काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले आफ्नो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल,सुकुम्बासीहरुको पक्षमा अन्तिम समयसम्म लड्न तयार रहेको बताउनु भएको छ । कीर्तिपुर होल्डिङ सेन्टरबाट गत असार १४ गते विना कारण गिरफ्तार पर्नु भएका डम्बरबहादुर तामाङको असार २२ गते भएको रिहाइ पछि कुपण्डोलमा आयोजित सम्मान कार्यक्रममा बोल्दै महासचिवले सो कुरा बताउनु भएको हो । उहाँले डम्बर बहादुरलाई संघर्षलाई निरन्तरता दिन अनुरोध गर्दै तपाइँ र सुकुम्बासी, भूमिहीनहरुको साथमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल छ ,अविचलित भएर लाग्नुहोला भन्दै संघर्षको अन्तिम समयसम्म पार्टीले सुकुम्बासीलाई साथ दिने पार्टीको तर्फबाट प्रतिबद्धता जनाउनु भयो । उहाँले वर्तमान सरकार निरंकुश हुँदै गएको बताउनु भयो । डम्बरबहादुरले सुकुम्बासी समस्याबारे संचारकर्मीहरुसँग प्रतिक्रिया दिएकै कारण गिरफ्तार गर्नु र डम्बर तामाङलाई हिरासतमा राखेर धरौटीमा छाड्नु सरकार निरंकुश हुँदै गएको प्रमाण हो भन्नु भयो । उहाँले सरकारको विरुद्धमा “मूर्दावाद ” “राजिनामा दे” जस्ता नाराहरु लाग्नु स्वभाविक नै हो, तर सरकारले त्यसलाई पचाउन नसकेर निरंकुशता चलाउन खोजेको प्रष्ट भएको बताउनु भयो । उहाँले अहिलेको राजनीतिक परिस्थिति त्यति सहज नभएको बताउँदै भन्नु भयो – “देश अमेरिकी साम्राज्यवादको इशारामा फासिवादउन्मुख भएको छ ,त्यसका विरुद्ध सचेततापूर्वक संघर्षलाई अगाडि बढाउन आवश्यक छ ।”
कार्यक्रममा पार्टीका नौ नं व्यूरो सचिव चिन्तामणि शर्माले हिरासत मुक्त हुनुभएका डम्बर बहादुर तामाङलाई स्वागत गर्दै सुकुम्बासीलाई अस्थायी रुपमा राखेको होल्डिङ सेन्टरहरु बन्दी गृहजस्तो भएको बताउनु भयो । उहाँले केन्द्रीय संयुक्त संघर्ष समितिको तर्फबाट होल्डिङ सेन्टरहरुको अवलोकन गर्दा त्यहाँ राजनैतिक दल,पत्रकारहरु मानवअधिकारकर्मीहरुलाई भेटघाट गर्न नदिएको गुनासो गर्नु भयो । वहाँले सरकारले सुकुम्बासीहरुलाई दोस्रो दर्जाको नागरिक सरह ,यो देशको नागरिक हैन जस्तो व्यवहार गरेको उल्लेख गर्नुभयो । सरकारले अहिले वर्षा याममा होल्डिङ सेन्टर छोड्न भनि जुन सूचना दिइएको छ, यसले सुकुम्बासीहरुलाई पीडामाथि पीडा दिएको बताउँदै तत्काल बसोबासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्नु भयो । सुकुम्बासी जसको बास गुमेको छ उसलाई विनाकारण गिरफ्तार गरी हिरासतमा लगेर उल्टो १० हजार धरौटी लिएर छोड्नु सरकारको सुकुम्बासीलाई दमन गर्ने नीति भएको बताउनु भयो र भन्नुभयो –न्यायपूर्ण संघर्षले मात्रै भूमिहीन सुकुम्बासीलाई न्याय दिन सक्नेछ ।
हिरासत मुक्त हुनुभएका डम्बर बहादुर तामाङले आफुलाई विनाकारण हिरासतमा राखेको सुनाउनु भयो । उहाँले घाम नै देख्न नपाइने गरी आफुलाई हिरासतमा राखेको बताउँदै आफु धरौटी बुझाएर रिहा भए पनि तारेकमा छुटेको उल्लेख गर्नु भयो । उहाँले आफुलाई हिरासतमा नराम्रो व्यवहार नभएको पनि जानकारी दिनु भयो । सम्मान कार्यक्रमका सञ्चालक केदार खतिवडाले सुकुम्बासीहरुलाई स्थायी बसोबासको व्यवस्था नभएसम्म डटेर संघर्ष गर्नु पर्ने कुरामा जोड दिनुभयो ।
डम्बरबहादुर तामाङको पक्षबाट न्यायिक संघर्षलाई अगाडि बढाउनु भएका अधिवक्ता फर्णिन्द्र कार्कीले डम्बर बहादुर तामाङलाई न्यायिक ,राजनैतिक दबाब पछि मात्रै सरकारले हिरासत मुक्त गरेको हाँकलाई जानकारी गराउनु भयो । थुना मै राख्नु पर्ने आधार केही नदेखेपछि मात्रै सरकारले हिरासत मुक्त गरेपनि तारेखमा राखेको बताउँदै साउन २२ गतेलाई तारेख तोकेर मात्रै रिहा गरेको जानकारी दिनुभयो । डम्बर बहादुर तामाङलाई सुकुम्बासीहरुमाथि दमन गर्ने नीति अन्तर्गत सरकारले गिरफ्तार गरेको विश्लेषकहरुको बुझाइ रहेको छ । मिलेर एउटै वस्तीमा बसेका सुकुम्बासीहरुलाई सरकारले जबरजस्ती विस्थापन गरी घरबारविहीन तुल्याएर होल्डिङ सेन्टरमा लगेर राख्यो । अहिले त्यहाँबाट पनि सबैलाई तितरवितर पार्न आफ्नो व्यवस्थापन आफै गर्नु भन्दै सरकार जिम्मेवारीबाट पन्छिन खोजेको छ । सुकुम्बासीहरु बसोबास गरेको र सरकारले घर भत्काएको स्थानमा अहिलेसम्म झाडी, झार, जंगल हरियो भएर उठ्न थालिसकेको छ तर विस्थापनमा पारिएका सुकुम्बासीहरुको बासस्थानको कुनै टुङगो लगाउन सरकारले सकेको छैन ।
सरकारको यस्तो कदमको जताततैबाट विरोध गरी सुकुम्बासीहरुको पक्षमा आवाज उठाउन ढिला भइसकेको छ ।
सुकुम्बासीको पक्षमा अन्तिमसम्म लड्न तयार छ : महासचिव गौरव