
रामसिंह श्रीस
लेनिनको पुस्तक “राज्य र क्रान्ति ” एउटा अति महत्वपूर्ण पुस्तक हो । राज्य र क्रान्ति सम्बन्धमा माक्र्सवादको आधारभूूत सिद्धान्त बुझ्नका लागि लेनिनको यो पुस्तकको गहिरो अध्ययन गर्न जरुरी छ । त्यसकारण लेनिनको यो महत्वपूर्ण पुस्तक “राज्य र क्रान्ति ” को बारेमा जानकारी गराउने उद्देश्यले यो क्लास नोट तयार पारिएको छ ।
१) लेनिनले यो पुस्तक कहिले लेख्नु भयो ?
लेनिनले यो पुस्तक सन् १९१७ को अगष्ट र सेप्टेम्बर महिनामा गुप्तवास बस्दा लेख्नु भएको थियो । पहिलो संस्करण सन् १९१८ मा प्रकाशित भएको थियो । यसको दोस्रो संस्करण सन् १९१९ मा प्रकाशित भएको थियो । यसको दोस्रो संस्करणमा दोस्रो अध्यायमा सन् १८५२ मा माक्र्सद्वारा राखिएको प्रश्न भन्ने एउटा नयाँ परिच्छेद थपिएको छ ।
२) लेनिनले यो पुस्तक किन लेख्नु भयो ?
एङगेल्सको मृत्यु पछि अपेक्षागत शान्तिपूर्ण विभागको सिलसिलामा विभिन्न खाले अवसरवादी तत्वहरुले माक्र्स र एङगेल्सका राज्य र क्रान्ति सम्बन्धी अवधारणाहरुलाई भ्रष्टीकरण गर्दै लगे । त्यो अवस्थामा ती अवसरवादीहरुको विरुद्ध संघर्ष बेगर श्रमिक जनताको मुक्तिको लागि संघर्ष गर्न असम्भव छ । भन्ने निष्कर्षमा लेनिन पुग्नु भयो । तीनै अवसरवादी तत्वहरुको विरुद्ध संघर्ष गर्ने क्रममा लेनिनले यो “राज्य र क्रन्ति ” भन्ने पुस्तक लेख्नु भएको थियो । लेनिनले पहिलो संस्करणको भूमिकामा ती अवसरवादी तत्वहरुको नाम यसप्रकार दिनु भएको छ ,पोत्रेसोभ ,वेश्कोभ काया , रुवानोभिच अनिअलिक, प्रच्छन्न , रुसमा चाँहि चेरेतेली ,चेर्नोभ आदि , जर्मनीमा शीदेमान , लेगिन , डेभिड आदि, फ्रान्स र बेल्जीयममा रेनोडल ,गेद , भान्डेर भेल्डे ,इग्ल्याण्डमा हाइदमान र फेवियनहरु आदि । लेनिन भन्नुहुन्छ ,“ विकृत माक्र्सवादको अभूतपूर्व प्रचार प्रसार भइरहेको अवस्थामा, राज्यको सम्बन्धमा माक्र्सको शिक्षाको पुनस्र्थापना गर्नु नै हाम्रो प्रमुख कर्तव्य हुन जान्छ । पृष्ठ ११–१२
३.“राज्य र क्रन्ति ” भन्ने पुस्तक लेख्नकोलागि लेनिनले मुख्यत ः निम्न पुस्तकहरुको गहिरो अध्ययन गर्नु भएको थियो –
उहाँले जुरिचमा सन् १९१६ को अन्त्य र सन् १९१७ को आरम्भमा “राज्यको सम्बन्धमा माक्र्सवाद ” शीर्षक अन्तरगत माक्र्स र फ्रेडरिक एङगेल्सका कृतिहरुको गहिरो अध्ययन गर्नु भई नोटहरु गराउनु भएको थियो र “राज्य र क्रन्ति ” नामक पुस्तकमा दिइएका उद्दरणहरुबाट उहाँले मुख्यत निम्न पुस्तकहरुको अध्ययन गरेको बुझिन्छ । १. एङगेल्सको “ परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति ” २. एङगेल्सको ड्युहरिङ मतखण्डन , ३. कार्ल माक्र्सको दर्शनको दरिद्रता, ४. माक्र्स ऐङगेल्सको कम्युनिष्ट पार्टीको घोषणा पत्र ,५. माक्र्सको “ लुइ बोनापार्टको अठारौं ब्रुमेयर ६. माक्र्सको वेडमेयरको नाममा पत्र ५ मार्च सन् १८५२ ७. लेनिनको सर्वहारा क्रान्ति र गद्दार काउत्सकी ,८. माक्र्सको कुगेलमानलाई लेख्नु भएको पत्र , ९. माक्र्सको फ्रान्समा गृहयुद्ध , १० , वर्नस्टिनको समाजवादको पूर्वाधार ११.एङगेल्सको वेवेललाई पत्र सन् १८७५को १८–२८ मार्च १२. एङगेल्सको “आवासको समस्य” १३. माक्र्सको गोथा कार्यक्रमको आलोचना , १४.प्लेखानोभको अराजकतावाद र समाजवाद ।
४. यो पुस्तकमा कति अध्याय छन् ?
लेनिनले यो पुस्तक सात वटा अध्यायमा लेख्ने योजना बनाउनु भएको थियो तर सातौं अध्याय “ सन् १९०५ र १९१७ को रुसी क्रान्तिको अनुभव” उहाँले लेख्न भ्याउनु भएन । पहिलो संस्करणको उपसंहारमा लेनिनले यस पुस्तिकाको दोस्रो भाग (सन् १९०५ र १९१७को रुसी क्रान्तिको अनुभव ) लेख्न त अब सायद लामो अवधि सम्मको लागि रोक्न पर्दछ होला भनेर लेख्नु भएको छ ।
पहिलो अध्याय
वर्ग विभाजित समाज र राज्य
यो अध्यायमा लेनिनले चार ओटा उपशीर्षकहरु बनाउनुभएको छ । १. राज्य वर्गीय अन्तरविरोधहरुको अप्रसाध्यता हो २. सशस्त्र सज्जित मानिसहरुको विषेश दल , झ्यालखाना इत्यादि ,३. राज्य – उत्पीडित वर्गको शोषणको साधन ,४. “राज्यको विलोप र सशस्त्र क्रान्ति ” । राज्य सम्बन्धी माक्र्सवादी दृष्टिकोणको व्यवस्थित रुपमा व्यवस्था गर्नु भएको छ । लेनिनले राज्य भनेको ऐगेल्सको दृष्टिमा “समाजवाद उत्पन्न भएको तर समाजोपरी स्थान ग्रहण गर्ने समाजबाट झन् झन् टाढिँदै जाने यो शक्ति नै राज्य हो ।” भन्ने कुरा प्रष्ट राख्नु भएको छ । पृष्ठ १३
एङगेल्सले यो निश्कर्ष निकाल्नु भन्दा पहिले भन्नु भएको छ कि “ …तसर्थ यी अन्तरविरोधहरु एक अर्कालाई आपसमा र पुरै समाजलाई नष्ट नगरुन भन्ने हेतुले नै समाजभन्दा माथि रहेको प्रतित हुने शक्तिहरु को खाँचो पर्न गयो । जुन शक्तिले संघर्षलाई सामसुम पार्न सक्दथ्यो र त्यसलाई व्यवस्थाको सीमा भित्र राख्दथ्यो ।” पृ १२ – १३
एङगेल्सको यस भनाइलाई पुँजीजीवि र खास गरी निम्नपुँजीजीवि सिद्धान्तकारहरुले माक्र्सलाई यसरी सच्याय कि राज्य भनेको वर्गीय “समन्वयको” साधन हो । माक्र्सको यस्तो व्याख्याको लेनिनले विरोध गर्नुहुन्छ । र भन्नुहुन्छ, “ माक्र्सको मतानुसार यस वर्ग समन्वय सम्भव हुँदो हो त राज्यको जन्म नै हुने थिएन ,नत यो कायम नै रहने थियो । लेनिन अगाडि भन्नु हुन्छ “ माक्र्सको मतानुसार राज्य वर्गीय प्रभुत्वको अस्त्र हो ,एक वर्गद्वारा अर्को वर्गको उत्पीडनको साधन हो । पृ. १३ राज्य सत्ताको मुख्य साधनहरु के हुन् भन्ने विषयमा पनि लेनिनले प्रष्ट पानु भएको छ । लेनिन भन्नुहुन्छ, “स्थायी सेना र पुलिस नै राज्यसत्ताका मुख्य साधनहरु हुन्” पृष्ठ. १६ यसरी लेनिनले राज्यको परिभाषा ,राज्यको उत्पत्ति राज्यको साधनहरुको बारेमा माक्र्सवादी दृष्टिकोणलाई प्रष्ट पार्नु भयो ।
राज्य उत्पीडित वर्गको शोषणको साधन हो भन्दै लेनिनले आजको प्रजातान्त्रिक गणतन्त्रको विषयमा पनि माक्र्र्सवादी दृष्टिकोणलाई प्रष्ट पार्नु भएको छ । लेनिन लेख्नुहुन्छ, “एङगेल्स अगाडि भन्नुहुन्छ –प्रजातान्त्रिक गणतन्त्रमा “धनसम्पत्तिले अप्रत्यक्षरुपमा तर बढी भरपर्दो ढंगले आफ्नो सत्ताको प्रयोग गर्दछ ।,अर्थात प्रथमतः “पदाधिकारीहरुलाई सोझै घुस ख्वाएर किन्ने ” माध्यमले (अमेरिका ), द्वितीयत सरकार तथा शेयर बजारको बीचमा गठबन्धनको” माध्यमले –फ्रान्स र अमेरिका )। पृ.२० यसरी ऐङगेल्सकले उतिबेलै पुँजीवादी गणतन्त्रको चरित्रको बारेमा प्रष्ट पार्नु भएको कुरा लेनिनले पुन प्रष्ट्याउनु भयो ।
