क्रान्तिको अनिवार्यता र सामुन्नेका चुनौतीहरु

लेखक :विनोद सहयात्री

१. भूमिका
समाज स्थिर हुँदैन, परिवर्तनशील हुन्छ । उत्पादनका शक्तिहरू बढ्दै र विकसित हुँदै जाँदा पुराना उत्पादन सम्बन्धहरू साँघुरो खोल बन्न पुग्छन् । त्यतिबेला समाज दुई बाटोमा उभिन्छ : पुरानै खोलभित्र सडिरहने, गुम्सिरहने वा त्यसलाई च्यातेर अघि बढ्ने । माक्र्सवादी–लेनिनवादी–माओवादी परम्परामा दोस्रो बाटोलाई नै क्रान्ति भनिन्छ । यस परम्पराका अनुसार क्रान्ति कुनै सनकी वा कल्पनाको उपज होइन; यो इतिहासको भौतिक गतिबाट उत्पन्न हुने सामाजिक आवश्यकता हो ।
नेपालजस्तो देशमा यो प्रश्न झनै तीक्ष्ण छ । राजतन्त्र ढल्यो, गणतन्त्र आयो, संघीयता र समावेशिताका शब्दहरू संविधानमा लेखिए । तर लाखौँ युवा विदेशिन बाध्य छन्, अर्थतन्त्र रेमिट्यान्समा अडिएको छ, र सत्ताको अनुहार फेरिए पनि संरचना उही छ भन्ने अनुभूति व्यापक छ । यही पृष्ठभूमिमा यस लेखले दुई प्रश्नको उत्तर खोज्छ : क्रान्ति किन अनिवार्य छ ? र, त्यसको बाटोमा के कस्ता चुनौतीहरू उभिएका छन् ?
२. माक्र्सवादी आधार :इतिहास, वर्ग र अनिवार्यता
माक्र्स र एङ्गेल्सको स्पष्ट दिशानिर्देश छ– समाजको आर्थिक आधार–उत्पादन शक्ति र उत्पादन सम्बन्धले कानुन, राज्य र विचारको अधिरचनालाई आकार दिन्छ । त्यसैले कम्युनिस्ट घोषणापत्रले अहिलेसम्मको समाजको इतिहासलाई वर्ग संघर्षको इतिहास भनेको हो ।
यस दृष्टिमा राज्य तटस्थ संरचना होइन । यो एक वर्गले अर्को वर्गमाथि शासन गर्ने संयन्त्र हो । पुँजीवादमा उत्पादनका साधनमाथि मुठ्ठीभर व्यक्तिहरुको स्वामित्व हुन्छ र बहुसङ्ख्यकले आफ्नो श्रमशक्ति बेचेर बाँच्नुपर्छ । बेसी मूल्य (अतिरिक्त मूल्य)माथिको पुँजीपतिहरुको एकाधिकार नै शोषणको जग हो । उत्पादन सामाजिक हुने तर स्वामित्व निजी रहने यो अन्तर्विरोधले सङ्कट, बेरोजगारी र असमानता पैदा गर्छ ।
अनिवार्यताको तर्क यहाँबाट निस्कन्छ । शासक वर्गले कहिल्यै पनि आफ्नो सम्पत्ति र सत्ता स्वेच्छाले छोड्दैन । इतिहासमा सामन्तवादबाट पुँजीवादमा हुने सङ्क्रमण पनि सुधारले मात्र भएको थिएन, फ्रान्सेली क्रान्ति र अन्य उथलपुथलबाट भएको थियो । त्यसैले सर्वहारा क्रान्तिलाई यस परम्पराले ‘इच्छाको विषय’ होइन, ‘अन्तर्विरोध समाधानको ऐतिहासिक अनिवार्यता’ ठान्दछ ।
३. लेनिनवादः साम्राज्यवाद, पार्टी र राज्य
लेनिनले माक्र्सवादलाई रुसी धर्तीमा इतिहासमै पहिलो पटक सान्दार रुपमा लागू गरेर संसारलाई देखाइदिए । र, वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्थाको अभ्यास गरे । उनले गरेका योगदानहरुमध्ये मूलतः तीनवटा विशेषरुपले उल्लेखनीय छन् ः
