
मनु वि.क.
भदौ २२ गते छोरीले घरमा भन्दै थिइन् जेन्जीको आन्दोलन हो रे । कार्य व्यस्तताको कारण उनीसँग थप बोलेर बस्ने समय थिएन , आफ्नो काममा निस्किएँ । पत्रिकाको कार्यालयमा आएर अनलाईन पत्रिकाहरु हेर्न थाले । पत्रिकामा जेन्जी आन्दोलनको बारेमा केही पत्रिकाले लेखेको थियो । जसमा दलहरुका नेताहरुदेखि लिएर केही आफूलाई संस्थाहरु सम्हालेका भनिएका मान्छेहरुको पनि समर्थन रहेको भन्ने समाचार छापिएका थिए । जसमा कुलमान घिसिङदेखि लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतको समर्थन रहेको बताइएको थियो । मन मनमा सोचे कोही प्रतिपक्षमा भएको कारण सत्ताको विरुद्धमा रिस पोखेका होलान् ,कोही पदबाट हटाइएकामा रिस पोखेका होलान् । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन,धरानका हर्क साङपाङको पनि समर्थन रहेको भन्ने थियो । हामी नेपाल भन्ने संस्थाले काठमाण्डौ जिल्ला प्रशासनमा मात्रै शान्तिपूर्ण प्रदर्शनकोलागि स्थान लिएको भन्ने पनि थियो । साँझ ८ बजेतिर घरमा पुगेर खाना खाएर सुतियो र बिहान घरमा सबै काम गरेर फेरी आफ्नै योजनामा निस्कने कुरा भयो ।
२३ गते सोमबार हाम्रो कार्यक्रम इच्छुक प्रतिष्ठानमा थियो र त्यहाँ तीन दिने पत्रकारको तालिम थियो ,आइतबारको दिन थियो । आइतबार हाँकको काममा व्यस्त रहनु पर्ने तर हामी पत्रकारको तालिममा सहभागी भएका थियौं ।
देशमा सामाजिक संजालमाथि लागेको प्रतिबन्धको कारण केही सूचना पनि पाउन सक्ने अवस्था थिएन तर केही साथीहरुले प्रविधिको प्रयोग गरेर सूचना थाहा पाउने काम गर्दै थिए । दिउँसो १ बजेदेखि पुरै जेन्जी आन्दोलनमाथि भइरहेको दमन र मारिएका खबर आउन थाले हामी ५ बजेसम्म नै प्रशिक्षणमा थियौं । हामीलाई पत्रकारको प्रशिक्षणले भन्दा आन्दोलनको समाचार के भयो ? अब के हुन्छ ? कति विद्यार्थीहरु के हुने हुन् ? भन्ने सन्त्रासले मन आत्तिइरहेको थियो । जान्ने पाकाहरुले आज केही हुन्छ भनेर बोल्दै थिए । प्रशिक्षण सकिएपछि हामी हिँड्दै बागबजारको अफिसमा आएर अबेरसम्म काम ग¥यौं । अबेरसम्म काम गरी फेरी हामी कोठामा जान हिँड्यौ । यतिबेलासम्म मारिनेहरुको संख्या धेरै भइसकेको थियो । घाइतेहरुको संख्या धेरै भइसकेको थियो ।
हामी हाँक पत्रिकाको कार्यालयमा आएर अनलाइन खबरहरु हेर्न थालें साँच्चै समाचारहरुमा ओली सरकारको दमनको विरोध गरिएको र मारिनेहरुको संख्या बढिरहेको समाचार आइरह्यो । हामी आफ्नै काममा लाग्नु पर्ने थियो साढे पाँच बजेतिर हामी बागबजार अफिसमा आएका थियौं । बुधबार प्रकाशित हुने पत्रिकाको तयारी गर्नु थियो र सकेको काम गरेर साँझको ८ बजे हामी कोठामा जान हिँड्यौं ।बाटोभरि मान्छेहरु निकै सन्त्रासमा देखिन्थे । हामी हिँडेर कोठामा पुग्ने बेलामा कोठा नजिकै पसलवालाले भने के भएको यस्तो ? के हुन्छ तपाइँहरु कहाँ गएर आएको ? भने ।मैले सामाजिक संजाललाई त नियमन गर्नु नै पर्छ भन्ने कुरा राखे । मारिनेहरु त मारिए सरकारले नमारेको भए त हुनेथियो के गर्ने ? भने उनी भाइको अनुहार निकै दुःखी थियो ।