एङगेल्सले उपरोक्त कुरालाई प्रष्ट पार्दै लेनिन भन्नुहुन्छ प्रजातान्त्रिक गणतन्त्र पुँजीवादको निमित्त उत्कृष्ट राजनैतिक खोल हो । तसर्थ पुँजीले यस सर्वश्रेष्ठ खोलमा अधिकार जमाएर (पाल्चीन्स्की ,चेर्नोभ , चेरेतेली, मण्डलीको माध्यमद्वारा ) यति भरपर्दो विश्वाशिलो रुपमा आफ्नो सत्ता कायम गर्दछ कि पुँजीजीवि प्रजातान्त्रिक गणतन्त्रमा कुनै व्यक्ति कुनै संस्था या कुनै पार्टीको कुनै पनि हेरफेरले यस सत्तालाई डावाडोल गर्न सक्दैन ।” पृष्ठ. २१ त्यसकारण पुँजीजीवि प्रजातान्त्रिक गणतन्त्रलाई डावाडोल गर्न अर्थात् सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न क्रान्ति अनिवार्य हुन्छ ।
राज्यको विलोपको विषयमा एङगेल्सले भनेका छन् । “वर्गहरु जरुरी अतितमा अवश्यभावी रुपमा उत्पन्न भएका थिए । त्यसरी नै अवश्यंभावी रुपमै विलाएर पनि जानेछन् । वर्गहरुको विलयको साथसाथै अनिवार्य रुपमा राज्य समेत विलाउने छ” पृ. २२ राज्यको बारेमा एङगेल्स अझ अगाडि भन्नु भएको थियो ,“व्यक्तिहरु माथि शासनको ठाउँ चाहिँ वस्तुहरुको सुप्रबन्ध र उत्पादनका प्रक्रियाहरुको संचालनले लिन्छ। राज्यलाई “वदर गरिँदैन ” कि त्यो विस्तार विस्तार विलुप्त भएर जान्छ । ” पृ. २४ राज्य “विस्तारै विस्तारै विलुप्त भएर जान्छ” भन्ने एङ्गेल्सको भनाइलाई अवसरवादीहरुले गलत व्याख्या गरे । एङगेल्सले सर्वहारा वर्गको राज्यलाई विस्तार विस्तार विलुप्त भएर जान्छ भन्नु भएको थियो । तर अवसरवादीहरुले पुँजीवादी राज्यलाई पनि विस्तार विस्तार विलुप्त भएर जान्छ भनेर भने । यसबारे लेनिनले भन्नु भयो “माक्र्सवादलाई यसरी सच्याउनुको अर्थ त्यसलाई अवसरवाद बनाउनु हो ।” पृष्ठ २४ लेनिन अझ अगाडि भन्नुहुन्छ “वास्तवमा यसप्रकारको “व्याख्या” माक्र्सवादको सबभन्दा भद्दा विकृति हो । जुन केवल पुँजीजीवि वर्गको निम्ति मात्र फाइदाजनक हुन्छ ।” पृष्ठ २४ वास्तवमा राज्यको विलोपबारे माक्र्सवादको सही धारणाबारे लेनिन भन्नु हुन्छ ,“वास्तवमा एङगेल्स यहाँ सर्वहारा क्रान्तिद्वारा पुँजीवादी राज्यको “उन्मूलनबारे” कुरा गर्नु हुन्छ । अनि राज्यको विलोप सम्बन्धी शब्दहरुले चाहिँ समाजवादी क्रान्ति पश्चात स्थापित हुने सर्वहारा राज्यसत्ताका अवशेषहरु सहित सरोकार राख्दछ । एङ्गेल्सको भनाइ अनुसार पूँजीवादी राज्यको विलोप हुँदैन कि क्रान्तिमा सर्वहारा वर्गद्वारा त्यसको “मूलोच्छेद गरिन्छ ” यस क्रान्ति पश्चात सर्वहारा राज्य अथवा अर्ध राज्यको विलोप हुन्छ ।” पृ.२५ “ पुँजीवादी राज्यको विलोप हुँदैन कि क्रान्तिमा सर्वहारा वर्गद्वारा त्यसको “मूलोच्छेद” गरिन्छ भन्ने एङ्गेल्सको भनाइलाई अझ प्रष्ट पार्दै लेनिन भन्नुहुन्छ “ सशस्त्र क्रान्तिको अनिवार्यता बारे माक्र्स तथा एङ्गेल्सको शिक्षाको सम्बन्ध पुँजीवादी राज्यसँग छ । त्यसको स्थान सर्वहारा राज्य (सर्वहारा वर्गको अधिनायकत्व ) ले “ विलोपको” मार्गबाट ग्रहण गर्न सकिँदैन ,बरु आम नियमको रुपमा केवल सशस्त्र क्रान्तिद्वारा मात्र ग्रहण गर्न सक्छ । ” पृ. २९ यो कुरालाई अरु जोड दिँदै लेनिन भन्नुहुन्छ “सशस्त्र क्रान्तिको यस्तो र विलकुलै यस्तो दृष्टिकोणमा जनसमुदायलाई नियमितरुपले अनुशासित गर्नु पर्ने आवश्यकता नै माक्र्स र एङ्गेल्सको सम्पूर्ण शिक्षाको आधार हो ।” सशस्त्र …क्रान्ति वेगर सर्वहारा राज्यद्वारा पुँजीवादी राज्यलाई स्थानापन्न गर्न सकिँदैन । ” पृ.२९
दोस्रो अध्याय
राज्य र क्रान्ति (१८४८ –१८५१ को अनुभव)
यो दोस्रो अध्यायमा १८४८ –१८५१ को अनुभव भनेर जुन शीर्षक राखिएको छ । त्यो सन् १८४८ –१८५१ सम्म फ्रान्स ,इटली , जर्मनी , अस्ट्रिया र हंगेरीमा पुँजीजीवि प्रजातन्त्रवादी क्रान्तिहरु भएका थिए । त्यसै क्रान्तिको अनुभवबाट माक्स र एङ्गेल्सले राज्य र क्रान्ति सम्बन्धी निचोडहरु निकाल्नु भएको थियो । उहाँहरुको यस अनुभवलाई लेनिनले यस दोस्रो अध्यायमा क्रान्तिको पूर्वबेला ,क्रान्तिको निचोड र सन् १८५२मा माक्र्सद्वारा राखिएको प्रश्न भनेर ३ ओटा उपशीर्षकमा व्यवस्थित रुपले माक्र्सवादका सिद्धान्तहरुको व्यवाख्या गर्नु भएको छ । क्रान्तिको पूर्व बेला भनेको सन् १८४८ भन्दा पहिलेको अवधि हो । माक्र्सले “दर्शनको दरिद्रता” र “कम्युनिष्ट घोषणा पत्र ” सन् १८४८ भन्दा पहिले प्रकाशित गर्नु भएको थियो ।यी दुइओटा कृतिहरुमा माक्र्सले राज्य र क्रान्ति सम्बन्धी धारणाहरु प्रष्टसँग उल्लेख गरिसक्नु भएको थियो । त्यसबारे लेनिन भन्नुहुन्छ “सर्वहारा वर्गलाई राज्यको आवश्यक पर्दछ । यो कुरा सबै अवसरवादीहरु ,सामाजिक अन्धराष्ट्रवादीहरु र काउत्सीवादीहरु दोहो¥याउँछन् । उनीहरु माक्र्सवादको शिक्षा नै यस्तो छ भन्ने विश्वास दिलाउँछन् । तर के कुरा चाहिँ थप्न “बिर्सन्छन् ”भने माक्र्सको अनुसार प्रथमतः सर्वहारा वर्गलाई केवल विलुप्त भएर जाने राज्यको मात्र खाँचो छ ।अर्थात त्यो राज्य यसप्रकार निर्मित भएको होस कि जसको विलोप तुरुन्त नै शुरु भैहालोस् र जुन विलोप नभइकन रहन नसकोस् । अनि द्वीतियतः श्रमिकहरुलाई यस्तो “राज्य” चाहिन्छ ,जुन सत्तारुढ वर्गको संगठित सर्वहारा वर्गहोस् । पृ ३१÷३२ माक्र्सको मतानुसार पुँजीजीवि वर्गको राज्य सत्तालाई ध्वस्त बनाउने र सर्वहारा वर्गको राज्य सत्ता जुन राज्य सत्ता विस्तारै विलुप्तको दिशातिर जान्छ ) स्थापना गर्ने हो । तर सन् १८४८ देखि सन् १८५१ सम्म युरोपका विभिन्न देशमा भएका क्रान्तिले पुँजीजीविवर्गको राज्य सत्तालाई ध्वस्त बनाएन बरु त्यसलाई पूर्णता दिँदै गयो । यस कुरालाई प्रमाणित गर्न लेनिनले माक्र्सको “लुइ बोनापार्टको अठारौं ब्रुमेयर” भन्ने रचनाबाट निम्न कुराहरु उदृत गर्नु भएको छ ।,“अन्त्यमा संसदीय गणतन्त्रले क्रान्तिको विरुद्ध आफ्नो संघर्षमा दमनकारी क्रियाकलापको साथ साथै राजकीय सत्ताको साधनहरु र केन्द्रीय करणलाई दरिलो पार्न पनि बाध्य हुन परेको थियो । सबै क्रान्तिहरुले यस यन्त्रलाई ध्वस्त पार्नुको सट्टा त्यसमा पूर्णता मात्र ल्याएका थिए । (शब्दमा जोड )
” जुन पार्टीहरुले एक पछि अर्को गर्दै पालै पालो शान्ति प्रभुत्वको निम्ति संषर्ष गरेका थिए । ती पार्टीहरुले राज्यको यस अंगको भवनमा कब्जा जमाउन नै आफ्नो विजयको मुख्य उपलब्धी ठानेका थिए ।” पृष्ठ ३५÷३६ , माक्र्सको यस विचारलार्ई अझ प्रष्ट पार्दै लेनिन अगाडि लेख्नु हुन्छ । “ अहिलेसम्म भएका सबै क्रान्तिहरुलाई राज्ययन्त्रमा सम्पूर्णता ल्याएका थिए । परन्तु त्यसलाई त चकनाचुर पार्न र नष्ट गर्न आवश्यक थियो । यो निश्कर्ष नै माक्र्सवादको राज्य सम्बन्धी सिद्धान्तमा मुख्य र आधारभूत हो । ” पृष्ठ ३६
