जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई माथि उठाऊँ

महान् जनयुद्ध अलपत्रमा पारिएको १८ वर्ष भइसकेको छ । नेपाली जनताले लडेको महान् जनयुद्धका कार्यभार पूरा गर्न क्रान्तिलाई अझै माथि उठाउने कार्यभार आज मालेमावादी क्रान्तिकारीको काँधमा छ । देश र श्रमिक वर्गको मुक्तिका लागि अब कुनै पनि बहानामा अलमल गर्ने छूट क्रान्तिकारीहरूलाई छैन । असली क्रान्तिकारीहरूले अब जमेको हिउँ फोर्ने समय आएको छ ।

आज सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट सामन्तवादका अवशेषहरू, दलाल पुँजीवादी संसद्वाद, साम्राज्यवाद, सबैखाले प्रतिक्रियावाद, अवसरवाद, संशोधनवाद, अकर्मण्यतावाद, गोलचक्करवादलगायत क्रान्तिविरोधी शक्तिहरूको पराजय नहुँदासम्म र नेपाली जनताले मुक्तिको सास फेर्ने वैज्ञानिक समाजवाद स्थापना नहोउन्जेलसम्म यो जारी छ, जारी रहनेछ ।

महान् जनयु्द्धमा बलिदान गर्ने महान् सहिदका परिवारजनहरू, बेपत्ता योद्धाका परिवार तथा घाइते योद्धाहरू, जनयुद्धमा लामबद्ध शक्ति, समर्थक, शुभचिन्तक सबैमा हामी २९ औँ महान् जनयुद्ध दिवसको हार्दिक शुभकामना प्रकट गर्दछौँ । महान् जनयुद्ध हाम्रो मुक्तिको प्रेरणाको स्रोत हो । यो दिवसले सम्पूर्ण मालेमावादी, क्रान्तिकारीहरूमा वर्गमित्रप्रति असीम माया, श्रद्धा र समर्पणभाव जगाउँछ भने वर्गदुस्मनप्रति थुकथुकी र घृणा उत्पन्न गराउँछ । त्यसैले वर्गशत्रुका विरुद्ध दार्शनिक, वैचारिक, राजनीतिक, साङ्गठनिक ऊर्जा प्रदान गर्ने यो दिवस असी प्रतिशत भूभागमा जनसत्ता सञ्चालन गरेका र बाँकी बीस प्रतिशत भूभागका श्रमिक जनताको आशाको धुकधुकी हो । यो आशाको केन्द्र, यो विश्वासको ऊर्जा र धुकधुकी बचाइराख्नुपर्छ । जनयुद्धको स्पिरिट बचाइराख्नुको अर्थ जनयुद्धको कार्यभार पूरा गर्नु हो । संशोधनवादी, अवसरवादी, जडसूत्रवादीहरूबाट जनयुद्धका कार्यभार पूरा गर्न सम्भव छैन । यो दायित्व असली क्रान्तिकारीहरूको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा लामबद्ध क्रान्तिकारी तप्काबाट नै यो दायित्व पूरा गर्न सम्भव छ । देशभर हजारौँ क्रान्तिकारी युवाहरूको क्रियाशीलता, नयाँ गर्ने र पार लगाएरै छोड्ने हुटहुटी अनि क्रान्ति पूरा गर्ने तत्परताले यो दुर्लङ्घ्य पहाडजस्तो बनाइएको तर अत्यावश्यक क्रान्तिकर्म पूरा हुने विश्वास क्रान्तिकारी तप्काले गरिरहेको छ । महान् जनयुद्ध दिवस मनाउनुको तात्पर्य हजारौँ, सहिद, बेपत्ता योद्धा, घाइते–अपाङ्ग योद्धाका साथै सम्पूर्ण श्रमजीवी सर्वहारा वर्गको मुक्तिको सपना पूरा गर्ने कर्मसँग गाँसिएको छ । त्यो सम्भव छ र अपरिहार्य छ । बरु आलटाल र विलम्बले क्रान्ति असम्भव छ भन्नेहरूलाई नै टेवा पुगिरहेको छ । अब सबै किसिमका भ्रमहरूबाट मुक्त हुँदै क्रान्तिकारी आन्दोलन अघि बढाउनुको विकल्प छैन । सम्पादकीय

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?