
–नरेन्द्रबहादुर थापा
नेपालको भ्रष्ट दलाल सरकारको नेतृत्व र संरक्षणमा भइरहेको अन्याय ,अत्याचार , भ्रष्टाचार , तस्करीले नेपाली जनताको अवस्था आक्रान्त बनेको र त्यसको चौतर्फी बिरोध भइरहेको अवस्थामा सरकारले सामाजिक संजालमाथि प्रतिबन्ध लगायो । सरकारको नेतृत्वमा भएको त्यही भ्रष्टाचार लगायत सामाजिक संजालमाथि लगाएको प्रतिवन्धको विरुद्धमा भदौ २३ गते जेन्(जी पुस्ताको नेतृत्वमा भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्यको तर्फबाट अनावश्यक प्रहरी हतक्षेप गरी एकाएक नरसंहार हुने गरी गोली वर्षाइयो । यस नरसंहारको घटनामा घटना स्थल मै कम्तीमा १९ जना कलिला युवाहरूको ज्यान गयो । अहिलेसम्म ३४ युवाहरूको मृत्यु भैसकेको छ र सयौँ घाइते युवाहरू उपचारार्थ अस्पतालको बेडमा रहेका छन् ।उक्त आन्दोलनमा गोलीको प्रवाह नगरी आन्दोलन झन् उत्कर्षमा निरन्तर अघि बढ्दै गयो । यही अवस्थामा सरकारका मन्त्रीहरू राजिनामा दिए ।
अहिले नेपाल फेरि एक निर्णायक मोडमा उभिएको छ। देशभित्र राजनीतिक मूल्य(मान्यताको ठूलो द्वन्द सुरु भएको छ। जहाँ सरकारको संरक्षणमा अन्याय अत्याचार र भ्रष्टाचारले जरा गाडिसकेको छ । यस्तो परिस्थितिमा नेपाली जनता फरक –फरक तीन धारमा विभाजित भएका छन्।
पहिलो धार,अग्रगामी शक्ति हो । यो गैर संसदवादी क्रान्तिकारी शक्तिको धार हो , जसले जनताको नयाँ जनवादी गणतन्त्रको आवश्यकता औल्याइरहेका छन् । उनीहरूका विचारमा विगत तीन दशकको संसदीय प्रयोग पूर्णरूपमा असफल भएको छ, जसले न त लोकतान्त्रिक सुशासन दिन सक्यो, न त जनताको जीवनस्तरमा ठोस सुधार गर्न । बरु यसले दलाल पुँजीवादी संरचना र भ्रष्ट शासकीय वर्गलाई मात्र पोस्यो।
दोस्रो धार, संसदवादी राजनीतिक दलहरूको धार हो । यसभित्र पनि दुईधार छन्। एकथरीको प्रतिगामी धार हो,जसले राजसंस्थाको पुनःस्थापना नै विकल्प हो भनी जनतालाई पुरानो संरचनातर्फ फर्काउने चाहना राख्छन् भने अर्को थरी यथास्थिति वादी शक्ति हो,जसले वर्तमान भ्रष्ट , संसदीय व्यवस्थालाई जोगाएर त्यसैमा आफ्नो अस्तित्व सुरक्षित गर्न खोजिरहेका छन् । दुवै धारको कमजोरी के छ भने तिनीहरुले विगतको असफलता र जनतामाझ हराएको विश्वास पुनः प्राप्त गर्ने कुनै व्यवहारिक आधार प्रस्तुत गर्न सकेका छैनन्।
तेस्रो धार , जेन्(जी पुस्ताको आन्दोलन हो। यो नयाँ पुस्ता विगतका दलहरूको असफलता, भ्रष्टाचार र अवसरवादबाट आक्रोशित मात्र छैन, उनीहरु परिवर्तनको मार्ग खोजिरहेका छन्। खासगरी यी युवाहरू पुरानो संसदीय स्वरूपलाई अस्वीकार गर्दै सामाजिक न्याय, समानता र उत्तरदायी नेतृत्व खोजिरहेका छन् । यसरी हेर्दा उनीहरु पहिलो धारको जनवादी गणतन्त्र तर्फ नजिक देखिन्छन्। उनीहरूको आन्दोलनले अहिलेको व्यवस्था विरुद्ध विद्रोहको संकेत दिएको छ। यद्यपि उनीहरूको आन्दोलन अझै संगठित रूपले स्पष्ट वैचारिक कार्यदिशाको मार्गमा उभिएको देखिंदैन ।
अब प्रश्न उठ्छ ( नेपालको भविष्य कुन दिशातर्फ मोडिन्छ ?
यदि जेन्जी– आन्दोलनले आफ्नो विद्रोही भावनालाई दीर्घकालीन राजनीतिक मार्गचित्र तथा स्पष्ट कार्यदिशा र संगठनात्मक संरचनामा परिणत गर्न सक्यो भने , नेपाल नयाँ जनवादी गणतन्त्रतर्फ अघि बढ्न सक्छ र बढ्नु पर्छ । यसले जनताको जीवनमा समानता , सुशासन र स्वतन्त्रताको नयाँ क्षितिज खोल्नेछ। तर यदि आन्दोलन अस्पष्ट नै रह्यो र स्पष्ट कार्यदिशा पक्रन सकेन भने पुनःपुरानो दलहरूको स्वार्थी राजनीति वा राजसंस्थाको पुनरागमनले मुलुकलाई धेरै पछाडि धकेल्ने खतरा बढ्नेछ। यी जेन्जी पुस्ताका विद्रोहीहरु पनि यथास्थितिवादी वा प्रतिगामी कित्तामा पुग्नेछन् ।उनीहरूले नै जेनजीको आन्दोलनको फाइदा लिने छन् भने देश प्रतिगमनतर्फ धकेलिने छ। पुनःयही वर्तमान असफल संविधानलाई सक्रिय बनाएर यसै अनुसार अगाडि बढ्ने संकेत देखिएको छ। जेन् –जी प्रतिनिधिहरु सजग हुनुपर्ने देखिएकोछ ।
नेपालका लागि विकल्प स्पष्ट छ न त विगतको असफल संसदीय खेल , न त प्रतिक्रियावादी राजसंस्था । सही विकल्प नयाँ जनवादी क्रान्तिद्वारा जनवादी गणतन्त्रको मार्ग हो , जसले नयाँ पुस्ताको ऊर्जा, जनताको पीडा र भविष्यको आकांक्षालाई सम्बोधन गर्छ। आन्दोलनले यही मार्गलाई चुन्ने साहस गर्यो भने नेपालको भविष्य उज्यालो हुन सक्ने कुरामा कुनै शङ्का रहँदैन ।
मिति :२०८२र५र२६