यसरी पुँजीजीवि राज्य सत्ता चकनाचुर पारे पछि त्यसको स्थान सर्वहारा वर्गीय राज्य सत्ताले लिन्छ वा लिनु पर्दछ भन्ने माक्र्सको भनाइलाई लेनिनले माक्र्सको भनाइहरु उदृत गर्दै प्रष्ट पार्नु भएको छ ।लेनिन भन्नुहुन्छ , “ माक्र्सको शिक्षामा मुख्य कुरो नै वर्गसंघर्ष हो। प्रायशः यस्तो भन्ने गरिन्छ र लेखिएको पनि देखिन्छ । तर यो सही होइन । अनि यसै गल्तीबाट नै यत्र तत्र माक्र्सवादको अवसरवादी विकृति देखा पर्दछ र माक्र्सवादलाई पुँजिजीवि वर्गको निम्ति मान्य हुने तवरले सच्याइन्छ ।” पृ. ४२ वर्ग संघर्षको बारेमा माक्र्सको वास्तविक विचार कस्तो थियो? भन्ने कुरा प्रष्ट पार्न लेनिनले सन् १८५२को ५ मार्चको दिन कार्लमाक्र्स द्वारा योसेफ वेडमेयरलाई लेखेको पत्रबाट निम्न अंश उदृत गर्नु भएको छ ।“ मेरो (माक्र्स)को हकमा भन्ने हो भने आधुनिक समाजमा वर्गहरुको विद्यमानताको उद्घाटन गरेको श्रेय मलाई छैन,नत यी वर्गहरुबीच पारस्परिक संघर्षको उद्घाटन गरेको श्रेय नै मलाइ छ । मैले भन्दा धेरै पहिले नै पुँजीजीवि इतिहासकारहरुले यस वर्ग संघर्षको ऐतिहासिक विकास क्रमको वर्णन गरिसकेका थिए ,अनि पुँजीजीवि अर्थशास्त्रीहरुले चाहिँ वर्गहरुको आर्थिक संरचना पत्ता लगाईसकेका थिए । मैले थपेको कुनै नयाँ कुरा छ भने त्यो निम्न कुरा प्रमाणित गर्ने तर्क मात्रै हो । १) वर्गहरुको विद्यमानतामा मात्र उत्पादन विकासको निश्चित ऐतिहासिक चरण सित सम्बन्धित छ ,२) वर्ग संघर्षले अनिवार्यतः सर्वहारा वर्गको अधिनायकत्व तर्फ डो¥याउँछ, ३ ) यो अधिनायकत्व स्वयमेव सबै वर्गहरुको उन्मूलन तर्फको संक्रमण हो ।” पृ. ४२ माक्र्सको उपरोक्त भनाइबाट के प्रष्ट हुन्छ भने वर्ग संघर्षले अनिवार्यत सर्वहारा वर्गको अधिनायकत्वतिर लैजान्छ र त्यो अधिनायकत्वले सबै वर्गहरुको उन्मूलनको संक्रमण काल हो । जबसम्म हामी वर्गसंघर्षको सिद्धान्तलाई सर्वहारा अधिनायकत्वको मान्यतासम्म व्यवहारतः स्वीकार गर्दैनौं भने हामी माक्र्सवादी हुन सक्दैनांै । यस प्रश्नलाई अझ प्रष्ट पार्दै लेनिन भन्नुहुन्छ । “कुरा के त भने वर्गसंघर्षको सिद्धान्त माक्र्सले होइन कि माक्र्सभन्दा पहिले पुँजीजीवि वर्गले नै प्रतिपादित गरेको हो । रसामान्यरुपमा भन्ने हो भने पुँजीजीवि वर्गको निम्ति मान्य पनि छ । जो मात्र वर्गसंघर्षलाई मान्दछ , त्यो अझै माक्र्सवादी होइन , त्यो अझैपनि पुँजीजीवि वर्गको निम्ति मान्य पनि छ । जो मात्र वर्ग संघर्षलाई मान्दछ ,त्यो अझै माक्र्सवादी होइन ,यो अझै पनि पुँजिजीवि चिन्तन र पुँजीजीवि राजनीतिको घेराबाट बाहिर निस्केको नहुन सक्छ । माक्र्सवादलाई वर्गसंघर्षको माक्र्सवादलाई वर्गसंघर्षको सिद्धान्तसम्म मात्रै सीमित राख्नुको अर्थ हो – माक्र्सवादलाई लंगडो बनाउनु ,त्यसलाई बंग्याउनु र त्यसलाई पुँजिजीवि वर्गको निम्ति मान्य हुन सक्ने किसिमको बनाउनु । मात्र त्यो माक्र्सवादी हो जो वर्गसंघर्षको मान्यतालाई सर्वहारा वर्गको अधिनायकत्व को मान्यता सम्म नै लागू गर्दछ । एक माक्र्सवादी र एक साधारण निम्न (र उच्च समेत ) पुँजीजिवीको बीचमा सबभन्दा गम्भीर अन्तर यही नै हो , यसै कसीमा घोटेर नै माक्र्सवादको वास्तविक समझदारी र मान्यताको परीक्षा गरिनु पर्दछ ।” पृष्ठ ४३
यहाँ लेनिनले कुन कुरा प्रष्ट पार्नु भयो भने वर्गसंघर्षको मान्यतालाई सर्वहारा अधिनायकत्वको मान्यतासम्म लागू गर्नेहरु मात्र सच्चा माक्र्सवादी हुन सक्छन् र राज्यको विषयमा पनि अधिनायकत्वको प्रश्नलाई प्रष्ट पार्दै लेनिन भन्नु हुन्छ “ पुँजीजीवि राज्यका रुपहरुमा ज्यादै विविधता हुन्छ । तर तिनको सारतत्व चाहिँ एउटै छ ।– यी सबै राज्यहरु कुनै न कुनै रुपमा र अन्तत्वगत्वा अपरिहार्य रुपमा पुँजीजीवि वर्गको अधिनायकत्व नै हुन् । पूँजीवादबाट साम्यवादतर्फ संक्रमणले निश्चय नै पनि राजनीतिक रुपहरुको अति प्रचुरता र विविधता उत्पन्न नगरी रहन सक्दैन । परन्तु यस्तो हुँदा हुँदै पनि सारतत्व चाहिँ अनिवार्यत एउटै हुनेछ ।त्यो हो सर्वहारा वर्गको अधिनायकत्व” । पृ. ४४
तेस्रो अध्याय
राज्य र क्रान्ति ।सन् १८७१ मा पेरिस कम्युनको अनुभव ,माक्र्सको विश्लेषण ।
यो अध्यायमा लेनिनले पाँचवटा उपशीर्षक राखेर १) कम्युनार्डहरुको प्रयासको वीरता के मा छ? २) ध्वस्त राजकीय यन्त्रलाई कुन कुराले विस्थापित गर्ने? ३) संसदीय व्यवस्था को उन्मूलन , ४) राष्ट्रिय एकताको संगठन र ५) राज्यरुपी परजीविको उन्मूलन ।
सन् १८७१ को पेरिस कम्युनलाई माक्र्सले कसरी विश्लेषण गर्नुभयो भन्ने कुरा सविस्तार व्याख्या गर्नु भएको छ । त्यसको साथै पेरिस कम्युनको अनुभवको आधारमा माक्र्सवादलाई अरु परिस्कृत गर्ने काम भएको छ । माक्र्सले सन् १८७१ को पेरिस कम्युनमा भाग लिनु भएन पनि भन्ने गरिन्छ तर वास्तविकता त्यस्तो थिएन । लेनिनले त्यसबारे प्रष्ट पार्दै भन्नु भएको छ ,“ सर्वविदितै छ ,कम्युन पूर्व केही महिना अघि मात्र सन् १८७०मा माक्र्सले पेरिसका मजदुरहरुलाई सरकार पल्टाउने प्रयास अधैर्यपूर्ण मूर्खता हुनेछ भन्ने पुष्टि गर्दै कडा चेतावनी दिनु भएको थियो । परन्तु सन् १८७१को मार्च महिनामा जब मजदुरहरुमाथि निर्णायक संघर्ष जबरजस्ती थोपरियो र उनीहरुले पनि त्यसलाई स्वीकार गरे , जब विद्रोहले पनि वास्तविकताको रुप लिइसकेको थियो , त्यसबेला चाहिँ माक्र्सले नराम्रा नराम्रा लक्षणहरु मौजुद हुँदा हुँदै पनि अत्यन्तै उमङ्गका साथ सर्वहारा क्रान्तिको स्वागत गर्नु भयो ।”पृ.४५ कम्युनको आन्दोलनमा जब विद्रोहले वास्तविकताको रुप लिइसकेको थियो तब माक्र्सले अत्यन्त उत्साहका साथ भाग लिएको कुरा लेनिनले बताउनु भयो ।यो पेरिस कम्युन ७१ दिन मात्र सफल रह्यो । त्यसको अनुभवको आधारमा माक्र्सले “कम्युनिष्ट घोषणा पत्र” मा नै संशोधन गर्नु भयो भनेर लेनिन भन्नुहुन्छ “कम्युनिष्ट घोषणा पत्रमा नै संशोधन गर्नु भयो भनेर लेनिन भन्नुहुन्छ । लेनिन लेख्नुहुन्छ ,कम्युनिष्ट घोषणा पत्रको नयाँ जर्मन संस्करणको अन्तिम भूमिकामा सन् १८७२ को १४ जुनको मिति परेको छ ।दुवै जना लेखकहरुद्वारा त्यसमा सही गरिएको थियो ।