पहिलो, साम्राज्यवाद । लेनिनका अनुसार एकाधिकार पुँजी र वित्तीय पुँजीको युगमा पुँजीवाद विश्वव्यापी प्रणाली बन्छ । उसले अविकसित देशहरूलाई कच्चा पदार्थ, सस्तो श्रम र बजारको स्रोतका रूपमा उपयोग गर्छ । आजको विश्व बहुध्रुवीय विश्वतिर उन्मुख छ । नेपालको कच्चा पदार्थ, सस्तो श्रम र बजारमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको एकाधिकार छ । अर्थात् विश्वभर छरिएको नेपाली सस्तो श्रममाथि साम्राज्यवादीहरुकै बहुराष्ट्रिय कम्पनीहरुले लुट (शोषण) मच्चाएका छन् । र, नेपालको बजारमा पनि उनीहरुकै एकाधिकार छ । नेपाल केवल सस्तो श्रम उत्पादन गर्ने, कौडीको मूल्यमा प्राकृतिक सम्पदाहरु साम्राज्यवादी र विस्तारवादी शक्तिहरुलाई सुम्पने र रेमिट्यान्सबाट आएको पैसा पनि साम्राज्यवादी र विस्तारवादी देशका उत्पादनका उपभोगमै खर्चने र देश र जनता अनन्तकालसम्म गरिबीको दुष्चक्रमा फसिरहने स्थिति बनेको छ । र, यहाँको राजनीतिक सत्तामा पनि साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले नै आफ्ना बुख्याँचाहरुलाई विराजमान गराउने र उनीहरुकै स्वार्थ पूरा गराउन कठ्पुलतीको रुपमा प्रयोग गर्ने गर्दै आएको छ । मुठ्ठीभर दलालहरु धनी हुँदै जाने र करोडौं मजुदर, किसानहरु अर्थात् श्रमिक वर्गहरु दिनदिनै गरिब बन्दै जाने स्थितिका कारण ‘आम श्रमजीवी वर्ग र समुदायहरु मरताको क्या नइ करताको स्थितिमा’ संगठित भएर क्रान्तिको आवश्यकताको महसुस गर्न थाल्छन्, क्रान्ति अनिवार्य र अपरिहार्य बन्न पुग्दछ ।
दोस्रो, अगुवा पार्टी । लेनिनले गरेको महत्वपूर्ण अर्को योगदान के हो भने क्रान्ति स्वतःस्फूर्त रुपमा हुँदैन । क्रान्तिका लागि विचार र राजनीतिले लैस पेशेवर क्रान्तिकारीहरूको अनुशासित, केन्द्रीकृत पार्टी चाहिन्छ, जसले श्रमजीवी वर्गलाई राजनीतिक रूपमा सङ्गठित गरोस् । त्यसले मात्रै संगठित र योजनाबद्ध रुपमा क्रान्तिलाई निर्णायक रुपमा अगाडि बढाउन सक्छ र गन्तव्यमा पुर्याउन सक्छ । स्वतःस्फूर्त रुपमा उनले जनताको विद्रोहलाई निश्चित विचार र राजनीतिको मार्गनिर्देशित पार्टीमा संगठित गरेर परिचालन गर्नुपर्दछ । अर्थात् क्रान्तिको लागि एउटा क्रान्तिकारी पार्टी अपरिहार्य रुपमा आवश्यक पर्दछ ।
तेस्रो, राज्यको प्रश्न । राज्य र क्रान्तिमा लेनिनले पुराना बुर्जुवा राज्य–मसिनरीलाई ‘जस्ताको तस्तै कब्जा’ गरेर चलाउन नसकिने, त्यसलाई ध्वस्त पारेर सर्वहारा अधिनायकत्व स्थापना गर्नुपर्ने निष्कर्ष निकालेका छन् । चुनावी सहभागिता कार्यनीतिक उपयोग हुन सक्दछ तर रणनीतिक लक्ष्य हुन सक्दैन, र होइन ।
