संसदभन्दा बाहिरबाट नै समाजवादमा जाने वा क्रान्ति सम्पन्न गर्ने मार्ग अपनाउनु पर्दछ : किरण

जनताको चाहना र इतिहासको आवश्यकता अनुसार हामीले पार्टी एकता गरेका हौं

० गत वैशाख १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) को एकता अधिवेशनका दिन तपाईले पार्टी एकताको दिनलाई “प्रशन्नता र गौरवको दिन” भन्नु भएको थियो । त्यो दिन किन “प्रशन्नता र गौरवको दिन” थियो ?
–नेपालको ऐतिहासिक आवश्यकता र जनताको चाहना अनुसार नेपालका सच्चा क्रान्तिकारीहरुलाई गोलबन्द गर्नुपर्दछ भनेर हामी लामो समयदेखि निकै मिहेनत गरिरहेका थियौं । हामी सबैले गरेको अथक मिहेनतले गर्दा वैशाख १८ गते एकता अधिवेशन सम्पन्न गर्न र वैशाख १९ गते मई दिवसका दिन त्यो एकतालाई घोषणा गर्न सफल भएका थियौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीच एकताले नेपालको क्रान्तिकारी आन्दोलनमा दुरगामी महत्व राख्नेछ । हामी सबैको लागि नेपाली जनता र क्रान्तिकारीहरुका लागि त्यो दिन खुशी र गौरवको दिन थियो ।
० तपाईले राजनीतिक कार्यदिशा, सामरिक कार्यदिशा, रणनीति र कार्यनीतिलाई समृद्ध बनाउनु पर्दछ भन्नु भएको छ । कसरी समृद्ध बनाउन सकिन्छ ?
–नेपालमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने बारेमा नयाँ बहसको आवश्यकता छ । देशमा अर्धसामन्ती र अर्ध औपनिवेशिकताको विशेषता कायमै छ र नव औपनिवेशिकताको पनि विकास हुँदै गइरहेको छ । नेपालमा पहिलेको स्थितिमा केही परिवर्तन भएको छ । तर नेपालमा अझै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको छैन । नेपालमा केहीले नयाँ जनवादी क्रान्ति अर्थात् पुँजीवादी क्रान्ति गर्नु पर्दैन भनेका छन् । पुँजीवादी क्रान्ति गनुर््पर्दछ भन्नेहरुले कतिपयले पुरानै कुरा दोहोराईरहेका छन् । यो स्थितिमा नेपालको आर्थिक, सामाजिक अवस्थाको गहन विश्लेषण गरेर हाम्रो राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीतिलाई समृद्ध गर्नु पर्दछ । हामीले एकता महाधिवेशन पनि गर्दैछौं । एकता महाधिवेशनमा यो विषय माथि गम्भीररुपमा छलफल गर्दैछौं ।
कार्यदिशालाई समृद्ध पार्नु पर्दछ भनेर हामीले पार्टीभित्र नेपालको सामाजिक, आर्थिक अवस्थाको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले एउटा कार्यदल बनाएका थियौं । त्यो कार्यदलले रिपोर्ट प्रस्तुत गरिसकेको छ । एकतर्फ त्यो रिपोर्टलाई गहन अध्ययन गर्न जरुरी छ ।
लामो समयदेखि अध्ययन अनुसन्धानमा लागेका अध्ययनशील,अनुभवी कामरेडहरु सबैले यसमा भाग लिनुपर्दछ । विशेषगरी केन्द्रीय समितिमा नै त्यसबारे व्यापक छलफल हुनु पर्दछ । आगामी महाधिवेशनलाई व्यापक अध्ययन–अनुसन्धान र छलफलको केन्द्र बनाउनु पर्दछ ।
० नेपाली कम्युनिस्ट आन्दोलनको आगामी कार्य दिशाको कुरा गर्दा मूलतः दुई प्रकारको कार्यदिशा देखा परेका छन् , एक वर्तमान संसदीय व्यवस्थाबाटै समाजवादमा जानुपर्दछ भन्ने र अर्को संसदीय व्यवस्था भन्दा बाहिरबाट नयाँ जनवाद÷समाजवादमा जानुपर्दछ । ती दुईबीचमा अन्तर कति हो ? ती दुईका बीचमा कतै तालमेल गर्नुपर्ने ठाउँ पनि छ कि ?
