
संसदीय निर्वाचन ०८२ को मत परिणाम सार्वजनिक भई रास्वपाको सरकार गठनको प्रक्रिया शुरु भएको छ । ०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी संसदमा ७८ सिट प्राप्त गरेको एमाले ०८२ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २५ मा झरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (तत्कालिन माओवादी) ले ०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट हात पारेको थियो भने ०८२ को निर्वाचनमा १७ मात्र प्राप्त गरेको छ । यो आँकडाका आधारमा नेपालमा “कम्युनिस्टहरु” को “पत्ता साफ” भयो भनेर दलाल पुँजीवादी पार्टीहरु खुशीयाली मनाएका छन् । खुशीयाली पनि किन नमनाउन् र ? वास्तविकता पनि त्यही हो ।
के “कम्युनिस्टहरु” “पत्ता साफ” भएकै हुन त , प्रथम कुरो, त के हो भने आज जसलाई पुँजीवादीहरुले कम्युनिस्ट पार्टी बताइरहेका छन्, उनीहरु कम्युनिस्ट नै होइनन् । एमाले (पूर्व माले कालमा )ले जब जनताको बहुदलीय जनवादको संशोधनवादी नीति पारित ग¥यो, त्यति बेलैदेखि कम्युनिस्ट नामबाट पतन भैसकेको थियो । उसले पुँजीवादी बाटो समातिसकेको थियो । तर सर्वहारा वर्गलाई धोका दिन र उनीहरुको मतबाट प्रतिक्रियावादी राज्यसत्तामा पुग्नका लागि हँसिया हथौडाको झण्डा र नाम यथावत राखेर लामो समयदेखि देशविदेश सबैतिर भ्रम पा¥यो । नयाँ जनवादको प्रस्ताव मोहनचन्द्र अधिकारीले महाधिवेशनमा राखे पनि उनलाई धेरैले साथ दिएनन् । साथ दिनेहरु पनि जबज तिरै गए । अहिले सबै तितरवितर भई टुक्रिएको जगजाहेर नै छ । जहाँसम्म तत्कालीन माओवादीको प्रश्न छ, त्यसले ०६४ को निर्वाचनमा ५७५ सिट मध्ये एक्लैले २२० सिट जितेर पहिलो पार्टी बनेको थियो । त्यसपछि ओरालो लागेको सो पार्टीले २०७९ मा प्रत्यक्ष र समानुपातिकमा ३२ सिट र अहिलेको निर्वाचनमा दुवै तर्फ गरी १७ सिटमा झरेको छ । तत्कालीन माओवादी केन्द्र अहिले अन्य साना कम्युनिस्ट घटकहरुसित एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाए पनि त्यसको आकार बढ्न सकेन । तत्कालीन माओवादी सर्वहारावर्गको हातमा राज्यसत्ता ल्याउने भनेर १० वर्षे जनयुद्ध गरेको थियो । तर प्रचण्ड तथा बाबुरामले जनयुद्धलाई धोका दिए । नयाँ जनवाद र वैज्ञानिक समाजवादको लक्ष्यलाई लत्याएर साम्राज्यवादको योजनामा ल्याइएको लोकतान्त्रिक गणतन्त्रमा सीमित भए । त्यसकारण नेकपाको दलाल पुँजीवादी यात्रा पनि राजनीतिक हिसावले चुनवाङ बैठकबाटै कम्युनिस्ट राजनीतिबाट पतन भएको हो भन्ने कुरामा विमति छैन ।
यसबाट के स्पष्ट छ भने जो कम्युनिस्ट नै होइन, उसको “पत्ता साफ” हुने कुरा भएन । पत्तासाफ त कम्युनिस्टको होइन, संशोधनवादीको हो । संसदीय निर्वाचनमा उनीहरुको हार पनि पार्टी सदस्य तथा कार्यकर्ताको हार होइन, यो हार त अवसरवादी नेताहरुको हार हो , जसले लाखौं जनतालाई नयाँ जनवादको बाटो डो¥याएर बीचमै अलपत्र पारे । त्यसकारण यो निर्वाचनमा कार्यकर्ताहरुको हार भएको छैन, अवसरवादी नेताहरुको हार भएको छ ।
