महान जनयुद्धको सम्झनामा

“हामी विस्मयबोधक स्वरमा भन्दछौँ : क्रान्तिको मृत्यु भएको छ ! – क्रान्ति जिन्दावाद !”– कार्ल माक्र्स, ‘फ्रान्समा वर्ग संघर्ष’ जनवरीदेखि नोभेम्वर १ सम्म, प्रगति प्रकाशन मास्कोद्वारा १९७८ मा प्रकाशित माक्र्स एंगेल्स, संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ १०, पृ. ७० ।
कम्युनिस्ट घोषणापत्रको प्रकाशन भएको केही दिनपछि १८४८ मा शुरु भएको फ्रान्सेली वर्गसंघर्षलाई सफल बनाउन माक्र्स र एङ्गेल्स दुवैले भव्य मेहनत गर्नुभएको थियो । तर त्यो १८५० मा असफल भयो । माक्र्सले फ्रान्समा वर्गसंघर्ष लेखेर त्यस ऐतिहासिक परिघटनाको विश्लेषण गर्दै माथि उदृत संश्लेषण गर्नुभयो । यसले मलाई १० बर्षीय महान जनयुद्धको स्मरण गराएको छ । मलाई पनि भन्न मन लागेको छ : जनयुद्धको हत्या गरिएको छ !– जनयुद्ध जिन्दावाद !
मैले यतिबेला वि.सं. २०४५ देखि २०५२ सम्म जनयुद्ध तयारीका दिनहरु सम्झिरहेको छु । माओवाद र माओविचारधारा, जनयुद्ध र सशस्त्र जनविद्रोह, गाउँबाट शुरु गर्ने कि शहरबाट, पार्टी भूमिगत राख्ने वा खुला इत्यादि । विचारधारात्मक क्षेत्रका बहसहरुले हामी आवेग र गाम्भिर्यता, सीघ्र विजय र दीर्घ विजय, क्रान्तिकारी परिस्थिति तयार भएको छ या भएको छैन जस्ता उथलपुथलबाट गुज्रिरहेका थियौं । वि.सं. २०४५/४६ को जनाआन्दोलन र “वाम”, काङ् र राजाबीचको सम्झौताले क्रान्तिकारी कम्युनिस्टहरुमाझ एकताको लागि वातावरण तयार पारिदियो । २०४७ मा प्रचण्ड नेतृत्वको नेकपा (मशाल), निर्मल लामा नेतृत्वको नेकपा (चौम) रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमीक संगठन, मोहनविक्रम नेतृत्वको नेकपा(मसाल)बाट विद्रोह गरी बनेको हरिबोल नेतृत्वको विद्रोही मसाल र स्थानीय स्तरमा रामनारायण विडारी नेतृत्वको नेकपा (जनमुखी)बीच एकता भएर नेकपा(एकता केन्द्र)बनेको पनि अहिले जस्तै लाग्छ । २०४८ सालको संसदीय चुनाव उपयोग गरी देशव्यापी पार्टी निर्माण र माक्र्सवादको तेस्रो चरणमा विकास भएको माओवादलाई स्थापित गरेको कुरा पनि राम्रोसँग सम्झन्छु । यो चुनावपछि भएको एकता राष्ट्रिय महाधिवेशन १५ दिनको विचारधारात्मक लडाईबाट सम्पन्न भएको थियो । यसले नयाँ जनवादी क्रान्तिको राजनीतिक कार्यदिशा, दीर्घकालिन जनयुद्धको सामरिक कार्यदिशा, स्थानीय जनसत्ता कब्जा गर्ने कार्यनीति र यो सबैको पथप्रदर्शन गर्ने माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारात्मक कार्यदिशा पारित ग¥यो । राष्ट्रिय एकता महाधिवेशन पछिको तेस्रो केसको बैठकले ‘ग्रामीण वर्गसंघर्षको योजना’ तय ग¥यो । अब हामी जनयुद्धको तयारीतिर लाग्न थाल्यौँ । पुनः यो कार्यदिशाप्रति असहमति राख्दै निर्मल लामा अलगिनुभयो । प्रचण्ड र किरणको नेतृत्वमा राष्ट्रिय सम्मेलन भयो र त्यसले पार्टीको नाम नेकपा (माओवादी) राख्यो ।