–संसदीय व्यवस्थाबाटै वा चुनावबाटै समाजवादमा पुग्न सकिन्छ भन्ने मान्यता पछिल्लो अवधिमा खु्रश्चेवले ल्याएको कुरा हो । त्यो बाटो गलत छ । सिधा र प्रष्ट भाषामा आधुनिक संशोधनवाद वा नवसंशोधनवाद भनेको त्यही हो । माक्र्सवाद–लेनिनवाद, माओवाद/माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्नेहरुले त्यो कुरा मान्दैनन् । मान्नु हुँदैन । चुनावलाई वा संसदलाई कम्युनिस्टहरुले कार्यनीतिको रुपमा आवश्यकता अनुसार उपयोग पनि गर्न सक्दछन् । तर समाजवादमा जाने त्यो मूल बाटो हुन सक्दैन । संसदभन्दा बाहिरबाट नै समाजवादमा जाने वा क्रान्ति सम्पन्न गर्ने मार्ग अपनाउनु पर्दछ ।
० तर गैर संसदीय बाटोबाट क्रान्ति सम्पन्न गर्नुपर्दछ भन्नेहरुको बीचमा पनि एउटै मत भएन नि । मोहन विक्रमजी (मसाल), आहुति (वैज्ञानिक समाजवादी), विप्लव (नेकपा), रोहित (नेमकिपा) बीचमा पनि मतैक्यता छैनन् । यसबारे के भन्नु हुन्छ ?
–मोहन विक्रमजीले नयाँ जनवादी क्रान्ति गर्नु पर्दछ भन्नुहुन्छ । उहाँका कुरा पढ्दा र सुन्दा त ठीकै ठीकै कुरा गर्नुभयो कि जस्तो लाग्छ तर व्यवहारमा हेर्दा क्रान्तिकारी आन्दोलनको विकास गर्ने तिर उहाँको कतै पनि ध्यान गएको देखिन्न । उहाँको ध्यान चुनावको उपयोगमा मात्र छ । त्यो मात्र छैन । अझ प्रतिक्रियावादी सरकारमा पनि जाने भन्नु हुन्छ र जानुहुन्छ । उहाँले भन्ने एउटा गर्ने अर्को गरिरहनु भएको छ । मोहनजीले भन्दाखेरी त भनिदिनु हुुन्छ गैर संसदीय बाटो नै मुख्य हो । तर व्यवहारमा हेर्दा संसदीय गोलचक्करमा फस्नु भएको छ । उहाँले संसदवादपरस्त चिन्तन नै अवलम्वन गर्दै गएको देखिन्छ । आहुतिजीले वर्गसंघर्षबाट नै क्रान्तिकारी पार्टी बनाएरै जानुपर्दछ भन्नेमा हुनुहुन्न । उहाँको त कम्युन बनाएर, सहकारी बनाएर जानुपर्दछ भन्नु हुन्छ । उहाँका कुरा हेर्दा काल्पनिक समाजवादीका जस्ता छन् । विप्लवजी त आहुति र मोहनजी भन्दा पनि धेरै पर गइसक्नु भयो । वर्तमान सत्ता, व्यवस्था,संविधान सबैलाई स्वीकार गरेर संसदीय बाटोबाटै जाने उहाँले निधो गरिसक्नु भएको छ । रोहितजीले समाजवादका कुुरा गरे पनि व्यवहारमा उहाँले संसद र चुनावलाई नै रणनीति बनाउनु भएको छ । कम्युनिस्टहरुले त आवश्यकता अनुसार चुनाव उपयोग, वहिष्कार गर्दछन् । तर रोहित जी लगातार चुनावमा हुनुहुन्छ र त्यो भन्दा बाहिर आउन सक्ने पनि देखिंदैन । यद्यपि अहिलेसम्म सरकारमा जानु भएको छैन । प्रतिक्रियावादी व्यवस्थाका विरुद्धमा जुन हदसम्म उनीहरु आउँछन्, त्यो हदसम्म हामीले उनीहरुलाई सकारात्मक रुपमा लिनुपर्दछ ।
० तपाईहरु पहिले दीर्घकालीन जनयुद्धको बाटोबाट सत्ता प्राप्त गर्नुपर्दछ भन्नुहुन्थ्यो । अहिले सहरिया जनविद्रोह र दीर्घकालीन जनयुद्ध दुवैबाट पाठ सिकेर अगाडि बढ्नुपर्दछ भन्नु हुन्छ । यस्तो निश्कर्षमा कसरी पुग्नु भयो ?