४. माओवादी विकासः अर्धसामन्ती–अर्धऔपनिवेशिक समाजमा क्रान्ति
माओ त्से–तुङले चीनजस्तो किसान बहुल, अर्धसामन्ती–अर्धऔपनिवेशिक समाजको ठोस विश्लेषण गरी माक्र्सवाद–लेनिनवादलाई लागू गरे । माक्र्सवाद र लेनिवादी सिद्धान्तलाई चिनियाँ भूमिमा लागू गर्दा माओले केही मौलिक योगदानहरु संसारलाई दिएर गए ।
क) नयाँ जनवादी क्रान्तिः सामन्तवाद र साम्राज्यवादविरुद्ध मजदुर, किसान, निम्न पुँजीपति र राष्ट्रिय पुँजीपति वर्गको संयुक्त मोर्चा, जसको नेतृत्व सर्वहारा वर्गले गर्ने र केन्द्रीय राज्यसत्ता कब्जा गरेपछि वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने ।
ख) दीर्घकालीन जनयुद्ध : गाउँमा आधार इलाका निर्माण गरी गाउँले सहरलाई घेर्ने सैन्य–राजनीतिक रणनीति नै दीर्घकालनी जनयुद्ध हो । माओको प्रसिद्ध भनाइअनुसार राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मिन्छ, तर ‘पार्टीले बन्दुकलाई कमान्ड गर्छ, बन्दुकले पार्टीलाई होइन’ ।
ग) जनदिशाः ‘जनताबाट जनतातिर’ जनताको अनुभव सङ्कलन गर्ने, सिद्धान्तमा ढाल्ने, फेरि जनतामा लगेर परीक्षण गर्ने कार्यशैली नै जनदिशा हो ।
घ) सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिः सत्ता कब्जा गरेपछि पनि पार्टीभित्र नयाँ नोकरशाही र पुँजीवादीहरुले टाउको उठाउन सक्ने वा उठाउने प्रवृत्ति पैदा हुन्छ । त्यसैकारण पार्टी र सत्तालाई निरन्तर रुपले सर्वहाराकरण गर्न र वैज्ञानिक समाजवादी आधार निर्माण गर्न निरन्तर रुपमा सर्वहारा सांस्कृतिक क्रान्तिको सैद्धान्तिक दिशानिर्देशनमा अगाडि बढ्नु पर्दछ ।
५. नेपाली सन्दर्भः उपलब्धि र अपूर्णता
नेपालमा पनि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले माक्र्सवाद, लेनिनवाद र माओवादको वैचारिक पथप्रदर्शनमा दशवर्ष जनयुद्धको नेतृत्व गर्यो । २०५२ साल फागुन १ देखि २०६२ सम्म मंसिरसम्म सञ्चालित जनयुद्धले अढाइवर्ष लामो सामन्ती राजतन्त्रलाई ढालेर गणतन्त्र स्थापनाको आधार तयार पार्यो तर जनयुद्ध सुरु गर्दा जसरी नेपालमा मजदुर किसानको संयुक्त अधिनायकत्वमा (सर्वहारावर्गको अधिनाकत्वमा) जनवादी राज्यसत्ताको स्थापना गर्ने उद्घोष गरेको थियो, त्यस्तो राज्यव्यवस्था स्थापना गर्न सफल भएन । नेतृत्वले वर्गीय र राष्ट्रिय रुपमा आत्मसमर्पण गर्न पुग्यो । र, पुरानै संसदीय व्यवस्थालाई पुस्र्थापित गर्न पुग्यो । यो व्यवस्था (लोकतान्त्रिक गणतन्त्र) कस्तो वर्ग चरित्रको भयो भने गणतन्त्र स्थापना (२०६५ जेठ १५) भएयताका वर्षहरुको शासन अभ्यासलाई हेर्दा स्पष्ट रुपमा देखियो र पटक पटक पुष्टि भयो कि ‘दलाल पुँजीपति वर्ग’ले चाहिँ सत्ता कब्जा गर्न पुगेछ । दलाल