विस २०५२ साल माघ २९ गते राती हामी आ–आफ्नो जिम्माको टोली लिएर मुख्यतः देशका चार स्थानको निसाना बिन्दु नजिकको बासेस्थान (सेल्टर)मा पुगिसकेको थियौ । तत्कालीन नेकपा (माओवादी)को वर्ग विश्लेषण अनुसार पहिलो दुश्मन सामन्तवाद, दोस्रो दुश्मन नोकरशाही पूँजीवाद र तेस्रो दुश्मन दलाल पूँजीवाद थिए । सामन्तवादको पहिलो निशाना काभ्रेमा दौलतबहादुर दोङ र जाजरकोटमा दिपबहादुर सिंह, नोकरशाहीतन्त्रको पहिलो निशानामा सिन्धुलीको सिन्धुलीगढी, रोल्पाको होलेरी र रुकुमको राडी प्रहरी चौकीहरु तथा दलाल पूँजीवादको पहिलो निशानामा थिए काठमाडौँको पेप्सीकोला, गोरखाको च्याङलीस्थित साना किसान बैंक । सिन्धुलीगढी प्रहरी चौकी आक्रमणका कमिश्नर हरिबोल गजुरेल र कमाण्डर शहीद शेरमान कुँवर ‘विशाल’ हुनुहुन्थ्यो, रोल्पाको होलेरीका कमिश्नर कृष्णबहादुर महरा र कमाण्डर नन्दकिशोर पुन (पासाङ) हुनुहुन्थ्यो भने राडी प्रहरी चौकी आक्रमणको कमिश्नर म थिए र कमाण्डर गणेशमान पुन ‘रश्मि’ हुनुहुन्थ्यो । काभ्रेमा दौलतबहादुर दोङको घरमाथि आक्रमण यानप्रसाद गौतमको नेतृत्वमा, काठमाडौँ पेप्सीकोलामाथिको आक्रमण दिनेश शर्माको नेतृत्वमा र गोर्खा च्याङ्ली साना किसान बैंकमाथिको आक्रमण हितराज पाण्डेको नेतृत्वमा भएका थिए । यी सबै निशानाहरुमाथि फागुन १ गते राती आक्रमण गर्ने नेकपा (माओवादी) सदरमुकामको केन्द्रीय योजना थियो ।

हाम्रो टोलीको जिम्मा परेको रुकुमको राडि प्रहरी चौकी अगाडि आफ्नो कमाण्डका सबै दस्ताहरु आ–आफनो स्थानमा पुगिसकेपछि “अप्रेशन कमान”– ठीक एक बजे कमाण्डर गणेशमान पुनले कासन दिनुभयो । ‘एट्याकिङ डिट्याचमेन्ट’ को कमाण्ड गरेका शहिद विजय घलेले बन्चरो प्रहार गरेर प्रहरी चौकीको ढोका फुटाउनुभयो । त्यो दस्ता भित्र पस्यो र प्रहरीहरुलाई चूपचाप जस्तो अवस्थामा छौ त्यस्तै अवस्थामा रहन आदेश ग¥यो । यज्ञश्वर शर्माको ‘डिफेन्स डिट्याचमेन्ट’ अग्रदस्तालाई मदत गर्न साथमै पुग्यो । ‘रिजर्व डिट्याचमेन्ट’ भने चौकी घेरा हालेर बाह्य कुनै दुश्मन शक्ति थपिन सक्ने कुरामा सतर्क भएर बस्यो । आक्रमणमा कुनै घाइते भएको खण्डमा उपचार गर्नको लागि कृष्ण रेग्मीको नेतृत्वमा ‘मेडिकल डिट्याचमेन्ट’ खटेको थियो । सबै डिट्याजमेन्ट मिलाएर ३९ जनाको प्लाटुनमा दुई महिला लडाकुहरु नारायणी शर्मा र लालकुमारी रोका हुनुहुन्थ्यो । प्रहरी हवल्दार र जवानहरुलाई ‘आजदेखि जनयुद्ध शुरु भयो, हामी प्रहरी जवानहरुका विरुद्ध लडेका होइनाैं, यो देशकै राजतन्त्रात्मक संसदीय राज्य व्यवस्थाका विरुद्ध लडदैछौ’ भनी प्रशिक्षण दिएर पूर्ण विजयका साथ हाम्रो टोली निर्धारित स्थानतिर फक्र्यो । त्यो रात निर्धारित कार्वाहीहरु सबै सफल भए । तर रोल्पाको होलेरीमा भने प्रहरी चौकी कब्जा हुन सकेन । तर देशभरीको माहौलले त्यहाँ के भयो भन्ने कुरा ढाकियो ।