म कोठामा पुगें । मारिनेहरुको समाचार सुनियो निकै दुःख लाग्यो । मन मनमा सोचिरहेँ निषेधित स्थानमा विद्यार्थीहरु किन गए ? छोरीले भ्रष्टाचार विरोधी अन्दोलनमा जाँदा विद्यार्थी मारिए भन्दै हामीलाई सुनाइरहिन् । हामी खाना खाएर सुतियो । बिहानै उठेर हाँकको तयारी गरेर पत्रिकाको काममा लागें कोठा मै । खाना बनाउनेदेखि लिएर लेख, सम्पादकीय लगायत विषय लेख्नु थियो र हामीले दिउसो काम गर्न नपाउने प्रशिक्षणमा जानु पर्ने भएकोले बिहानैमा धेरै काम सक्नु पर्ने थियो । त्यसैले काममा लाग्यौं । स्कुलहरुले बन्दको घोषणा गरिसकेका थिए । बच्चालाई स्कुल पठाउन पर्ने थिएन तर हामी जसरी भए पनि प्रशिक्षणमा पनि जाने र पत्रिकाको कामको तयारी पनि गर्ने भएको कारणले छिटो गर्नु पर्ने थियो । छिटो गरेर बच्चाहरुलाई कोठामा राखेर कार्यक्रममा जाने र पत्रिकाको काममा जाने भनेर हिँडियो । मैतीदेवी चोक हुँदै रामबहादुर हाँक अफिस बागबजारमा जाने र म प्रशिक्षणमा जाने भन्दै हिडियो । मैतीदेवी चोक सम्म आउँदासम्म केही रक्सी खाएका मान्छेहरु भन्दै थिए । हामी जेन्जी हैन तर समर्थन गर्न हिँडेको भन्दै एकहुल मान्छेहरु हिंडिरहेका थिए । सडक अवरुद्ध गर्न पुराना फर्निचर बाटोमा बालेका थिए । बाटो अवरुद्ध गर्न लागेका थिए । मैतीदेवी चोकबाट म इच्छुक प्रतिष्ठानतिर लागें रामबहादुर बागबजार तिर लाग्नु भयो । इच्छुकमा पुग्दा त्यहाँ प्रशिक्षणकालागि कोही पनि आनु भएको थिएन। एकजना आएर फर्किनु भयो भन्दै त्यहाँ बहिनीले भन्नु भयो ।
मेरो मोबाइल सम्पर्क थिएन ।इच्छुकमा प्रतिष्ठानका सदस्यसचिव मोदनाथ सर हुनु हुन्थ्यो । वहाँले एक समाचार सुनाउनु भयो ,त्यो समाचार लिएँ । अब के हुन्छ ? भन्ने प्रकारको सन्त्रास सबैमा थियो । बस्दा बस्दै १२ बज्न थाल्यो । म बागबजार आउन हिँड्न खोजे । त्यहाँ इच्छुक प्रतिष्ठान नजिकै रहेको प्रहरी विटमा आगो लाग्न थाल्यो ,आगो सल्किँदै थियो । एक ट्रक प्रहरीको गाडी धोवी खोला हुँदै अनामनगरतिर गयो । प्रहरी आएको देखेर आन्दोलनकारी लुक्दै थिए तर प्रहरीले केही नगरी गाडी हुइँक्यायो । प्रहरी विट जल्न थाल्यो । जल्दा विजुलीको तारहरु समेत जल्दै थिए । स्थानीयहरु भन्दै थिए “पानी ल्याएर निभाउँ तर पानी ल्याउँदा प्रहरी विटमा विस्फोट हुने सामान राखेको भए विस्फोट भएर झनै खतरा होला भन्ने सोचेर स्थानीय अगाडि बढ्न सकेनन् । म इच्छुकमा फर्किएर जय दाहाललाई