प्रिय डम्बर भाइ क्रान्तिकारी अभिवादन

आज तिमी हिरासतको मोर्चामा छौ। परिस्थितिले तिम्रो स्वतन्त्रता खोसेको हुन सक्छ, तर तिम्रो विचार, आत्मबल र संघर्षप्रतिको प्रतिबद्धता कसैले खोस्न सक्दैन। बाहिर धेरैले तिम्रो आलोचना गरिरहेका छन्, तिम्रो बारेमा निर्णय सुनाइरहेका छन्। तर म तिमीलाई भन्न चाहन्छु,यो लडाइँमा तिमीले होइन, मैले हारेको हुँ। तिमी त अझै पनि आफ्नो मोर्चामा डटेर उभिएका छौ, संघर्ष गरिरहेका छौ।

हामी बाँचेको समाजमा सत्ता, स्रोत साधन र अवसरमाथिको पहुँच समान छैन। गरिबी, विभेद र अन्याय कुनै संयोग होइनन्, ती सामाजिक र आर्थिक संरचनासँग गाँसिएका यथार्थ हुन्। त्यसैले न्याय र अधिकारको प्रश्न केवल अदालतका फाइलहरूमा सीमित हुँदैन, त्यो समाजको चरित्रसँग पनि जोडिएको हुन्छ।

भाइ, आज तिमीमाथि आरोप छन्, आलोचना छ, तर हामी बाहिर रहेकाहरू पनि कम आलोचित छैनौँ। न्याय, समानता र परिवर्तनको पक्षमा उभिनेहरूलाई सधैँ सहज बाटो प्राप्त हुँदैन। तर यी सबैको उत्तर आवेगले मात्र होइन, विचारले दिनुपर्छ। सैद्धान्तिक स्पष्टता र वैचारिक दृढता नै संघर्षको सबैभन्दा भरपर्दो हतियार हो।

डम्बर, आफ्नो वर्ग, आफ्नो समुदाय र न्यायको पक्षमा उभिने मानिसहरूप्रतिको तिम्रो प्रगाढ माया जीवित राख। व्यक्तिलाई थुन्न सकिन्छ, तर चेतनालाई थुन्न सकिँदैन। पर्खालहरूले शरीरलाई घेराबन्दी गर्न सक्छन्, तर सपना, आशा र परिवर्तनको चाहनालाई कैद गर्न सक्दैनन्।

आज तिमी हिरासतको मोर्चामा छौ। आवश्यकता परे हामी पनि आफ्नो-आफ्नो मोर्चाबाट अगाडि बढ्न तयार छौँ। किनकि हाम्रो सम्बन्ध केवल रगत, चिनजान वा मित्रताको मात्र होइन, साझा मूल्य, साझा विश्वास र साझा संघर्षको सम्बन्ध हो।

समय कठिन हुन सक्छ, तर कठिन समयले नै मानिसको साहसको परीक्षा लिन्छ। दृढ रहनू, संयमित रहनू, र आफ्नो विश्वासलाई जीवित राख्नू। तिमी एक्लो छैनौ। तिम्रो साथमा तिम्रा आफ्ना मानिसहरू छन्, तिम्रा शुभेच्छुकहरू छन्, र न्यायमा विश्वास गर्ने धेरै हृदयहरू छन्।

संघर्षको यात्रामा साहस कायम रहोस्।

उही तिम्रो दाइ,

By जन बिहानी

Related Posts