त्यो एक हदसम्म सकारात्मक छ । तर राजनीतिका साथै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्त भएन । यो दलाल पुँजीवादी व्यवस्थाले महिलालाई आज पनि वस्तु कै रुपमा व्यवहार गरेको छ । यद्यपि संविधान तथा ऐन कानुनमा महिलााका लागि कतिपय अधिकार सुनिश्चित नै गरिएका छन् । ती अधिकार प्राप्तिका लागि पनि पुरुषवादी सोंचका कारण निकै झन्झट र बाधाहरु उपस्थित गराइन्छ । बाधा हाल्ने काम प्रत्येक घरको परिवारहरुबाटै गरिने हुनाले संघर्षमा महिला पछाडि पर्ने वा कमजोर बन्ने अवस्था आउँछ । कुनै पनि सचेत परिवारले महिला अधिकार खोस्न चाहँदैन । तर हाम्रो सामन्तवादबाट पुँजीवादतर्फ संक्रमण हुन लागेको वर्तमान नेपाली समाज सामन्ती उत्पादन प्रणालीलाई अंगीकार गरिरहेको कारण स्वभाविक रुपमा महिलाहरु घरबाटै उत्पीडित हुने गर्छन् । त्यसकारण यो सामन्ती उत्पादन प्रणालीलाई बदल्नु पर्छ । त्यसका लागि क्रान्ति चाहिन्छ । त्यस्तो क्रान्ति, जुन क्रान्तिले सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवर्गको राज्यसत्तालाई समाप्त पार्ने र सर्वहारावर्गलाई सत्ताको मालिक बनाउन सक्छ । त्यस्तो क्रान्ति, जसले वर्तमान सामन्ती पुँजीवादी उत्पादन प्रणालीमा सुधार गर्ने होइन, आमूल परिवर्तन गर्दै समाजवादी उत्पादन प्रणाली लागु गर्नुपर्छ । वैज्ञानिक समाजवादले मात्र मानिस मानिस बीचको सबै प्रकारको शोषण, दमन, भेदभाव, उत्पीडनहरु अन्त गर्छ र मानिसहरुका बीचमा प्रेम, सद्भाव, एकता, समानता, स्वतन्त्रता कायम गर्छ । त्यसकारण महिला मुक्तिका निम्ति समाजवादी क्रान्ति अपरिहार्य छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा महिलाहरु कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै आन्दोलनमा संलग्न देखिए पनि पार्टीहरुमा देखिएको सामन्ती तथा पुंजीवादी चिन्तनका कारण महिलाहरुलाई सुधारवादतर्फ डोराउने काम भयो । महिला आन्दोलनमा वैज्ञानिक समाजवादका लागि देखिएको उर्जा संशोधनवादीहरुले पुँजीवादमा बगाईदिए । महिलालाई राष्ट्रपति पदमा त पु¥याए,तर महिलामाथिको दमन, शोषण आज पनि यथावत रहन गयो । सामाजिक बन्धनबाट महिला मुक्त हुन सकेनन् । स्वयं हाम्रो जस्तो हिन्दु समाजमा महिलाहरु धार्मिक, रुढीवादी परम्परावादी मानसिकताले गर्दा समन्वयवादी चिन्तन हावी हुने गरेको छ । महिलाहरुमा रहेको परम्परावादी चिन्तनका विरुद्ध महिलाहरु स्वयंले क्रान्तिकारी चेतनाको विकास गर्नु आवश्यक छ । दलाल पुँजीवादले महिला लगायत सबै उत्पीडित जाति, वर्ग, समुदाय आज पनि जनतान्त्रिक अधिकार प्राप्त गर्न सकेका छैनन् । आम क्रान्तिकारी महिलाहरु आफ्नो वर्ग तथा शोषित उत्पीडित वर्गका लागि फेरि संगठित हुनुपर्छ र नयाँ जनवाद तथा वैज्ञानिक समाजवादका लागि लडाई लड्नु पर्छ ।

महिलाहरुमा कति शक्ति छ भन्ने कुरा फ्रान्सका महिलाहरुले करिब डेढ दशक अगाडि पेरिसको विद्रोहमा देखाएका थिए । १८७१ मार्च १८ तारिखका दिन महिलाहरुले प्रतिक्रियावादी सेनालाई ललकार्दै, पुरुषहरु भन्दा पहिले आन्दोलनमा उत्रेका थिए । कृष्णदास श्रेष्ठद्वारा लिखित “पेरिस कम्युन” मा लेखिएको छ, “सारा सुनसान र मौन थियो, मौनता भयानक र गहन थियो । भयानक आँधी हुरी आउनु भन्दा केही अघिको मौनता थियो । सिंहनाद सहित पेरिस विद्रोहको भयानक हुरी चल्ने पूर्व बेलाको संकेत थियो । सो विद्रोहको सुत्राधारको रुपमा पेरिसमा महिलाहरुले पहिलो कार्वाहीको थालनी गरे । पुरुषहरु पहिले मैदानमा उत्रुन् भनी उनीहरु पर्खेर बसेनन् । उनीहरु नै पहिले संघर्षको मैदानमा उत्रे । सडकमा निस्केर आइ उनीहरुले सैनिकहरुलाई चारैतिरबाट घेरेर तिनीहरुलाई सम्बोधन गरी यसरी हकारे ‘यो लाजमर्दो कुरा भयो । तपाईहरु यहाँ के गर्दै हुनुहुन्छ ?’ सिपाहीहरुले केही जवाफ दिएनन्, तिनीहरु मौन रहे । एकजना अफिसरले ती महिलाहरुलाई त्यहाँबाट जाउ भने, तर महिलाहरु डेग चलेनन् । अनि, पेरिसका मजदुर र अन्य श्रमजीवीहरुको तर्फबाट सो ऐतिहासिक कार्वाहीलाई अघि बढाइयो ।”

