विश्व र नेपालका नयाँ अन्तर्विरोधहरुको अध्ययनबाट नै सही कार्यदिशाको विकास गर्न सकिन्छ
– हेमन्त प्रकाश ओली “सुदर्शन”
केन्द्रीय कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
१) बैशाख १९ गते मजदुर दिवसको अवसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)को पार्टी एकता घोषणासभा सम्पन्न गर्नुभयो । यो एकताको औचित्यताबारे भन्नुपर्दा के भन्नुहुन्छ ?
–नेपाली तथा विश्वसर्वहारा वर्ग र उत्पीडित जनताका लागि यो गौरव र ऐतिहासिक आवश्यकताको विषय हो । यो अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत स्थितिका बीचको अन्तरविरोधलाई समाधान गर्ने एउटा महत्वपूर्ण प्रक्रिया हो । यसले क्रान्तिकारी कम्युनिष्टहरु र जनतामा आशाको किरण चम्केको छ । तर नेपाली कम्युनिष्ट आन्दोलनका केही धोकेबाजहरुको कारणले गर्दा यो एकतालाई जनताले आशाको नजरले त हेरिरहेका छन् तर परीक्षणमा पनि राखेका छन् । धोकेबाजहरुको भ्रमजाललाई च्यात्दै क्रान्तिलाई सपनाबाट विपनामा उतार्ने प्रक्रिया थाल्नु नै यो एकताको मूल औचित्य रहेको छ ।
२) भर्खरै गर्नुभएको पार्टी एकता अर्थात नवगठित पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबारे असैद्धान्तिक एकता, अराजनीतिक एकता, अस्तित्व रक्षाका लागि नाटक भनेर तपाईंहरुबारे टिप्पणी हुने गरेका छन् । यसबारे तपाईको प्रतिक्रिया के छ ?
–यो एकतालाई असैद्धान्तिक, अराजनैतिक, अस्तित्व रक्षाका लागि नाटक भन्नेहरु या त अस्तित्व सकिएका नवसंशोधनवादीहरु हुन् वा दिमाग सड्किएका साम्राज्यवादका तावेदारहरु हुन् । नेपाली बहुसंख्यक शोषित पीडित जनताले र जनताका पक्षधर देशभक्त, क्रान्तिकारी, वामपंथी र जनवादी राजनीतिक पार्टी, समूह र व्यक्तित्वहरुले यसो भन्नै सक्तैनन् । हाम्रो यो एकताका सैद्धान्तिक र राजनीतिक आधारहरु स्पष्ट रहेका छन् : (क) माक्र्सवाद–लेनिनवाद–माओवाद÷माओविचारधारा पार्टीको पथप्रदर्शक सिद्धान्त; (ख) पार्टी सञ्चालन पद्धति जनवादी केन्द्रीयता; (ग) अन्धराष्ट्रवादको विरोध र सर्वहारा अन्तर्राष्ट्रवादको अवलम्वन; (घ) दलाल तथा नोकरशाही संसदीय व्यवस्थाको अधिनायकत्व विरुद्ध वर्गसंघर्ष, सशस्त्र संघर्ष र सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत महान् सर्वहारा साँस्कृतिक क्रान्ति; (ङ) नयाँ जनवादको खुड्किलो टेक्नेवित्तिकै वैज्ञानिक समाजवादमा पदार्पण र (च) अधिकतम लक्ष्य साम्यवाद । एकताका यी आधारहरु बकायदा पार्टी एकताको घोषणामा अंकित रहेका छन् । अनि कसरी यो एकता असैद्धान्तिक, अराजनीतिक र अस्तित्व रक्षाका लागि नाटक हुनसक्छ ? यो भनाई वास्तवमा कसैको अस्तित्व समाप्तीको अन्तिम घिटीघिटीको अभिव्यक्ति मात्र हो ।
३) कम्युनिस्ट आन्दोलनको उज्यालो भविष्य देख्न चाहने जनसमुदायले नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई शुभकामना दिइरहेका छन् । यो एकतालाई दीगो र स्थायी बनाउन तपाईहरु के सोच्नुभएको छ ?
