मेरो मेरो आमाको आमा हजुरआमा उमेरमा निकै राम्री हुनुहुन्थ्यो । अग्लो जिउ ,गोरो मुहार ,मुहारमा राम्रो लाहुरेफूली लगाएको अनि निधारमा उहाँको जहिलेपनि रातो टलकने टिकी रहेको हुन्थ्यो । हजुर आमाले जहिले पनि रातो मखमलको चोली लगाउने गर्नूहुन्थ्यो । वहाँले संधै कक्कड खानुहुन्थ्यो । काँचोपातको वा आँकेको कक्कड बनाएर खाने गर्नुहुन्थ्यो । वहाँले कक्कड चिलिममा भरेर खाने गर्नुहुन्थ्यो । वहाँको सबै बानी व्यवहार निकै राम्रो थियो ।
पानीको मुहान वरपर सफा राख्नु पर्दछ भनेर संधै भन्ने गर्नु हुन्थ्यो । मेरो हजुरआमाले पढेको लेखेको त हुनुहुन्थेन तर पनि व्यवहारिक रुपमा सबै काम राम्रो संग गर्ने, घरदेखि मेलापात सम्मको सबै काम राम्रोसंग जानेको हुनुहुन्थ्यो । मेरो हजुरआमाले गुन्द्री ,डालो ढकिया राम्रो संग बुन्ने गर्नु हुन्थ्यो । मेरो हजुरहामाको काम निकै राम्रो थियो । उहाँले मकैको खोस्टा पायो कि त अति राम्रो ढकिया ,चटाइ बुनिहाल्नु हुन्थ्यो । मकैको पात पायो कि निकै राम्रो ढकिया चटाई बुन्ने सीप थियो । धेरै मिठो मर्चा बनाउने सीप थियो ।

पानीको मुहान वरपर सफा राख्नुपर्दछ भनेर उहाँमा निकै राम्रो ज्ञान रहेको थियो । त्यसो त समाजमा अरुले पनि पानीको मुहान सफा राख्नुपर्दछ भनेर भन्दथे । तर आफ्नो हजुर आमाले भनेपछि मेरो दिमाखमा गडेर बसेको थियो । वहाँले पानीको मुहान वरपर दिशापिसाब गर्न हुँदैन देवता रिसाउँछन् , भनेर हामी केटाकेटीलाई भन्ने गर्नुहुन्थ्यो । एकदिनको कुरा हो म मेरो हजुरआमासंग हजुरआमाको घरमा जाने भन्ने कुरा भयो । हाम्रो घर गेझामा पर्दछ । वहाँको घर पाल्पाको जपकादी भन्ने ठाउँमा थियो । वहाँको घर भन्नु त के वहाँले बिहे गरेको घर । म र हजुरआमा र भाई सहित जपकादी जाने भनेर हाम्रो घर गेझाबाट हिँडियो । हामी गेझाको चम्फेबाट हिँडेर फाँट बर्दले, पानसय हुँदै ग्याउदी खोलो तरेर उकालियौं जंगलै जंगल । हामीले मगरेको बाटो भएर जानु पर्दथ्यो । बाटो जंगलै जंगल थियो । ठूला टूला सालका रुखहरु थिए । गर्मी मौसम थियो । सायद त्यो चैते दशैंको समय हुनु पर्दछ । चैते दशैं चैत्र या वैशाख महिनामा पर्दछ । निकै गर्मी थियो । हाम्रो जिउ पुरै पसिना पसिना नै भयो ।
हजुरआमाको पनि अनुहार रातो कालो बन्यो ।हजुरआामाको जिउभरि घमौरा नै घमौरा आएको थियो । हामी उकालो चढ्दै गयौं ।उकालो चढ्न निकै गाह्रो थियो । पानीको मुहान कतै पाईने भएन । हाम्रो मुख सुकेर प्याकप्याक्ती भएको थियो । शरिरमा पानी सुकेपछि थुक पनि निकै बाक्लो हुने ,मुख सुक्ने भएको थियो । चैत्र वैशाखको महिना जंगलका रुखबाट पातहरु झरेर बाटोभरि पहेंलै भएको थियो ।