हाम्रो देश लामो समयदेखि अर्धसामन्ती तथा अर्ध उपनिवेशको रुपमा रहँदै आयो । साम्राज्यवादीहरु नव उपनिवेशवाद तर्फ अगाडि बढेपछि अहिले हाम्रो देश नवउपनिवेशवादका विशेषता सहित अर्धसामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा छ । अमेरिकन साम्राज्यवाद र भारतीय विस्तारवादको मिलिभगतमा देश झनपछि झन चुसिंदै र पिसिंदै गएको छ । त्यसका विरुद्ध जनचेतना पनि त्यही रुपमा विकसित हुँदै गएको छ । त्यसले गर्दा नयाँ जनवाद– वैज्ञानिक समाजवादका लागि क्रान्तिकारी आधार तयार हुँदै गएको छ । यो अवस्थामा क्रान्तिकारी आन्दोलनमा नेपाली महिलाहरुको जुनप्रकारको अग्रणी भूमिका हुनुपर्ने हो, त्यो हुन सकेको छैन । पार्टी कमिटी, सभा, सम्मेलन, आन्दोलन आदिमा महिलाहरुको सहभागिता न्यून रहने गरेको छ । यसको पछाडि पुँजीवादी महिला संगठनहरुको प्रभावले पनि काम गरेको देखिन्छ । पुँजीवादी महिला संगठनहरु यथास्थितिवादी, उपभोक्तावादी, उत्तर आधुनिकतावादी वैचारिक धरातलबाट माथि उठ्न सक्दैनन् । अभिजात वर्गीय महिलाहरुको बाहुल्यता रहने हुनाले पुँजीवादी संगठनहरु दलाल तथा नोकरशाही पुँजीवादको सेवा गर्नु र त्यसैमा रमाउनु उनीहरुको चरित्र हो । तर साम्यवादी समाजमा पुग्ने लक्ष्य लिएका महिला संगठनहरु वर्तमान व्यवस्था भन्दा माथि उठ्न नसक्नु क्रान्तिप्रति आशावान हुन नसक्नु हो । हामीलाई थाहा भएकै कुरा हो कि महिला पनि शोषित उत्पीडित वर्ग हो । तर सिंगो महिला समुदायको कुरा गर्दा श्रमजीवी महिलाहरु मात्र वर्गीय रुपले क्रान्तिकारी हुन्छन् । अभिजात वर्ग वा शोषक वर्गमा पर्ने महिलाहरु समाजवाद र साम्यवादमा जान चाहँदैनन् । यद्यपि उनीहरु पनि शोषकवर्गबाट उत्पीडित नै हुन्छन् । यो अन्तरलाई बुझेर मात्र महिला आन्दोलनलाई अगाडि बढाउन सकिन्छ । तर अभिजात वर्गका महिलालाई पनि समाजवादी क्रान्तितर्फ तान्ने प्रयत्न गर्नु आवश्यक छ । किनकि समाजवाद नै त्यो व्यवस्था हो जसले महिलाहरुलाई दासत्वबाट मुक्ति दिन्छ । जहाँसम्म क्रान्तिको नेतृत्वको प्रश्न छ, श्रमजीवी महिलाहरु मात्र क्रान्तिलाई अगाडि बढाउन सक्छन् । त्यसकारण उनीहरु शोषित, उत्पीडित जनतासित एकताबद्ध हुन आवश्यक छ । क्रान्ति र परिवर्तनका लागि क्रान्तिकारी महिलाहरुमा निरन्तरताको आवश्यकता रहन्छ । कतिपय महिलाहरु विवाह भएपछि वा बच्चा जन्मेपछि निस्क्रिय जीवन बिताउन थाल्छन् । त्यसरी समाज परिवर्तन हुन सक्दैन । त्यसरी क्रान्तिको नजिक पनि पुग्न सकिन्न । समाजको गतिशीलताको साथसाथै महिला नेतृ र कार्यकर्ताहरु क्रान्तिकारी पार्टीमा बसेर निरन्तर सामाजिक गतिविधिमा भाग लिनु आवश्यक छ । त्यसरी नै सिद्धान्तलाई व्यवहारले झन खरो बनाउँछ । जुन देशमा महिलाहरु कानुनतः र व्यवहारतः मुक्ति पाएका छन्, त्यहाँ उनीहरुको लामो संघर्षको इतिहास छ ।

देशमा अवशिष्ट सामन्तवाद कायम छ । त्यसका विरुद्ध राजनीतिक तथा सांस्कृतिक रुपले लडाई लड्नु कठिन छ । त्यसमाथि साम्राज्यवादी संस्कृतिले नेपाली समाजमा प्रवेश पाएपछि महिलाहरुलाई आधुनिकताको नाममा पथ विचलन बनाउँदै लगेको छ । क्रान्तिकारी चिन्तनमा ह्रास आउने गरेको छ । पुँजीवाद असफल भैसक्दा पनि त्यसैको भविष्य देख्ने गर्न थालिएको छ । त्यसले गर्दा पुँजीवादले महिलाहरुको मानसम्मान, प्रतिष्ठामा घात पु¥याएको छ । शोषक सामन्त विरुद्धको लडाईमा बाधा पुगिरहेको छ । यो अत्यन्त प्रतिकूल तथा कठिन परिस्थितिमा पनि सम्पूर्ण श्रमजीवी महिलाहरुले क्रान्तिकारी विचार, सिद्धान्त र आदर्शहरुलाई अँगाल्दै नयाँ जनवाद–वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्नु आजको आवश्यकता हो । किनकि महिला मुक्तिको लागि वैज्ञानिक समाजवाद नै एक मात्र विकल्प हो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?