-मनु वि.क.
नेपाली किसानहरुले मल ,बीउ, विजनको लागि पटक पटक संघर्ष गर्नु परेको छ । किसानहरुको मल बीउ नपाउँदा बेलैमा रोप्न र मल राख्न नपाउँदा उत्पादनमा समस्या हुन्छ । महंगो मल किसानले किन्छु भन्दा पनि समय मै पाइँदैन । किसानहरुको यो व्यथा बुझ्ने मान्छे ,सत्ता तथा सरकार नभएर किसानहरुले दुःख पाइरहेका छन् । किसानहरुको मलको कुरा अहिले नेपालका जेनजी आन्दोलन पछिको संसदीय निर्वाचन पछि बनेका प्रधानमन्त्री वालेन शाहको संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सम्बोधनको क्रममा संसारभरमा हतियार अत्यन्तै छिटो पुग्ने तर किसानलाई मल र बीउ चाहिँ किन पु¥याउन आनाकानी हुन्छ ? वा किन प्रणालीले काम गर्दैन ? भन्ने प्रकारको बालेन शाहको मन्तव्य पछि अझै चर्चाको विषय बन्न पुगेको छ । राम्रो उत्पादनकोलागि किसानलाई मल र बीउका अलावा राम्रो सिँचाइ, राम्रो गोडमेल,राम्रो वातावरण तथा जंगली जनावरहरुबाट जोगाउनु पर्दछ । किसानलाई राम्रो उत्पादन गर्नकोलागि आवश्यक पर्ने मल, बीउमा व्यापक मात्रामा व्यापार चलिरहेको छ । मल बिउमा किसानहरु परनिर्भर हुँदै गइरहेका छन् अर्थात सत्ताले किसानहरुलाई सक्दो दुहुनो गाई बनाएको छ । किसानहरुलाई आम्दानीको स्रोत बनाएको छ । स्थायी प्रकारको आम्दानीको स्रोत भए पछि बीउ उत्पादकलाई सजिलो भयो ।
किसानहरुले बीउकालागि अर्काको मुख ताक्नु पर्ने ,मलकोलागि अर्काको मुख ताक्नु पर्ने सिँचाइकोलागि अर्काको मुख ताक्नु पर्ने ,खेती कामदारहरु नहुँदा अर्काको मुख ताक्नु पर्ने भएको छ । किसानहरुको उत्पादन भइसके पछि पनि उत्पादन किसानको मुखमा नै पर्छ भन्ने अब रहेन । जंगली जनावरहरुले पार्ने हानी नोक्सानीको कारण किसानहरुले काम ग¥यो मरीमरी, तर खेती स्याहार्ने बेलामा हातमा केही नआउने अवस्था आएको छ । किसानहरुको यो अवस्थामा सरकार तथा सत्ता सञ्चालकहरुलाई कुनै वास्ता नभएको जस्तो देखिएको छ । किसानहरुलाई यसरी परनिर्भर बनाउँदै जाँदा किसानहरुले मल बनाउने ,बीउ बनाउने बीउको सङ्कलन तथा बीउ जोगाउने कुरामा किसानहरुको पटक्कै ध्यान गएको देखिँदैन । अझै किसानहरुले आफ्ना भएका गाइ गोरु जो मज्जाले मल दिएका हुन्थे उनीहरुलाई लखेटेर पठाउने, घरमा नपाल्ने , उनीहरुको संरक्षण रेखदेख पालन पोषण नगर्ने गर्दा किसानहरुले मल पाउन सकेका छैनन् । आफुले संरक्षण गरेको भए पो उनीहरु पनि केही दिने थिए त र उनीहरुलाई गोठबाट लखेटेपछि कहाँबाट उनीहरुले दिउन् ?कति विडम्वना छ ,लखेट्दा उनीहरुको मनले के भन्दो हो ? मान्छेलाई कति सराप्दोहो ?