त्यसै भूमिकामा लेखकद्वय कार्लमाक्र्स एवम् फ्रेरडिक एङगेल्सले लेख्नु के लेख्नु भएको छ भने कम्युनिष्ट घोषणा पत्रको कार्यक्रम अब केही ठाउँमा पुरानो भैसकेको छ । उहाँले अगाडि लेख्नुहुन्छ “ खास गरी कम्युनले के सावित गरीसकेको छ भने मजदुरवर्गले राज्यसत्ताको बनिबनाउँ यन्त्रलाई कब्जा गरेर आफ्नो नीति उद्देश्य पूर्तिको लागि जस्ताको त्यस्तै त्यसको उपयोग गर्न सक्दैन ।” पृ. ४६ माक्र्सले सन् १८५२ मा चकनाचुर पर्नु पर्दछ भन्नु भएको थियो ।सन् १८७१ म पेरिस कम्युनले त्यो भनाइलाई व्यहारतः पुष्टि ग¥यो र उहाँले कम्युनिष्ट घोषणा पत्रको जर्मन संस्करण १८७२ को भूमिकामा त्यो कुरा उल्लेख गर्नु भएको थियो ।पूँजीजीवि राज्यसत्तालाई ध्वस्त पारेपछि त्यसको ठाउँ केले लिने ? यस सम्बन्धमा माक्र्सले पेरिस कम्युनको मूल्याङकन गर्दै भन्नु भएको छ ।“ .. कम्युनको पहिलो आज्ञप्तिद्वारा स्थायी सेना निर्मूल पारिएको थियो र त्यसको ठाउँमा सशस्त्र जनतालाई प्रतिस्थापित गरिएको थियो । ” पृ. ५१ यसलाई अरु प्रष्ट पार्दै लेनिन भन्नुुहुन्छ , पुँजीजीवि वर्गलाई दबाउनु र उसको प्रतिरोधलाई मिच्नु अझै पनि आवश्यक हुन्छ । कम्युनको निम्ति यसको विशेष खाँचो थियो र त्यसको पराजयको एउटा कारण के पनि थियो भने यस कार्यलाई त्यसले चाहिँदो मात्रामा दृढतापूर्वक पूरा गरेन” पृ. ५२ कम्युनको अनुभवबाट माक्र्सले पुँजीजीवि वर्गको बनिबनाउ राज्ययन्त्रलाई ध्वस्त चकनाचुर पारेर त्यसको ठाउँमा सर्वहारा वर्गको राज्यसत्ता स्थापित गर्न पर्दछ भन्ने कुरा प्रमाणित गरेको कुरा उल्ल्ोख गर्नु भयो ।
पेरिस कम्युनको अनुुभवबाट माक्र्सले संसदीय व्यवस्थाको उन्मूलन गर्नु पर्ने कुरामा जोड दिनुु भएको थियो । जस्तो “ माक्र्सले लेख्नुभएको थियो कम्युनलाई संसदीय होइन बरु यस्तो कार्यकारी निकास बनाउनु पर्दथ्यो जसले ऐन कानुन पास गर्नुको साथै तिनलार्य कार्यान्वय पनि गर्नेछ ।” माक्र्सले अझ अगाडि लेख्नुहुन्छ …“ सत्तासिन वर्गको कुनचाहिँ सदस्यले संसदमा गएर जनताको प्रतिनिधित्व र दमन गर्ने हो भन्ने प्रश्नको निर्णय तीन अथवा छ वर्षमा एकपल्ट लिनुको सट्टा सार्विक मताधिकारले संगठित जनताको सेवा त्यसै किसिमले गर्ने थियो जसरी व्यक्तिगत मताधिकारले आफ्नो कारोबारको निम्ति मजदुर ,जसरी मजदुरहरु ज्यामी नाइकेहरुमा बहिदारहरुको खोजी गर्ने प्रत्येक रोजगार दाताको सेवा गर्दछ ।” पृ.५५ माक्र्सको संसदीय व्यवस्था प्रतिको यस प्रकारको आलोचनालाई अवसरवादीहरुले “बिर्सिएका शब्दहरु”मा समावेश गरिदिएका छन् र संसदीय व्यवस्थाको आलोचना गर्ने जिम्मा अवसरवादीहरुलाई दिएको छ भनेर लेनिनले भन्नु भयो । माक्र्सले संसदीय व्यवस्थाको आलोचना गर्दा अराजकतावादीहरुले भन्दा फरक ढंगले गर्नुहुन्थ्यो । यस सम्बन्धमा लेनिन भन्नुहुन्छ “माक्र्सले पुँजीजीवि संसदीय व्यवस्थाको “गाठेसम्म” उपयोग गर्ने अयोग्यताको कारणले गर्दा अराजकतावादसँग निर्ममतापूर्वक सम्बन्ध विच्छेद गर्ने सामथ्र्य राख्नु भएको थियो ।त्यो पनि खास गरी जब परिस्थिति प्रत्यक्ष क्रान्तिकारी हुँदैन तर संसदीय व्यवस्थाको सच्चा क्रान्तिकारी सर्वहारा आलोचना कसरी गर्नु पर्दछ भन्ने पनि उहाँलाई थाहा थियो ।”पृष्ठ ५६यहाँ लेनिनले के भन्नुहुन्छ भने अराजकतावादीहरुसँग “पुँजीजीवि संसदीय व्यवस्थाको गाठेसम्मलाई उपयोग गर्ने योग्यता थिएन ।त्यसै अयोग्यताको कारणले गर्दा माक्र्सले अराजकतावादसँग निर्ममतापूर्वक सम्बन्ध विच्छेद गर्ने सामथ्र्य राख्नु भएको थियो ।यस भनाइको तात्पर्य यो हुन्छ कि परिस्थिति प्रत्यक्ष क्रान्तिकारी नहुँदा संसदलाई क्रान्तिकारी उपयोग गर्न पनि सकिन्छ भन्ने हो तर मुख्य पाटो संसदीय व्यवस्थाको भण्डाफोर उन्मूलन हो ।
माक्र्सको संसदीय व्यवस्था प्रतिको यस प्रकारको आलोचनालाई अझ प्रष्ट पार्दै लेनिन भन्नुहुन्छ “मात्र संसदीय संवैधानिक राजतन्त्रहरुमा होइन अपितु सबभन्दा प्रजातान्त्रिक गणतन्त्रहरुमा समेत सत्तारुढ वर्गको कुन चाहिँ सदस्यले संसदमा गएर जनताको दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा एकपल्ट निर्णय लिनु नै पुँजीजीवि संसदीय व्यवस्थाको वास्तविक सार हो । ” पृ.५६ संसदीय व्यवस्थाबाट कसरी छुटकारा पाउने भन्ने प्रश्नमा लेनिन भन्नुहुन्छ “ निश्चय नै संसदीय व्यवस्थाबाट छुटकारा पाउन प्रतिनिधित्व पूर्ण निकायहरु र निर्वाचन प्रथा नै नामेट पार्न पर्दैन बरु प्रतिनिधित्वपूर्ण निकायहरुलाई गफ गर्नेकोठाको सट्टा “कार्यकारी ” निकायहरुमा बदलिनुपर्दछ । पृ. ५६ संसदलाई कार्यकारी बनाउने कुरालाई अझ प्रष्ट पार्दै लेनिन भन्नुहुन्छ ।“ संसदीय होइन बरु कार्यकारी ” निकाय –यो कुरा आधुनिक संसद सदस्यहरु तथा सामाजिक प्रजातन्त्रवादका संसदीय “कोठे छाउराहरुको ” मर्मस्थल मै चोट पर्ने किसिमबाट भनिएको छ । अमेरिकीदेखि स्वीजरल्याण्ड सम्म फ्रान्सदेखि इगल्याण्ड ,नर्वे र अन्य देशहरुसम्म संसदीय व्यवस्था भएको जुनसुकै मुलुकमा पनि नजर लगाउनु होस् वास्तविक “ राजकीय ” कार्य त पर्दा पछाडि हुन्छ र विभिन्न विभागहरु कार्यालयहरु अड्डाखानाहरुले त्यो कार्य पूरा गर्दछन् र संसद चाहिँ “सर्वसाधारण जनताको ” आँखामा छारो हाल्ने विशेष उद्देश्य राखेर खाली गफ मात्रै हाकिन्छ । यो कुरा यति हदसम्म सही छ कि पुँजीजीवि प्रजातन्त्रवादी गणतन्त्र रसियाली गणतन्त्रमा समेत वास्तविक संसदको स्थापना गर्न नपाउँदै संसदीय व्यवस्थाका यी सबै दोषहरु तुरुन्तै प्रकट भइसकेका थिए ” पृ. ५७ यसरी लेनिनले संसदीय व्यवस्थाको सजीव रुपबाट भण्डाफोर गर्दै त्यसको उन्मूलन गर्न पर्दछ भन्नुहुन्छ । उहाँले भन्नुहुन्छ “संसदीय व्यवस्था बेगर चाहिँ प्रजातन्त्रको कल्पना गर्न सकिन्छ र गर्नु पर्दछ ।पृ. ५८ । संसदीय व्यवस्थावेगर पनि त्यो राम्रो बहुसंख्यक जनताको प्रजातन्त्रको व्यवस्था गर्न सकिन्छ भन्दै लेनिनले भन्नुहुन्छ “संसदीय व्यवस्थाको उन्मूलन र प्रतिनिधित्व पूर्ण निकायहरुको संरक्षणबाट यही कुरा प्राप्त हुनेछ । यसैले नै श्रमिक वर्गहरुलाई पुँजीजीवि वर्गद्वारा यी निकायहरु भ्रष्ट गरिनुुबाट पनि मुक्त गर्नेछ ।पृ ६१
