
स्थान परिचय
समुन्द्र सतहबाट ६१० मि. देखि ५४३५ मि. सम्म उचाईमा रहेको यो जिल्लाको सिमाना पूर्वमा रुकुम र डोल्पा, पश्चिममा दैलेख र सुर्खेत, उत्तरमा कालिकोट र जुम्ला तथा दक्षिणमा सल्यान र रुकुम पर्दछन । जिल्लाको कुल क्षेत्रफल २२३० वर्ग कि.मि.छ भने २०७८ को जनगणना अनुसार जिल्लाको जनसंख्या १,८९,३६० रहेको छ । हाल यस जिल्लामा ७ वटा स्थानीय तह कायम गरिएको छ । जस मध्ये ३ नगरपालिका र ४ गाँउपालिका रहेका छन् । यस जिल्लाको प्रमुख आर्थिक स्रोत कृषि रहेको छ । जिल्लाको उत्तर पश्चिम क्षेत्रमा काइनाईट र टुरमालिन जस्ता बहुमुल्य पत्थर पाईन्छन् । जाजरकोट जलस्रोतमा धनी जिल्ला हो । यहाँ राष्ट्रियस्तरको नलसिंगाड जलविद्युत परियोजना संचालनको क्रममा छ । मध्यपहाडी लोकमार्गको निर्माण पछि यो जिल्ला एउटा व्यापारिक केन्द्रको रुपमा विकास हुने देखिन्छ । (चिनारी नेपाल अनलाइन)
कम्युनिस्ट आन्दोलनको प्रवेश
२००८ सालमा जाजरकोटका भोटुसिंह उर्फ महेन्द्रबहादुर सिंह र लालबहादुर सिंह लगायतका केही व्यक्तिहरू कम्युनिस्ट पार्टीको सम्पर्कमा आएको थाहा हुन आएको छ। ती व्यक्तिहरूलाई तत्कालीन सत्ताका पक्षधरहरुले मुद्दा हालेको समेत प्रमाणहरु भेटिएका छन् तर उनीहरुले आफ्नो सुरक्षाका लागि आत्मसमर्पण गरेको पाइन्छ (माया प्रसाद शर्माबाट प्राप्त जानकारी) २०१५ सालको निर्वाचनमा जाजरकोटमा कम्युनिस्ट पार्टीको अवस्था के थियो । त्यहाँ कम्युनिस्ट पार्टीको गठन र विस्तार एकीकृत कालमा के थियो भन्ने कुरा थप अध्ययनकै विषय छ ।
विद्यार्थी संगठनको भूमिका
जाजरकोट जिल्लामा कम्युनिस्ट पार्टीको गठन हुनुभन्दा पहिले त्यहाँका विद्यार्थी संगठनहरूको भूमिका महत्वपूर्ण रहेको थियो। पञ्चायतकालमा पार्टीका विचारलाई विद्यार्थीहरुले जनताका बीचमा लैजाने गर्दथे । २०३७ साल फागुनमा रुकुमको दोस्रो जिल्ला सम्मेलन, सल्यानको पहिलो जिल्ला सम्मेलन र जाजरकोटको पहिलो जिल्ला सम्मेलन, तीन जिल्लाको सम्मेलन एउटै ठाउँमा सम्पन्न भएको थियो । त्यो विद्यार्थी सम्मेलनमा अनेरास्ववियु (नोटः यहाँ छैठौं सम्मेलन पक्षधर) का केन्द्रीय सदस्य विश्व अधिकारी ( तनहुँ निवासी), यदु गौतम (रुकुम) केन्द्रबाट पुगेका थिए । अखिल (छैठौं) दशेराका इकाई अध्यक्ष जनकराज शर्मा लगायतले रातारात रुकुम चौरजहारीबाट पर्चा लैजाने, शिक्षक टंक ढकाल जो मण्डले थिए उनलाई कालो मोसो लगाउने काम विद्यार्थीहरुले गरेका थिए ।
शिक्षकहरूको भूमिका