रास्वपा यो निर्वाचनमा अत्यधिक मतले विजयी भएको छ । विचरा उसको त कुनै विचार, सिद्धान्त, कार्यक्रम, नीति केही छैन । सुदन गुरुङ जे मन लाग्यो, त्यही बोल्छन् । स्वर्णीम वाग्ले प्रदेश खारेजको कुरा गर्छन् । रवि अझै सोंचेको छैनौं भन्छन् । बालेन त्यही भएर मिडिया फेस गर्दैनन् । यसको अर्थ रास्वपा संगठित पार्टी भन्दा पनि भीड पार्टी हो । पार्टीले जो टिकट माग्न गयो, उसैलाई दियो । आज तिनीहरु जितेर आएका छन् । एमालेका कार्यकर्ता दर्जन भन्दा बढी छन् भन्ने आएको छ । कांग्रेस, माओवादीका पनि त्यति नै होलान् । समानुपातिकमा त झन हरिविजोग छ । समग्रमा भन्नुपर्दा भदौ असोजमा मकै धेरै फलेर घरमा राख्ने ठाउँ नभए जस्तै रास्वपामा जनताले उठे जति सबैलाई जिताएर पठाएपछि थन्काउन हम्मेहम्मे परेको छ । जसले हिजोका दिनमा एमाले, माओवादीले क्रान्ति र परिवर्तन ल्याउँछन् भनेर विश्वास गरी जीवन नै उत्सर्ग गरेर पार्टीलाई सत्तामा पु¥याए, ती कार्यकर्ताहरुले लामो समयसम्म पनि नेताहरुको दलाल प्रवृत्तिमा सुधार नआएपछि र उनीहरुले भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद, महंगी कमिशन खोरी, मानवतस्करी, घुस, ठगीलाई प्रोत्साहित गरेपछि यो निर्वाचनमा उनीहरु बाटो बदल्न पुगे । जनताको परिवर्तन प्रतिको चाहना ठीक भए पनि दलको रोजाई भने गलत भएको छ । उनीहरुको मत गलत ठाउँमा गएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनमा नै बारम्बार धोका हुँदै आएको छ । रुस, चीन, पूर्वी यूरोप मात्र होइन, एसियाई देशहरुमा समेत कम्युनिस्ट आन्दोलनले धोका खाएको छ, हाम्रो देशमा पनि त्यसको असर पर्नु स्वभाविक हो । तैपनि जनता आज पनि राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको लागि हुने संघर्षमा रत्तिभर विचलित छैनन् । जनता अझै पनि फेरि ज्वारभाटा बनेर उठ्नेछन् ।
महान चिनियाँ नेता क. माओ–त्सेतुङले भनेका थिए– साम्राज्यवादले आफ्नो पतन आफै निम्ताउँछ । साम्राज्यवादले गर्दा प्रथम विश्वयुद्ध भयो, रुस लगायत कैयौं देशहरुमा समाजवाद स्थापना भयो । दोस्रो विश्वयुद्ध भयो, चीन लगायत कैयौं देशमा समाजवाद स्थापना भयो । विश्वको एक तिहाई भूभागमा मजदुरहरुले समाजवाद स्थापना गरे । यदि साम्राज्यवादीहरु तेस्रो विश्वयुद्ध गरे भने संसारका सबै देशहरु साम्राज्यवादबाट मुक्त हुने छन् र समाजवादको स्थापना हुनेछ । (भाव संक्षेपमा) अहिले एकल ध्रुवीय अमेरिकी साम्राज्यवादका विरुद्ध इरानी जनता जीवन मरणको युद्ध लडिरहेका छन् । आफूलाई शक्तिशाली ठान्ने इजरायली