काठमाडौँ : नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो। नोटमा बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङ्ग प्रयोग गरिएको छ।
नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अङ्कित पानीछाप राखिएको छ। त्यस्तै, दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन्।
नोटमा सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो राखिएको छ।नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।
नोटको पृष्ठभागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। त्यस्तै, नेपालको सातवटा प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसको चित्र तथा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको छ। यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८२००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।