–क्रान्तिको निम्ति बल प्रयोगको भूमिका सार्वभौम नियम हो । सशस्त्र संघर्षको स्वरुपको कुरा गर्दा दुई वटा स्थापित लाइन छन् (१) रुसको अक्टोबर समाजवादी क्रान्तिमा लेनिनको नेतृत्वमा प्रयोग गरिएको सशस्त्र जनविद्रोह र (२) माओको नेतृत्वमा चीनमा प्रयोग गरिएको दीर्घकालीन जनयुद्ध । अहिलेको देशको आर्थिक सामाजिक अवस्थालाई हेर्दा नेपाली क्रान्तिको सामरिक कार्यदिशा ठोस रुपमा भन्नु पर्दा सशस्त्र जनविद्रोहबाट नै जानु पर्दछ । तर त्यसमा दीर्घकालीन जनयुद्धका कार्यनीतिलाई कति जोड्न सकिन्छ भनेर हामीले छलफल गरिरहेका छौं । सामरिक कार्यदिशा पुरानै तरिकाले हुँदैन । नयाँ ढंगले कसरी जान सकिन्छ ? आगामी एकता महाधिवेशनमा यसबारे अझ व्यापक छलफल गर्नुपर्दछ ।
० नेपालको भूराजनीतिक परिस्थितिका कारण पनि नेपालमा क्रान्ति सम्पन्न गर्न अप्ठ्यारो छ भन्ने एउटा भनाई छ । मानौं भारतमा कम्युनिस्ट आन्दोलन सशक्त भइदिएको भए यहाँको क्रान्तिलाई सजिलो हुनेथियो । भारतले तीन तिरबाट नेपाललाई घेरेको छ । भारतीय विस्तारवादले नै नेपालमा क्रान्ति हुन दिन्न भनिन्छ । यसबारे टिप्पणी राख्नुपर्दा के भन्नुहुन्छ ?
–नेपाललाई भारतद्वारा तीनतिरबाट घेरिएको छ । नेपालको उत्तरमा चीन छ । भारतले विस्तारवादी ÷साम्राज्यवादी ढंगले अगाडि आइरहेको छ । लामो समयदेखि नेपाल भारतीय अर्धउपनिवेश र नवउपनिवेशको उत्पीडनमा पर्दै आएको छ । उत्तरतिरको चीन पनि क्रान्तिप्रति सकारात्मक छैन । निश्चय पनि नेपाली क्रान्तिकारी आन्दोलनका लागि यो जटिलता हो । तर क्रान्तिका लागि यो भू–राजनीतिक अवस्था मात्र प्रमुख बाधक हैन । समस्याको प्रमुख कारण त्यो हैन । क्रान्ति सम्पन्न हुनका लागि आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति दुवै परिपक्व हुनुपर्दछ । जहाँसम्म वस्तुगत परिस्थितिको कुरा छ, त्यो ठिकै छ जस्तो लाग्दछ किनभने वर्तमान संसदीय व्यवस्थामा गम्भीर राजनीतिक संकट बढ्दै गएको छ । पुरानो सत्ताका संरक्षक राजनीतिक दलहरु र संशोधनवादी दलहरु प्रति जनताको वितृष्णा अत्यन्तै बढेर गएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या झनै गहिरिंदै गएको छ । समस्या हाम्रो के भयो भने हाम्रो नेपालमा क्रान्तिकारीहरुको आत्मगत परिस्थिति बलियो र परिपक्क छैन । अन्तर्राष्ट्रिय कम्यु्निस्ट आन्दोलन पनि रक्षात्मक अवस्थामा छ । तर नेपालको आत्मगत परिस्थिति कमजोर छ, भारतले तीनतिरबाट घेरेको छ, भारतमा क्रान्तिकारी आन्दोलन भएन भनेर यहाँ क्रान्तिकारी गतिविधि अगाडि नबढाउने कुरा सही हैन । तीन तिरबाट भारतले घेरेको छ भन्ने हो भने त भारतले सधै नै सीमाले तीनतिरबाट घेरेकै छ । यसको अर्थ भारतमा क्रान्ति भएपछि मात्र नेपालमा क्रान्ति हुन्छ भन्ने निश्कर्षमा जानु पर्दछ । त्यो सही निश्कर्ष हैन । बरु यथार्थता त के हो भने भारतमा पनि क्रान्तिकारीहरुले आफ्ना क्रान्तिकारी गतिविधि कुनै न कुनै रुपमा अगाडि बढाइरहेका छन् र नेपालमा पनि अगाडि बढाउनु पर्दछ । सर्वहारा अन्तर्राष्ट्रवादलाई बलियो बनाएर प्रतिक्रियावादीहरुको जालझेल र किल्ला तोड्न सकिन्छ ।