बाटोमा पतिङगरहरुको थुप्रो लागिरहेको हुन्थ्यो । खङग्रङग परेका रुखहरुले हावा दिने कुरा हुँदैन थियो । पालुवाहरु पलाउनलाई कुरिरहेका थिए । हामी दुवैजनालाई हजुरआमाले सालको सुकेका पातहरुले हम्केर सित्तल बनाउने कोशिस गर्नु हुन्थ्यो । कुनै कुनै स्थानमा अलि अलि परेको सियाँलमा बसेर हामीले आराम गर्दथ्यौं । त्यस समयमा हजुर आमाले हाम्रो टाउको आफ्नो खुट्टामा राखेर हामीलाई फू।।।। गरेर फुकेर हावा दिने गर्नु हुन्थ्यो । पानी त हामीले खान पाएका थिएनौ । जति गर्दापनि पानीको प्यास घट्ने कुरा हुन्थेन । हामी एकछिन बस्ने फेरी उकालो चढ्ने गर्दथ्यौं । हामी हिँडेको देखेर जंगलका चराहरु च्याँ च्याँ, चुँ ,चुँ गर्दथे । चराहरुले कता हिँडेको भन्ने जस्तो गर्दथे । वनमा न्याउलीको विरहलाग्दो स्वरले निकै अत्याउँथ्यो । बसेको स्थान माथिबाट तल हेर्दा बर्दले फाँटमा किसानहरु गहुँ काटिरेहेका खेती गरिरहेका हुँन्थे । तुवाँलोले वातावरण निकै उराठलाग्दो देखिन्थ्यो । पुरै तुवाँलो लागेको देखिने । जति माथि गयो उति गाह्रो हुँदै जाने । हजुरआमाले हामीलाई पानीकोलागि भन्ने गर्नुहुन्थो माथि।।। जाने त्यहाँ पानीको मुहान रहेको छ ।त्यहाँ गएर पानी खाने । हामी पानीको आशामा मुख प्याक प्याक पार्दै हिँडियो ।
समस्या भएपछि समय काटन निकै गाह्रो हुन्छ । कहिले आउने हो पानीको मुहान भन्दै उकालोमा हिँडदा हिँडदा पुगियो माथि पानीको मुहान भएको ठाउँमा । त्यहाँ पुगेपछि पानीको पोखरीमा हामी गईयो । जंगलकोबीचमा सानो पानीको पोखरी रहेको थियो । हामीले पानी त्यहाँ हातले अंजुलीमा लिएर खाने जस्तो पनि थिएन । जंगलमा चरेका वस्तुहरुले पानी खाने ठाउँ पनि त्यो थियो । त्यहाँ खडेरीले पानी सुकेको थियो । सुकेका पात पतिङगर खसेर र हावाले उडाएर ल्याएका पातहरु पानीको पोखरीमा खसेका थिए । हजुरआमाले पानी हातले उभाएर निकाल्न सक्नुभएन । तर सालको पात यसो मिलाएर पानी थोरै निकाल्नु भयो । उहाँले आफूले पनि पहिले पानी नपिएर हामीलाई पिउन दिनु भयो । पिउने त के घाटी भिजाउने । हजुरआमाले पानी निकाल्दा कुवाको पिँधमा रहेको केही मात्रामा हिलो पनि आउन थाल्यो । त्यसलाई यसो मिलाएर , थिग्रयाएर पिउने कुरा भयो ।वहाँले भन्नु भयो पानीसंग घिनाउन हुँदैन ।पानीलाई जसरी भएपनि पिउनु पर्दछ । भन्दै हाम्रो घाँटी भिजाईदिनु भयो । वहाँले पनि पिउनु भयो । हामीलाई सित्तल भएको महसुस भयो । पिउन त धेरै मन थियो ।पानी अंजुलीमा उठाएर मज्जाले मुख धुने र पानीले हातखुट्टा राम्ररी भिजाउने मन त थियो तर पानी थिएन ।
हामी बाटोमा हिड्नु पर्ने थियो । हामीले फेरी बाटो हिँडियो । हजुरआमाले भन्दै जानु भयो एउटा कथा एकादेशमा एकजना मान्छे थियो रे । उ निकै पानी तिर्खाएछ रे ।उसले पानी खोज्दै हिँड्न थालेछ रे । पानी खोज्दै हिँड्दा हिँड्दा कही पनि पानी पाएनछ रे ।उ यता उता भौतारिएछ रे । उसले एक ठाउमा गुहुमा पानी बगेको देखेछ रे । अनि उसले दुवै हातले गुहु पन्छाएर अञ्जुलीभरि पानी उभाएर पिएछ रे । त्यसले गर्दा उ बाँचेछ रे । त्यसकारण पानीसंग घिनाउन हुँदैन । हजुरआमाले हामीलाई यही कुरा भन्दै फेरी मगरेको उकालो चढाउनु भयो हामी त पुग्नु पर्ने थियो जपकादी । अब भने घाम अलि मधुरो हुँदै रहेको थियो । हामी पनि माथि टुप्पामा पुगिसकेका थियौं । टुप्पामा पुगेपछि त हावा सरर आउँछ ।
