
काठमाडौं : इच्छुक साँस्कृतिक प्रतिष्ठानले इच्छुक साँस्कृतिक पुरस्कार तथा सम्मान कार्यक्रम २०८२ जेठ १३ गते प्रष्तिठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव तथा प्रतिष्ठानका सल्लाहकार सिपी गजुरेलको प्रमुख आतिथ्यता, सदस्य सचिव मोदनाथ मरहट्टा र कार्यसमितिका सदस्य अनिल श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको छ । कार्यक्रममा रहनु भएका अतिथिहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली (सुदर्शन), प्रा.डा. तक्मा केसी,प्रा.डा. हेमनाथ पौडेल,पुरस्कार छनोट समितिका संयोजक मित्रलाल पंज्ञानी, भुँडी पुराण प्रकाशनका अध्यक्ष केशव पराजुली ,समारोहमा सम्मानित हुनुहुने बालकृष्ण (आदर्श) राई , मनु वि.क. र सफल सोडारी हुनुहुन्थ्यो ।
प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेलले सहिद कृष्णसेन इच्छुकको वलिदान ऐतिहासिक महत्व र प्रेरणाको विषय रहेको बताउनु भयो । वहाँले अहिले क्रान्तिले धक्का खाएको तर क्रान्तिले नहारेको बताउनु भयो । वहाँले अहिले पनि सडकमा क्रान्तिको झण्डा बोक्नेहरु रहेको भन्दै जनताले क्रान्ति चाहेको बताउनु भयो । आफूहरु नयाँ परिस्थितिमा नयाँ ढंगले अभियानमा रहेको भन्दै वहाँले इतिहासबाट शिक्षा लिँदै क्रान्तिको कार्यभार आफूहरुले पूरा गर्ने बताउनु भयो ।
कार्यक्रममा अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले वर्गीय समाजमा मानवता र मानवअधिकार पनि वर्गीय नै हुने बताउनु भयो । आन्दोलनमा क्रान्तिप्रति वलिदानी भावनाले लाग्नेहरु कृष्णसेन जस्तो अरु नभएको भन्दै वहाँले लड्दा मर्नेहरु अमर भएर जानु भएको छ , कतिपय मानिसहरु जिउँदै मरिरहेका हुन्छन् भन्नु भयो । आन्दोलनमा लागेको हुँ भन्नेहरु लोभलालचमा लागेको तर कृष्णसेन इच्छुक कहिल्यै पनि लोभ लालचमा लाग्नेखालको नभएको बताउनु भयो । वहाँको सादा र सादगी जीवनसहित उच्च विचारको अनुशरण गर्नु पर्ने उल्लेख गर्नु भयो ।

राजनीतिज्ञ ,लेखक ,कलाकार, साहित्यकार आन्दोलनकर्मी,पत्रकारहरुको उपस्थिति रहेको समारोहको स्वागत गौरी देवकोटाले गर्नु भएको थियो । ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौनधारण पछि अगाडि बढेको कार्यक्रममा सामना परिवारका कलाकारहरुले गीतद्वारा स्वागत गर्नु भएको थियो । सम्मानित हुनुहुने महानुभावहरुको बारेमा मित्रलाल पंज्ञानीले जानकारी गराउनु भएको थियो ।

प्रमुख अतिथि र अतिथिहरुबाट दोसल्ला, प्रमाणपत्र र रु १ लाख र जनही २५ हजार सहित क्रमशः ‘इच्छुक स्मृति पुरस्कार᾿ र ‘इच्छुक प्रतिभापुरस्कार᾿बाट सम्मान पश्चात समारोहमा संगीतश्रोताले‘कमरेड इच्छुकलाई एउटा इमेल᾿ शीर्षकको कविता वाचन गर्नु भएको थियो । सम्मानितहरु आदर्श राईले सम्मानको अवसरमा आफ्नो छोटो मन्तव्य राख्नु भएको थियो र मनु वि.कले आ–आफ्नो छोटो मन्तव्य सहित ‘नबदलिने मान्छे᾿ शीर्षकको कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिबाट ताराकान्त पाण्डे लिखित ‘माक्र्सवादी साहित्य र संस्कृति चिन्तन᾿नामक पुस्तकको विमोचन गरिएको थियो र सो पुस्तकमाथि समिक्षात्मक मन्तव्य प्रा.डा. हेमनाथ पौडेलको रहेको थियो । कार्यक्रममा कवि वलराम तिमिल्सिनाद्वारा शहिद कृष्णसेन इच्छुकलिखित झण्डै चालिस वर्ष अगाडिको ‘प्यालेष्टाइनी मित्रहरुको नाममा᾿ शीर्षकको कविता वाचन गर्नु भएको थियो । अन्तमा कार्यक्रमका अध्यक्ष हिरामणि दुःखीले मन्तव्यसहित कविता वाचन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।सम्मान समारोहमा प्रतिष्ठानद्वारा सम्मानित व्यक्तित्वहरुको बारेमा तयार पारिएको पर्चा समेत वितरण गरिएको थियो । इच्छुक स्मृति पुरस्कार २०६६ सालदेखि हरेक वर्ष प्रगतिवादी आन्दोलनमा क्रियाशील रही समाज रुपान्तरणमा लेखन, कला ,साहित्यमार्फत योगदान पु¥याउँदै आउनु भएका सर्जकहरुलाई प्रदान गर्दै आएको इच्छुक साँस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