वर्नस्टेनले माक्र्सलाई संघवादी भनेका थिए । उनले माक्र्स र प्रुडोनको बीचमा संघवादमा रुपान्तरण छ भनेका थिए । लेनिनले माक्र्सको लेखहरुबाट लामो उद्धरण दिँदै वर्नस्टिनको माक्र्समाथि लगाइएको त्यस प्रकारको आरोपको खण्डन गर्नु भएको छ । पुँजीजीवि राज्यसत्तालाई चकनाचुर पार्ने प्रश्नमा माक्र्स र प्रुडोनकोबीचमा समान धारणाहरु थिए । जस्तो लेनिन भन्नुुहुुन्छ “ माक्र्स प्रुडोनसँग यस कुरामा सहमत हुनुहुन्थ्यो कि दुवै जना नै राज्यको वर्तमान यन्त्रलाई “चकनाचुर ” पार्ने पक्षमा थिए ।” पृ. ६४ तर संघवादको विषयमा मतभेद थियो । लेनिन भन्नुुहुन्छ “ के प्रुुडोन के बाकुुनिन दुवैसँग खास संघवादको प्रश्न नै माक्र्सको मतभेद थियो ” अराजकतावाद कै निम्न पुँजीजीवि विचारहरुबाट नै सैद्धान्तिक रुपमा संघवाद उत्पन्न हुन्छ । माक्र्स केन्द्रीयतावादी हुुनुहु ।न्थ्यो ।” पृ.६४ माक्र्सको उक्त विचारलाई अरु प्रष्ट पार्दै लेनिन भन्नुहुन्छ “ माक्र्सले मानौं पहिलेबाट नै आफ्ना विचारहरुलाई बंग्याइने संभावनालाई बुुझेर कुन कुरामा जानि बुझिकनै विशेष जोड दिनुभएको थियो भने कम्युनले राष्ट्रको एकता नष्ट गर्न चाहेको थियो र केन्द्रीय सत्तालाई नामेट पार्न खोजेको थियो भन्ने आरोप सोची बुुझीकन नै गरिएको जालझेल थियो । माक्र्सले जानिबुझिकनै “ राष्ट्रको एकतालाई संगठित गर्नुपर्दथ्यो ।” भन्ने शब्द प्रयोग गर्नु भएको थियो । जसले गर्दा चेतनशील ,प्रजातान्त्रिक सर्वहारा केन्द्रीयतावादलाई पुँजीजीवि ,फौजी र नोकरशाही केन्द्रीयतावादको विरुद्ध खडा गर्न सकियोस ।” पृ.६४÷६५
राज्यरुपी परजीविको उन्मूलन भन्दै लेनिनले पुँजीजीवि सत्तालाई ध्वस्त पारेर त्यसको ठाउँमा सर्वहाराको राज्यसत्ता स्थापना गर्नु अनिवार्य शर्त हो भनेर माक्र्सको उद्धरणहरुबाट पुष्टि गर्नु भएको छ । अराजकतावादीहरु सबैप्रकारको राज्यसत्ताको विरुद्धमा थिए भने आधुनिक अवसरवादीहरुले संसदीय प्रजातन्त्रात्मक राज्यमा पुँजीजीवि राजनीतिक रुपलाई नै यस्तो अन्तिम सीमा ठानेका थिए जसको उलंघन गर्न हुँदैनथ्यो । यी दुवै प्रवृतिको विरुद्ध माक्र्सको भनाइलाई लेनिनले यसरी राख्नु भएको छ ।“ माक्र्सले समाजवाद र राजनीतिक संघर्षको सम्पूर्ण इतिहासबाट के निश्कर्ष निकाल्नुु भएको थियो भने राज्य असम्यभावी रुपमा लोप भएर जानेछ । त्यसको विलोपको संक्रमणकालीन रुप “सत्तारुढ वर्गको रुपमा संगठित सर्वहारा” हुनेछ । पृ.६५ लेनिन अगाडि भन्नुहुन्छ “ कम्युन नै सर्वहारा क्रान्ति द्वारा पुँजीजीवि राजकीय यन्त्र चकनाचुर पार्ने पहिलो प्रयास हो ।” … अगाडि हामी के देख्ने छौं भने अर्कै परिस्थितिमा र अर्कै अवस्थाहरुमा सन् १९०५ र १९१७का रुसी क्रान्तिहरुले पनि कम्युन कै ध्ययलाई जारी राखेका थिए र माक्र्सको मेधावी ऐतिहासिक विश्लेषणको पुष्टि गरेका थिए ।पृ.६७
चौथो अध्याय
क्रमशःएङगेल्सका थप व्याख्याहरु
यो अध्यायमा लेनिनले माक्र्सवादमा आधारभूत सिद्धान्तहरु सम्बन्धी एङगेल्सका थप व्याख्याहरुको बारेमा विस्तृत रुपमा चर्चा गर्नु भएको छ । यसरी चर्चा गर्दा उहाँले ६ ओटा उपशीर्षकहरु -१. आवासको समस्या २. अराजकतावादीहरुसित विवाद ३.वेवेललाई पत्र ४.एफर्ट कार्यक्रमको मस्यौदाको आलोचना ५. माक्र्सको कृति फ्रान्समा गृहयुद्ध को नीति सन् १८९१ मा लेखिएको भूमिका र ६. प्रजातन्त्रवादलाई समाप्त गर्ने प्रश्नबारे एङगेल्सको विचार ) बनाएर विषयलाई प्रष्ट पार्ने प्रयत्न गर्नु भएको छ ।
आवासको समस्याको हल कसरी गर्ने भन्ने सम्बन्धमा एङगेल्सले दुुइओटा कुरा भन्नुभएको छ एउटा शहरहरुमा भएका ठूलठूला आवासगृहलाई विवेकपूर्ण ढंगले सबैलाई आवास पुुग्ने गरी मिलाउन सकिन्छ , अर्को ती आवासहरु घरमालिकबाट खोसने छन् र मजदुरहरुलाई बसाइने छ । जस्तो एङगेल्स भन्नुहुन्छ “..के कुरा निर्विवाद छ भने ठूलठूला शहरहरुमा अहिले पनि यति बढि आवास गृहहरु मौजुद छन् कि विवेकपूर्ण ढंगले उपयोग गर्ने हो भने यी घरहरुद्वारा सारा वास्तविक आवश्यकता तुरुन्तै नै पूूर्ति गर्न सकिने छ । निःसन्देह त्यसबेला मात्र संभव हुनेछ । जब यी घरहरु तिनका वर्तमान मालिकहरुबाट खोसिने छन् र तिनका घरविहीन मजदुरहरु अथवा ती मजदुरहरुलाई बसाइने छ जो अहिले ज्यादै भिड भएका घरहरुमा बसिरहेका छन् । पृ. ६९
यो अध्यायमा लेनिनले फ्रेरडिक एङगेल्सले अराजकतावादीहरुको विरुद्ध गरेको संघर्षलाई विस्तृत रुपमा चर्चा गर्नु भएको छ । अराजकतावादीहरु जसले कुनै प्रकारको प्राधिकारलाई स्वीकार गर्दैनथे । उनीहरुको विरुद्ध एङगेल्सले एकातिर तीव्र संघर्ष गर्नु भएको थियो भने अर्कातिर अवसरवादीहरुले जुन प्रकारले अराजकतावादीहरुको विरोध संघर्ष गर्थे त्यो भन्दा फरक प्रकारले माक्र्सवादी ढंगबाट अराजकतावादीहरुको भण्डाफोर गर्नु भएको थियो । अराजकतावादीहरु जुनसुुकै प्रकारको प्राधिकार ,जुनसुकै किसिमको अनुशासन र जुनसुकै खालको सत्तालाई अस्वीकार गर्दथे । अन्य अवसरवादीहरुले अराजकतावादीहरुले त विरोध गर्दथे तर पुँजीजीवि वर्गको राज्यसत्तालाई चकनाचुर पारे । सर्वहारा अधिनायकत्व स्थापना गर्ने कुराको अनदेखा गर्दर्थे । एङगेल्सले दुवै प्रवृतिको भण्डाफोर गर्दै माक्र्सवादी दृष्टिकोणलाई मसिनो गरी प्रश्तुत गर्नुभएको थियो र त्यही कुरालाई लेनिनले सविस्तार रुपमा प्रश्तुत गर्नु भएको छ ।
एङगेल्सका थप व्याख्याहरुमा लेनिनले एङगेल्सले वेवेललाई लेखेको पत्रको राम्रो व्याख्या गर्नु भएको छ । एङगेल्सले सन् १८७५ को १८–२८ मार्चमा वेवेललाई यो पत्र लेख्नुभएको थियो । एङगेल्सको त्यो पत्र १९११ मा अर्थात ३६वर्ष पछि प्रकाशित भएको थियो । एङगेल्सले वेवेललाई यो पत्र गोथा कार्यक्रमको आलोचनाको सन्दर्भमा लेख्नुभएको थियो । गोथा कार्यक्रममा “स्वतन्त्र जनराज्यको ” कुरा गरिएको थियो ।
एङगेल्सले “स्वतन्त्र जनराज्यको कुरा गर्न सोह्रै आना बकवास”मात्रै हो भन्नु भएको थियो । एङगेल्स भन्नुहून्छ । “ सर्वहारा वर्गलाई जबसम्म राज्यको खाँचो रहिरहने छ तबसम्म उसलाई स्वतन्त्रताको निम्ति होइन बरु आफ्ना विरोधीहरुलाई दबाउनको निम्ति नै त्यसको आवश्यकता पर्नेछ । अनि जबसम्म स्वतन्त्रताबारे कुरा गर्न सम्भव हुन जान्छ तबसम्म राज्यजस्तो कुनै वस्तु अस्तित्वमा पनि रहँदैन ” । पृष्ठ ७७ यसरी एङगेल्सले गोथा कार्यक्रममा राज्य सम्बन्धि जुन गलत धारणा प्रस्तुत गरिएको थियो त्यसको खण्डन गर्नु भएको थियो र माक्र्सले पनि गोथा कार्यक्रमको आलोचना गर्नु भएको थियो ।एङगेल्सले गोथा कार्यक्रमको आलोचनाको सन्दर्भमा जुन विचार व्यक्त गर्नु भएको थियो त्यसलाई लेनिनले विस्तृत रुपमा व्यख्या गर्नु भएको छ ।