–जनसमुदायको शुभकामनालाई सार्थक बनाउन र हाम्रो एकतालाई स्थायी र दीगो बनाउन हामीले पार्टीलाई मालेमावादी स्कूलमा शिक्षित पार्नेछौं; संगठनात्मक पद्धतिमा खार्नेछौं; वर्गसंघर्षको भट्टीमा उतार्नेछौं र जनताको मुक्तिको लागि समर्पित हुनेछौं ।
४) पथप्रदर्शक सिद्धान्त, जनयुद्धको मूल्यांकन र राज्यपुनर्संरचना र जातीयताको प्रश्नलाई खुला छलफलमा लैजाने भन्नुभएकोछ । खुला छलफलले पार्टीमा असहज स्थिति सृजना गर्ने त हैन ?
–क्राकपाले माक्र्सवाद–लेनिनवाद–माओवाद र मशालले माक्र्सवाद–लेनिनवाद–माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त माने पनि दुवैले माओका योगदानलाई सार्वभौम मान्दै आएका थिए । पदावली कुन प्रयोग गर्दा वैज्ञानिक हुन्छ भन्ने बारेमा आ–आफ्नो लामो स्कूलिङले गर्दा अहिले टुङ्गिएको छैन । महाधिवेशनका प्रक्रियामा हुने बहसबाट माओका योगदानहरु वाद वा विचारधारामध्ये कुन पदावलीमा अभिव्यक्त गर्न उपयुक्त हुन्छ भन्ने कुरा महाधिवेशन प्रतिनिधिहरुको विवेकमा प्रकाशित हुनेछ ।
५) भनिन्छ कि आजको समय भनेको कम्युनिस्ट पार्टीका लागि कार्यदिशाको निर्माण र विकास गर्नु नै प्राथमिक कार्य हो । त्यसका लागि नेता,कार्यकर्ता, बुद्धिजीवी सबैको के कस्ता भूमिका आवश्यक छ ? कार्यदिशा निर्माण र विकासमा ध्यान दिनुपर्ने कुराहरु के के हुन सक्दछन् ?
–हामीले कार्यदिशाको विकास गर्ने भनेको आफ्नो समयको सही विचारधारात्मक र राजनीतिक बाटो पत्ता लगाउने कार्य हो । यसको लागि हामीले मालेमावादी सुक्ष्मदर्शक र दूरदर्शक विज्ञानको चश्माद्वारा सुसज्जित भएर आजको अर्थव्यवस्थालाई गहिरोसँग अध्ययन गर्नुपर्दछ जसरी लेनिन र माओले आ–आफ्नो देशको राजनीतिक अर्थशास्त्रको अध्ययन गरी क्रान्तिको कार्यदिशा पत्ता लगाउनुभयो र क्रान्ति सम्पन्न गर्नुभयो । यतिबेला हाम्रा नेता, कार्यकर्ता र बुद्धिजीवीहरुले नेपाली अर्थव्यवस्था अध्ययन गर्नुपर्दछ ।
आज हाम्रा अगाडि गम्भीर प्रश्नहरु खडा भएका छन् । पहिलो कुरा, करोडौं जनताले ज्यानको आहुति दिएर आएको समाजवादमा प्रतिक्रान्ति भएको छ । दोश्रो, माओको मृत्युपछि कुनै पनि क्रान्ति विजयको नजिकै पुगे पनि सफल हुन सकेनन् । यसको कारण के हो भनेः (क) कार्यदिशा मालेमाको मौलिकतामा आधारित भएन; र (ख) मालेमालाई आजको परिस्थिति अनुरुप विकास गरिएन । यतिबेला नेपाली नेता, कार्यकर्ता र बुद्धिजीवीहरुले पुरानो मात्र होइन, विश्व र नेपालका नयाँ–नयाँ अन्तरविरोधहरुको अध्ययन र समाधान गर्नुपर्दछ । यही प्रक्रियाबाट नै सही कार्यदिशाको विकास हुन्छ ।
६) क्रान्तिकारी आन्दोलनको भविस्य छैन भनेर आफूलाई कम्युनिस्ट भन्नेहरुको ठूलो तप्का वर्तमान सत्ताको उपयोग र सुविधातिर दौडिरहेको छ । तर तपाईहरु क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वलछ भन्नुहुन्छ । कसरी ?