फागुन ६ गतेसम्म देउवा सरकार अन्यौलको कुहिरोमा डुब्यो । यद्यपि १ गतेदेखि ६ गतेसम्म लाखौं–लाख पर्चा, पोष्टर, भित्तेलेखन तथा जनकार्वाहीहरु भइसकेका थिए । आधिकारिक रुपले फागुन ६ गते विहान संयुक्त मोर्चाको तर्फबाट बाबुराम भटराईले र साँझ पार्टीको तर्फबाट प्रचण्डले वक्तव्य दिएपछि नेकपा(माओवादी)ले जनयुद्ध अघि बढायो भन्ने कुरा थाहा भयो । त्यसपछि सरकारका गृहमन्त्रीले दुई महिनाभित्र यसलाई खरानी पार्ने धम्की दिए । फागुन १४ गते स्कूले विद्यार्थी दिलबहादुर रम्तेललाई गोली ठोकेर मारियो र जाजरकोटमा दुई जना कमरेडहरु मानबहादुर ओली र मानबहादुर रावलको हत्या भयो । १५ गते रुकुमको मेलगैरीमा ६ जना खत्रीबन्धुहरुको हत्या भएपछि त्यसको जवाफमा जनयुद्ध देशब्यापी दन्कदै गयो । पार्टी र जनताबीचको सम्बन्ध हार्दिक र न्यानो बन्दै गयो । स्थानीय जनसत्ता बन्ने प्रक्रिया शुरु भयो ।
एकजना सामन्त, एउटा ग्रामीण चौकी र दलाल पूँजीपतिको संस्थामाथि हानेर प्रारम्भ भएको जनयुद्ध जिल्ला सदरमुकाम र सैनिक व्यारेक ध्वस्त पार्ने शक्तिमा पुग्यो । जिल्ला जनसरकारहरु घोषणा हुन थाले । वाईसियलबाट शुरु भएको जनमुक्ति सेना लडाकु दल, सेक्सन (पत्ती), प्लाटून (सेनामुख), कम्पनी (गुल्म), व्रिगेड (वाहिनी) हुँदै डिभिजन (पृताना) सम्म विकास भयो ।

‘सर्वोच्च कमान्ण्डर’ को एउटै वक्तव्यले देश ठप्प हुन्थ्यो । राज्यको सर्वोच्च अदालतले मिलाउन नसकेका जनताका मुद्दाहरु जिल्लाको जनअदालतले मिलाउथ्यो । एउटा क्रान्तिकारी नेपाल कम्युनिस्ट पार्टी(माओवादी), एउटा क्रान्तिकारी जनमुक्ति सेना नेपाल र एउटा क्रान्तिकारी संयुक्त मोर्चाका रुपमा बाबुराम भट्टराईको नेतृत्वमा संयुक्त जनपरिषद नेपाल जस्ता तीन जादुमय हतियार जनसमुदायको मनमस्तिष्कमा स्थापित थिए । संसारका मजदूर तथा उत्पीडित जनताहरुले अन्तर्राष्ट्रिय गीत गाइरहेका थिए– ‘उठ जाग ए भोका नाङगा उठ संसारका दुखी…यो अन्तिम युद्ध हो, आ–आफनो ठाउमा डटौं… कुनै बिहान नष्ट हुनेछन र उज्यालो रहिरहने छ’ । चौथो अन्तर्राष्ट्रियको भ्रूण ‘क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा आबद्ध तथा संसारका मजदुर तथा उत्पीडित जनताले नेपालमा जनयुद्धको विकासलाई हेरेर भनिरहेका थिए– ‘हिमालयतिर हेर, एउटा सुन्दर संसार जन्मदैछ ।’
विस २०६० जेठ ८–१२ सम्म रोल्पा जिल्ला अन्तर्गत दुम्लामा बसेको पोलिटव्युरो बैठकमा ‘एक्काईसौँ शताब्दीमा जनवादको विकास’ शिर्षकको प्रस्ताव पेश गरियो । त्यही प्रस्तावमा विरोधी पार्टीहरुसँग “प्रतिशप्रर्धा’ गरेर मात्र कम्युनिस्ट पार्टीले आफूलाई अब्बल सावित गर्नुपर्दछ भनी मदन भण्डारीको जनताको बहुदलीय जनवादतिर पार्टी कार्यदिशा झुकाईयो । यो बैठकमा क.किरण र गौरव पनि उपस्थित हुनुहुन्थ्यो । उहाँहरुले त यसलाई प्रस्ताव त हो, छलफल गर्दै जाउला भन्ने ठान्नुभयो । उहाँहरु केही समयपछि भारतीय कारागारमा थुनिनुभयो । यहाँ वि.सं. २०६२ को असोजतिर चुनवाङ वैठक भयो । त्यहाँ लोकतान्त्रिक गणतन्त्रको कार्यनीति ल्याईयो । यसलाई हामीले जनगणतन्त्रतिर लैजानेछौं तर संसदीय पार्टीहरुले संसदीय व्यवस्थातिरै तान्नेछन् भनियो । पछि गएर प्रचण्ड र बाबुराम आफैले यसलाई संसदीय व्यवस्थातिरै तानेको कुरा भनिरहनु पर्दैन ।
