चितवन : चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा आगजनी गरिएको छ ।
विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्कुक बसमा ६ जनाको समूहले आगजनी गरेका हुन् ।
बस जलेर पूर्ण रुपमा क्षति भएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएको बुझिएको छ । हाल उनिहरु सबै फरार रहेको प्रहरीले बताएको छ ।
बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन् । सो समूहले ‘कार्बाही गर्छौं भनेका थियौं, गरियो’ भनेर गएको सहचालकले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा आगो निभाउन र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।
त्यस्तै उक्त घटनाको जिम्मेवारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिती चितवनले लिएको छ ।
आइतबार संगठनका जिल्ला संयोजक सुमनाले एक प्रेस वक्तव्य जारी गरेर घटनाको जिम्मेवारी लिएकी हुन् । संयोजक सुमनाद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा विद्यार्थीहरूको निःशुल्क शिक्षा, अनिवार्य र वैज्ञानिक शिक्षाका लागि उच्च तहसम्मको सम्पूर्ण सङ्गायमा निःशुल्क शिक्षाको ग्यारेण्टी गर्न संगठनले सङ्घर्ष गरिरहेको उल्लेख छ ।
स्मल हेभेन स्कुलले चर्को शुल्क असुल्ने, अभिभावकहरूलाई शोषण गर्दै आएको हुँदा पटकपटक चेतावनी दिँदासमेत प्रवाह नगरेको हुँदा अखिल (क्रान्तिकारी) चितवनद्वारा स्मल हेभेन स्कुलको बसमाथि चेतावनी पुर्वक कारवाही गरिएको क्रान्तिकारीले जनाएको छ ।