–‘क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको भविष्य छैन’ भनी सत्ता र सुविधामा दौडनेहरु क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका हत्याराहरु हुन् । ती हत्याराहरुलाई आफ्नो दलको नाम कम्युनिष्ट राख्ने कुनै अधिकार छैन । कम्युनिष्टहरु खुलेआम के घोषणा गर्दछन् भने बनिबनाऊ राज्यसत्तामा गएर बहुसंख्यक शोषित–उत्पीडितवर्गले आफ्नो लक्ष्य हासिल गर्न सक्तैन । माक्र्सको भाषामा भौतिक शक्तिलाई ढाल्न भौतिक शक्तिकै आवश्यता पर्दछ । लेनिनको भाषामा जसले पुरानो राज्यसत्ता ढाल्न हतियार चलाउन सिक्दैन त्यो दासको व्यवहार गर्न लायक छ । माओका भाषामा राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ ।
यी माक्र्स, लेनिन र माओका हावादारी निस्कर्षहरु होइनन्, बरु समाज विकासको अध्ययनका गहिरा निस्कर्षहरु हुन् । कम्युनिष्टहरुको भविष्य उज्ज्वल छ किनभने पूजीवादी साम्राज्यवादद्वारा जनसमुदायमाथिको शोषण र अत्याचार चरम सीमामा पुगेको छ । यसले आफ्नो चिहान खन्ने वर्गको संख्या मात्र होइन, गुण पनि बढाइरहेको छ । गुणवान जनताले यसको नाभीमै प्रहार गर्नेछन् र वैज्ञानिक समाजवाद र साम्यवादको उदय हुनेछ ।
७) माक्र्सवादले निजी सम्पत्तिको उन्मूलन गरी सामुहिक श्रम र सम्पत्तिमाथि सामुहिक स्वामित्व हुने समाजवादी व्यवस्थाको परिकल्पना गर्दछ । माक्र्सवादका विरोधीहरुले के भन्छन् भने मानिस जन्मजात लोभी प्राणी हो । आफ्नो त्यो लोभको कारण उसले निजी सम्पत्ति राख्न चाहन्छ । त्यसैले माक्र्सवाद सफल हुन सक्दैन । यो भनाईप्रति विचार प्रकट गर्नु पर्दा के भन्नुहुन्छ ?