आखिर २०६३ श्रावण १ र २ गते कास्कीको सिक्लेशमा केन्द्रीय प्रशिक्षण भएको थियो । प्रशिक्षण हलमा जनमुक्ति सेनाको टुकडीले प्रचण्ड लगायतका नेताहरुलाई सलामी चढायो । भोलिपल्ट श्रावण २ गते ३ बजे कृष्ण सिटौला र शेखर कोइरालासहितको हेलिकप्टर त्यहाँ पुग्यो । प्रचण्ड र बाबुराम सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगे । हामी हेरेको हे¥यै भयौं । क्रान्तिकारी नेताहरु हुन्, जे गर्लान, क्रान्ति पूरा गर्नेतिर सोचेका होलान भन्दाभन्दै शान्तिसम्झौता पछिका घटनाक्रमले उनीहरुलाई नवसंशोधनवादी सावित ग¥यो । विस २०६९ सालमा किरणजीको नेतृत्वमा नवसंशोधनवादबाट विद्रोह भएपछि आज छरिएर रहेका हामी क्रान्तिकारी कम्युनिस्टहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीमा एकताबद्ध भएका छौँ ।
क्रान्तिकारी कम्युनिस्टहरुको यो एकता भएपछि एकता–संघर्ष– रुपान्तरणको प्रक्रियामा आफूलाई राखेर अघि वढिरहेका छौँ । आज हामीले मालेमावादको विचारधारात्मक कार्यदिशा तय गरेका छौँ । अहिलेसम्म यो भन्दा श्रेष्ठ र वैज्ञानिक विचारधारात्मक कार्यदिशा अर्को आविस्कार भएको छैन । विज्ञानको विकास हुने भएकोले यसको विकास हुनुपर्दछ भन्ने कुरामा हाम्रो दुई मत छैन । अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवशेषसहितको नवऔपनिवेशिक अर्थसामाजिक अवस्थामा रहेको नेपालमा दलाल तथा नोकरशाही पूँजीवादी राज्यव्यवस्था र नेपाली उत्पीडित जनतावीचको प्रधान अन्तरविरोध रहेको छ । यो अन्तरविरोधको हल गर्न दलाल पूँजी कब्जा गरी राष्ट्रिय पूँजीको विकास गर्नुपर्दछ । राष्ट्रिय पूँजीको विकास गर्ने भनेको नयाँ जनवादी क्रान्तिको खुडकिलो पार गर्ने वित्तिकै हामी वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रममा प्रवेश गर्नुपर्दछ । यो हाम्रो राजनीतिक कार्यदिशा हो । यो क्रान्ति सम्पन्न गर्न जनसंघर्ष, सशस्त्र संघर्ष र सशस्त्र जनविद्रोहको प्रक्रियाबाट अघि वढ्नुपर्दछ । यो हाम्रो क्रान्तिको सामरिक कार्यदिशा हो । आज देशमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको कठपुतली सरकार बनेको छ । अमेरिकाले आफ्नो चीनमाथि हमला गर्ने र नेपालका प्राकृतिक साधन श्रोत दोहन गर्ने योजना एमसिसि तथा एसपीपी लागू गर्न यसप्रकारको सरकार बनाएको छ । देश पराधीन भएको छ । यसको विकल्प स्वाधिन संयुक्त सरकार हो । स्वाधीन संयुक्त सरकारको निर्माण गर्ने प्रक्रिया भनेको मुलुकमा रहेका देशभक्त क्रान्तिकारी जनवादी र वामपंथी पार्टी, समूह र व्यक्तित्वहरुको सर्वपक्षीय सम्मेलन, त्यो सर्वपक्षीय सम्मेलनबाट संयुक्त मोर्चाको निर्माण र संघर्षको घोषणा, संघर्षकै बीचबाट स्वाधीन संयुक्त सरकार गठन र अन्ततः नयाँ संविधान निर्माण हो । हाम्रो समग्र कार्यदिशा कार्यान्वयनमा हामी अघि बढिरहेका छौँ ।