विस्तारवाद एक प्रकारले ध्वस्त भएको छ र प्रधानमन्त्री नेतान्याहुको मृत्यु भएको अनुमान छ । उत्तर कोरिया पनि व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । अमेरिकी साम्राज्यवादले उत्तर कोरियालाई तर्साउनका लागि दक्षिण कोरियाको सेनासित मिलेर संयुक्त सैनिक अभ्यास गरेपछि उसले प्रतिकात्मक विरोधस्वरुप क्षेप्यास्त्र फालेको हो । अर्कोतर्फ इरानमाथि अमेरिकी प्रहार भइरहेको सन्दर्भमा उत्तर कोरियाले युद्धमा सहयोग गर्ने पनि बताइएको छ । इरानले हर्मुज जलडमरुमा ठूला देशहरुका जहाज रोकि दिएपछि तेलको हाहाकार मच्चिएको छ । अमेरिकी साम्राज्यवादले इरानले राखेका ३ शर्त मानेन र आत्मसमर्पण गरेन भने तेस्रो विश्वयुद्धको सबै देशले सामना गर्नुको विकल्प छैन ।
तेस्रो विश्वयुद्धको सम्भावना बढ्दै गएको वर्तमान परिवेशमा अमेरिकी साम्राज्यवाद एकातिर खाडी क्षेत्रबाट सैनिक क्याम्प हटाउन बाध्य हुँदै गएको छ र अन्य देशबाट पनि सेना फिर्ता गर्दैछ, अर्कोतिर नेपालमा भने अमेरिकी सेना तैनाथ गर्न थालिएको छ । घोषित रुपमा नेपालले एसपीपी स्वीकार नगरे पनि रास्वपाको सरकार बन्ने भएपछि अमेरिकी सैन्य अधिकारी तथा सेनाहरु आउन शुरु गरिसकेका छन् । यसबाट दक्षिण एसियामा युद्धको खतरा पनि बढेको छ । क. माओले भन्नु भएको थियो, “साम्राज्यवादीहरु कागजी बाध हुन” त्यो कुरा इरानसितको युद्धले प्रमाणित गरे पनि दक्षिण एसियामा प्रमाणित हुन बाँकी छ । यो अवस्थामा नेपालका कम्युनिस्टहरुको दायित्व के हुनेछ ?
नेपालमा कम्युनिस्ट आन्दोलनको लामो क्रान्तिकारी पृष्ठभूमि छ । कम्युनिस्ट आन्दोलनको सँगसँगै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न र नेपाली जनतालाई स्वाधीन, आत्मनिर्भर, सुखी र समृद्ध देख्न नचाहेर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले सीआइए र ‘रअ’ द्वारा विभिन्न संघसंस्थाहरु खडा गरेर दलाल राजनीतिक पृष्ठभूमि तयार गर्न थालेका थिए । त्यस दौरानमा कैयौं राष्ट्रवादी नेताहरु मारिए, तत्कालीन राजा वीरेन्द्रको त वंश नै समाप्त भयो । पछिल्लो समयमा ठूला दलका नेताहरु आफ्नो आत्मसुरक्षाका लागि अमेरिका र भारतले अगाडि सारेका असमान, अपमाजनक र राष्ट्रघाती सन्धि तथा परियोजनाहरु स्वीकार गर्दै आए । आज साम्राज्यवादबाट पुराना दलालहरुबाट काम लिइसकेपछि उनीहरुलाई मिल्काएर नयाँ दलालहरुलाई अगाडि सार्ने काम भएको छ । अमेरिकी साम्राज्यवादले नयाँ दलाल अगाडि सारे पनि नेपाली जनताको राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको समस्या हल हुने छैन । त्यो समस्याको समाधान दलाल पुँजीवादबाट सम्भव पनि छैन । सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवाद र वैज्ञानिक समाजवादले मात्र समाधान गर्न