
(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा महाधिवेशन आयोजक समितिका संयोजक कमरेड किरणद्वारा प्रस्तुत र पारिति राजनीतिक प्रतिवेदनको “राजनीतिक पार्टीहरूको विश्लेषण” खण्ड )
५. राजनीतिक पार्टीहरूको विश्लेषण
आज नेपालमा संसद तथा सरकारमा आबद्ध र संसद तथा सरकार बाहिर विभिन्न राजनीतिक पार्टीहरु तथा समूहहरू क्रियाशील रहिआएका छन् । तिनको सही मापदण्डका आधारमा विश्लेषण गर्न आवश्यक छ । वर्गीय, विचारधारात्मक तथा राजनीतिक मान्यता, तदनुरुप बनाइएका नीति, कार्यक्रम तथा कार्यदिशा र व्यावहारिक गतिविधिलाई मापदण्ड बनाई त्यसप्रकारका राजनीतिक पार्टीहरूको विश्लेषण गर्नुपर्दछ । यस प्रकारका मापदण्डहरूमा वर्गीय मापदण्डलाई प्रधानता दिनु पर्दछ । विभिन्न राजनीतिक दलहरूमा विभिन्न समयमा दीर्घकालीन तथा तत्कालीन दृष्टिले परिवर्तन पनि हुने गर्दछ । र तदनुसार तिनको विश्लेषण गर्नु आवश्यक हुन्छ । तदनुसार नेपालमा अस्तित्वशील मूल राजनीतिक पार्टीहरूको विश्लेषण यसरी गर्न सकिन्छ ।
१). क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नेपाली सर्वहारावर्गको अग्रदस्ता तथा राजनीतिक पार्टी हो र यसले सर्वहारा वर्ग तथा उत्पीडित जनताका हक, हित एवम् अधिकार प्राप्तिका लागि संघर्ष गर्दछ । यसले आफ्नो पदप्रदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई अंगीकार गर्दछ र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने तथा सामाजिक रूपान्तरणमा बल प्रयोगको भूमिकालाई स्वीकार गर्ने नीति, कार्यक्रम तथा कार्यदिशा अवलम्बन गर्दछ । यसको अन्तिम लक्ष साम्यवाद हो । यद्यपि पार्टीमा निम्न पुँजीवादी मानसिकताजन्य कैयौँ कमी कमजोरी तथा सीमा पनि रहेका छन्, परन्तु हामी तिनलाई सुदृढीकरण र शुद्धीकरण आन्दोलनका बीचबाट हटाउँदै र रूपान्तरित हुँदै अगाडि बढ्नका लागि प्रतिबद्ध रहिआएका छौं ।
२). वाम राजनीतिक पार्टीहरू
कट्टेल नेतृत्वको नेकपा, आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, लोक नारायणले नेतृत्व गरेको नेकपा, धर्मेन्द्र वास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत) वाम राजनीतिक पार्टीहरू हुन् । कट्टेल समूहले माक्र्सवाद–लेनिनवाद–माओविचारधारा र बल प्रयोगको भूमिकालाई स्वीकार गर्दछ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवाद, वैज्ञानिक समाजवाद र सशस्त्र जनविद्रोहलाई स्वीकार गर्दछ । यसले विज्ञान प्रविधिलाई मुख्य उत्पादक शक्ति तथा अतिरिक्त मूल्यको स्रोत मान्दै श्रमिक वर्ग एवम् मानवीय श्रमशक्तिको भूमिकालाई प्रमुख स्थानमा राख्दैन । वर्ग संघर्षको स्वरुप बदलिएको कुरा बताउँदै सर्वहारा वर्गको अधिनायकत्वको विषयमा समेत मौनधारण गरेको छ । यस स्थितिमा त्यसको वैज्ञानिक समाजवाद सुधारवादी समाजवाद बन्न गएको देखिन्छ । नेकपा बहुमत दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति बोकेको पार्टी हो । यी पार्टीहरुमा निम्न पुँजीवादी चिन्तन तथा प्रवृत्तिजन्य कैयौं विचारधारात्मक, राजनीतिक तथा सांगठनिक अस्पष्टता तथा विचलन रहेका छन् ।
