विराटनगर : आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली साङ्ग्रिला मोरङ एफएबिच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राति सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलासगको उपाधि भिडन्त पक्का गरेको हो ।
अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औँ मिनेटमा निर्णायक गोल गरे । वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनलमा पुर्याए । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए ।
हारपछि सिक्किममा प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरूको फिनिसिङ पक्ष कमजोर भएको कारणले सेमिफाइनलमा हार भएको बताए । ‘निर्धारित ९० मिनेटपछि थप गरिएको समयको अन्तिम एक मिनेट लेफसाइट कमजोर हुँदा गोल खानुपर्यो । त्यो हाम्रो कमजोरी पक्ष भयो,’ उनले भने, ‘अन्तिम समयमा आएर खेलाडीहरू समालिन नसक्दा पराजय भोग्नुपरो ।’
जितपछि पोस्ट म्याच कन्फ्रेन्समा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएको कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको बताए । ‘फिनिसिङ पक्ष हाम्रो सोचेजस्तो भएन । त्यसैले खेल लम्बिएर जितको लागि अतिरिक्त समयसम्म कुर्नुपर्यो’ उनले भने । फाइनलमा विमल घर्ती मगरलाई ल्याउने प्रयास जारी रहेको उनले बताए ।
अन्तिम सेमिफाइनल खेलमा दुवै टिमको फिनिसिङ पक्ष कमजोर रह्यो । सिक्किमका खेलाडी आदर्श तामाङले खेल सुरु भएको नौ मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार बाहिरियो । २८ मिनेटमा सिक्किमका आदर्शले गरेको प्रहार बारमाथिबाट बाहिरिएको थियो । ३२ औँ मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी एनडेसले डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले गोल हुनबाट विफल पारिदिए । त्यसलगतै एनडेसले गरेको प्रहार फ्रेममा पर्न सकेन ।
पहिलो हाफको अतिरिक्त समयमा मनिष श्रेष्ठले दिएको लामो प्रहार हिसुप थपलियाको प्रहार सिक्किम गोलकिपर प्रिसोले उत्कृष्ट बचाए र पहिलो हाफमा मच्छिन्द्रले अग्रता लिने अवसर चुकाए । पहिलो हाफमा दुवै टिमको गोलरहित खेल बराबरी भयो ।
५२ औँ मिनेटमा मच्छिन्द्रका एनडेसको प्रहार बाहिरियो । मच्छिन्द्रका आयुष घलानले ७८ औँ मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले विफल पारिदिए । मच्छिन्द्रका विदेशी खेलाडी ओमालाजा करिमले ८५ औँ मिनेटमा डिबक्स भित्रबाट गरेको उत्कृष्ट हेडिङ बारमाथिबाट बाहिरिएको थियो ।
८९ औँ मिनेटमा सिक्किमका आदर्शले डिफेन्डरलाई क्रस गरेर निकालेको बल पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो ।
गोल्ड कपको विजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् ।