० क्रान्तिका सम्बन्धमा तपाईले जुन विचार राखिरहनु भएको छ । तपाईका विचारलाई सारसंग्रहवादी विचार भनेर आलोचना भइरहेको कुरा सुन्नुभएको छ ?
– त्यो आलोचना भइरहन्छ । क्रान्तिकारीहरुलाई जडसूत्रवादी, सारसंग्रहवादी अनेक आरोप लगाइन्छ । हामी आलोचनाको पछि दौडने कुरा होइन । हामीले हाम्रो कार्य दिशा सही छ भनेका छौं तर पूर्ण भइसक्यो भन्ने कुरा पनि होइन । हाम्रो पार्टी एकता तीन शक्ति क्रान्तिकारी माओवादी, बहुमत र मशालका बीचमा भएको एकता हो । एकता महाधिवेशनमा व्यापक अध्ययन छलफल गरेर क्रान्तिकारी कार्यदिशालाई समृद्ध बनाउने तिर हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ । आफू भँडुवा विकासवादको बुई चढेर संशोधनवादी बन्ने अरुलाई सारसंग्रहवादी आरोप लाउने तरिका सही होइन ।


० तपाईले बाह्य अन्तर्विरोध हल गरेर क्रान्ति सम्पन्न गर्नु पर्दछ र आन्तरिक अन्तर्विरोध हल गरेर आत्मगत परिस्थितिलाई बलियो बनाउनुपर्दछ भन्नु भएको छ । यसलाई थप प्रकाश पार्नु हुन अनुरोध छ ।
–बाह्य अन्तर्विरोध हल गरेर क्रान्ति सम्पन्न गर्ने कुरा त स्पष्ट नै छ । त्यो भनेको के हो भने साम्राज्यवाद, विस्तारवाद, दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद सित नेपाली जनताको अन्तर्विरोध हल गरेर क्रान्ति सम्पन्न गर्नुपर्दछ । जहाँसम्म आन्तरिक अन्तर्विरोध हल गरेर आत्मगत परिस्थिति बलियो बनाउनु पर्दछ भन्ने कुरा छ । त्यो भनेको पार्टीभित्रको अन्तर्विरोधलाई हल गरेर क्रान्तिका लागि आत्मगत परिस्थिति बलियो बनाउनु पर्दछ भनेको हो । पार्टी भनेको विपरीतहरुको एकत्व हो अथवा पार्टी भनेको विविधता बीचको एकता हो । पार्टीभित्र आएका विचारहरुलाई स्वस्थ र मैत्रीपूर्ण ढंगले छलफल गर्नुपर्दछ । पार्टीभित्र अन्तर्विरोध नै भएन भने पार्टीमा भजनमण्डलीको जमघट मात्र हुन पुग्दछ । पार्टीमा अन्तर्विरोध छ तर त्यसलाई सम्हालेर लान नसक्ने हो भने पार्टी अराजकमण्डलीमा परिणत हुन्छ । त्यसकारण पार्टीलाई भजनमण्डली र अराजकमण्डली हुनबाट जोगाउनु पर्दछ । पार्टीभित्रको अन्तर्विरोधलाई एकता–संघर्ष र रुपान्तरणको विधिबाट हल गर्दै जानु पर्दछ । त्यसो गर्न सकेमा नै क्रान्तिका लागि आत्मगत परिस्थिति बलियो बनाउन सकिन्छ ।
० पार्टी जीवनमा फुट र एकताको लामो अनुभव यहाँसित छ । विगतका फुट र एकताबाट सकारात्मक, नकारात्मक शिक्षा के लिनु पर्दछ ?