मैले बाल्यकालको अरु कुरा त बिर्सिएँ तर हजुरआमाले भनेको पानीखाने मान्छेको कथा भने मेरो दिमागमा गडिरेहेको छ । अहिले पानीको अवस्था जतासुकै समस्या नै रहेको छ । जता पनि पानीको हाहाकार रहेको छ । पानीको मुहान संरक्षणको बारेमा कुनैपनि योजना रहेको छैन । पानीहरु स्वस्थ तथा स्वच्छ भएर बग्न पाईरहेका छैनन् । बगिरेको सफा पानीमा मान्छेले विकासको नाममा विनास जस्तै गरिरहेका छन् ।पानीको स्रोतहरुमा फोहोरहरु मिसाएका छन् । पानीलाई संरक्षण गर्न कुनै ध्यान दिएका छैनन। ,पानीको स्रोतहरु खोलानालामा ढल मिसाएको छन् । संसारभरि नै खोलानालामा मान्छेले यहि गरिरहेको छ ।पानीमा ढल मिसाउन हुँदैन ,कसले भन्ने रु भनेको फेरी कसले सुन्ने रु सुनेर फेरी व्यवहारमा कार्यान्वयन कसले गर्ने रु पानीको समस्याहरु निकै बढेर आएको छ । अहिले नजिकका खोलानाला ,पानीको मुहान कुवा ढुङ्गेधाराहरुलाई संरक्षण गर्न कसैले ध्यान दिएका छैनन। दूध किनेर खान नसक्ने तर पानी भने महंगो किनेर खान विवश भएका छन् । पानी किनेर खान पर्ने बनाईएको छ । पानी किन्न नसक्नेहरुले पिउन पाउने कुरा भएन । अहिले पानीको यो अवस्था देख्दा पानीको मुहान तथा मूलहरु संरक्षण गर्ने कसैको ध्यान नगएको देख्दा ,र बगिरेको सफा पानीमा मान्छेको मलमुत्र मिसाएको देख्दा मैले जहिले पनि मेरो हजुर आमालाई सम्झिन पुग्छु । र मन मनै सोच्छु मेरो हजुरआमाले कसरी यो कुरा थाहा पाउनु भयो होला रु अब पानीको मुहान संरक्षण गर्न नसक्दा सबै पानीको मुहानमा र बगिरहेको सफा स्वच्छ पानीमा ढल मिसाउँदै जाने प्रवृति बढेको छ । पानी बगिरहेको खोला कुवा धारा नजिकै वा जहाँ जहाँ पानीको स्रोतहरु रहेका छन् । तिनीहरुमा ढलका साथै नकुहिने फोहोर विसर्जन गर्ने स्थल बनाईएको छ ।
व्यापारिक शिसा , प्लाष्टिक ,रबरजस्ता नकुहिने सामाग्रीहरुको विसर्जन गर्ने स्थान भनेको तिनै जीवन बोकेर हिड्ने पानीको मुहानहरु भैरहेको छ । सबैतिर त्यस्तै फोहोरहरुको विसर्जन गरिएको छ ।यसले खोला, नदीनाला ताल तलैयाहरु किनै दूर्गन्धित हुन पुगेका छन् ।यस्तो भईरहेको छ अब नयाँ पुस्ताले खोला नदीनालामा सफा पानी बगेको देख्न पाउने छैनन् । पानीमा अनेक प्रकारका फोहोरको विसर्जन भईरहेको छ । यसले पानीको मुहानहरुमा स्वच्छ पिउने पानी पाउन गाह्रो भईरहेको छ । यस्तो अवस्था देख्दा मैले जहिले पनि मेरो हजुरआमाले भनेको त्यो मान्छेको कथा दिमागभरि भएर बस्छ । म यो पनि सोच्न पुग्छु कि कही मैले नै पानी कतै पिउन नपाएर त्यही मान्छे कै हालतमा त पुग्दिन्न रु मेरो संतानहरुको अवस्था त्यस्तै त भैरहेको छैन रु संसारभरिका खोलानाला तथा समुद्रमा मान्छेले गरेको फोहोर विसर्जनले यही कुराको संकेत गरेजस्तै मैले सोचिरहेको छु जसले मलाई निकै चिन्तित तुल्याईरहेको छ । र हजुरआमाले भनेको सम्झिरहेको छु । पानीको मुहान वरपर सफा राख्नु पर्दछ । बगिरहेको पानीमा जान वा अनजानमा हुने गरेका फोहोर विसर्जनको काम र ढल मिसाउने काम तत्काल हटाउनु पर्दछ ,रोक्नु पर्दछ । संसारभरिका मान्छेहरुले यो विषयमा ध्यान दिनु पर्दछ । संसारभरिका मान्छेहरुले जीवनको आधार पानीलाई संरक्षण र दिगो बनाउन ध्यान दिनु पर्दछ । विना पानी छैन नि जीवनी , बुझौं बुझाऔं ,पानीको कहानी। पानीलाई स्वच्छ राख्ने गरौं है बानी । पानीलाई जोगाउन लागौं है नानी ।