३). दक्षिणपन्थी राजनीतिक पार्टीहरू
नेकपा (मसाल), नेकपा (माले), नेमकिपा र नेकपा विप्लव समूह दक्षिणपन्थी राजनीतिक पार्टी अन्तर्गत पर्दछन् र तिनले निम्न पुँजीपति वर्गको दक्षिणपन्थी हिस्साको प्रतिनिधित्व गर्दछन् । मसालले माक्र्सवाद–लेनिनवाद, माओविचारधारा र सर्वहारा सांस्कृतिक क्रान्तिका मान्यतालाई स्वीकार गरेपनि माओवादप्रति विमति राख्दछ । नयाँ जनवाद र दीर्घकालीन जनयुद्धको मान्यतालाई स्वीकार गरेपनि त्यसको कार्यान्वयन तर्फ कहिल्यै ध्यान दिँदैन र त्यो संसदवाद तथा मिलेरांवादको अभ्यासमा संलग्न रहिआएको छ । मालेले माक्र्सवाद–लेनिनवाद, माओ विचारधारा र नयाँ जनवादलाई माने पनि त्यो एकातिर पुनरुत्थानवादप्रति आकर्षित हुँदै गएको छ भने अर्कोतिर विचारधारात्मक तथा राजनीतिक प्रश्नमा अस्पष्ट रहिआएको छ । नेमकिपाले माक्र्सवाद–लेनिनवाद, माओ विचारधारा र समाजवादलाई अवलम्बन गरे पनि त्यो संसदवादबाट बढी प्रदूषित रहिआएको छ । यी सबैले निम्न पुँजीवादी वर्गीय शक्तिको प्रतिनिधित्व गर्दछन् र यिनमा दक्षिणपन्थी अवसरवाद प्रभावी रहेको छ । नेकपा विप्लव समूहले माक्र्सवाद–लेनिनवाद–माओवाद मानेको बहाना गरे पनि लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण तथा संस्थागत गरी शान्तिपूर्ण रुपमा समाजवादमा जाने र वर्तमान संविधानको रक्षा गर्ने मान्यताप्रति प्रतिबद्ध रहँदै माके, एस, जसपा सहितको समाजवादी मोर्चामा आबद्ध भई तथा नेकपा (माके) को सन्निकट रही दक्षिणपन्थी दिशा पक्डेको छ । साथै, यस प्रकारका राजनीतिक पार्टीहरुमा कैयौं दिग्भ्रमित तथा इमान्दार क्रान्तिकारीहरु पनि रहेका छन् ।
४). पुनरुत्थानवादी राजनीतिक पार्टी
पुनरुत्थानवादी राजनीतिक पार्टी अन्तर्गत मूलतः राष्ट्रिय प्रजातन्त्र पार्टी पर्दछ । निरंकुश राजतन्त्र तथा पञ्चायती व्यवस्थाको विरासतका रुपमा जन्मिएको यो पार्टी पुनरुत्थानवादी शक्ति हो । यसले संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पुनस्र्थापनालाई आफ्नो विचारधारा तथा राजनीतिको मूल आधार बनाउँदै आएको छ । यो गणतन्त्र तथा धर्म निरपेक्षताको विरोधमा उभिएको छ । यसले वर्गीय रुपमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको प्रतिनिधित्व गर्दछ ।
५). संसदवादी यथास्थितिवादी राजनीतिक पार्टीहरू
संसदवादी राजनीतिक पार्टीहरू अन्तर्गत मूलतः सर्वप्रथम नेपाली कांग्रेस आउँछ र अन्य कतिपय राजनीतिक पार्टी पनि पर्दछन् । वर्गीय रुपमा नेपाली कांग्रेसले दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको प्रतिनिधित्व गर्दछ । विचारधारात्मक तथा राजनीतिक रुपमा यसले बहुलवाद, प्रजातान्त्रिक समाजवाद र संसदीय लोकतन्त्रलाई अंगीकार गर्दछ । यसले आफूलाई संसदीय लोकतन्त्रको एकमात्र मसिहा ठान्दछ । अहिले यो वर्तमान राज्यसत्ता, वर्तमान संविधान र संसदीय व्यवस्थाको एक प्रमुख पक्षधर रहिआएको छ । नेपाली कांग्रेस संसदवादी यथास्थितिवादको पक्षधर रहिआएको पुरानै पार्टी हो ।