एङगेल्सले एफेर्ट कार्यक्रमको मस्यौदाको आलोचना गर्ने क्रममा राज्य सम्बन्धी माक्र्सवादको आधारभूत मान्यताहरुको स्थापना गर्नु भएको थियो । यो पत्र एङ्गेल्सले काउत्स्कीलाई सन् १८९१को २९ जुनमा पठाउनु भएको थियो । लेनिनले राज्य र क्रान्ति सम्बन्धी रचनामा एङगेल्सको थप व्याख्या भित्र एङगेल्सको उक्त आलोचनाबारे सविस्तार वर्णन गर्नु भएको छ । एर्फर्ट कार्यक्रम जर्मन सामाजिक प्रजातन्त्रवादी पार्टीको सन् १८९१ को अक्टोबर महिनामा एफर्टमा सम्पन्न महाधिवेशनबाट पारित कार्यक्रम हो । यो कार्यक्रम अघिल्लो गोथा कार्यक्रम(सन् १८७५)भन्दा एक पाइला अगाडि थियो । तर पनि यो कार्यक्रममा सर्वहाराको अधिनायकत्व बारे कुनै उल्लेख नहुनु अवसरवाद समक्ष गरिएको यस कायरतापूर्ण छुटको मुख्य कमजोरी थियो भनेर लेनिनले भन्नु भएको थियो ।
उक्त एफर्ट कार्यक्रमको आलोचनामा एङगेल्सले दिनु भएको निर्देशन सम्बन्धमा लेनिन भन्नुहुन्छ “यस पत्रमा एङ्गेल्सले तीनवटा अति मूल्यवान निर्देशन दिनु भएको छ । पहिलो गणततन्त्रको सम्बन्धमा ,दोस्रो राष्ट्रिय समस्या र राज्यको रुपको पारस्पिरिक सम्बन्धको बारेमा र तेस्रो स्थानीय स्वशासनको सम्बन्धमा” पृ. ८१ त्यतिबेला जर्मनीमा गणतन्त्र थिएन । त्यसकारण एङ्गेल्सले यस प्रश्नलाई कुनै न कुनै रुपमा अगाडि बढाउन पर्दछ भन्नु भएको थियो ,जुन एफर्ट कार्यक्रमले गरेको थिएन ।
जनसंख्याको जातीय बनावटको परिक्षणका पनि एङ्गेल्सले ठोस सुझाव दिनु भएको थियो उहाँले भन्नु भएको थियो ।“ मेरो विचारमा सर्वहारा वर्गले केवल संयुक्त र अविभाजित गणतन्त्रको रुपमा मात्र प्रयोग गर्न सक्दछ ।” पृ.८४ राष्ट्रिय समस्या र राज्यको रुपहरुको पारस्परिक सम्बन्धको बारेमा एङ्गेल्सले राखेको विचारलाई लेनिनले यसरी प्रस्तुत गर्नु भएको छ ।“माक्र्सले जस्तै एङगेल्सले पनि सर्वहारा वर्ग तथा सर्वहारा क्रान्तिको दृष्टिकेणले प्रजातान्त्रिक केन्द्रीयता माथि एकीकृत र अविभाज्य गणतन्त्रमाथि जोड दिनु भएको थियो । संघात्मक गणतन्त्रलाई उहाँ यात अपवाद र विकासको मार्गमा तगारो ठान्नु हुन्थ्यो ।यात राजतन्त्रबाट केन्द्रीकृत गाण्तन्त्र तर्फ संक्रमणकालीन रुप र केही विशेष परिस्थितिहरुमा “ अग्रगामी कदम ” मान्नुहुन्थ्यो । फेरी यस्ता विशेष परिस्थितिहरु मध्ये उहाँ राष्ट्रियताको प्रश्न लाई अगाडि राख्नु हुन्थ्यो” । पृष्ठ ८५
स्थानीय स्वशासनको सम्बन्धमा एङगेल्सको दृष्टिकोण नोकरशाह विनाको स्वशासन हुनु पर्दछ भन्नु हुन्थ्यो । उहाँले भन्नु भएको छ । “ कम्युनहरुमा आम मताधिकारको आधारमा छानिएका पदाधिकारीहरु मार्फत पूर्ण स्वशासन राज्यद्वारा नियुक्त गरिएका सम्पूर्ण स्थानीय तथा प्रान्तीय अधिकृतहरुको अन्त्य । ” पृ ८७
माक्र्सको कृति “फ्रान्समा गृहयुद्ध” को निम्ति सन् । १८९१ मा लेखिएको भूमिकामा एङ्गेल्सले राज्य र धर्मको सम्बन्धमा माक्र्सवादको थप व्याख्या गर्नु भएको थियो ।लेनिनले राज्य र क्रान्ति सम्बन्धी आफ्नो पुस्तकमा एङगेल्सको थप भनाइहरुको चर्चा गर्नु भएको छ । राज्यको सम्बन्धमा मुख्यतः सर्वहारा वर्गलाई आफ्नै राज्यसत्ता चाहिन्छ भन्ने कुरामा जोड दिइएको छ । लेनिन भन्नुहुन्छ “ एङ्गेल्सले व्यक्त गर्नु भए अनुसार फ्रान्समा प्रत्येक क्रान्ति पश्चात मजदुरहरु सशस्त्र सज्जित हुने गर्थे ,तसर्थ मजदुरहरुलाई निशस्त्र तुल्याउन नै राज्यको हाली मुहाली लिने पुँजीजीविहरुको पहिलो कर्तव्य हुन्थ्यो । यसै उसले गर्दा मजदुरहरुद्वारा जितिएको हरेक क्रान्ति पश्चात नयाँ संघर्ष शुरु हुन्थ्यो ।जुन मजदुरहरुको पराजयमा गएर टुङगिने गर्दथ्यो । ” पृ. ८८ यहाँ एङ्गेल्सले के कुरामा जोड दिनु भएको छ भने मजदुरहरु सशस्त्र सज्जित हुनु पर्दछ । तर पुँजीजीविहरु मजदुरहरुलाई निशस्त्र पार्न प्रयत्न गर्दछन् । सन् । १९१७ को रुसी फ्रेब्रुअरी क्रान्ति पछि समाजवादी क्रान्तिकारीहरु र मेन्सेभिकहरु – जो अन्तरिम सरकारमा थिए ) ले मजदुरहरुलाई निशस्त्र बनाउन भरमग्दुर प्रयत्न गरेका थिए भने लेनिनको नेतृत्वको बोल्सेविक पार्टीले मजदुरहरुलाई सशस्त्र बनाउन भर मग्दुर प्रयत्न गरिरहेको थियो । यस घटनालाई लेनिनले यसरी भन्नु भएको छ । प्रत्येक इतिहासकारको “ श्री चेरेतेनी को नेतृत्वमा समाजवदी क्रान्तिकारीहरु र मेन्सेविकहरुको गुट कसरी क्रान्तिकारी सर्वहाराको विरुद्धमा पुँजीजीवि वर्गसँग मिल्न पुगेको थियो भन्ने कुराको एउटा ज्यादै जल्दोबल्लो उदाहरणको काम दिनेछ । ” पृ.८९
यो भूमिकामा एङ्गेल्सले राज्यको बारेमा अझ प्रष्ट पार्दै भन्नु हुन्छ “ परन्तु वास्तविकतामा चाहिँ राज्य भनेको एउटा वर्गद्वारा अर्को वर्गको उत्पीडन गर्ने यन्त्र शिवाय अरु केही पनि होइन । र प्रजातान्त्रिक गणतन्त्रमा पनि यो कुरा राजतन्त्रमा जत्तिकै लागू हुन्छ । पृ. ९४
यो भूमिकामा एङ्गेल्सले धर्मको बारेमा पनि माक्र्सवादी धारणालाई अरु प्रष्ट पार्नु भएको छ ।अवसरवादीहरुले धर्मलाई निजी मामिला घोषित गर्नु पर्दछ ।” भन्ने प्रसिद्ध सुत्रको अर्थको अनर्थ गराएका थिए ।
त्यसको भण्डाफोर गर्दै एङ्गेल्सले भन्नु भएको थियो । “जर्मन अवसरवादले पार्टीको सम्बन्धमा धर्म एक निजी मामिला हो । भन्ने घोषणा गरेको थियो र यस प्रकारले क्रान्तिकारी सर्वहारा वर्गको पार्टीलाई अत्यन्त निष्कृष्ट “स्वतन्त्र चिन्तक” कुपमण्डुकताको स्तरसम्म तल खसालिदिएको थियो, जो धर्मनिरपेक्षतालाई स्वीकार गर्न त तयार छ ,तर जनतालाई मति मन्द तुल्याउने धर्मरुपी अपीमको विरुद्ध पार्टीको संघर्षदलाई चाहिँ तिलाञ्जली दिन्छ । ” पृ. ९०
प्रजातन्त्रवादलाई समाप्त गर्ने प्रश्नबारे एङ्गेल्सको विचार भनेर लेनिनले प्रजातन्त्रवाद भनेको केहो यसको समाप्ति कसरी हुन्छ भन्ने विषयमा माक्र्सवादी दृष्टिकोण प्रस्तुत गर्नु भएको छ । लेनिन भन्नुहुन्छ “ प्रजातन्त्रवाद” भनेको एक राज्य हो जो अल्पमतद्वारा बहुमतको कदरलाई मान्यता दिन्छ ,अर्थात त्यो अल्पमतद्वारा अर्को वर्गको विरुद्ध ,जनसंख्याको एक हिस्साद्वारा अर्को हिस्साको विरुद्ध व्यवस्थित बल प्रयोगको संगठन हो ।प.ृ ९७। ”प्रजातन्त्र वाद ” भनेको एक राज्य हो भन्दै प्रजातन्त्रवाद बारे लेनिन भन्नुहुन्छ । “पुँजीवाद अन्तरगत पूर्ण रुपले सुसंगत प्रजातन्त्रवाद असम्भव छ । अनि समाजवाद अन्तरगत चाहिँ जुनसुकै प्रजातन्त्र ाद पनि क्रमशः विलुप्त हुँदै जान्छ ।पृ.९३