–सही के हो र गलत के हो भन्ने कुरालाई बढ्ता ध्यान दिनु पर्दछ । हामीले पूर्व समूहको मान्यतालाई मात्र पक्रेर बस्नु हुँदैन । एकैचोटी पूर्व समूहको मान्यता, आचरण, व्यवहार सोचाई त्याग्न सकिंदैन । तर हाम्रो प्रयास तथ्यबाट सत्यलाई पक्रिएर अगाडि बढ्ने हुनुपर्दछ । यो वा त्यो पूर्व समूहले हैन कि हामी सबैले माक्र्सवादी–लेनिनवादी पद्धतिलाई पक्रिएर जानुपर्दछ । हामी सबै संयमित, इमान्दार र क्रान्तिकारी बन्नुपर्दछ ।
० पार्टी एकता भएपछि दुई खालले विरोध भइरहेको छ । एउटा पक्षले माओवाद विरोधी, जातीय अधिकारको विरोधी, संघीयताका विरोधी, जनयुद्धलाई अपमान गर्नेहरुलाई पार्टीभित्र हुल्यो भनेर विरोध गरिरहेका छन् । अर्को पक्षले कम्युनिस्ट पृष्ठभूमिका बीचमा एकता भएको छ भन्ने कुरा समेत बिर्सिएर जातिवादी सित, संघीयतावादी सित अझ कतिपयले त विखण्डनवादीसित पार्टी एकता ग¥यो भनेर विरोध गरेका छन् ।
–हेर्नुस । पहिलो कुरा के हो भने जनताको चाहना र इतिहासको आवश्यकता अनुसार हामीले एकता गरेका हौं । हामीले हेर्नुपर्ने मुख्य कुरा के हो भने माक्र्सवादी लेनिनवादी शक्तिका बीचमा एकता गरेका छौं कि गैरमाक्र्सवादी–गैरलेनिनवादी सित एकता गरेका छौं । यथार्थता के हो भने हामीले मूलभूत रुपमा माक्र्सवादी लेनिनवादी शक्तिका बीचमा एकता गरेका छौं । तपाईले भन्नुभए झैं माओवादीका विरोधी, संघीयताका विरोधी, संघीयताका पक्षपातिसँग एकता गरे भन्नेहरुको तर्कका पछाडि लाग्ने हो भने त पार्टी एकता नै हुँदैन । त्यस्ता विचार पार्टी र क्रान्तिको अहितमा छन् । त्यसरी कुरा उठाउने दुई खालका हुन्छन्, एउटा कुरा नबुझेर त्यस्ता कुरा उठाएका हुन्छन्, तिनीहरुलाई तर्क राखेर सम्झाउनु पर्दछ । अर्को खालका मानिसहरु कुनियत राखेर नै त्यस्ता कुरा उठाउँछन् –उनीहरुको हामीले डटेर खण्डन गर्नुपर्दछ ।
० माक्र्सवाद भनेको त प्रयोग गर्ने विज्ञान हो । नेपाली कम्युनिस्ट आन्दोलन माक्र्सवादलाई प्रयोग गर्ने मामलामा कति सफल भयो, कति असफल भयो ?