–मानिस जन्मजात लोभी प्राणी हो भने मानिसको समाज विकास प्रक्रियाको प्रारम्भमै किन आदिम साम्यवादी समाज कायम भयो र हजारौं वर्ष टिक्यो ? मानिस जन्मजात लोभी थिएन, बरु मुट्ठीभर श्रमचोरहरुको कारणले निजी सम्पत्ति जन्म्यो र मानिसको एउटा सानो हिस्सा लोभी बन्यो । त्यसले थोरै–धेरैलाई लोभी बनाउदै ल्यायो । आजसम्म यो लोभ कायम छ । कार्ल माक्र्सले आफ्नो समयको पुँजीवादको विश्लेषण गर्दै के निस्कर्ष निकाल्नुभयो भने निजी उत्पादन सम्बन्ध र उत्पादक शक्तिकाबीच अन्तरविरोध पैदा हुन्छ । उत्पादक शक्तिले आफूअनुरुपको उत्पादन सम्बन्ध खोज्दछ । यहीबाट सामाजिक क्रान्ति शुरु हुन्छ । परिणामस्वरुप सम्पत्ति हरण गर्नेहरुको सम्पत्ति हरण हुन जान्छ । अनि मात्र सामाजिक उत्पादनको सामाजिक स्वामित्व हुन्छ । यसैलाई वैज्ञानिक समाजवाद भनिन्छ । आज पुँजीवादी साम्राज्यवाद अति एकाधिकारवादी र अतिकेन्द्रीकृत भएको छ । यसले बहुसङ्ख्यक जनसमुदायलाई व्यापक शोषण र दमन गरेको छ । जहाँ दमन हुन्छ त्यहाँ विस्फोट हुने सिद्धान्त अनुसार वैज्ञानिक समाजवाद र साम्यवाद यो परिस्थितिले धेरै नजिक ल्याइदिएको छ । त्यसकारण ९९ प्रतिशत विश्व जनसमुदाय साम्यवादमा जान बाध्य हुनेछ । तर त्यसको लागि साम्यवादी पार्टी र त्यसका नेताहरु परिपक्व हुन आवश्यक छ ।
८) तपाईं रुकुम जिल्लामा जन्मिएर राजनीतिक कार्यमा लाग्नु भयो र त्यो जिल्लाको कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास राख्नुहुन अनुरोध छ ।
–म जन्मँदा रुकुम जिल्ला आजकोभन्दा दुर्गम र उत्पीडित थियो । आज स्वाभाविक रुपमा शिक्षा, स्वास्थ्य र यातायातमा केही विकास भएको छ । त्यतिवेलाको पञ्चायती शासन व्यवस्थामा गाउँका मुखिया, प्रधान र जिम्मुवालको शोषण दमनले मलाई राजनीतिमा प्रेरित ग¥यो । अर्को कुरा, जिल्लाको इतिहासले पनि मलाई कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरित ग¥यो । रुकुम जिल्लामा बाइसे चौबिसे राज्यकालका तिन राज्यहरु रुकुमकोट, मुसीकोट र बाँफिकोट रहेका थिए । चौखाबाङको हिल निवासी एक युवक कमानसिहं बुढा(कामी बुढा) भारतीय सेनामा भर्ती भई त्यहाँबाट पनि विद्रोह गरेर पुष्पलालको सम्पर्कमा आई कम्युनिस्ट पार्टीको सदस्य भए । वि.सं. २००९ सालमा उनले मानिसहरुलाई पार्टी सदस्यता दिने र सेलहरु निर्माण गर्दै जाने अभियान चलाए । यही अभियानका क्रममा उनी जुम्ला पुगे र त्यही पक्राउ परे । २०११ सालमा उनलाई जुम्ला कारागारमै मारियो । उनकै प्रयत्न स्वरुप बनेका र पछिसम्म पनि निरन्तरतामा बनाइएका स्थानीय पार्टी समितिहरु मिलाएर २०२७ मा ताराप्रसाद घर्तिको सचिवत्वमा जिल्ला संगठन समिति बन्यो । २०२८ मा केन्द्रीय न्युक्लियसको गठन पछि यसको विकास हुँदै गयो । २०२६ देखि २०२९ को अवधिमा ग्रामीण बर्गसंघर्षले भरिएको छ । चौथो महाधिवेशनमा केही कमरेडहरुले भाग लिएपछि यस जिल्लामा कम्युनिस्ट पार्टीले पञ्चायती व्यवस्थाका विरुद्ध चुनाव बहिस्कार लगायतका कार्यक्रमहरु गर्न थाल्यो । २०४० को फुटमा यहाँको पार्टी मोहनविक्रम नेतृत्वको मशालमा र २०४२ सालको फुटमा मोहन बैद्य नेतृत्वको मशालमा संलग्न भयो । जनयुद्धमा यो जिल्लाले मुख्य आधार इलाकामा रहि महत्वपूर्ण भूमिका खेल्यो । जनयुद्धपछि यो जिल्ला अलि बढी नवसंशोधनवादीहरुको हातमा पुग्यो । हाल क्रान्तिकारीहरुले पनि यहाँ आफ्नो बर्चश्व कायम गर्न सफल भएका छन् ।
९) एनेकपा (माओवादी) को २०६९ को हेटौडा महाधिवेशनमा प्रचण्डले राखेको प्रस्ताव र तपाईले राखेको प्रस्तावको बीचमा के भिन्नता थियो ?
