मन्त्रीसहितकाे टोली रित्तो हात फर्कियो, जग्गा नपाएसम्म होल्डिङ सेन्टर नछाड्ने

भक्तपुर : बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिएर बसिरहेका सुकुम्बासीलाई मनाउन पुगेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको टोली बिना निष्कर्ष फर्किएको छ। सुकुम्बासीहरूले जग्गा नपाएसम्म आफूहरूले होल्डिङ सेन्टर नछाड्ने अडान लिएपछि टोली फर्किएको हो।

मन्त्री प्रतिभा रावल, काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारीलगायतको टोली सुकुम्बासीलाई मनाउन त्यहाँ पुगेको थियो। टोलीले सुकुम्बासीहरूलाई तत्काल होल्डिङ सेन्टर छाड्न र त्यसबापत सरकारले तीन महिनासम्म मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको थियो। तर, सुकुम्बासीहरूले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।

करिब दुई घण्टासम्म भएको छलफलमा मन्त्रीसहितको टोलीले आइतबार नै होल्डिङ सेन्टर छाड्न आग्रह गर्दै आगामी तीन महिनाभित्र जग्गाको लालपुर्जा उपलब्ध गराउने आश्वासन दिएको थियो। तर, सुकुम्बासीहरू त्यसमा सहमत भएनन्।

होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका झवरलाल उरवाले लालपुर्जा नपाएसम्म आफूहरू होल्डिङ सेन्टर नछाड्ने अडानमा रहेको बताए।

उनका अनुसार सोमबार मन्त्रीसहितको टोली पुनः थप छलफलका लागि त्यहाँ आउने सहमति भएको छ।

‘यहाँ आएर उहाँहरूले आश्वासन दिँदै हट्न भनिरहनुभयो। तर, मैले जागिर चाहिँदैन, खान चाहिँदैन, जग्गा देऊ भनेको छु,’ उनले भने, ‘नयाँ प्याकेज लिएर आउनुभयो कि भनेर सोचेको थिएँ, तर उल्टै हटाउनका लागि फकाउन आउनुभएको रहेछ। अब हटाउनकै लागि फेरि सोमबार आउनुहुन्छ रे।’ नयाँ पत्रिकाबाट

By जन बिहानी

Related Posts