चोर ढोका

लेखक : मोदनाथ मरहट्टा

निबन्ध
मानव समाजको सभ्यताको इतिहास हेर्दा ढोकाको भूमिका अत्यन्त महत्वपूर्ण देखिन्छ । प्राचिन युग अर्थात् गृहस्थाश्रमको सुरुआतमा घर वा आवासको प्रचलन चलेदेखि ढोकाको अवधारणा आएको हुनुपर्छ ।

घर विद्यालय जस्ता भौतिक संरचनामा प्रवेशका लागि ढोका राखिन्छ । समाजमा रहने मानिसको जीवनमा ढोका (द्वार) को एकदमै महत्व छ । ढोका केवल प्रवेश र निर्गमनको माध्यम मात्र होइन, सभ्यता, संस्कार र सुरक्षाको प्रतीक पनि हो । साधारण अर्थमा ढोका भन्ने बित्तिकै काठ, फलाम वा धातुबाट निर्मित हुन्छ ।

घरमा ढोका हुँदैन भने मानिस लगायत सरसामान र धन सम्पत्ति असुरक्षित हुन्छन् । तर, सबै ढोकाहरू समान उद्देश्यका लागि बनाइएका भने हुँदैनन् । घर पसल वा कार्यालयमा ढोका छ भनेर भित्रका सबै वस्तुहरू सुरक्षित हुन्छन् भन्ने पनि बुझ्नु हुँदैन ।
कुनै ढोका खुला र पारदर्शी हुन्छन् भने कतिपय ढोकाहरू गुप्त, रहस्यमयी र गोपनीय पनि हुन्छन् । यस्ता ढोकाहरू मध्ये ‘चोर ढोका’ विशेष चर्चा गर्न लायकको हुन्छ । एकाध अवस्थामा एउटा ढोका यस्तो पनि हुन्छ, जसलाई मानिसले गोप्य कामका लागि, चोरीका लागि वा अनुचित प्रवेशका लागि प्रयोग गर्ने गर्छन् त्यसैलाई ‘चोर ढोका’ भनिन्छ ।

‘चोर ढोका’ भन्नाले मूल ढोका भन्दा पृथक गोप्य, सामान्यतया अरूको ध्यान नगई बनाइने सानो ढोका हो, जसबाट कसैले चोरिएर वा लुकीछिपी आवतजावत गर्न सक्छ । यस ढोकाबाट आउने–जाने मानिसको उद्देश्य प्रायः खुला र पारदर्शी हुँदैन । त्यसैले यसलाई ‘चोर ढोका’ नाम दिइने गरिन्छ ।

‘चोर ढोका’ प्रायः ऐतिहासिक महल, दरबार, पुराना हवेलीहरूमा देखिन्थ्यो । इतिहासमा, राजा–महाराजाहरूले युद्ध, षड्यन्त्र वा आकस्मिक आक्रमणका बेला लुकेर भाग्नका लागि ‘चोर ढोका’ बनाएका हुन्थे । यस्ता ढोकाले कहिलेकाहीँ जीवन रक्षामा मद्दत गर्थे । तर, समयसँगै यसको प्रयोग अनुचित कार्यतर्फ मोडियो । घरमा वा कार्यालयमा ‘चोर ढोका’ हुनु भनेको शंकाको विषय मानिन्छ । किनभने यसले पारदर्शिता नष्ट गर्छ र बेईमानीलाई प्रश्रय दिन्छ । यस्तो ढोकाले व्यक्ति वा संस्थाको नियतमाथि शंका उब्जाउँछ ।