–माक्र्सवादलाई नेपाली समाजमा प्रयोग गर्ने काम हुँदै आएको छ । पार्टी स्थापना भएपछि ठूला ठूला किसान आन्दोलन भए । जनआन्दोलन, जनसंघर्ष, किसान संघर्ष, मजदुर संघर्ष, पिछडिएका जाति, वर्ग, लिंग, समुदायको अधिकारका लागि संघर्ष, जनयुद्ध यी सबै प्रयोग नै हुन् । झापा विद्रोह प्रयोग नै हो । त्यो कति ठीक कति बेठीक भन्ने अर्को कुरा हो । तर जे भए पनि त्यो प्रयोग नै हो । चुनाव उपयोग पनि प्रयोग नै हो । विगतका सबै जनसंघर्ष, सशस्त्र संघर्षका सवल र दुर्वल पक्षहरुबाट शिक्षा लिंदै फेरि हामी नयाँ प्रयोगमा जानु पर्दछ । पुरानै कुरालाई दोहोराएर प्रयोग गर्नु हुँदैन । नेपालको आज विकसित वस्तुगत परिस्थितिको ठोस मूल्यांकन गरेर त्यसमा माक्र्सवादको प्रयोग गरेपछि क्रान्ति सम्पन्न हुन्छ ।
० माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादले पदार्थको रुपान्तरण हुन्छ अन्त्य वा समाप्त हुँदैन भन्छ । तर पदार्थको अन्त्य पनि हुन्छ । त्यसैले माक्र्सवादी दर्शन असफल भइसक्यो भन्ने भनाई सुनिन्छ । यसबारे के भन्नुहुन्छ ।
–यो पुरानै कुरा हो । लेनिनको समयमा प्रकृति विज्ञानमा भएको विकासलाई गलत ढंगले व्याख्या गरेर प्रतिक्रियावादी र संशोधनवादीहरुले पदार्थ गायव भयो उर्जा मात्र रह्यो भनेका थिए । पहिले पदार्थको अन्तिम रुप परमाणु हो भनिन्थ्यो । परमाणु भित्र पनि इलेक्ट्रोन, न्यूट्रोन, प्रोटोन हुन्छ भन्ने कुरा विज्ञानले पत्ता लगायो । विगतको सापेक्षतामा परमाणुु थियो लेनिनको समयको सापेक्षतामा इलेक्ट्रोन भयो । पदार्थ अनन्त छ । आगामी दिनमा थप नयाँ अनुसन्धान हुँदै जान्छ । तसर्थ माक्र्सवादी दर्शन असफल भयो भन्ने कुरा सही हैन ।
० दर्शनको कुरा गर्दा द्वन्द्ववाद र भौतिकवादको खोजी माक्र्सवादीहरुले नेपाली समाजमा पनि गर्नुपर्ने होइन र ? यहाँका आदिवासी जाति, जनजातिहरुका इतिहास र संस्कृतिमा पनि द्वन्द्ववाद कति छ , भौतिकवाद कति छ ?
–दर्शन भनेको चिन्तनको विषय हो । द्वन्द्ववाद र भौतिकवाद जहाँ पनि हुन्छ । द्वन्द्ववाद र भौतिकवाद नमान्नेहरुले पनि जीवनमा द्वन्द्ववाद र भौतिकवादको प्रयोग गरिरहेका हुन्छन् । नेपालका विभिन्न जात÷जाति, आदिवासी र जनजातिहरुको इतिहास र संस्कृति हेर्दा आदिम भौतिकवाद अर्थात् प्राकृतिक भौतिकवादका प्रशस्त लक्षणहरु भेटिन्छन् । नेपालका जातजाति, आदिवासी तथा जनजातिहरुका पुजा गर्ने देवताहरु प्रकृति छन् । त्यो प्राकृतिक भौतिकवाद हो । ती वैज्ञानिक भौतिकवाद हैनन् । हुन सक्ने कुरा पनि भएन ।
नेपालमा दर्शनको विकासको कुरा गर्दा जनकपुर र कपिलवस्तु जानुपर्दछ । कपिलवस्तुका गौतम बुद्धको द्वन्द्ववाद, जनकपुरका यज्ञवल्क्यको आदर्शवादको अध्ययन गर्नुपर्दछ । सांख्य दर्शन भौतिकवादी दर्शन हो । यो नेपाल मै विकास भएको दर्शन हो । यो नेपालीहरुकै खोज हो । धाराको कुरा गर्नुहुन्छ भने भौतिवादी धारा साँख्य दर्शन, आदर्शवादी धारा यज्ञवल्क्यको आदर्शवादी दर्शन र द्वन्द्ववादी धारा बौद्ध दर्शन । यी सबै दर्शनबारे हाम्रो अध्ययन हुनुपर्दछ ।
० अब तपाईको पछिल्लो दार्शनिक कृति “हिमाली दर्शन” बारे कुरा गरौं । पुस्तकको अरु लेखक, समीक्षक र पाठकले समीक्षा गर्ने एउटा पाटो हो तर आफूले लेखेको पुस्तकको आफैले त्यसका विशेषताबारे भन्नुपर्दा के भन्नु हुन्छ ?