लगानी अत्यधिक तथा नाफा कम मात्रामा हुने भए पछि किसानहरुले बरु रासायनिक मल प्रयोग गर्ने घरमा गाइ बाच्छा तथा भैसी नपाल्ने र किनेर रासायनिक मल हाल्ने अवस्थामा पुगेका छन् । महंगो मल किने पछि किसानलाई पनि सजिलो । पुँजिपति जो मल उत्पादन गर्छन् उनीहरुलाई त झनै नाफै नाफा हुने भयो । माटोमा अत्यधिक रासायनिक मलको प्रयोगको अवस्थाले गर्दा माटोको उर्वरा शक्तिको क्षयीकरण हुँदै गएको छ । माटोको उर्वराशक्तिमा आएको ह्रासको कारण उत्पादनहरुमा किराले नष्ट पार्ने, उत्पादन नदिने ,भएको उत्पादन पनि खान अयोग्य हुनेका साथै केही मात्रामा उत्पादन भएको भए पनि जंगली जनावरले सखाप पारिदिने गर्दछन् । किसानहरु किसानी पेसा छोडेर अर्कै पेसा व्यवसायमा पनि लागेका छन् ।
किसानहरुलाई मल,बीउ, सिँचाइ,सहित आधुनिक कृषि औजारहरुको आवश्यकता पर्दछ । किसानहरुलाई यसको आवश्यकता पूर्ति गर्नको लागि किसानहरु निकै सचेत बन्नु पर्ने आवश्यकता छ । किसानहरुले मल नपाउने कुरा महासभामा गएर राख्नु भन्दा वालेन सरकारले किसानहरुलाई कम्पोष्ट मल बनाउने विधि,पद्दति तथा प्रक्रिया यसको फाइदाहरुको बारेमा राम्रोगरी सुनाएर राम्रो शिक्षा दिएर अगाडि बढेको राम्रो । किसानहरुको मल, बीउ, समय मै आउँदैन, बजार व्यवस्थापन तथा बजार प्रणालीमा छिटो आइपुग्दैन जसको तुलनामा हतियारहरु आपुग्छन् । मान्छे मार्ने हतियारहरु पुँजीवदी साम्राज्यवादी देशहरुmले निर्माण गरिरहेका हुन्छन् । हतियारको व्यापारबाट निकै ठूलोमात्रामा नाफा हुन्छ ,नाफामा चलेको विश्वमा किसानको मलको कसैलाई चिन्ता हुँदैन । जुन ठूलो मात्रामा व्यापार हतियारको हुन्छ त्यो मात्रामा किसानको मलको थोरै अंश मात्र हुन आउँछ । ठूलो मात्रामा नाफा कमाउन छोडेर कोही किन कम मात्राको नाफा आउनेमा लाग्छन् ?
