नेपालको राष्ट्रिय राजनीतिकासाथै सत्ता राजनीतिलाई पछिल्लो समयमा भ्रमित बनाउँदै लान खोजेको देखिएको छ । जनपक्षीय नारालाई अगाडि सारेर जनबिरोधी हर्कतहरु भैरहेका छन् । त्यसक्रममा केही समूहहरुले गणतन्त्र र समाजवादकाबारेमा समेत काफि हदसम्म भ्रम सिर्जना गराउने प्रयास गरिरहेका छन् । नेपालको पछिल्लो सत्ता राजनीति साम्राज्यवादी मुलुकहरुबाट प्रायोजित र संरक्षित रहेको छ । जसको आर्थिक नीति पनि सम्राज्यवादी नीतिमै आधारित रहेको कुरामा द्विमतगर्ने ठाउँ छैन । नेपालमा हालैका दिनमा दुईवटा कामहरु तीब्ररुपमा भैरहेको देखिएको छ । त्योभनेको कम्युनिष्ट राजनीतिलाई भ्रमित बनाउँदै लगेर समाप्त पार्ने र देशलाई पनि आर्थिक, समाजिक र राजनीतिकरुपमा अस्तब्यस्त बनाउँदै लगेर बिघटनमा पु¥याउने । कतिपयले त आगामी १५ बर्षभित्रमा नेपालमा कम्युनिष्ट पार्टीनै नरहने आंकलन समेत गरेका छन्भने कतिपयले संसदवादी कम्युनिष्टहरुलाई नै सही कम्युनिष्ट साबित गराउने प्रयास गरिरहेका छन् । उनीहरुले गणतन्त्र र समाजवादको नारालाई अगाडि सार्ने र नेपाली समाजमा भ्रमको सिर्जनागर्ने प्रयास गरिरहेको देखिएको छ । खासमा सही गणतन्त्र भनेको जनगणतन्त्र होभने जनगणतन्त्र बिना समाजवादको स्थापना हुनै सक्तैन । राजनीति शास्त्रले लोकतन्त्र अथवा प्रजातन्त्रभन्दा गणतन्त्रलाई पृथकरुपमा परिभाषित गरेको छ । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तवमै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ । तर नेपालमा बहुमतको शासन समेत छैन । त्यसैले यसलाई लोकतन्त्र अथवा प्रजातन्त्रको कोटीमासमेत राख्न सकिँदैन । विश्व इतिहासकाअनुसार लोकतन्त्रलाई सर्बप्रथम अब्राहम लिंकनले परिभाषा गर्नुभएको थियो । जसलाई कतिपय देशले प्रजातन्त्र भनेर नामकरण गरे । त्यसको अर्थ जनताका लागि र जनताद्वारा गरिने शासन व्यवस्थाभन्ने अर्थमा लिने गरिन्छ । लोकतन्त्र भएको मुलुकमा देशको शासन ब्यवस्थाले जनताको हितमा काम गरेको हुनुपर्दछ । तर नेपालमा लोकतन्त्रको परिभाषा सिर्फ सिद्धान्त (भनाई) मा मात्र सीमित रहेको छ । जनतन्त्र अथवा जन गणतन्त्र मुख्यत कम्युनिष्ट शासन ब्यवस्था भएका मुलुकहरुले प्रयोग गरेका छन् । जसले दर्शनलाई प्रमुखता दिएर देशको शासन सत्ताको संयोजन गरेको हुन्छ । सत्रौ शताब्दिसम्म त गैर निरंकुश शासनलाई नै गणतन्त्र भन्ने गरिएको पाइन्छ । १८ औं शताब्दीमा फ्रान्समा भएको राजतन्त्र बिरुद्धको राज्य क्रान्तिपछि राजतन्त्र फालेर स्थापना भएको शासन व्यवस्थालाई गणतन्त्र भन्न थालिएको हो ।