पुँजीपतिवर्गले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको खुल्लमखुल्ला दलाली गर्ने, चाकडी गर्ने, उनीहरुकै नीति निर्देशनमा शासन गर्ने । हो, यही हुँदै आएको छ विगत १८ बर्षदेखि । नयाँ नयाँ अनुहारहरु प्रधानमन्त्री, मन्त्रि र सांसद भए, तर वर्गचरित्र, वर्गसम्बन्ध, वर्गसत्ता फेरिएन । पुरानै रह्यो । सत्ता र व्यवस्थामा तिनै मुठ्ठिभर दलाल सम्भ्रान्त वर्ग हावी हुँदै आएका छन् । उनीहरुले नै राज्यसत्तामाथि ब्रम्हलुट मच्चाएका छन् ।
गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताजस्ता प्रावधानहरु संविधानमा समेटिनु जनयुद्धकै उपलब्धि भएपनि नेतृत्वको गद्दारीले गर्दा माओवादी आन्दोलननै तितर वितर हुन पुग्यो । क्रान्तिकारी शक्तिहरु विभाजित हुन पुगे । फाइदा जति दलाल पुँजीपति वर्गले लुट्यो ।
क्रान्तिकारी भूमि सुधारको नारा अधुरै रह्यो । राष्ट्रिय उत्पादन कमजोर शुन्यमा पुग्यो । श्रम निर्यात र कच्चा पदार्थ (प्राकृतिक सम्पदा) विदेशमा बेचेर शासन चलाउने । विदेशी ऋणको भारती बोकाउने । उत्पादन ठप्प हुँदा केवल गुन्द्रुक र सिन्कीसम्म विदेशबाट ल्याएर भान्सा चलाउने देश बन्न पुग्यो । दलाल तथा नोकरशाही पुँजीको बलियो गठजोड बन्यो । जनआक्रोश चुलियो । सन् २०२५ मा अन्तर साम्राज्यवादी अन्तरविरोधका कारण नेपालमा जेन–जी आन्दोलनको रुपमा युवाहरुको एउटा विद्रोह भयो । तत्कालीन राज्यव्यवस्थाभित्रको भ्रष्टाचार र सुशासनका विरुद्ध केही युवाहरु स्वतःस्फूर्त रुपमा सडकमा उत्रने परिस्थिति तयार भयो । तर, यसको सम्पूर्ण कमाण्ड कन्ट्रोल भने साम्राज्यवादी शक्तिहरुकै नयाँ दलालहरुको हातमा पुग्यो । ताप्केबाट खसेर भुङग्रोमा भनेझै राजनीतिक पृष्ठभूमिका दलाल राजनीतिक शक्तिबाट आफ्ना स्वार्थहरु पुरा गर्न नसकिने देखेपछि २७ घण्टामा सरकार परिवर्तन गराइयो । र, रातारात नामै नसुनेका नयाँ दलालहरु भटाभट प्रधानमन्त्री र मन्त्रीहरु हुन थाले । निर्वाचन पनि नाटकीय रुपमा सम्पन्न गराइयो । एउटै पार्टीको दुई तिहाइ आउने, त्यो पनि शान्तिपूर्ण मतदानबाट भन्ने भाष्य स्थापित गरियो । र, गैरदलीय चरित्रको व्यक्तिलाई प्रधानमन्त्री बनाइयो । बालेन्द्र शाह नामका व्यक्ति, जो पश्चिमेली संस्कृतिमा हुर्किएका, उनीहरुले नै ‘ब्राण्डिङ’ गरेका, लालनपोषण गरेका पात्र हुन् । उनको नेतृत्वमा सरकार बनेपछि त नेपालका गरिब, सुकुम्बासीहरु, मजदुर किसानहरुको के हालत भइरहेको छ ? सबैलाई जगजाहेरै छ । गरिबका छाना सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीदेखि साइबर सेना समेतको घेराबन्दीमा बुल्डोजर लगाएर ध्वस्त पारियो । बालेनको सुकुम्बासीमाथिको