\
प्रजातन्त्रवादको विलोप कहाँ गएर हुनेछ भन्ने विषयमा लेनिन भन्नु हुन्छ समाजवादको स्थापनाकोलागि प्रयास गर्दा हामी कुन कुरामा विस्वस्त छौं भने त्यो साम्यवादमा विकसित भएर जानेछ । अनि यसको साथ साथै मानिसहरुको विरुद्ध जुनसुकै प्रकारको बलप्रयोग ,साथै एक व्यक्तिको समक्ष अर्को व्यक्तिको र जनसंख्याको एक हिस्सा समक्ष अर्को हिस्साको अधीनमा पनि बिलाएर जानेछ । कारण त्यसबेला मानिसहरुमा बलप्रयोग बेगर र जोरजुलुम बेगर सामाजिक जीवनका आधारभूत शर्तहरुलाई पालन गर्ने बानी बसिसक्नेछ ।पृ. ९७
पाँचौ अध्याय
राज्यको विलोपमा राज्यका आर्थिक आधारहरु
यो अध्यायमा लेनिनले साम्यवादमा कसरी पुगिन्छ अर्थात् राज्यको क्रमिक विलोप कसरी हुन्छ ? भन्ने प्रश्नको उत्तर चारवटा शीर्षक – १. माक्र्सवादद्वारा प्रश्नको प्रष्तुतीकरण २. पूँजीवादबाट साम्यवादतर्फ संक्रमण ३. साम्यवादी समाजको प्रथम अवस्था र ४. साम्यवादी समाजको उच्चतम अवस्था ) अन्तरगत माक्र्सका शिक्षाहरुको उद्धरणहरु दिँदै सुन्दर ढंगले दिनु भएको छ । राज्यको क्रमिक विलोप बारे माक्र्सको विचार लाई लेनिनले यसरी प्रस्तुत गर्नु हुन्छ ।“ नजिकबाट हेर्ने हो भने राज्य र त्यसको क्रमिक विलोपको सम्बन्धमा माक्र्स र एङ्गेल्सको दृष्टिकोणमा पूर्ण तादम्यता देखा पर्ने छ । अनि माक्र्सको माथि उदृत गरिएको वाक्यमा पनि क्रमशः विलुप्त हुँदै गइरहेको राज्य को नै चर्चा गरिएको हो ” पृ. १०२
यति भनिसकेपछि लेनिन भन्नुहुन्छ “यस तथ्यको आधारमा त्यसको ( साम्यवाद)को उत्पत्ति पुँजीवादबाट हुन्छ । ,ऐतिहासिक दृष्टिले त्यो पुँजीवाद अन्तरगत नै विकसित हुन्छ । त्यसको जन्म यस्ता सामाजिक शक्तिहरुको क्रियाकलापको परिणामस्वरुप हुन्छ । जसलाई पुँजीवाद ले नै उत्पन्न गरेको हुन्छ । ” पृ. १०० आफ्ना यी भनाइहरुलाइ पुष्टि गर्त लेनिनले माक्र्सको निम्न भनाइ उदृत गर्नु भएको छ । …. वर्तमान समाज ” उहाँ लेख्नुहुन्छ पुँजीवादी समाज हो जुन मध्ययुगीन मिसावटहरुबाट थोरबहुत मुक्त भएर प्रत्येक देशको ऐतिहासिक विकासको विश्लेषणबाट थोरबहुत संशोधित भएर अनि थोरबहुत विकसित भएर प्रायशः सभ्य देशमा विद्यमान रहेको छ । यसको विपरीत “ वर्तमान राज्य ” प्रत्येक देशको सीमारेखाको साथ साथै बदलिँदै रहन्छ ।पृ. १०१
पुँजीवादबाट साम्यवादतर्फ संक्रमण कसरी हुन्छ भन्ने विषयमा माक्र्स भन्नुहुन्छ “… पुँजीवादी र साम्यवादी समाजको बीचमा पहिलोबाट दोस्रोमा क्रान्तिकारी रुपान्तरणको अवधि हुन्छ ।” माक्र्स अगाडि लेख्नुहुन्छ – यसै अवधिको अनुरुप राजनैतिक संक्रमणको समयावधि पनि हुन्छ । यसको समयावधिमा राज्य पनि सर्वहारा वर्गको क्रान्तिकारी अधिनायकत्व सिवाय अरु केही पनि हुन सक्दैन ।…” पृ. १०२
राज्य सम्बन्धी माक्र्सको यो निश्कर्षलाई लेनिनले अझ प्रष्ट पार्दै भन्नु हुन्छ । … साम्यवादतर्फ विकास सर्वहारा वर्गको अधिनायकत्वको माध्यमद्वारा मात्रै हुन्छ । र यस बाहेक अर्को कुनै पनि बाटोबाट हुन सक्दैन । किनभने पुँजीवादी शोषकहरुको प्रतिरोधको अर्को कुनै माध्यमले र अर्को कुनै तरिकाले प्रतिकार गर्न सकिँदैन ” पृ १०४ यो विषयलाई अझ प्रष्ट पार्दै लेनिन भन्नुहुन्छ “ अगाडि पुँजीवादबाट साम्यवादतर्फ संक्रमण अन्तरगत अझै दमन जरुरी हुन्छ तर अब त्यो शोषितहरुको बहुसंख्याद्वारा शोषकहरुको अन्य संरचनाको दमन हो । एउटा विशेष उपकरण दमनको विशेष यन्त्र अर्थात राज्य अझै आवश्यक हुन्छ तर अब त्यो संक्रमणकालीन राज्य हुन्छ ।पृ. १०६
साम्यवादी समाजको दुइओटा चरण हुन्छ ।एउटा साम्यवादी समाजको प्रथम अवस्था र अर्को साम्यवादी समाजको उच्चतम अवस्था ।साम्यवादी समाजको प्रथम अवस्थालाई समाजवादी समाज भनिन्छ र यो पुँजीवादबाट साम्यवादमा जाने संक्रमणकालीन अवस्था हो । यो संक्रमणकालीन अवस्थामा शोषणका रुपहरु पुरै नष्ट भइसकेको हुँदैन । यस सम्बन्धमा लेनिन भन्नुहुन्छ , “यसैकारणले गर्दा साम्यवादको प्रथम अवस्थाले अझै न्याय र समानता प्राप्त गर्न सक्दैन । धनसम्पत्तिको सम्बन्धमा अन्तर कायमै रहने छ । र त्यो अन्तर अन्यायपूर्ण हुनेछ । परन्तु मानिसद्वारा मानिसको शोषणचाहिँ असम्भव हुन जानेछ । किनभने उत्पादनका साधनहरु कलखारखानाहरु, यन्त्र उपकरणहरु जग्गाजमिनहरु इत्यादि व्यक्तिगत स्वामित्वको रुपमा कब्जा गर्न सकिँदैन ।” पृ. ११० यसलाई अझ प्रष्ट पार्दै लेनिन भन्नु हुन्छ । “…खानी उत्पादनका साधनहरुलाई सम्पूर्ण समाजको सम्पत्तिमा परिणत गरिदिनाले मात्र ( जसलाई सामान्य रुपमा समाजवाद भनिन्छ ) वितरणका त्रुटीहरु तथा “ पुँजीजीवि अधिकारको असमानता हटेर जाँदैन ।यी कुराहरु त्यतिन्जेल सम्म कायमै रहन्छन् जबसम्म “श्रमको मात्राअनुसार उपजको वितरण भइ नै रहन्छ ।” पृ. ११० लेनिन अझ अगाडि भन्नुहुन्छ “त्यो समाजका सदस्यहरुबीच उत्पादनको वितरण र उनीहरुको श्रमको विनियोजनमा एक नियन्त्रक (प्रबन्धक) को नाताले मौजुद रहन्छ ” जो गर्दैन काम उसले पाउँदैन माम ” यो समाजवादी सिद्धान्त पनि कार्यान्वयित भइसकेको हुन्छ श्रमको समान मात्राको निम्ति उत्पादित वस्तुहरुको समान मात्रा ” यो समाजवादी सिद्धान्त पनि कार्यान्वित भैसकेको हुन्छ । परन्तु अझै यो साम्यवाद होइन र त्यसले अझै पनि पुँजीजीवि अधिकारलाई ” समाप्त गरेको हुँदैन । जसअनुसार असमान व्यक्तिहरुकालाई श्रमको असमान (वास्तवमा असमान ) मात्राको सट्टामा उपजको समान मात्रा दिइन्छ ।” पृ.१११
साम्यवादी समाजको उच्चतम अवस्थाको बारेमा माक्र्सले लेख्नु भएको छ “…. साम्यवादी समाजको उच्चतम अवस्थामा जब श्रम विभाजन प्रति मानिसकको दासतापूर्ण जी हजुरीको अन्त्य हुन्छ । जब यसको साथसाथै बौद्धिक तथा शारीरिक श्रमको प्रतिपक्षताको अन्त्य हुन्छ ,जब श्रम केवल जीवनयापनको साधन हुनुको सट्टा जीवनको मुख्य आवश्यकता बन्न पुग्दछ । जब व्यक्तिको चतुर्दिक विकासको साथ साथै उत्पादक शक्तिहरु पनि बढ्दै जान्छ , र सार्वजनिक सम्पत्तिको साराको सारा श्रोतहरु भरीपूर्ण भएर प्रभावित हुन थाल्दछ । केवल त्यसबेला मात्र पुँजीवादी अधिकारकोे साँगुरो घेरा एकदमै पार गर्न सकिन्छ र समाजले आफ्नो झण्डामा लेख्न सक्छ “प्रत्येकबाट उसको योग्ताअनुसार ,प्रत्येकलाई उसको आवश्यकता अनुसार ” पृ.११२