सुनाए वहाँ पनि हेर्न जानु भयो, फोटो खिच्नु होला भनेर र त्यहाँ बसिरहने भएको कारण त्यहाँको बारेमा धेरै थाहा हुन सक्छ भनेर वहाँलाई खबर गरेको थिएँ वहाँ सहित म पनि त्यहाँ गयौं । केही बेर हेरियो । प्रहरी विट जल्दै थियो । मेरो मन निकै आत्तिएको थियो । बुधबार पत्रिका निकाल्नु पर्ने मंगलबार अबेरसम्म पनि काम हुन सकेको छैन ,हाँकमा जानु प¥यो भनेर निस्कँदा त्यस्तो हुँदै थियो । केही युवाहरु अर्को प्रहरी विट कता छ ? भनेर खोज्दै थिए । बाइकमा दुइ तिन जना युवाहरु बस्ने,छिटो बाइक हाँक्ने र ठूलो ठूलो हर्न बजाएर सर्वसाधारणलाई आतंकित पार्ने काम भइरहेको थियो । म फर्किएर त्यही इच्छुकमा नै आए ।
फेरी काम त्यसै छ भन्ने सोचेर घट्टे कुलोको भित्री बाटो हुँदै डिल्लीबजार आउँदासम्म बाटोभरी आगो नै आगो थियो ।आगोको थुप्राहरुको बन्धन पार गर्दै म बागबजार अफिसमा आइपुगेँ । रामबहादुर बुढा,टेकहरी न्यौपाने ,नारायण शर्मा त्यही हुनुहुन्थ्यो । म काममा लाग्नु पर्ने थियो । तर पत्रिकाको काम अगाडि बढाउन निकै गाह्रो भएको थियो । यत्तिकैमा अनलाइनहरुमा समाचार आयो । वानेश्वरमा रहेको संसदभवन जल्यो , नेताहरुका घर जले, प्रधानमन्त्रीले राजीनामा दिए,नेताहरुको घर जल,े नेताहरुलाई आक्रमण गरिँदै छ , कैदीहरु जेलबाट भाग्दैछन् …… यस्तै यस्तै । मन निकै आत्तियो । वागबजारमा रहेको पाँच तला माथिको अफिसबाट देखियो सिंहदरबारतिरबाट निस्किएको धूवाँको मूस्लो, पुरै आकाश नै धूवाँ नै धूवाँ । अब सिंहदरबार जल्यो ! मन निकै आत्तियो । सिंहदरबार नै जले पछि अब के हुने हो ? यो त निकै गाह्रो भो,अब देश कसरी उठ्छ ? भन्दै मन मनमा सोचिरहें । अनलाइनहरु हेर्दा पनि सिंहदरबार जलेको समाचार कभर गर्न भ्याएका थिएनन् । निकै पछि मात्रै यो समाचार कभर भयो । धूँवाको मूस्लोहरु पार गर्दै चराहरु यताउता आकासमा उड्दै थिए । मन मनमा सोचें कति चराको गुड खरानी भयो होला ? जोगाउँछु भन्दा भन्दै पनि चरीहरुले आफ्नो बचेरा जोगाउन सकेनन् । आफ्नो प्राण प्यारो गुण जोगाउन सकेनन् । उनीहरुको आवाज उनीहरुको चित्कार,आकाशमा मडारिएको कालो धूवाँसँगै उडिरह्यो । उनीहरु निकै अत्तासिएका थिए । कराउँदै कहिले यताको दिशा त कहिले उताको दिशामा वेग हानी उड्दै थिए । जोगाउन सक्छु कि भनेर होला कि मनले सोचिरह्यो । मेरो घर बचाइदेऊ भन्दै जनजनको घरमा पुग्न खोजेको होला कि ? यति संवेदनशीता भरेको छ प्रकृतिका जीवहरुमा, सबैको अस्तित्व सबैको साथमा छ । सबै जीव जनावरको अस्तित्वविना मानव अस्तित्व असम्भव छ । चराहरुको चिच्याटलाई कसले ख्याल गर्ने त्यो समयमा ?सँधै चरालाई चारो हालेको देखिन्थ्यो वागबजारको एक घरको छतमा तर त्यो दिन भने सँधै चारो खाइरहने छतमा पनि असुरक्षा देखेर उडिरहेका थिए आकाश माथि माथि चराहरु कराउँदै । उनीहरु कता जाने ? जतासुकै जलेको थियो । काठमाण्डौका सरकारी भवनहरु ध्वष्त हुँदै थिए । जता गए पनि धुवाँ नै भेटेर होला आकाश मै भौतारिइरहेका थिए ।