अहिले पुरानो रैथाने संसदीय यथास्थितिवादी पार्टी सहित सबै संसदवादी राजनीतिक दलहरुलाई असक्षम, असफल तथा असमर्थ बताउँदै पुरानो राज्यसत्ता, वर्तमान संविधान र संसदीय व्यवस्थाको असली पक्षधरका रुपमा आफूलाई पेश गर्दै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने मान्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमा आएको छ र यो संसदमा पनि चौथो स्थानमा रहेको छ । रास्वपा रूपमा निकै तामझाम सहित पेश भएपनि सारमा दलाल तथा नोकरशाही एवम् सामन्त वर्गकै प्रतिनिधित्व गर्ने संसदीय यथास्थितिवादी पार्टी नै हो । यसलाई यस प्रकारका अरु पार्टीहरूको तुलनामा साम्राज्यवादको थप आशीर्वाद प्राप्त भएको छ ।
६). दक्षिणपन्थी संशोधनवादी तथा संसदीय यथास्थितिवादी पार्टीहरू
नेपालमा एकातिर दक्षिणपन्थी संशोधनवाद र अर्कोतिर संसदीय यथास्थितिवादलाई शिरोधार्य गर्ने कतिपय राजनीतिक पार्टीहरू पनि अस्तित्वशील रहिआएका छन् । यस प्रकारका पार्टीहरूमा मूलतः नेकपा एमाले, नेकपा माके र नेकपा एकीकृत समाजवादी पार्टीहरू पर्दछन् । रुपमा यी सबैले आफूलाई कम्युनिस्ट पार्टी, एमाले तथा एसले माक्र्सवाद–लेनिनवाद एवम् माकेले माक्र्सवाद–लेनिनवाद–माओवाद र समाजवादको पक्षधर बताए पनि सारमा यी क्रान्तिकारी कम्युनिस्ट पार्टी, माक्र्सवाद–लेनिनवाद–माओवाद सहित समग्र कम्युनिस्ट विचारधारा र वैज्ञानिक समाजवादका विरुद्ध उभिएका छन् । यी एकातिर वर्गीय रूपमा दलाल एवम् नोकरशाही पुँजीपति तथा सामन्तवर्गीय राज्यसत्ता र अर्कोतिर राजनीतिक रुपमा वर्तमान संसदीय व्यवस्था तथा संविधानको पक्षधर एवम् रक्षा कवच बनेर प्रस्तुत हुँदै आएका छन् । यी सबैले वर्ग समन्वयवाद, बहुलवाद, सारसंग्रहवाद तथा शान्तिपूर्ण संसदीय प्रतिस्पर्धाको मान्यता अवलम्बन गरेर पश्चगामी वर्ग, राज्यसत्ता तथा व्यवस्थाको असली संवाहकका रुपमा आफूलाई देखाएर साम्राज्यवाद÷विस्तारवादद्वारा नेपाली जनता तथा नेपालका विरुद्ध लादिएका असमान सन्धि, सम्झौता, विभिन्न ढङ्गका शोषण उत्पीडनलाई यथावत स्वीकार गरेर एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई संसदबाट अनुमोदन गराएर र नवउदारवादी आर्थिक नीतिको समर्थन तथा कार्यान्वयन गरेर स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिका सामु आत्मसमर्पण गरिसकेका छन् र स्वयम् नव कुलीन वर्ग तथा नव प्रतिक्रियावादी शक्तिका रुपमा प्रकट भइरहेका छन् ।