हतियारबाट धेरै फाइदा हुन्छ । अर्कालाई बेच्यो ,अर्कालाई हतियार मात्रैहोइन हतियार सहित जुन देशमा बेचेको हो त्यो देशको साधन स्रोत पनि कब्जा गर्न गयो । आफु जान्ने सुन्ने भएर सिकायो अह्रायो । सिकाउँदा अह्राउँदा नमानेमा आफ्नो मनोमानी ग¥यो । देशलाई नै सक्कायो ,जे गरे पनि भयो । बन्दुक भए पछि हतियार भए पछि जे मन लाग्यो त्यही गरे भयो । शासकहरुलाई आफ्नो मुठ्ठीमा लिएर नचाए भयो । नाँच्न आनाकानी गरेमा जेलमा पठाए भयो । सके आफ्नै जेलमा नसके भेनेजुयलाको राष्ट्रपति निकोलश मदुरो तथा उनकी श्रीमती सिलया फ्लोरेन्सलाई रातारात अपहरण गरेर अमेरिका लगेर जेलमा राखे जस्तै आफ्नै देशमाविना कसुर मुद्दा चलाएर राखे भयो । हतियारको बलमा सत्ता,शक्ति,स्वार्थ जे पनि संरक्षण गर्न सकिन्छ । हतियारको बलमा संसार भरमा रगतको खोलो बगाउन सकिन्छ । कुनै पनि देशको साधन स्रोत माथि अनाधिकृत रुपमा कब्जा जमाएर अकुत नाफा आर्जन गर्न सकिन्छ । आफ्नै स्वामित्व समेत स्थापना गरेर अरुको देशका मानिसहरुमाथि शासन सत्ता चलाउन सकिन्छ । त्यही भएर हतियारहरु छिटो पुग्छन् संसारभरी । आकाशको बाटो ,सामुन्द्रिक बाटो वा सडकका बाटो हुँदै कुनै सीमा र कुनै सुरक्षाले छेक्न सक्दैन हतियारहरुलाई जुनसुकै माध्यमबाट आउन सक्छन् हतियारहरु र बज्रिन सक्छन् जुनसुकै देशमा । जुनसुकै देशमा पुगेर शासन लिन ,त्यहाँको व्यवस्था खलबल्याउन र अस्तव्यस्त पार्न सक्छन् हतियारहरुले ।तर किसानकालागि चाहिने मलले त्यो बनाउन सक्दैन । किसानहरु संसारभरका हैनन् स्थान विशेषका हुन् । मल पनि स्थान विशेषलाई नै चाहिने कुरा हो । त्यसकारण मल रोकिन्छन् । मलको लागि आपूर्ति असहज हुन्छ ।बन्दरगाहहरुमा अवरोध झेल्छन् ।
अब रासायनिक मल नभएको कारण किसानहरुलाई रोकिने बनाउनु हुँदैन । किसानहरुले केवल पुँजीवादी देश तथा कम्पनीहरुले उत्पादन गरेको रासायनिक मल ,बीउ विजनमा भर पर्ने होइन । एक त रासायनिक मलले किसानहरुलाई निकै दुःख दिएको छ । मलकोलागि पैसाको कुरा आर्थिक व्यवस्थापनको पाटा,अर्को किसानहरुले मलखादबाट सजिलै प्राप्त गर्न सकिने मल छोडेर कुन पसलमा छ ? कहाँ छ ? कुन कम्पनीको छ ?कहिले आउँछ ? कति पैसा पर्छ ? ढुवानी खर्च कति लाग्छ ?संग्रह गर्न नजानेमा कति क्षति व्यहोर्नु पर्छ ? भन्ने जस्ता झनझटबाट किसानहरुलाई मुक्त गर्नु पर्छ किसानहरुलाई पूरापूर रुपमा आत्मनिर्भर बनाउनु पर्छ । कम्पोष्ट मल बनाउन सिकाउनु पर्छ । कम्पोष्ट मल बनाउने तरिकाहरु हुन्छन् । अहिले नयाँ पुस्ताले अर्थात आफुलाई नयाँ पुस्ता नभनेर जेनजी पुस्ता अर्थात डिजिटल पुस्ता भन्नेहरुले कम्पोष्ट मलको महत्व तथा बनाउने तरिका जानेका छैनन् ।