–“हिमाली दर्शन” पुस्तकको बारेमा तीन वटा विशेषताबारे भन्छु–पहिलो, नेपाली दर्शनलाई पनि भारतीय दर्शन नै भन्दै आएको अवस्था देखिन्छ । जस्तो कि बुद्ध दर्शन, साँख्य दर्शन र याज्ञवल्क्यको दर्शन सबैलाई भारतीय दर्शन अन्तर्गत राखिन्छ । तर मैले के गरे भने भारतमा विकसित दर्शनलाई भारतीय दर्शन भन्ने, नेपालीमा विकसित दर्शनलाई नेपाली दर्शन भन्ने र भारत र नेपाल दुवै तर्फको दर्शनलाई हिमाली दर्शनको संज्ञा दिएँ । दर्शनमा भारतीय प्रभुत्वलाई तोड्नका लागि मैले दक्षिण एशियाली उपमहाद्वीपको दर्शनलाई हिमाली दर्शनको नामाकरण गरेको हुँ ।
दोस्रो, समग्र हिमाली दर्शनको अध्ययन गर्दा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र अधिभूतवादका बीचमा कसरी संघर्ष हुँदै आएको छ भन्ने कुरालाई ऐतिहासिकरुपले समीक्षा गर्ने प्रयास गरेको छु ।
तेस्रो, परमाणुवादको बारेमा बढी खोज्ने प्रयास भएको छ । यहाँ परमाणुवादलाई विकसित गर्नमा न्याय दर्शन र वैश्वशिक दर्शनको योगदान छ । ती दर्शनमा के छ भनेर अध्ययन गरिएको छ । यहाँको तर्कशास्त्र, ज्ञान सिद्धान्त, द्वन्द्ववादलाई उजागर गर्ने प्रयास गरिएको छ ।
संस्कृत भाषालाई यहाँ बाहुनको भाषा भनिन्छ । त्यस्तो हैन । संस्कृत भाषामा द्वन्द्ववाद, अधिभूतवाद, भौतिकवाद, आदर्शवाद सबै छ । संस्कृत भाषामा सबै थोक छ भन्नु पनि गलत हो । संस्कृत भाषाको कुनै काम छैन भन्नु पनि गलत हो ।
० आजको विश्व राजनीतिबारे थोरै कुरा राखौं । नेपाल पनि आजको विश्व राजनीतिबाट प्रभावित भइरहेको छ । नेपालीहरु रुस–युक्रेन युद्धमा मरिरहेका छन् । इज्रायल–हमास युद्धमा १० जना नेपाली विद्यार्थी मरे । लापत्ता भएको विद्यार्थीको अत्तोपत्तो छैन । के विश्वको शक्ति सन्तुलन परिवर्तन हुन थालेको हो कि ?
–रुस–युक्रेन युद्धलाई हेर्दा साम्राज्यवादीहरुले क्षेत्रीय युद्धको अभ्यास गरिरहेको जस्तो देखिन्छ । रुस–युक्रेन युद्धमा नाटोदेखि अमेरिकी साम्राज्यवाद सबै लागेका छन् ।
–इजरायली–प्यालेष्टाइन युद्ध पनि क्षेत्रीय युद्ध जस्तो नै छ । इज्रायली विस्तारवाद अर्थात् यहुदिवादले प्यालस्टाइनी जनताको स्वतन्त्रता र मुक्ति संघर्षलाई दमन गरिरहेको छ । त्यसमा पनि पूरै साम्राज्यवादीहरु लागिरहेका छन् ।
–अहिले पनि साम्राज्यवादी र उत्पीडित राष्ट्रहरुको बीचको अन्तर्विरोध नै प्रधान हो । तर विश्व युद्ध भयो भने अन्तर साम्राज्यवादी युद्ध विश्वको प्रमुख अन्तर्विरोध हुनेछ । हामीले विश्वयुद्धको विरोध गर्नुपर्दछ । यदि विश्वयुद्ध हुने नै भयो भने हामीले विश्व युद्धलाई क्रान्तिमा परिवर्तन गर्ने गरी अगाडि बढ्नु पर्दछ ।
० मोहन विक्रम सिंहजीले आफ्नो पुस्तक “दोस्रो महाधिवेशनदेखि दरभंगा प्लेनमसम्म” तयार गर्दा मोहन वैद्यजीले मद्दत गरेको भन्दै तपाईलाई धन्यवाद भन्नु भएको रहेछ ?