साम्राज्यवाद र संशोधनवादका बीच घनिष्ठ सम्बन्ध हुन्छ । साम्राज्यवादको थालनीको क्रममा माक्र्स–एङ्गेल्सले इङ्ग्ल्यान्डको मजदुर वर्गको राजनीतिक पार्टी पुँजीवादी मजदुर पार्टीमा बदलिएको यथार्थमाथि राम्रो प्रकाश पार्नुभएको थियो । पुँजीवादको उत्कर्षका रुपमा साम्राज्यवाद अस्तित्वमा आएको स्थितिमा त्यस प्रकारका मजदुर पार्टीहरूको गठन विभिन्न देशहरुमा हुँदै आएको कुरा बताउनु भएको थियो । साथै, लेनिनले के पनि बताउनु भएको थियो भने साम्राज्यवादको जुठोपुरो खाई त्यस प्रकारका बुर्जुवा मजदुर पार्टीहरूले माक्र्सवाद स्वीकार गरेको बहाना बनाई माक्र्सका नाममा शपथ ग्रहण गर्ने, माक्र्सवाद, मजदुर पार्टीलाई साइनबोर्ड वा विज्ञापनका रूपमा प्रस्तुत गरी जनतालाई दिगभ्रमित पार्ने कसरत गर्दछन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालका सन्दर्भमा पनि कम्युनिस्ट पार्टीका नेताहरूको वर्गोउत्थान हुने र सिङ्गो पार्टीले आफ्नो वर्गीय कलेवर फेर्ने काम हुँदै आएको छ । नेपालमा पनि एमाले, एस, माके जस्ता पार्टीहरुद्वारा त्यही काम भएको छ । यो कुरा ऐतिहासिक, सैद्धान्तिक तथा व्यावहारिक रुपमा पुष्टि हुँदै आएको छ ।
साथै, यस प्रकारका दक्षिणपन्थी संशोधनवादी तथा संसदीय यथास्थितिवादी पार्टीहरुभित्र कैयौं दिग्भ्रमित तथा इमान्दार क्रान्तिकारीहरु पनि रहेका छन् र त्यसप्रति पनि विशेष दृष्टि दिन जरुरी छ ।
७). जातीय तथा क्षेत्रीय पार्टीहरू
नेपालमा जातीय तथा क्षेत्रीय शक्ति एवम् पार्टीहरूमा मूलतः लोसपा तथा जसपा पर्दछन् । यी दुवै पार्टी वर्गीय मान्यताको विरोधमा जातीय तथा क्षेत्रीय पहिचानमा विशेष जोड दिँदै पहिचानवादको पक्षमा उभिएका छन् । लोसपा नेपाली कांग्रेसबाट अलगिएर बनेको संसदीय यथास्थितिवादमा आधारित रैथाने पार्टी हो । वर्गीय रुपमा यो दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय धरातलमा खडा भएको छ । जसपा कम्युनिस्ट आन्दोलनबाट अलगिएर बनेको कतिपय दक्षिणपन्थी संशोधनवादी विशेषता सहितको संसदीय यथास्थितिवादी पार्टी हो । यसले पनि दलाल नोकरशाही एवम् सामन्तवर्गीय धरातलमा उभिँदै स्वयम् नवप्रतिक्रियावादी शक्तिका रुपमा आफूलाई प्रकट गर्दै आएको छ । यी दुवै पार्टी संघीयताको प्रश्नमा वर्तमान संविधानको विरोधी रहे पनि समग्रमा त्यस संविधानको सारतत्व रहिआएको संसदीय यथास्थितिवादप्रति प्रतिबद्ध रहिआएका छन् । यी दुवै पार्टीलाई भारतीय शासक वर्ग मुख्यतः भाजपाको आशीर्वाद प्राप्त हुँदै आएको छ ।
उक्त विभिन्न राजनीतिक पार्टीहरूको विश्लेषण पश्चात् ती पार्टीहरूप्रति हामीले निश्चित नीति निर्धारण गर्न जरुरी हुन्छ । तसर्थ (१) दलाल, नोकरशाही पुँजीपति एवं सामन्त वर्गको प्रतिनिधित्व गर्ने सत्तासीन राजनीतिक पार्टीहरूलाई क्रान्तिको प्रहारको निशाना बनाउने, (२) सरकारमा नरहेका उक्त राजनीतिक पार्टीहरूसित आवश्यकता अनुसार कार्यगत एकता गर्ने, (३) देशभक्त क्रान्तिकारी जनवादी तथा वामपन्थीहरुसित संयुक्त मोर्चा बनाएर जाने र (४) संशोधनवादी तथा संसदवादी राजनीतिक दलहरूमा रहेका क्रान्तिकारीहरूलाई पार्टीमा आबद्ध तुल्याउनका लागि प्रयत्न गर्ने नीति अवलम्बन गर्नु पर्दछ ।