जाजरकोट जिल्लामा बाहिरी जिल्लाबाट गएका शिक्षकहरूको भूमिकाले त्यहाँ कम्युनिस्ट पार्टीको विचार फैलाउनमा योगदान पु¥याएको छ। उदाहरणको निम्ति बागलुङ जिल्ला बोहोरा गाउँ झिम्प ओख्रेनीका भागिरथ भट्टराई शिक्षक जागीरको सिलसिलामा जाजरकोट पुगे । उनी २०२७ सालमै कम्युनिस्ट पार्टीको सदस्य भइसकेका थिए । २०३२ सालमा उनलाई १ महिना जाजरकोटको खलंगा हाइस्कूलमा पढाएपछि दशेराको माविको हेडमास्टर बनाएर पठाइएको थियो । २०३२ देखि २०३८ सम्म त्यस स्कूलमा पढाउने क्रममा केही विद्यार्थीहरुलाई राजनीतिक रुपले प्रशिक्षण गर्न उनी सफल भए । २०३८ सालमा बागलुङ बुर्तिवाङ फर्किएर शिक्षक भए र उनी बहुदल आएपछि शिक्षण पेशा छाडी मसालको राजनीतिमा खुलेर लागे । (भट्टराई सितको कुराकानी) भागीरथ भट्टराईको राजनीतिक प्रभावकै कारण दशेरामा पढ्ने विद्यार्थीहरु जनकराज शर्मा (दैलेख कट्टी गाउँपञ्चायत), धनबहादुर बुढा, (दशेरा), केशव बुढा (साल्म गाउँपञ्चायत, जाजरकोट), मीन बहादुर शाही (जगन्नाथ गाउँपञ्चायत) लगायतले २०३८ सालमा दशेरा स्कूलमा अखिल (छैठौं) निर्माण गरी विद्यार्थी गतिविधि गरेका थिए ।
पुष्पलाल धार
२०३७ सालमा मधुगुरु (माधव ज्ञवाली(को उपस्थितिमा जाजरकोटमा कृष्णबहादुर शाहीहरूले अगुवाई गरेर जयबहादुर शाही संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी को यस समूहको अखिल नेपाल किसान सङ्घको जिल्ला स्तरको कमिटी बनेको थियो।
चौमधार
२०३८ सालमा तत्कालीन नेकपाका केन्द्रीय नेता मोहन वैद्य किरणको उपस्थितिमा जाजरकोट जिल्लामा पार्टी युनिट बनाइएको थियो। जसको सेक्रेटरी कैलाश सिंह खत्री भएका थिए। एक वर्ष पछि यसै कमिटीलाई जिल्ला कमिटीको मान्यता दिएर त्यहाँको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने काम भएको थियो । त्यस कमिटीको अन्य सदस्यहरुमा कपिलदेव शर्मा, डण्डवीर राना, रिमबहादुर खड्का, कर्ण वि.सी., भेषराज सुवेदी थिए । पछि रेशम शाह, इन्दिरा शाह, जया शाह, शिवा शाहलाई थप गरिएको थियो । २०४० सालमा पार्टी विभाजन हुँदा जाजरकोट जिल्ला कमिटी नेकपा (मशाल) प्रति प्रतिबद्धता रह्यो । २०४१ साल मङ्सिरमा अयोध्यामा सम्पन्न पाँचौं महाधिवेशनमा जाजरकोटबाट कैलासिंह खत्री प्रतिनिधि थिए । उनले महाधिवेशनमा बहुमत पक्षमा मतदान गरे । २०४२ मा पार्टी विभाजन हुँदा जाजरकोट जिल्ला मोटो मशालतर्फ नै त्यहाँको पार्टी कमिटी आबद्ध भएको थियो ।
माक्र्सवादी धार
२०४७ जेष्ठ २७ गते माधव ज्ञवालीको उपस्थितिमा भवानी प्रसाद शर्मा सचिव रहेको ११ सदस्यीय नेकपा (माक्र्सवादी) जाजरकोट गठन भएको थियो । जसमा अन्य सदस्यहरुमा कृष्णबहादुर शाही, कृतिबहादुर चन्द कृष्णबहादुर बुढा, हर्कबहादुर रावत, नरेन्द्रबहादुर शाह, टिकाराम रेग्मी रहेका थिए । (निरज आचार्य)