जो डिजिटल प्रविधि र मोवाइल हातमा खेलाउने समयमा जन्मिए, जो आफैले उत्पादन गरेर होइन अरुले उत्पादन गरेको बजारबाट प्लाष्टिकमा किनेर खाने समयमा जन्मिए, उनीहरुले मल बनाउने ,उत्पादन बढाउने, किराहरु लागेमा कसरी जोगाउने ? स्थानीय रुपमा कस्तो प्रकारको सामग्रीले विषादीको काम गर्छ ? भन्ने जान्न नपाएका पुस्ताले मल बनाउन जानेका छैनन् । उनीहरुलाई उत्पादनकालागि केही न केही सिकाउनै पर्छ । पहिलेको समय थियो बुवा आमाहरुले बच्चाहरुलाई आफुले जानेको कृषिको काम राम्रोसँग सिकाउने गर्नु हुन्थ्यो । बच्चाहरुले त्यो ज्ञान राम्रोसँग लिने गर्दथे र आफने उत्पादन गरेर खाने गर्दथे । तर अहिले त्यो छैन । नयाँ पुस्ताले कृषि कर्ममा केही चासो नै नदिने ,किसान पेसा भनेको त केही काम नलाग्ने पेसा हो भने जसरी बुझाउने बुझ्ने भएका कारण नयाँ पुस्ताले उत्पादनको मर्म र कर्म बुझ्न सकेको छैन । अब बुढा पुस्ता ढल्ने वित्तिकै के गरी खाने होला ? भन्ने जस्तो अवस्था छ । केही काम नगर्ने पुस्तालाई उत्पादनको बारेमा धेरै सिकाउन बाँकी छ । त्यसको साथै मल बनाउन पनि सिकाउन आवश्यक छ । जनावरहरुको दिसा पिसाबबाट मल बनाउन सकिन्छ ,कुहिने फोहोरहरुबाट राम्रो प्रकारको मल बनाउन सकिन्छ । त्यो मात्रै होइन ठूलो मात्रामा जग्गाहरुमा खेती गर्नु परेमा त्यो माटोमा नै उम्रिएका झारहरुलाई नै कुहाएर वा झारहरुलाई जहाँ बीउ रोपिँदैछ ,त्यहाँ नै हल्का खनी गाडेर मलिलो माटो बनाउन सकिन्छ । त्यति मात्रै हैन जो जंगलमा खेर गएर बसेका पात पतिङ्गरहरु ,स्याउला छन् तिनीहरुलाई राम्रोसँग कुहाएर मल बनाउन सकिन्छ । त्यसकोलागि स्याउलाहरुलाई पुरै काटेर एकथुप्रो बनाएर केही समय राख्दा राम्रो प्रकारको मल बन्दछ । कम्पोष्ट मल बनाउन निकै सजिलो छ । पशुहरु छैनन्, तिनीहरुले पनि सजिलै मल बनाउन सकिन्छ । कुहिने स्याउला घाँस ,पात पितङ्गरबाट बनेको मलले राम्रो उत्पादन दिन्छ । ठूलो मात्रामा उत्पादन हुने स्थानहरुमा पनि कुखुरा,सुँगुर,गाइ, भैसी, बाख्रा, भेडा, च्याङ्गाआदिबाट पनि राम्रो प्रकारको मल बन्ने कुरा परम्परागत रुपमा सबैलाई थाहा भएकै कुरा हो । यो लेख लेखिँरहँदा मलाई हाम्रो आमाबाले चिलाउने, असुरो, पाती, वरको पात, आँपको पात बटुलेर पुरै खेतमा ढाकरका ढाकर हालेको सम्झेको छु ।