यही दमनका कारण दर्जन बढी सुकुम्बासीहरुको ज्यान गयो । १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्छु भनेर उठिबास लगाएको सरकारले ८ महिना बितिसक्दा पनि माखो मारेको छैन । अर्थात् माक्र्स, लेनिन र माओले भनेजस्तै सत्ता भनेको वर्गीय अधिनाकत्व हो । दलाल तथा नोकरशाही पुँजीवादी वर्गीय अधिनायकत्व गरिब, निमुखा, सुकुम्बासीमाथि लादियो ।
जनयुद्धले उठाएका वर्गीय प्रश्नलाई मन्त्रालय र कुर्सीको सौदाबाजीमा विलीन पारिँदा संसदीय दलदलले आन्दोलनलाई निल्यो । लेनिनले जसलाई ‘अवसरवाद’ वा ‘संशोधनवाद’ भनेका थिए, नेपालमा दलाल पुँजीपति वर्गको खास्टो ओढ्न पुग्यो । कम्युनिस्टको नाममा कम्युनिस्टलाई यसरी बद्नाम गरिदियो कि ६३ प्रतिशत वामपन्थी मत रहेको नेपालमा कम्युनिस्टप्रति नै विकर्षित हुने अवस्गथामा पुर्याइदियो । स्पष्ट छ कि विगतका कांग्रेस, एमाले र माके नामका जे जति पात्र र प्रवृत्तिले शासन गरे, त्यो भन्दा अझ प्रतिगामी चरित्र बालेनहरुले प्रदर्शन गरिरहेका छन् ।
६. सामुन्नेका चुनौतीहरू
(क) वस्तुगत चुनौतीहरू
– पुँजीको नयाँ स्वरूपः वित्तीय पुँजी, डिजिटल प्लेटफर्म अर्थतन्त्र र विश्वव्यापी आपूर्ति शृङ्खलाले श्रमिकलाई छरिएको, अस्थायी र अदृश्य बनाइदिएको छ । कारखाना–केन्द्रित सर्वहारा सङ्गठन अब पुरानै ढाँचामा सम्भव नहुने अवस्थामा पुर्याइदिएको छ ।
– श्रमको बहिर्गमनः दक्ष अदक्ष युवा जनशक्ति विदेशमा बेचिदा देशभित्र वर्गीय सङ्गठनको अवस्था कमजोर बन्न पुगेको छ । रेमिट्यान्सले जनअसन्तुष्टिलाई आंशिक रूपमा थन्क्याउने गरेको छ ।
– भू–राजनीतिक घेराः भारत, चीन र अमेरिकाबीचको खिचातानीमा सानो देशको स्वतन्त्र रणनीति बनाउन जटिल बन्दै आएको छ ।
– राज्यको अनुकूलन क्षमताः नयाँ संविधान, निर्वाचन र समावेशिताका संरचनाले व्यवस्थाभित्रै असन्तुष्टि सोस्ने बाटो बनाएको छ ।
(ख) आत्मगत चुनौतीहरू
– नेतृत्वको विश्वसनीयताः जनताको नजरमा ‘क्रान्तिकारी’ भन्नेहरू नै सत्ताका पटक–पटकका साझेदार बन्न पुगेका र अन्य भन्दा कुनै पनि रुपमा आफूलाई फरक रुपमा प्रस्तुत गर्न नगरी पुरानै वर्गचरित्रमा सहबरण गर्न पुगेकाले पनि अहिले कम्युनिस्ट आन्दोलनमा विचारभन्दा चरित्रको प्रश्न गम्भीर बनेको छ ।
– विभाजन र विखण्डनः एकीकरण र पुनर्विभाजनको चक्रले कार्यकर्ताको मनोबल गिराइदिएको छ । निराशा र पलायनलाई तीव्र बनाइदिएको छ ।