जहानियाँ शासन ब्यवस्थालाई हटाएर जनताद्वारा निर्बाचित राष्ट्रध्यक्ष रहने व्यवस्थालाई गणतन्त्र भनियो । त्यस अर्थमा नेपाल, भारत र अमेरिकालगायत गणतन्त्रात्मक मुलुक भएपनि जनगणतन्त्रात्मक मुलुक होइनन् । जहाँ कुनै न कुनैरुपमा जहानीयाँ शासनका अवशेषहरु रहेका छन् । जस्तो नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनिएको छ । यहाँको संघीयताले लोकतान्त्रिक अभ्यास हुनदिएको छैनभने लोकतन्त्र बिनाको गणतन्त्र खासमा गणतन्त्रनै होइन । यसलाई नाममात्रको गणतन्त्र भनिन्छ । राजनीतिक शान्त्रले लोकतान्त्रिक गणतन्त्रलाई शासन पद्धतिमात्रै नभएर जीवन पद्धतिकारुपमा समेत परिभाषित गरेको छ । तर नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दल, मन्त्री र जनप्रतिनिधिहरुले लोकतान्त्रिक गणतन्त्रलाई केवल शासन पद्धतिका रुपमा मात्र अनुशरण गर्नेगरेको पाइएको छ ।
नेपालमा गणतन्त्र स्थापना भएर पनि राजतन्त्रात्मक शाही संस्कार अद्यापि कायमै रहेको छ । ०७२ को संविधानको प्रस्तावनामा समेत ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल’ भन्ने उल्लेखसमेत गरिएको छैन । त्यसैले कतिपय दलहरुले ०७२ को संविधानलाई बिद्यमान सबै समस्याहरुको ‘जड’ भएको मूल्यांकनसमेत गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलन क्रान्तिकारी र दक्षिणपन्थी संशोधनवादी एवं सुधारवादी नवसंशोधनवादी गरी दुई विपरित धारमा बिभाजित रहेको छ । त्यसैले नाममात्रका कम्युनिष्टहरु यही संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो अभिष्ठ ठानिरहेका छन् । उनीहरु यसलाई जन आन्दोलनको उपलब्धी ठान्ने गर्दछन् । तर सही कम्युनिष्टहरु यसलाई देशको मुख्य समस्या भएको र जरैदेखि उखेलेर फ्याक्नुपर्ने ठान्दछन् । त्यसैले गणतन्त्र र समाजवादका बिषयमा पनि सही क्रान्तिकारी र संसदवादी कम्युनिष्टहरुकाबीचमा स्पष्ट बिभाजन रहेको छ । जस्तो माओवादी केन्द्रमा कुनैबेला जनयुद्धमा सहभागी केही नेताहरु रहेका छन् । उनीहरु जनयुद्धलाई धोखा दिएर ०६२ मंसिर सातगते नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिमार्फत संसदीय राजनीतिमा प्रबेश गरेका हुन् । त्यसैले उनीहरु सही क्रान्तिकारीहरुलाई सकेसम्म भ्रमित बनाउन र छिन्नभिन्न बनाउन प्रयासरत रहेका छन् । त्यसैका लागि उनीहरुले गणतन्त्र र समाजवादलाई गलत ढंगले ब्याख्या र बिश्लेषणगर्दै जनतामा भ्रम दिन खोजेका हुन् । नेकपाको तेश्रो महाधिवेशनपछि भएको बिभाजनबाटै संशोधनवादी धार समातेकाहरुले नेकपा (माले) हुँदै हालको एमालेको संयोजन गरेका हुन् । उनीहरुले ०४६ सालको राजनीतिक परिवर्तनबाट नेपालका बहुदलीय संसदीय ब्यवस्था पुनस्र्थापना भएपछि औपचारिकरुपमै पार्टीको बैठकबाट निर्णय गरेर माओ बिचारधारालाई परित्याग गरेका थिए ।
त्यसपछि उनीहरुले जनताको बुहदलीय जनवादको रचना गरेर सधै संसदीय शासन सत्तामा टिकीरहने प्रयास थालेका हुन् । ०६२ पछि माओवादीको पुष्पकमल दाहाल समूहले पनि सोही बाटो अवलम्बन गरेको हो । त्यसैले माओवादी केन्द्रले ०७५ जेठ तीनगते एमालेसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नाममा संगठनगर्न शुरुगरेको थियो । एमालेसँग मिल्नका लागि उसले औपचारिकरुपमा नै माओवाद परित्याग गरेको थियो । त्यसपछि सि जिन पिङ बिचारधारामा केही समयसम्म अभ्यास पनि ग¥यो । तर स्वार्थगत एकता भएका कारण माओवादी केन्द्र र एमालेको एकता