–एनेकपा(माओवादी) २०६९ मा दुई दुक्रा भईसकेको थियो । एकातिर कमरेड किरणको नेतृत्वमा क्रान्तिकारीहरुले विद्रोह गरेका थिए भने अर्कोतिर अझै प्रचण्डको नेतृत्वमा रहेका हामीहरुले फरक मत राखेर छलफल गर्न थालेका थियौं । हेटौंडा महाधिवेशनमा मैले प्रचण्डसँग बैज्ञानिक समाजवादको प्रस्ताव राखेको थिएँ । तर प्रचण्डले ‘अहिले वैज्ञानिक समाजवाद भन्दा साम्राज्यवादीहरु ठुलठुला आँखाले हेर्छन्’ । त्यसैले समाजवाद मात्र भनौँ भन्ने प्रस्ताव उनको थियो । मेरो तर्क के थियो भने अब समाजवाद पदावली मात्र प्रयोग गर्दा अस्पस्ट हुन्छ किनभने समाजवादको सबैले प्रयोग गरेका छन् । कांग्रेसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो कार्यदिशा बनाएर पुँजीवादी बाटो स्पस्ट गरेको छ । एमाले लगायतकाले अस्पस्ट समाजवादकै प्रयोग गरेका छन् । हामी कम्युनिस्टहरुले अब वैज्ञानिक समाजवाद भन्नु नै स्पस्ट र उपयुक्त हुन्छ ।
१०) ०६५ देखि ०६९को हेटौडा महाधिवेशनसम्म एनेकपा (माओवादी) ले पथप्रदर्शक सिद्धान्तमा माओवाद र माओविचारधारा राखेको थियो । त्यो महाधिवेशनले माओविचारधारा पथप्रदर्शक सिद्धान्तबाट हटाएको थियो । हटाउने बेलामा के भनेर हटाइयो ? स्वनाम साथी लगायतले माओविचारधारा राख्ने पक्षमा बोल्नुभएको थियो, हैन र ?
–बि.स. २०६५ मा नेकपा(माओवादी) र नेकपा (एकताकेन्द्र–मसाल)बीच एकता भएर एनेकपा(माओवादी) बनेपछि पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद/विचारधारा बन्यो । यसमा छलफल जारी थियो । महाधिवेशनमा गईसकेपछि माओवाद पारित भयो र पथप्रदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद बन्यो । स्वनाम साथी लगायत केही साथीहरुले माओविचारधारा भन्ने तर्क गरेका थिए । तर बहुमतले गरेकै निर्णय मान्य भयो ।
११) विप्लवजीसित मुख्य सैद्धान्तिक मतभिन्नता के थियो ?
