कविता

तिनीहरू
बेघरबार हुन्
टाउको लुकाउने
ठाउँ खोजी हिंडेका
निरीह मानिस हुन्
यत्तिका भूमि हुँदाहुँदै
खनीखोस्री
लालाबाला पाल्न
आँखा देखाउन
पाइला सार्न
नपाएर
भूमिहीन हुन पुगेका
असली जनता हुन्
तपाईंहरू जस्ता
हजारौं बिघाका
मालिक स्वामी
होइनन् महाशय
न त सुन तस्करीमा
लागेका मानिस हुन्
न त विश्वबैंकमा
जागिरे भएर
डलर कुम्ल्याएका हुन्
न त धरतीपुत्रहरूलाई
छक्याएर
युरोपको भिजा देखाई
अरबको मरुभूमिमा
सेकिन डढिन
बाध्य बनाउने हुन्
न त वंशीय
पालादेखि नै
पछिल्लो बारबारा कम्पनीसम्म
निजामी हुकुममा रहेर
भुइँमान्छेहरूमाथि
शासनको निर्दयी
लौरोले हिर्काइ रहेका हुन् ।
ओ महामहिम
यी त
सयौं बर्सदेखि
सताइएका लखेटिएका
लुटिएका खेदिएका
थातबासको निम्ति
हर पुस्ता
समाप्त हुँदै आएका
प्राकृत हृदयी
मानिस पो हुन्
तिमीहरू जस्ता
न त अप्राकृतिक हुन्
न त डिजिटल
प्रवृत्ति र चरित्रका हुन्
न त बर्बर छन्
न त चित्तहीन छन्
न त आरोपित ठग हुन्
कथित निर्वाचनमा
मत लिएर ठग्ने
मन्त्री विधायक
पाखन्डी शासक
पनि त होइनन्
बरु हरेक शासनमा
मत दिएर ठगिने हुन्
हरेक युगका
परिवर्तनका निम्ति
प्रियजन गुमाउनेहरू पनि
तिनै तिनै हुन् ।