करिव दुईबर्ष पनि टिक्न सकेन । हाल फेरी माओवादी केन्द्रले एमालेसँग पार्टी एकतागर्न अनेक प्रयास गरिरहेको छ । तर एमाले सहमत भैरहेको छैन । किनकी एमालेका अध्यक्ष केपी ओलीले गत चितवन महाधिवेशनमा सार्बजनिकरुपमै आफूहरु ‘शैद्धान्तिक कम्युनिष्ट नभइ पपुलिष्ट अर्थात नाममात्रको’ कम्युनिष्ट भएको बताउनु भएको थियो । एमाले बैचारिकरुपले दक्षिणपन्थी संशोधनवादी पार्टी हो । तर माओवादी केन्द्रले हालसम्म एकातिर पार्टीको नाममा माओवादी राखेको छभने अर्कातिर जनसंघर्षमै रहेको बताउन पनि छाडेको छैन । तर गतिबिधिभने नेपाली कांग्रेससँग मिल्दा जुल्दा रहेका छन् । जसलेगर्दा एमालेहरुले समेत माओवादी केन्द्रलाई पूर्णरुपमा बिश्वासगर्न सकिरहेका छैनन् । पटक, पटक नेपाली कांग्रेससँग सहकार्य गरेर माओवादी केन्द्रले जनतामा भ्रमको सिर्जना पनि गरेको छ । गत ०७९ मंसिर चारको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले नेपाली कांग्रेससँग गठबन्धन र चुनावी तालमेलमात्र नगरेर जनयुद्धकालीन माओवादीका आधार इलाका भनिएका रोल्पा र रुकुमलगायतका जिल्लाका बिभिन्न स्थानमा गएर माओवादी केन्द्र र नेपाली कांग्रेस भनेका उस्तै पार्टी हुन् । त्यसैले नेकांको रुख चिन्हमा भोट दिनुसभन्दै भाषण गरेका कारण अब त्यस क्षेत्रका सबैले माओवादी केन्द्र र नेकांलाई उस्तै पार्टी ठान्नेगरेका छन् ।
जसलेगर्दा माओवादी केन्द्र फेरी सच्चिएर क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्ने संभावना पूर्णरुपले नै समाप्त भैसकेको छ । माओवादी केन्द्रभित्र हालसम्म पनि कतिपय सही कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु नरहेका होइनन् । तर उनीहरुले पार्टीमा गलत बिचार र परिपाटीका बिरुद्ध यथासमयमा बिद्रोहगर्न नसकेका कारण उनीहरुको पतन पनि अबश्यंभाविजस्तो भएको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि एमाले पतन भएका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुको ‘डम्पिङ साइट’ जस्तो रहेको थियोभने हाल त्यसमा माओवादी केन्द्र पनि थपिएको छ । नेपालका सही कम्युनिष्टहरु नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरागर्दै र वैज्ञानिक समाजवादहुँदै वैज्ञानिक साम्यवादसम्म पुग्ने लक्ष्य र उद्देश्यकासाथ अगाडि बढिरहेका छन् । नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम नयाँ जनवाद होभने अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद र साम्यवाद हो । जुन यात्रा वैज्ञानिक साम्यवादमा पुगेरमात्र टुंगिने छ । नेपाल हालसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामै रहेको छ । जसबाट मुक्त हुनका लागि नयाँ जनवादी क्रान्ति कै हतियार प्रयोग गर्नुपर्दछ । यस्तो अवस्थामा नाममात्रको गणतन्त्र र काल्पनिक समाजवादको भ्रममा कोही पनि अल्झिनु हुँदैन । आजको आम शोषित पीडित र परिवर्तनकारी शक्तिको कार्यभार भनेको नक्कली गणतन्त्र र काल्पनिक समाजवादको भ्रमलाई च्यात्नु हो ।