–श्री विप्लवले नेतृत्व गरेको नेकपाबाट हामीले २०७८ मा विद्रोह ग¥यौँ र २०७९ बैशाख २१ देखि २३ सम्म चितवनमा बिशेष राष्ट्रिय सम्मेलन गरी नेकपा(बहुमत)को स्थापना ग¥यौँ । त्यस राष्ट्रिय सम्मेलनले उहाँलाई दार्शनिक रुपमा सारसंग्रहवादी, राजनीतिक रुपमा संसदीय संशोधनवादी, संगठनात्मक रुपमा निषेधात्मक अधिभूतवादी, संघर्षको दृष्टिले आत्मसुरक्षावादी, आर्थिक रुपमा जुझारु अर्थवादी, साँस्कृतिक रुपमा अराजकतावादी र चिन्तनको हिसाबले स्वच्छन्दतावादीको आरोप लगाएको छ । हाम्रो प्रमुख सैद्धान्तिक मतभेद भनेको संसदीय संशोधनवादका विरुद्ध नै हो किनभने उनले आफ्नो हाते किताब ‘पुँजीवाद कि बैज्ञानिक समाजवाद’ मा सबै समाजवादीहरु चुनावद्वारा संसदमा पुगेपछि शान्तिपूर्ण तरिकाले त्यसलाई वैज्ञानिक समाजवादमा रुपान्तरण गर्न सकिन्छ भन्ने निस्कर्ष निकालेका छन् ।
१२) कुनै बेला तपाईं पार्टीको स्कुल विभाग प्रमुख हुनुहुन्थ्यो । तपाईंसित स्कूल विभागको अनुभव पनि छ । अहिले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले पढ्ने पढाउने मुख्य कुरा के के हुनुपर्दछ भन्ने ठान्नु हुन्छ ?
–हो, म कुनै बेला मात्र होइन जनयुद्धपूर्व, दश बर्षे जनयुद्धभरी, शान्तिप्रक्रियामा र आजसम्म पनि कहिल्यै स्कुल विभाग प्रमुख त कहिले त्यसको सदस्यका रुपमा निरन्तर काम गर्दै आएको छु । यसले गर्दा माक्र्सवादप्रति आफैलाई विश्वस्त पार्न, खार्न र नेता तथा कार्यकर्ताहरुलाई माक्र्सवादको आधारभूत ज्ञानका लागि बाटो देखाउन मदत मिलेको छ । यो स्कुलिङले गर्दा नै जनयुद्धमा नेता तथा कार्यकर्ता र कमाण्डर तथा सिपाहीहरु जीवनलाई जोखिममा राखेर अर्थात आफूलाई आहुती दिएर जनताको मुक्तिका लागि लड्न सफल भएका थिए । यसले गर्दा नै कम्तिमा पनि राजतन्त्रको अन्त भएर बुर्जुवा लोकतान्त्रिक गणतन्त्र आयो ।
अहिले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुमा अध्ययन अध्यापनको खडेरी त परेकै छ । तथापि क्रान्तिकारी कम्युनिस्टहरुले स्कुल विभाग बनाएर स्कुलिङ गर्ने कार्य जारी राखेका छन् । यतिबेला हामीले माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओका मौलिक रचनाहरुको अध्ययन गर्न आवश्यक छ । दर्शन शास्त्रमा पवित्र परिवार, जर्मनेली विचारधारा, दर्शनको दरिद्रता, १८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरु, ड्युहरिङ मतखण्डन, लुडविग फायरबाख ः जर्मनेली शास्त्रीय दर्शनको अन्त, प्रकृतिको द्वन्द्ववाद, माक्र्सवादका तीन श्रोत र तीन संघटक अंग, भौतिकवाद र अनुभवसिद्ध आलोचनावाद, दार्शनिक नोटबुक, व्यवहारबारे, अन्तरविरोधबारे, द्वन्द्वात्मक भौतिकवाद, जनताहरुबीचका अन्तरविरोधहरुको सही संचालनबारे, द्वन्द्ववादका उदाहरणहरु र सही विचार कहाँबाट आउँछ ? आदिको अध्ययन गर्नुपर्दछ । त्यसरी नै राजनीतिक अर्थशास्त्रमा राजनैतिक अर्थशास्त्रको आलोचनामा