मालेधार
पि.एन.क्याम्पस पोखरामा अध्ययन गर्ने जाजरकोटका विद्यार्थीहरू भैरव सुन्दर श्रेष्ठ, खम्बाप्रसाद रोकाय, हेरम्बा बहादुर शाह लगायतका विद्यार्थीहरु २०३६ सालको जनआन्दोलनबाट प्रभावित भए र उनीहरु नेकपा (माले) निकटको पाँचौं आबद्ध भए । घर आउँदा उनीहरुले जाजरकोट जिल्लामा प्रचारप्रसार गर्ने काम गरेका थिए । २०४५ सालमा शिक्षक वासुदेव पन्थी (अर्घाखाँची)को सम्पर्कमा जाजरकोटको दशेराका शिक्षक र केही विद्यार्थीहरु रत्नप्रसाद शर्मा, टेकबहादुर थापा, मानबहादुर थापा, धनबहादुर बुढा र खिम बहादुर शाही समेत रहेको अध्ययन मण्डल गठन गरेर मालेधारको विजारोपण गर्ने काम भएको देखिन्छ । नेकपा माले भेरी कर्णाली क्षेत्रीय कमिटीका सदस्य हरि पराजुली र रुकुम जिल्ला कमिटीका हस्तबहादुर केसीको उपस्थितिमा मिति २०४७ वैशाख १९ गते भैरव बहादुर श्रेष्ठको संयोजकत्वमा हेरम बहादुर शाह, मधुकर शाक्य विष्णुराज भण्डारी समेत रहेको पार्टी सम्पर्क कमिटी गठन भएको थियो। र यसले जिल्ला सम्पर्क कार्यालय समेत स्थापना गरेको थियो। नेकपा माले भेरी कर्णाली क्षेत्रीय कमिटी सदस्य लक्ष्मणराज ज्ञवालीको उपस्थितिमा २०४७ भदौ २० गते ५० जना कार्यकर्ताका बीचमा प्रशिक्षण भेला गरी उक्त भेलाले भैरव सुन्दर श्रेष्ठ सचिव रहेको १५ सदस्य जिल्ला पार्टी कमिटी गठन गर्यो। यसका अन्य सदस्यहरूमा रत्नप्रसाद शर्मा, खिम बहादुर शाही हेरम्ब बहादुर शाह, रामलाल आचार्य, मधुकर शाक्य, विष्णुराज भण्डारी, टेकबहादुर थापा, शंकर कार्की, झपेन्द्र बस्नेत, जगतबहादुर शाही, जितबहादुर कार्की,लालबहादुर महतरा, हिक्मत नेपाली र हरिप्रसाद शर्मा रहेका थिए । यो नै नेकपा मालेको पहिलो जिल्ला कमिटी थियो । २०४७ असोजमा युवराज ज्ञवालीको उपस्थितिमा जाजरकोटमा आमसभा सम्पन्न भयो। २०४७ के मंसिर २८ गते भेरी कर्णाली क्षेत्रीय कमिटी सदस्य माधवराज पन्थीलाई जाजरकोट सचिव भई काम गर्नु भनी क्षेत्रीय कमिटीले खटाएको थियो । २०४७ साल चैत्र ८ गते नेकपा माले र नेकपा (माक्र्सवादी)का बीचमा पार्टी एकीकरण भई माधवराजपन्थी इन्चार्ज रहेको ३१ सदस्य नेकपा एमाले जिल्ला कमिटी गठन भएको थियो ।जसमा सचिव अच्युतराज ज्ञवाली उपसचिव भैरव सुन्दर श्रेष्ठ, सदस्य कृष्णबहादुर शाही रत्न प्रसाद शर्मा भवानी प्रसाद शर्मा रामलाल आचार्य कृष्णप्रसाद घर्ती लाल बहादुर थापा थिए । ( निरज आचार्य ,जाजरकोटमा कम्युनिस्ट आन्दोलन, नव युग वर्ष १४, अंक ८, असार २०६१)
नेमकिपा धार
प्रारभमा शेरबहादुर शाही, शिवराम शाही , रुपेन्द्र अधिकारी रहेको जिल्ला स्तरको कमिटी समेत बनेको देखिन्छ ।