काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ नेता सीपी गजुरेलले आफ्नो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताएका छन् ।
पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको बताए ।
नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उहाँले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्नेमा जोड दिए ।
नेता गजुरेलले प्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल, विप्लव लगायतका नेताहरुलाई जनवादी गणतन्त्रको दिशामा अगाडि बढ्न अनुराेध गर्नुभयाे ।
‘जनतामा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरु के भन्छन् भने समाजवादको लागि अगाडि बढ्ने हो । समाजवाद त सामन्ती समाजवाद, पुँजीवादी समाजवाद हुन्छ । कम्युनिस्टहरूले ल्याउने भनेकाे वैज्ञानिक समाजवाद हाे । नेपालमा नयाँ जनवादी गणतन्त्र नल्याई वैज्ञानिक समाजवादमा पुग्न सकिन्न । अब याे बुर्जुवा गणतन्त्रलाई जनगणतन्त्रमा रुपान्तरण गराै । याे मुद्दामा हाम्राे पार्टी असाध्यै कम्युनिष्ट एकताको पक्षमा छ’, उनले भने । नेता गजुरेलले लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्धको पनि लक्ष्य नभएको स्पष्ट पारे ।
नेता गजुरेलले भने, ‘नेपालका कम्युनिस्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको छ । सबै नेताहरूले यो कुरा बोली हाल्नुहुन्छ । ल हाम्रो पार्टी चाहिँ एकताको पक्षमा छ । सकेसम्म पार्टी एकतानै गर्ने, नभए पनि मोर्चा गर्ने । केही न केही त गरेरै छाड्छौँ भनी हाल्नुहुन्छ उहाँहरू । अहिलेको एउटा आवश्यकता के हो भने एउटा मजबुत क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्नु अहिलेको इतिहासको आवश्यकता हो । नेपालमा अहिले जुन व्यवस्था आएको छ । लोकतान्त्रिक गणतन्त्र जुन आएको छ । त्यो हामीले मागेको हो कि परिस्थितिको उपज हो ?’
नेता गजुरेलले अगाडि भने, ‘के त्यतिखेरको माओवादीले यही लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि जनयुद्ध गरेको हो त ? त्यो त होइन । हामीले नयाँ जनवादी गणतन्त्रकाे स्थापना गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि तीनवटा क्रान्तिकारी पार्टी बिच एकता गरेका छाै र अब महाधिवेशनमा जुटेका छाै ।’