माक्र्सको उपरोक्त भनाइलाई जोड दिँदै लेनिन थप्नु हुन्छ । “ राज्यको पूर्ण विलोप त्यसबेला मात्र हुन सक्ने छ । जब समाजले “ प्रत्येकबाट उसको योग्यता अनुसार , प्रत्येकलाई उसको आवश्यकताअनुसार ” भन्ने नियमलाई लागू गर्नेछ । अर्थात् जब मानिसहरुमा सामाजिक सम्पर्कका आधारभुत नियमहरु पालना गर्ने यतिसम्म बानी बनिसक्नेछ र जब उनीहरुको श्रम यतिसम्म उत्पादनशील भइरहने छ कि उनीहरु स्वच्छापूर्वक नै आफ्नो योग्यता अनुसार काम गर्न थाल्ने छन् ।” पृ.११३
छैठौं अध्याय
अवसरवादीहरुद्वारा माक्र्सवादको भ्रष्टीकरण
यो अध्यायमा लेनिनले तीनवटा शीर्षक राख्नुभएको छ – १. अराजकतावदीहरुको विरुद्ध प्लेखानोवको विवाद २. अवसरवादीहरुको विरुद्ध काउत्सकीको विवाद र ३.पान्नेकुकको विरुद्ध काउत्सकीको विवाद । अवसरवादीहरुद्वारा खास गरेर प्लेखानोभ र काउत्सकीद्वारा माक्र्सवादको भ्रष्टीकरण कसरी गरियो भन्ने विषयमा प्रकाश पार्नु भएको छ । प्लेखानोभले अराजकतावादीहरुको विरुद्ध त राम्रै संघर्ष गरेका थिए र उनीहरुको भण्डाफोर गरेका थिए । तर अराजकतावादीहरुको भण्डाफोर गर्ने क्रममा राज्य सम्बन्धि माक्र्सवादका मुख्य विषयहरुलाई छोडिदिएका थिए । यस सम्बन्धमा लेनिन भन्नु हुन्छ “प्लेखानोभले यस विषयमा कदम चाल्दा चलाखी गरेका थिए । र अराजकतावाद विरोधी संघर्षमा सबभन्दा महत्वपूर्ण जल्दोबल्दो एवम् राजनैतिक दृष्टिले सबभन्दा आवश्यक प्रश्न अर्थात राज्यप्रति क्रान्तिको सम्बन्धबारे प्रश्न तथा राज्यको आम प्रश्नलाई एकदमै छोडिदिएका थिए । पृष्ठ १२१-१२२ लेनिन अझ अगाडि भन्नु हुन्छ “परन्तु राज्य सम्बन्धि प्रश्नलाई पुरै त्यागेर कम्युनको अगाडि तथा पछाडि पनि माक्र्सवादको सम्पूर्ण विकासलाई देखेको नदेख्यै गरेर “अराजकतावाद र समाजवादबारे”कुरा गर्नुको अर्थ थियो – अवसरवादको धापमा भासिन पुग्नु ” पृ .१२२-२३ प्लेखानोवको विषयमा यति भने पछि लेनिन काउत्सकीको बारेमा लेख्न शुरु गर्नु हुन्छ । अवसरवादीहरुको विरुद्ध काउत्सकीको विवाद शीर्षक अन्तरगत लेनिनले काउत्सकीको अवसरवादको भण्डाफोर गर्नुभएको छ । काउत्सकीले संशोधनवादी वर्नस्टिनको दृष्टिदोषको आलोचना गरेका थिए । तर काउत्सकीले वर्नस्टिनको दृष्टिकोणको आलोचना गर्दा माक्र्सवादका सही प्रस्थापनाहरुलाई छोडेका थिए । यस सन्दर्भमा लेनिन भन्नुहुन्छ । काउत्सकीले वर्नस्टिनवादीहरुको विस्तृत खण्डन कसरी गते त ?यस प्रश्नमा अवसरवादद्वारा माक्र्सवादको जति गहिरो विकृति गरिएको थियो त्यसको विवेचना त उनले गर्दै गरेनन् । ” पृष्ठ १२५ काउत्सकीको बारेमा लेनिन भन्नुहुन्छ “ वर्नस्टिन विरुद्ध ” काउत्सकीले लेखेका थिए । – “ सर्वहारावर्गको अधिनायकत्व सम्बन्धी समस्याबारे प्रश्नको समाधानलाई हामी पुरै निश्चिन्त भएर भविष्यको निम्ति छोडिदिन सक्छौं । ” काउत्सकीको यो भनाइलाई खण्डन गर्दै लेनिन लेख्नुहुन्छ । “ यो वर्नस्टिनको विरुद्ध विवाद होइन ,बरु वास्तवमा भन्ने हो भने त्यसलाई छुट दिनु हो , अवसरवादको सामु घुँडा टेक्नु हो । कारण ,सर्वहारा क्रान्तिभार सम्बन्धी सबै मूलभूत प्रश्नहरुलाई “ निश्चिन्त भएर भविष्यको निम्ति छोडिदिनु ” सिवाय अहिले अवसरवादीहरुलाई अरु बढी कुनै कुराको आवश्यकता छैन ” पृष्ठ १२५÷२६ लेनिनले काउत्सकीको “ सामाजिक क्रान्ति” नामक पुस्तिकाको उल्लेख गर्दै भन्नु भन्नु भएको छ त्यो कृति हो ,“सामाजिक क्रान्ति” नामक उनको पुस्तिका। यस पुस्तिकामा लेखकले सर्वहारा क्रान्ति र सर्वहारा शासन ” सम्बन्धी प्रश्नलाई आफ्नो विषयको रुपमा लिएका छन् । यसमा लेखकले धेरै नै यस्ता कुराहरु दिएका छन् जुन ज्यादै उपयोगी छ ,परन्तु राज्य सम्बन्धी प्रश्नलाई चाहिँ छोडिदिएको छ । आफ्नो यस पुस्तिकामा लेखकले जताततै राज्य सत्ता जित्नेबारे चर्चा गरेका छन् र यति कै मात्र अर्थात उनले यस्तो शुत्र चुनेका छन् जसले अवसरवादीहरुलाई त्यति हदसम्म छुट दिन्छ ,जुन हदसम्म राज्यको यन्त्रलाई नष्ट नगरीकन पनि सत्ता जित्न सकिन्छ भन्ने कुरा स्वीकारिन्छ ” । पृष्ठ १२६ यस्तै किसिमले काउत्सकीका अन्य चाहनाहरु व्यक्त भएका भएका गैरमाक्र्सवादी विचारहरुको खण्डन गर्नु भएको छ ।
लेनिनले पान्नेकुकको विरुद्ध काउत्सकीको विवादमा देखिएका काउत्सकीको गैरमाक्र्सवादी चिन्तनको पनि खण्डन गर्नु भएको छ । पान्नेकुक ,एनथली (सन् १८७३ –१९६० ) डच सामाजिक प्रजातन्त्रवादी थिए । प्रथम विश्वयुद्धका वर्षहरुमा उनी अन्तर्राष्ट्रियवादी थिए । उनले “जनआन्दोलन र क्रान्ति ” भन्ने आफ्नो लेखमा काउत्सकीको राज्य सम्बन्धी दृष्टिकोणको आलोचना गर्दै राज्य सम्बन्धी आफ्ना धारणा प्रस्तुत गरेका छन् । काउत्स्कीले पनि पान्नेकुकको आलोचना गरेकाछन् । पान्नेकुक को आलोचना गर्ने सन्दर्भमा राज्य सम्बन्धी काउत्सकी वा अवसरवादी विचारहरुको लेनिनले खण्डन गर्नु भएको छ ।लेनिन भन्नुहुन्छ “उनले –काउत्सकीले लेखेका थिए – अहिले सम्म सामाजिक प्रजातन्त्रवादी हरुको र अवसरवादीहरुको यही प्रतिपक्षता रहेको थियो कि सामाजिक प्रजातन्त्रवादीहरु राज्यसत्ता जित्न चाहन्थे भने अराजकता वादीहरु त्यसलाई नस्ट विनस्ट गरिदिन चाहन्थे र पान्नेकुक चाहिँ यी दुवै कुरा गर्न चाहन्छ ।” पृष्ठ १३२ काउत्सकीको यो भनाई लाई लेनिनले यसरी खण्डन गर्नुभयो ।काउत्सकी चाहिँ ठीक त्यही सैद्धान्तिक सारतत्व ग्रहण गरे जसको उल्ल्ोख पान्ने कुकले गरेका थिए । र आधारभूत सैद्धान्तिक प्रश्नमा काउत्सकीले माक्र्सवादी स्थिति ठ्याम्मै त्यागिदिए र पूर्णत अवसरवादको पक्ष लिन पुगे । ” सामाजिक प्रजातन्त्रवादीहरु र अराजकतावादीहरुबीचको अन्तरवारे उनको परिभाषा एकदमै गलत छ र उनले माक्र्सवादलाई बंग्याएर र पूर्णतः भ्रष्ट गरिदिएका छन् । ” पृष्ठ १३२ काउत्सकीको अवसरवादी नीतिको खण्डन गर्दै लेनिनले माक्र्सवादीहरु र अराजकतावादीहरुको बीचको अन्तर ,पदाधिकारीहरुको विषय ,कर्मचारीतन्त्रको विषय ,शासन प्रणालीको विषय आदिको बारेमा माक्र्सवादी व्याख्या गर्नु भएको छ ।
अन्तमा उहाँ निश्कर्ष निकाल्दै भन्नुहुन्छ “ परन्तु हामी अवसरवादीहरुसँग सम्बन्ध तोड्ने छौं र “ शक्ति सन्तुलनमा सानोतिनो हेरफेर गर्ने होइन बरु पुँजीजीवि वर्गलाई पदच्यूत गर्न,पुँजीजीवि संसद व्यवस्था भंग गर्न, कम्युन खालको गणतन्त्र अथवा मजदुर एवं सैनिक प्रतिनिधिहरुका सोभियतहरुको गणतन्त्रको लागि सर्वहारा वर्गको क्रान्तिकारी अधिनायकत्वकोलागि संघर्षमा सम्पूर्ण चेतनशील सर्वहारा वर्ग हाम्रो साथमा रहनेछ । ” पृ. १४०