आजको युगमा ‘चोर ढोका’ केवल भौतिक संरचनामा मात्र सीमित छैन । यसले रूपकात्मक अर्थ पनि बोकेको हुन्छ । जीवनमा हामीले जब इमानदारी छाडेर छोटो बाटो खोज्छौँ, नियम तोड्छौँ, वा अरूको हक हानि गरेर सफलता पाउन खोज्छौँ, त्यो पनि एउटा ‘चोर ढोका’ मार्फत् प्रवेश गर्नु जस्तै हो । यसले समाजमा बेईमानी, भ्रष्टाचार र अन्यायलाई बढावा दिन्छ । खुला सिमाना भएका मुलुकहरूमा राज्यले निर्धारण गरेका भन्सार अड्डा बाहेक अन्यत्रबाट अवैध सामानको चोरी निकासी वा पैठारी हुने गर्छ । कतिपय मुलुकमा एक देशको नागरिक बिना प्रवेशाज्ञा अर्को देशमा घुस्ने र अवैध गतिविधि हुने गरेका खबरहरू बाहिर आएका हुन्छन् । हाम्रै देशमा कयौं नागरिक सात समुद्र पारीको अमेरिका भन्ने देशमा ‘चोर ढोका’बाट पसेर शरण लिएका र उतैको नागरिकता लिएका कयौं नेपालीहरू छन् । अमेरिका मात्र होइन रोजगारीका नाममा नेपाल सरकारले श्रम स्वीकृति नदिएका मुलुकमा पनि दुई नम्बरी धन्दावालाले लुकिछिपी पु¥याइएका सयौँ अलपत्र नागरिकहरू पनि छन् । यसरी विदेशी भूमिमा घुस्ने मुख्यबाटो यही ‘चोर ढोका’ हो । खास गरेर कुनै सङ्घ संस्थाभित्र अस्वाभाविक रूपले ‘चोर ढोका’बाट कुनै पात्र वा समूह प्रवेश गर्छन् र अवाञ्छित गतिबिधि गर्छन् अनि त्यस संस्थाको लक्ष्य, उद्देश्यमाथि धावा बोल्छन् गडबड सुरु हुन्छ अनि त्यो संस्थाको गरिमामाथि प्रश्न उठ्छ ।

घर, परिवार, समाज र राज्य सञ्चालन पारदर्शिता र उत्तरदायित्वमा आधारित हुनुपर्छ । तर जब कसैले नियमलाई अपचलन गरेर गोप्य बाटो खोज्छ, त्यो ‘चोर ढोका’को मानसिकता हो । राजनीतिमा जब ‘गठबन्धनको ‘चोर ढोका’’, ‘कालो धनको ‘चोर ढोका’’ वा ‘अवैध व्यापारको ‘चोर ढोका’’ प्रयोग हुन्छ, तब लोकतन्त्र कमजोर हुन्छ र भ्रष्टाचारले जरो गाड्छ । आजको वैश्विक अर्थतन्त्रमा पनि करछली, तस्करी र नक्कली सम्झौता जस्ता गतिविधिहरू आधुनिक ‘चोर ढोका’का रूप हुन् । प्रशासनिक क्षेत्रमा नातावाद र बेथिति मौलाउँछ त्यहाँ ‘सक्नेको हातमा लाठी’ भनेजस्तै यी सबै सामाजिक असमानता र अन्यायलाई जन्म दिने कारक ‘चोर ढोका’ नै हुन् ।

‘चोर ढोका’ कुनै कुनै विद्रोही सङ्गठनले पनि निर्माण गरेका हुन्छन् आफ्नो लक्ष्य पूरा गर्न वा समाजलाई राज्यले लादेको निरङ्कुसताबाट उन्मुक्ति दिने हेतुले यस्तो कार्य लुकिछिपी तयार गरिएको हुन्छ । जहाँ बैठककक्ष, अध्ययन कक्ष पूर्ण भूमिगत रूपले बनाइएको हुन्छ । हाम्रो देशमा तीसको दशकमा झापा विद्रोह कालमा इलामको चित्रेमा रत्नकुमार वान्तवाहरू र जनयुद्धकालमा रोल्पाका जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ ले ‘चोर ढोका’ निर्माण गरेका थिए । आफ्नो मूल घरको भुइँमा सानो प्वाल पारेर जमिनमुनिबाट बाहिर निस्कने मार्ग निर्माण गरेका थिए । तत्कालीन युगमा त्यो सान्दर्भिक पनि थियो । सो संरचना अद्यावधि छँदै छ । तात्कालीन राज्यको बिरूद्ध हतियार उठाएका विद्रोहीहरूको त्यो सीप र कौशल बेजोडको थियो । यसैगरी माओवादीको विद्रोही कालमा राज्यले नियन्त्रणमा लिएर बन्दी बनाइएका लडाकुहरूले कारागारबाट चोरढोका मार्फत् विद्रोह गरेर युद्धमोर्चामा सामेल हुन पुगेका थिए भने कतिपय लडाकुहरूले सैन्य कष्टडिबाट चोरढोका मार्फत विद्रोह गरेका थिए । यसले के पुष्टि हुन्छ भने समाजका हरेक कुरा वर्गीय हुन्छ भनेजस्तै चोरढोका पनि वर्गीय हुन्छ । परन्तु यहाँ चर्चा गर्न खोजिएको ‘चोर ढोका’ भने गैरमानवीय वा भनौं उत्पीडक वर्गले कुत्सित मनसायबाट प्रयोग गरेका चोरढोकाका बारेमा हो ।

