काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनमुक्ति सेना दिवसको अवसरमा शुभकामना व्यक्त गरको छ । पार्टीका प्रवक्ता सुदर्शनले मंसिर ८ गते एक वक्तव्य जारी गर्दै सो शुभकामना व्यक्त गर्नु भएको हो । वक्तव्यमा भनिएको छ –
आज मङ्सिर ८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका लागि र नेपाली सर्वहारा वर्ग एवम् उत्पीडित जनताका लागि विशेष स्मरणीय दिन हो । विक्रम सम्वत् २०५८ को भाद्र १९ र २० गते रोल्पा जिल्ला अन्तर्गत साविकको कुरेली गाविसमा पर्ने उपावाङमा लालसेनाको प्रथम भेला सम्पन्न भएको थियो । उक्त भेलाले नेपाली लाल सेनाको नामाकरण जनमुक्ति सेना नेपाल भनी गरेको थियो । सोही वर्षको मङ्सिर ८ गते यसको सार्वजनिक घोषणा गरिएको थियो । यसै दिनलाई क्रान्तिकारी कम्युनिस्टहरु र नेपाली जनताले जनसेना दिवसका रुपमा मनाउँदै आएका छन् । हाम्रो पार्टी यस ऐतिहासिक दिवसका दिन जनमुक्ति सेनाका डिभिजन कमान्डर क. सुनिल, ब्रिगेड कमाण्डर क. जीत लगायत जनयुद्धका सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपाली सर्वहारा वर्ग, शोषित–उत्पीडित जनसमुदाय, जनयुद्धका घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्दछ ।
जनयुद्धको पहलका क्रममा विभिन्न सैन्य प्रशिक्षण र अभ्यास गर्दै बनेका सुरक्षा दल, लडाकु दल र छापामार दलको अन्तिम परिणाम जनमुक्ति सेना नेपाल हो । यही जनमुक्ति सेनाको बलमा देशका विकट क्षेत्रहरुमा आधार इलाकाहरु स्थापना गरी नेपाली जनताले देशको ८० प्रतिशत भूभागमा स्थानीय जनसत्ताको अभ्यास गरे । जब जनमुक्ति सेना नेपालको विघटन गरियो तब जनसरकार, जनमिलिसिया, जनअदालत, जनप्रशासन, जनसुधार गृह र जनसंस्कृति समेत जनयुद्धका उपलब्धिहरु सबै गुम्दै गए । अन्ततः संविधानको खास्टोमा सीमित रहेको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व जस्ता कुराहरू पनि अमेरिकी साम्राज्यवादद्वारा प्रायोजित र भारतीय विस्तारवादद्वारा समर्थित जेनजी विद्रोह नामक प्रतिक्रान्तिमा खरानी भए । पुरानै सेना, प्रहरी, नोकरशाही तन्त्र, अदालत र कारागार यथावत राखेर टुप्लुक्क सरकारमा पुग्दा के हुँदो रहेछ भन्ने कुरा विक्रम सम्वत् २०१७ पौष १ गतेको राजा महेन्द्रको फौजी सत्तापलटले विश्वेश्वर प्रसाद कोइरालालाई नेपाली काङ्ग्रेसको नेतृत्वमा गठित मुक्तिवाहिनी स्मरण गरायो । तर प्रचण्ड र बाबुरामलाई जनमुक्ति सेनाको स्मरण सम्मपनि भएको छैन । जसरी झापा विद्रोहबाट स्थापित भएर प्रतिक्रियावादी सत्तामा पुगेका नेताहरूले त्यही झापा विद्रोहलाई आतङ्कवादी करार गरे त्यसरी नै महान् जनयुद्धबाट स्थापित नेताहरुले अहिले जनयुद्धको निन्दा गरिरहेका छन् ।
आजको यस ऐतिहासिक दिनमा हामी उक्त नवसंशोधनवादी र संशोधनवादी प्रवृत्तिको घोर भत्र्सना गर्दै जनसेना सम्बन्धी माक्र्सवादी–लेनिनवादी–माओवादी मान्यतामा प्रतिबद्ध रहने सङ्कल्प गर्दछौं । हामी माक्र्सको आलोचनाको हतियारले वास्तवमा हतियारको आलोचनालाई प्रतिस्थापन गर्न सक्दैन, भौतिक शक्तिलाई भौतिक शक्तिले नै ढाल्नुपर्दछ भन्ने सिद्धान्तप्रति प्रतिबद्ध छौं । हामी लेनिनको एउटा उत्पीडित वर्ग जसले हतियार चलाउन र हतियार प्राप्त गर्न जान्दैन भने ऊ दासको व्यवहार गर्न लायक छ भन्ने संश्लेषणप्रति दृढ छौं । त्यसरी नै माओको सेना नभएको जनतासँग आफ्नो भन्ने केही हुँदैन भन्ने नीतिप्रति अविचल रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
