कविता

धेरै भयो
मौन बस्दै
सहँदै
आफैँलाई दोष दिँदै
तिमीले सिधै ‘सानो जात’ भनेनौ
व्यवहारले हजारपटक भन्यौ ।
मेरो थर सुनेपछि
तिम्रो अनुहार फेरिएको
कुरुप दृश्य
मेरा नयनमा
सुरक्षित छन् ।
हात मिलायौ
तर मन मिलाएनौ
समानताको नारा लगायौ
तर भान्सामा
मेरो लागि अलग्गै
थाली र लोहटा राख्यौ
किन ?
मेरो रगत फरक छ ?
या, मेरो आमाको कोख
अपवित्र थियो ?
जवाफ देऊ महासय ।
म थाकिसकेँ
तिम्रो देखावटी सभ्यताबाट
बाहिर ‘बराबरी’ चिच्याउने,
भित्रै भित्र
मान्छेलाई टुक्र्याउने ।
आज म चिच्याउँदै भन्छु
म सानो होइन
सानो त तिम्रो सोच हो
मेरो मौनता कमजोरी थिएन
धैर्य थियो
तर अब
मेरो धैर्य आगो बनेको छ
याद राख
जब दबाइएका आवाजहरू
आक्रोशमा बदलिन्छन्
त्यो दिन
तिम्रो सिंहासनसहित सोच ढल्नेछ
मान्छेभन्दा ठूलो
कुनै जात हुने छैन ।