अहिले सोच्दा आमा बा को त्यो कार्य निकै नै राम्रो रहेछ र माटोको उर्वराशक्ति बढाउने निकै राम्रो तरिका रहेछ भन्ने लाग्छ । पाल्पाको रामपुर १० स्थित खोल्टा भन्ने ठाउँ छ । त्यो ठाउँ हाम्रो जग्गा पछि मात्रै (२०५०मा होला ) बुवाले किन्नु भयो । त्यहाँ बारी थियो । बारी वरपर निकै नै झाडी थियो । पाती,भोगटे,असुरो,कालीकाट जस्ता ससाना रुखका झाडी अति नै बाक्लो प्रकारको हुने गर्दथ्यो । त्यो झाडीलाई हामीले भदौ असोजको महिनामा काटेर मलखाद जस्तै थुप्रो लगाएर मंसिरमा गहुँ छर्ने बेलामा बारी खेतमा हाल्दा राम्रो प्रकारको मल बनेको हुन्थ्यो । पहिला पहिला अझै मल बनाउने तरिका के पनि थियोभने बारी खेतको छेउछाउमा पुरैअसुरो रोपिदिने । त्यसो गर्दा किसानलाई दुइटा फाइदा हुने गर्दथ्यो । एउटा असुरोको पातबाट राम्रोप्रकारको मल बन्ने गर्दथ्यो । अर्को बारी खेतलाई बारको रुपमा काम गर्दथ्यो । गाइवस्तुहरुलाई खानबाट रोक्न मद्दत गर्दथ्यो । त्यस्तै गरि किसानहरुले खेतबारीलाई मलिलो बनाउन गेडागुडी सिल्टुङ् ,बोडी, सिमी,भटमासजस्ता बीउहरु रोप्ने गर्दथे । त्यसो गर्दा किसानहरुलाई मलको साथ साथै गेडागुडीको पनि उत्पादन हुने गर्दथ्यो ।
यसरी स्थानीय स्तरमा नै मलको उत्पादन हुन्थ्यो । मल,मल भनेर कोही पनि कराउनु पर्दैनथ्यो । विश्वमा रासायनिक मल पहिलोपल्ट बेलायतमा सन् १८४२ मा भएको थियो । सर जोन लेवशले रासायनिक मलको उत्पादन शुरु गरेको भन्ने छ । १९१३ मा नाइट्रोजन मल बनेको रहेछ । नेपालमा रासायनिक मलको प्रयोग सन् १९५०को दशकबाट शुरु गरिएको रहेछ । विश्वमा मल बनेको सवा सय वर्ष तथा नेपालमा प्रयोगको शुरुवात भएको करिब ७५ वर्ष कटेको अवस्था देखिन्छ । नेपालमा रासायनिक मल उत्पादन गर्ने कम्पनी स्थापना गर्ने कुरा चलेको ४० वर्ष भन्दामाथि भएछ । यो समयमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति हराउँदै गएको, माटो कङ्क्रिटमा परिवर्तन हुँदै गएको माटो विज्ञहरुको निश्कर्ष छ ।
माटोमा रासायनिक मल प्रयोगको समय मानवले खेतीको शुरुवात गरेको समयको तुलनामा निकै नै कम हो। रासायनिक मल उत्पादनको शुरुवात हुनुभन्दा पहिला नै मान्छेले कम्पोष्ट मल उत्पादन गरेर जीवन गुजारा गर्दै आएका थिए । कृषि युगको शुरुवात नै पशुहरुले गरेको दिसा, पिसाव अर्थात् मलमा नै राम्रो उत्पादन भएको देखेपछि नै शुरु भएको थियो । मान्छे बाँचेकै थिए । उत्पादन गरेको थियो । बीउ जोगाएको थियो । बीउमा मान्छेहरु आफै नै आत्मनिर्भर थिए । नयाँ पुस्ताले जान्नु पर्ने आवश्यकता केहो भने कम्पोष्ट मल सस्तो राम्रो र धेरै गुणी छ । अलिकता जाँगर गर्ने हो भने कम्पोष्ट मल सजिलै बनाउन सकिन्छ र उत्पादन गर्न सकिन्छ । साथै माटोको उर्वराशक्ति संरक्षण गर्न सकिन्छ । यसको सन्दर्भमा लेखिरँदा आफ्नै अनुभव पनि राख्न उचित लागेको छ । म हाल काठमाण्डौ ज्ञानेश्वरमा बस्दै आएको १२ वर्ष जति भयो । विगत चार वर्षदेखि एउटा घरमा मैले आफुलाई केही सजिलो होस भनेर केही तरकारी लगाउने गरेको छु । त्यो तरकारी रोप्दा मैले रासायनिक मल केही पनि राख्दिन्न । उत्पादन थोरै भए पनि राम्रै हुन्छ ।त्यहाँ मैले तरकारीको बोक्रा, पात पतिङ्गर कुहाएर बनाएको मल प्रयोग गर्छु ।सम्भव भए गाइको मल हाल्ने हो तर सजिलै पाइँदैन । गाइको मल नपाएको अवस्थामा पनि राम्रो सँग बनेको हुन्छ ।त्यो घर कै मलबाट बन्छ । यो केवल सामान्य कुरा मात्रै ।