सक्छ । त्यसका लागि कम्युनिष्ट पार्टीले नै साम्राज्यवाद तथा तिनका दलालहरुका विरुद्ध संघर्ष गर्नुपर्ने हुन्छ । नेपालमा त्यसका लागि वस्तुगत अवस्था परिपक्व हुँदै गएको छ । कुनै एउटा पार्टीको संघर्षबाट त्यो सम्भव छैन । नेपालका साम्राज्यवाद विरोधी देशभक्त तथा क्रान्तिकारीहरुको संयुक्त मोर्चा आवश्यक छ । त्यसप्रकारको सशक्त मोर्चा बनाउने दायित्व कम्युनिष्टहरुको काँधमा आएको छ ।
प्रतिगामी तथा साम्राज्यवादका दलालहरुले जसरी कम्युनिस्टहरु “पत्तासाफ” भए भनेर हल्ला गरेका छन्, त्यो खाली कम्युनिस्टको खोल ओढेका दलाल कम्युनिस्ट नेताको हकमा मात्र सत्य हो । तर जनताप्रति समर्पित नेता, कार्यकर्ता तथा समर्थक शुभचिन्तकहरु परिवर्तनप्रति आज पनि संघर्षशील छन् । कुनै दल दलाल सत्तामा पुग्नु मात्रले देशको समस्या समाधान हुँदैन । त्यसैले साम्राज्यवाद विरोधी शक्तिहरु अब एक जुट हुने अवस्था आएको छ । नत्र भने साम्राज्यवाद कागजी बाध होइन, साँच्चिकै बाध बनेर नेपाललाई निल्ने छ ।
पार्टीको रुपमा कम्युनिस्टहरु “पत्तासाफ” भए पनि कम्युनिस्ट विचारको ‘पत्तासाफ” भएको छैन । कुनै पनि चीजको विकास वा विनास त्यसको आन्तरिक पक्ष निर्णायक हुनेगर्छ । जुन पार्टीहरु आज संशोधनवादमा पतन भए, त्यहाँ पुँजीवादी विचारको वर्चश्व हुन गएर हो । त्यहाँ क्रान्तिकारी पक्षले अन्तर्विरोधलाई सही ढंगले संचालन गर्न सकेनन् र पार्टी दलालीकरण तथा बुर्जुवाकरण हुन पुग्यो । त्यसले गर्दा साम्राज्यवादका दलालहरुलाई सहयोग पुग्दै आयो । कम्युनिस्टहरु जन्मनुमा कसैको निर्देशनले होइन, देशको परिस्थितिले जन्माउने कुरा हो । समाजवाद पुँजीवादको गर्भबाट जन्मन्छ । त्यो भनेको पुँजीवादले यस्तो स्थिति उत्पन्न गर्छ कि वर्गबीचको संघर्षले समाजवादी क्रान्ति अनिवार्य हुन जान्छ । नेपालमा अब त्यो स्थिति आइसकेको छ । आवश्यक परे कम्युनिस्टहरुको नेतृत्वमा लामो समयसम्म राष्ट्रिय मुक्ति आन्दोलन चलाउनु पर्ने स्थिति पनि आउन सक्छ । साम्राज्यवादका दलालहरुले अब के बुझ्नु पर्छ भने जबसम्म वर्ग रहन्छ, वर्गसंघर्ष चलिरहन्छ । वर्ग संघर्षमा जनताले साम्राज्यवादको साथ दिंदैनन् । यदि दिन्थे भने स्वयं अमेरिकी साम्राज्यवादको मुखिया ट्रम्पका विरुद्ध अमेरिकी जनताले संसार हल्लाउने गरी प्रदर्शन गर्ने थिएनन् । नेपालमा पनि कम्युनिस्टहरु नयाँ परिस्थितिमा नयाँ तरिका र शैलीमा अब संगठित हुनुको विकल्प छैन । जनता साम्राज्यवादी दमन, उत्पीडन सहेर बस्दैनन् । न त हिजो हाम्रा पूर्वजहरु साम्राज्यवादको जुआ मुनि बसेका थिए, न आजका हामी नेपालीहरु साम्राज्यवादको जुआ मुनि बस्नेछौं । साम्राज्यवादविरुद्ध अब सबै सच्चा कम्युनिस्टहरु जुट्नु पर्ने र आन्दोलनको ज्वारभाटा ल्याउनुपर्ने अवस्था आएको छ ।