–हो, मैले उहाँको त्यो पुस्तकलाई छापामा लैजान भन्दा पहिले केही अंश सारिदिएर, मद्दत गरेको हुँ । सबै हैन । केही अंश सारेर मद्दत गरेको हुँ ।
० २०४० सालको फुट असाध्य नमिठो फुट भन्छन् । अहिले सबैले गलत भएको थियो भन्छन् ?
–त्यो फुटलाई रोक्न सकिन्थ्यो । पहिले मोहनजी र लामाजी असाध्य मिल्नु हुन्थ्यो । मिलेर चौथो महाधिवेशनमा आउनुभयो । उहाँहरुबीच अन्तर्विरोध बढेपछि सुरुमा म, भक्तबहादुर श्रेष्ठ, जयगोविन्द साह, काजी साहेव लागेर मिलाउने कोशिश ग¥यौं । तर भएन । हामीले मिलाउने कोशिश गरेपछि मोहनजीले हामीलाई तेस्रो गुट जन्म्यो भन्नुभयो । मोहनजीले नेतृत्व कब्जा गर्ने भयो भन्ने आशंका, लामाजीले मलाई समाप्तै गर्ने भयो भन्ने आशंका र एकदम अविश्वास बढ्यो । अन्त्यमा लामाजीले गल्ती गर्नुभयो । केन्द्रीय समिति नै भंग गराउनु भयो । नेतृत्वका सम्बन्धमा उहाँहरुको दृष्टिकोण ठीक भएन ।
० नेकपा (मशाल) को पुनर्गठन भएपछि त एकता भयो तर यो एकता त पहिले नै मोहनविक्रमजी सित पनि एकता गर्न छलफल भएको थियो, हैन र ?
–हो । मोहनजीले सिद्धान्त र रणनीति मिल्छ हाम्रो कार्यनीति मिल्दैन । कार्यनीति नमिल्दा पनि पार्टी एकता गर्न गाह्रो पर्छ भन्नुभयो । सरकारमा जान सकिने उहाँको कार्यनीति थियो । उहाँको एकता प्रति रुची भएन । उहाँ हामीसित भन्दा प्रचण्डतिर नजिक हुनुभयो । जनयुद्धमा जाँदा घोर विरोध गर्नुभयो । प्रचण्ड संशोधनवादी भएपछि उता नजिक हुनुभयो ।
० देशको राजनीति त अध्ययन गरिरहनु भएको छ । संसदमा हंगामा भएछ । के भन्नुहुन्छ ।
–संसदीय व्यवस्था चरम संकटमा फस्दै गएको छ । संसदीय व्यवस्थाको फासिवादीकरण भइरहेको छ । सत्ताधारकिा बीचमा चरम अन्तर्विरोध छ । उनीहरुले देश जनताका समस्या समाधान गर्न सक्ने वाला छैनन् । त्यसले क्रान्तिकारी आन्दोलनलाई वस्तुगत परिस्थिति निर्माण गर्दै गएको छ ।
० पार्टीको आगामी कार्यक्रम के छ ?
–राष्ट्रियस्तरमा एकता अधिवेशन सम्पन्न भयो । अहिले प्रदेशस्तरमा एकता चल्दैछ । एकता प्रक्रिया पूरा गर्दै हामी एकता महाधिवेशनमा जान केन्द्रको बैठक बसेर तिथिमिति तय गर्नेछौं ।
हाक साप्ताहिक हाँक टुडे डट कमबाट

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?