योगदान, पुँजी खण्ड १ देखि खण्ड ४ सम्म, साम्राज्यवाद पुँजीवादको चरम अवस्था, राजनैतिक अर्थशास्त्र, साङ्घाई टेक्स्टवुक, सोभियत राजनीतिक अर्थशास्त्रको आलोचना आदिको अध्ययन गर्नुपर्दछ । त्यसरी नै वैज्ञानिक समाजवादमा फ्रान्समा वर्गसंघर्ष, लुई बोनापार्टको अठारौँ बु्रमेर, फ्रान्समा गृहयुद्ध, परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति, राज्य र क्रान्ति, वामपंथी साम्यवादः एक बालरोग, जनवादी केन्द्रीयता सम्बन्धी प्रस्ताव, नयाँ जनवादबारे, दीर्घकालीन युद्धबारे, चीनमा रणनीतिका समस्याहरु, येनान गोष्ठीमा कला र साहित्यबारे अध्ययन गर्नुपर्दछ ।
१३) तपाईसित जेलबाट फरार भएको अनुभव पनि छ । त्यो अनुभव बताउन अनुरोध छ ।
–२०५५ साल माघ २९ गते म र मनबहादुर बम बाजुराको डोगडिबाट पक्राउ परेका थियौँ । हामीलाई एक महिना ४ दिनसम्म हिरासतमा राखेर बेलनाले पेल्ने र बेहोस बनाउनेदेखि लिएर थुप्रै मानसिक तथा कठोर शारीरिक यातनाहरु दिएको थियो । त्यसपछि मात्रै जेल चलान गरियो ।
म २०५८ साल असार २१ गते बाजुरा जेलबाट अदालतमा लिई फैसला गरिसकेपछि प्रहरीले फेरि पक्राउ गर्न तयारी गर्दै गर्दा केही साथीहरुको मद्दतले त्यहाँबाट फरार भएको थिऐँ । त्यहाँबाट फरार भैसकेपछि मेरो लागि त्यो भुगोल अपरिचित थियो । म रातभरी हिडेर बिहान हुँदा कारागारको नजिकै पुगेको रहेछु । २२ गते पनि त्यहीको झाडीमा लुकेर अर्को दिन ढम्कने गाउँमा पुगेको थिए जहाँ मेरो जेलमा परिचित साथी भेटिए र २३ गते मलाई जंगलको बाटो हुँदै बाजुराको एक गाउँमा पु¥याइदिए । त्यहाँ माओवादीको आधारइलाका जस्तै थियो । कोदो गोडिरहेका जनताले मेरो मोटो शरिरलाई हेरेर शंका गरे र उनीहरुले दिनभरी नै परीक्षणमा राख्दै मलाई खाना समेत दिए । साझ मात्र मलाई चिनेको साथी आएर स्वागत गर्ने ठाउँमा लिए । भोलिपल्ट मलाई एउटा प्लाटुनले कालिकोटको मुम्रामा स्वागत ग¥यो र मुम्रामै एक जनसभामा पार्टीले स्वागत ग¥यो । त्यसपछि भदौमा मात्र मैले बुवा–आमा लगायत परिवारका सदस्यहरुलाई घरमा भेट्न गएँ ।
१४) अबको कम्युनिस्ट आन्दोलनले उठाउनु पर्ने मुख्य बिषय के के हुन् ?
–अबको कम्युनिस्ट आन्दोलनले आजको साम्राज्यवादसँग लड्नका लागि विचारधारात्मक तथा राजनैतिक कार्यदिशाको विकास गर्नुपर्दछ । त्यसको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा गर्न जरुरी छ । माथि भने जस्तै मालेमावादका मौलिक प्रस्तावनाहरुको अध्ययन र त्यसको नयाँ ढंगले व्याख्या तथा विकास गर्न आवश्यक छ ।
१५ ) भर्खर पार्टी एकता भएकोछ । आगामी कार्यक्रम के छ ?
–प्रथमतः हामी संगठनात्मक रुपले दुई पार्टीबीचको एकतालाई माथि देखि तलसम्म पूरा गर्नेछौँ । द्वितियतः महाधिवेशनको तयारी गर्नेछौँ । तृतियतः राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्षका कार्यक्रमहरु पनि गर्नेछौँ ।
हाँक साप्ताहिक र हाँक टुडेबाट