यसबेला पुन जनयुद्धको स्मरण गर्दछु । म स्वयं तत्कालिन जनमुक्ति सेना नेपालको राजनीतिक कमिश्नर थिए । कैलालीको खिमडिमा कमाण्डर दशीराम चौधरीलाई गोली लाग्यो, स्पाइनल कर्डमा गोली लागिसकेपछि त्यो घाउको पीडा पचाउदै उहाँले भन्नुभएको थियो– ‘कमरेड सुदर्शन, म त मर्दैछु तर क्रान्ति नमरोस्, क्रान्ति विजय नभएसम्म जारी राख्नुहोला ।’ आज हामी दशीराम चौधरीहरुलाई विर्सन सक्दैनौ । मेरै नेतृत्वमा भएको कैलालीको लम्की प्रहरी चौकी आक्रमणमा शहादत प्राप्त गर्ने शहीदहरुको ‘क्रान्ति जिन्दावाद’ को आवाज मेरो मस्तिष्कमा घन्किरहेको छ । यस्तै रोल्पाको गाममा पासाङको रिट्रिट हुने आदेशको वास्ता नगरी हाइपोष्टमा विस्फोट भइ अमेरिकी प्रविधिबाट बनेको किल्लाबन्दी तोडेर आफु सहीद भएर मोर्चालाई विजय बनाउने कमरेडहरुलाई हामी कसरी विर्सन सक्छौँ र ? म नै कमिस्नर रहेको पहिलो रुकुम खारा कार्वाहीमा दर्जनौ वीर–विराङ्गनाहरु मेरै काखमा पानी पानी भन्दै शहादत प्राप्त गरेको र त्यही शिलशिलामा छोरी सुुर्वणा लगायतलाई ब्यारेकमा लिएर गोली ठोकेको कहाँ विर्सन सकिन्छ र ? कालीकोट पिलीको व्यारेकमाथि भएको सफल कार्वाहीका क्रममा क.लोकेश लगायतका योद्धाहरु हेलीकप्टरबाट हानिएको एट्टी वनको गोलाबाट छिया–छिया भएको शरिर कसरी विर्सन सकिन्छ र ? २०६२ सालको मंसीर १४ गते सँगै उभिएका पाँचौ डिभिजन कमाण्डर क. किमबहादुर थापा सुनिललाई सल्यानको मनिमारेमा दुश्मनले हेलिकप्टरमा राखिएको एचएमजीबाट कन्चटमा गोली हानीे ठहरै पारेको प्रत्यक्ष दृश्य यी आँखाबाट कसरी मेटिन्छ र ? रामवृक्ष यादव, सुरेश वाग्ले, शेरमान कुवँर, मोहनचन्द्र अधिकारी लगायत करीब दश हजार शहीदहरु अमर रहनेछन् । ३१ औं जनयुद्ध दिवसका अवसरमा शोषित–उत्पीडित जनसमुदायलाई हार्दिक शुभकामना !

कार्ल माक्र्सले पेरिस कम्युनको असफलतापछि फ्रान्समा गृहयुद्ध लेख्दा संश्लेषण गर्नुभएको थियो : “मजदुरहरुको पेरिस आफ्नो कम्युनसहित नयाँ समाजको गौरवशाली अग्रदूतका रुपमा सदासर्वदा सम्मानित हुनेछ । यसका शहीदहरु मजदुरवर्गको महान् हृदयमा अमर रहनेछन् । यसका संहारकहरुलाई इतिहासले पहिले नै अपमानको खम्बामा किला ठोकेर टंगाएको छ जसबाट उनीहरुका पादरीहरुको सम्पूर्ण प्रार्थनाले समेत उनीहरुको उद्धार गर्न सक्ने छैन”— फ्रान्समा गृहयुद्ध : १८७१ को मध्य अप्रिलदेखि मे अन्त्यसम्म लेखिएको, प्रगति प्रकाशन मास्कोद्धारा १९८६ मा प्रकाशित मा.ए.संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २२, पृ.३५५ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?