– विचारको विकास नहुनु : संशोधनवाद, अवसरवाद र जडसुत्रवादबाट कम्युनिस्ट आन्दोलनलाई कसरी माथि उठाउने भन्ने प्रष्ट गम्भीर रुपमा उठेको छ । सूचना प्रविधिमा आएको अभूतपूर्व विकास, एआई क्रान्ति आदिको विकासले सर्वहारावर्गी क्रान्तिको जीवनमा आएका नयाँ चुनौतीहरुको सूक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषणका साथै नयाँ संश्लेषणविना क्रान्तिलाई अगाडि बढाउन नसकिने स्थिति पैदा हुन पुगेको छ । माओले ठोस परिस्थितिको ठोस विश्लेषणमा जोड दिनु भएको थियो । त्यो मार्गनिर्देनलाई क्रान्तिकारीहरुले आत्मसाथ गर्न जरुरी छ ।
– नयाँ पुस्तासँग सेतुः जेन–जी (नवयुवा) पुस्ताको भाषा, माध्यम र अपेक्षा फरक छ । भ्रष्टाचार, रोजगारी र अवसरको माग वर्गीय प्रश्नसँग जोडिएको छ, तर विचारधारालाई जबरजस्ती थोपरेर होइन, व्यवहारबाट विश्वास जित्नुपर्ने आवश्यकता छ ।
(ग) रणनीतिक दुविधा
जनयुद्धको प्रयोगपछि शान्ति प्रक्रियामा आइसकेको नेपालमा दीर्घकालीन जनयुद्धको बाटो अब यथास्थितिमा सम्भव देखिन्न । तर संसदीय बाटो मात्रै अँगालेर आवधिक निर्वाचनको प्रणालीबाट व्यवस्था रूपान्तरण वा परिवर्तन गर्न सकिन्न भन्ने यथार्थ पनि उत्तिकै छर्लङ्ग छ । तसर्थ, जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षको रुपमा जनविद्रोहमार्फत् नै दलाल संसदीय व्यवस्थालाई पल्टाउन सकिन्छ । अब सम्पूर्ण जनअसन्तुष्टीलाई नेतृत्व गर्न सक्ने पार्टी र नेतृत्व विकास निर्माणमा जोड दिन जरुरी छ ।
७. अगाडिको बाटो
१. ठोस विश्लेषणः नेपालको आजको वर्ग संरचना—दलाल पुँजी, रेमिट्यान्स–आश्रित परिवार, भूमिहीन, अनौपचारिक श्रमिक, महिला र दलित–आदिवासीको ऐतिहासिक उत्पीडन—को वैज्ञानिक अध्ययन गर्नु । २. आत्मालोचनाः सत्ता–साझेदारीका वर्षहरूको निर्मम समीक्षा र नेतृत्वको जवाफदेहिता । ३. सङ्गठनः किसान, श्रमिक, विद्यार्थी, महिला र प्रवासी श्रमिकबीच दीर्घकालीन आधार निर्माण । ४. आर्थिक कार्यक्रमः क्रान्तिकारी भूमि सुधार, राष्ट्रिय उत्पादन, पर्यटन, ऊर्जा र कृषिमा सार्वजनिक लगानी, र श्रम अधिकारको ठोस मागपत्र । ५. नैतिक राजनीतिः सादगी, पारदर्शिता र जनताको बीचमा बस्ने संस्कार आदिबाट जनविश्वास आर्जन गर्नु ।
९. उपसंहार
माक्र्सवादी–लेनिनवादी–माओवादी दृष्टिमा क्रान्ति एक घटना होइन, प्रक्रिया हो—अन्तर्विरोधको पहिचान, चेतनाको निर्माण, सङ्गठनको विस्तार र निर्णायक मोडमा साहसिक कदम । यसको अनिवार्यता सत्तासीनको सदिच्छामा होइन, उत्पीडित वर्गको अवस्था र प्रणालीको अन्तर्विरोधमा निहित मानिन्छ । तर इतिहासले एउटा कठोर पाठ पनि सिकाएको छ : ठूला नाराले होइन, ठोस विश्लेषण, इमानदार आत्मालोचना र जनताप्रतिको निष्ठाले मात्र कुनै पनि रूपान्तरणलाई टिकाउँछ । यही कसीमा आजको नेपाली कम्युनिस्ट आन्दोलन र यसका नेता कार्यकर्ताहरु परीक्षित भइरहेका छन् ।

By जन बिहानी

Related Posts