‘चोर ढोका’को अस्तित्व केवल भौतिक संरचनामा मात्र सीमित छैन, यसले हाम्रो मानसिक संरचनामा पनि गहिरो छाप राख्छ । जब व्यक्ति इमानदार प्रयास छोडेर छोटो बाटो खोज्छ, जब नियमलाई उल्लङ्घन गरेर लाभ लिन खोज्छ, तब उसले आफ्नो जीवनमा ‘चोर ढोका’ खोलिरहेको हुन्छ । मानसिक या नैतिकरूपमा यस्ता ढोकाहरू बेईमानी, छलकपट र विश्वासघातका मूल स्रोत हुन् । नैतिकताको दृष्टिले यस्तो प्रवृत्ति अनुचित मात्र होइन, समाजिक अनुशासन र आपसी विश्वासका लागि खतरनाक हो । यस्ता ढोका ‘आँखा झिमिक्क ग¥यो बाँदरले टिपिक्क लग्यो’ भनेजस्तै हुन्छ ।

आज ‘चोर ढोका’ एउटा शक्तिशाली रूपक बनेको छ । शैक्षिक क्षेत्रमा नक्कली प्रमाणपत्र, व्यापारिक क्षेत्रमा कर छली, राजनीतिक क्षेत्रमा शक्तिको दुरूपयोग, व्यक्तिगत जीवनमा अनैतिक लोभामोहको जिजीविषा राख्नु यी सबै ‘चोर ढोका’का आधुनिक उदाहरण हुन् । यस्ता गोप्य बाटाहरूले प्रारम्भमा सजिलो महसुस गराए पनि दीर्घकालीन परिणाम विनाशकारी हुन्छन् । झट्ट हेर्दा ‘चोर ढोका’ सानो कुरा लाग्न सक्छ, तर यसको प्रभाव गहिरो हुन्छ । यो केवल भौतिक संरचना मात्र होइन, बेईमानी मानसिकता र सामाजिक संरचनाको कमजोरी हो । जबसम्म मानिस पारदर्शिता, इमानदारी र उत्तरदायित्वलाई आत्मसात गर्दैन, तबसम्म ‘चोर ढोका’हरू बन्द हुँदैनन् । त्यसैले, हाम्रो लक्ष्य खुला र न्यायपूर्ण बाटोबाट अघि बढ्नु हो, किनकि साँचो विकास ‘चोर ढोका’बाट होइन, पारदर्शी ढोकाबाट सम्भव हुन्छ ।

‘चोर ढोका’ देख्दा सानो कुरा लाग्न सक्छ, तर यसको अर्थ र प्रभाव गम्भीर छ । यसले गोप्य योजनाहरू, षड्यन्त्र र बेईमानीलाई सङ्केत गर्छ । जीवनमा पारदर्शिता, इमानदारी र निष्ठा कायम गर्न हामीले भौतिक र मानसिक दुवै ‘चोर ढोका’हरू बन्द गर्नुपर्छ । त्यसैले, ‘चोर ढोका’बाट होइन, खुला र न्यायपूर्ण बाटोबाट अघि बढ्नु नै साँचो इमान्दारिता, नैतिकता र पारदर्शिता हो ।
चोरढोका बन्नु वा प्रचलनमा आउनु भनेको अबैधानिक बाटोबाट आफ्नो स्वार्थ पूरा गराउनु हो । जब मानिसलाई निजी धनसम्पत्ति र स्वार्थको ज्यादा मोह हुन्छ तब यस्ता ढोकाहरूको प्रयोग हुन्छ । विश्वमा सबै अपराध वा लोभमोहको कारक भनेको निजी सम्पत्ति नै निम्त्याउने अवस्था हो तसर्थ यस्तो व्यवस्थाको अन्त्य गरी समाजका उपेक्षित वर्गले सम्मानरूपमा बाँच्ने व्यवस्थाको बाटो पहिल्याउनु नै चोरढोकाबाट मुक्त हुनु हो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?