घरका छत छतमा बसेर सिंहदरबार जलेको हेरेर युवाहरु हाँसिरहेका देखिन्थे । आकाशमा धूँवामात्रै होइन ढाङ ढाङ् ढुङ ढुङको आवाजले थर्काइरह्यो । वागबजारमा रहेको हाँकको अफिसबाट हेर्दा आकाशै पुरै धूँवा नै धूँवामा परिणत भयो । सुन्धारा साइडमा,आर्मी क्याम्प, नेपाल वायुसेवा निगमजस्ता ठाउँहरुबाट उठेका धूवाँका मूस्लाहरुले निलो आकाश कालो हुँदै थियो । कति धेरै बोल्न मन लागेको थियो । सबै संरचना ध्वस्त हुँदा मलाई आफैलाई आफैप्रति कस्तो कस्तो लाग्यो । सबै संरचनाहरु जोगाउन सकेको भए…… कल्पना मात्रै भरियो र एक कविता लेखें र हाँक टुडेमा पोष्ट गरे “आगोको काम” शीर्षकमा कविता यस्तो थियो ः
आगोको काम जलाउनु हो जलाउँछ
जले पछि बनाउने कुरा आगोले जान्दैन
आगोले जलाएको खरानी उठाउन
देखाउने छैनन् कसैले दया
खरानीको थुप्रोबाट उठ्न सकिन्छर ?
खरानीको थुप्रो उडाउँदै
बज्रिनसक्छ कसैको बुट ।
खोजेर हेर्दा हराउने छ खरानीको रास
खरानीको रासमा बसेर कसरी हाँस्न सक्लान र जनता
आखिर जनता जनता नै हो
बनाउने जिम्मा वर्षौं सम्म जनताको नै हुनेछ ।
बागबजारबाट रामबहादुर र म कोठामा जान निस्कियौं । बाटाभरी आन्दोलनकारी थिए । बाटोभरी आगो नै आगो खरानी नै खरानी थियो, सबै जलिरहेको थियो । ट्राफिक प्रहरी बस्ने विटहरु जलिरहेका थिए । सबै जलेको हेर्दै हामी हिंड्दै थियौं, सबै हौसिएका रक्सी लागेर मातेकाहरु बाइकमा हार्र हुर्र दौडदै थिए ,एम्बुलेन्स कुदिरहेका थिए । सबै जलाएर खरानी हुँदै थियो ।
घर पुग्ने बाटामा जाँडले लठ्ठ परेका केही युवाहरु भनिरहेका थिए । “अब नेपालमा दल हुँदैन ,अब दलविहीन हुन्छ हाम्रो आन्दोलन यही नै हो ।” हामी आफ्नो बाटो लाग्यौं । कोठामा पुग्दा बच्चाहरु सन्त्रासमा बसिरहेका थिए ।
कोठामा भएका बच्चासँग आन्दोलनबारे कुरा भयो । “देश खरानी भयो, आन्दोलनको नाममा खरानी बनाउनेको मुख कसैले चिनेको छैन,उसको अफिस कहाँ हो ? उसको थर ठेगाना के हो ? यत्रो सबै गरे पछि जिम्मा लिनु पर्छ कि पर्दैन ? कसले निर्देशन दियो ? कहाँ निर्णय भयो ? छोराछोरी मारिएका अविभावकले कसलाई चिन्ने ?”बच्चाहरुले सुनिरहे ।
रातभरी मनमा कुरा खेलिरह्यो दिनभरी आकाशमा उडिरहेका चरीहरु सम्झिएँ । बचेरा र बासस्थान गुमेका चरीहरुका विलापको आवाज कानैभरि भैरह्यो । भदौ २३ गते मारिएका बच्चाहरुको आमा बुवाको र चरीहरुको विलाप एकै होला भनेर मन थाम्नै सकिन । सम्हालिन निकै गाह्रो भयो । अहिले देश र व्यवस्थाको चिन्ताले सताइरहेको छ ।