काठमाडौंमा १५७औं लेनिन जयन्ती तथा ७८औं पार्टी स्थापना दिवस कार्यक्रम सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंमा १५७ औं लेनिन जयन्ती तथा ७८ औं पार्टी स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालयको आयोजनामा भएको हो । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले कार्यक्रमलाई सम्बोधन गर्दै साम्राज्यवादी युद्ध नेपालीहरुको टाउकोमाथि मडाइरिहेको र क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै त्यसलाई रोक्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘लेनिनले भनेझै साम्राज्यवाद भनेकै युद्ध हो, साम्राज्यवादको अस्तित्व रहेसम्म युद्ध नरोकिने र क्रान्तिकारी शक्तिलाई बलियो पारेर मात्रै त्यस्तो युद्धलाई रोक्न सकिन्छ । अहिलेको आवश्यकता भनेको क्रान्तिकारी शक्तिलाई बलियो बनाउनु हो ।’

पार्टीका पीवीएम तथा अखिल नेपाल जनजाति महासंघका संयोजक पवनमान श्रेष्ठ, क्रान्तिकारी किसान महासंघका महासचिव धनेश्वर पोखरेल, क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमिल्सिना, क्रान्तिकारी महिला संघ नेपालकी सहसंयोजक शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ लगायतका नेताहरुले पनि लेनिन दिवस र पार्टी स्थापना दिवसको चर्चा गर्दै निरन्तर क्रान्तिको लागि प्रेरणा र संकल्प गर्ने दिनको रुपमा व्याख्या गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल जनसांस्कृति महासंघका अध्यक्ष हिरामणि दुःखी, क्रान्तिकारी युवा संघ नेपालका संयोजक दार्जी शेर्पा, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक टेकबहादुर विक लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले र कार्यक्रमको सञ्चालन पार्टी पीवीएम तथा ९ नं ब्यूरोका सेक्रेटरी चिन्तामणि पौडेलले गर्नुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?