मलकोलागि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठाउनु त ठिकै हो । अब जनतालाई रासायनिक मल होइन कम्पोष्ट मल उत्पादन गरेर त्यो प्रयोग गर्ने बनाउनु पर्ने भएको छ । वालेन्द्र शाह काठमाण्डौ महानगरको मेयर हुनुभन्दा अगाडि काठमाण्डौबाट निस्कने फोहोरलाई मोहोरमा लैजाने अर्थात कम्पोष्ट मल बनाउने भन्ने खालका अभिव्यक्ति तथा नारा दिएका थिए । उनी मेयर भएर पनि प्रधानमन्त्री हुन पुगे तर काठमाण्डौको फोहोरबाट मोहोर हुन सकेन । काठमाण्डौको फोहोरलाई कम्पोष्ट मल बनाउने हो भने आधा फोहोर कम हुन्छ । काठमाण्डौको मात्रै हैन । सबै शहर तथा गाउँको फोहोरबाट राम्रो मल बनाउन सकिन्छ । आफैले दिएको कम्पोष्ट मल बनाउने भन्ने कुरा बिर्सिएर वालेन्द्रले महासभामा रासायनिक मलको कुरा उठाउनु त्यति सुहाएन । हुन त मल भन्दा हतियार छिटो पुग्छन् भन्नु साम्राज्यवादको अर्थात शक्तिशाली पुँजीवादी देशको चरित्र तथा उनीहरुको हतियारको कारोबारको बारेमा जानकारी भएछ । भन्नुको मतलब राजनीति गर्नु हुन्न भन्दा भन्दै राजनीतिक गतिविधिलाई उपेक्षा गर्दा गर्दै वा पुराना राजनीतिक दलहरु,तिनका नेता कार्यकर्ताहरुलाई झोले भनेर सराप्दा सराप्दै पनि यति कुरा प्रधानमन्त्रीलाई ज्ञान भएछ । यो निकै सकरात्मक कुरा छ । प्रधानमन्त्री ज्यू !मल र हतियार राजनीति कै कारण रोकिन्छन्,बेचिन्छन् ।
राजनीति कै कारण हतियारहरु गरिब । उत्पीडित देशहरुमा बज्रिन्छन् । ती देशहरुलाई तहस नहस बनाइन्छन् । हालैका दिनहरुमा प्यालेष्टाइनमाथि इजरायल अमेरिकाले गरेको संयुक्त कारबाही, इरानमाथि अमेरिकाले गरेको कारबाही र इरानको सशक्त प्रतिरोध , अमेरिकाले विश्वमा लगाएको आर्थिक नाकाबन्दी,अमेरिकाले क्युवामाथि लगाएको नाकाबन्दी,युक्रेनलाई अमेरिकाले दिएको सबै प्रकारको साथ सहयोग सबै नै राजनीति हो । विश्वका गरिब उत्पीडित राष्ट्रहरुमा हतियारहरु पुगेका छन् र बज्रिएका छन् । यो साम्राज्यवादी फासीवादी राजनीति हो । यो सबै त प्रधानमन्त्रीले बुझेकि बुझेनन् उनैले जानुन् । त्यसको विरोधमा न्यायपूर्ण प्रतिरोध गर्नु संयुक्त राष्ट्रसंघको महासभामा उभिएर मल र हतियारको कुरा गर्नु जस्तो सजिलो छैन । कसैको काँधमा टेकेर सत्तामा पुग्नु जस्तो सजिलो छैन । मितिः २०८३ असोज १३ काठमाण्डौ ।
महासभामा मलको कुरा