
– राम सिंह श्रीस
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले भिडियो सन्देश दिएका थिए । त्यो सन्देशमा उनल,े “ अब समय आयो राष्ट्र जोगाउने हो , राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीहरुलाई आह्वान गर्दछौं” भनेकाछन् । पूर्व राजा ज्ञानेन्द्रको यो सन्देशपछि राजावादीहरु निकै हौसिएका छन् । पूर्व राजालाई यस प्रकारको सन्देश दिने आँट कसरी आयो ? यसका कारणहरु र वास्तविक विकल्प के हुन सक्छ ? भन्ने विषयमा नै यो लेखमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
समाज विकासको कालक्रमलार्ई हेर्ने हो भने कुनै जमाना यस्तो थियो कि संसारमा राजा, राजतन्त्र भन्ने कुरै थिएन । तर कालान्तरमा यस्तो अवस्था आयो संसार भरि राजा नै राजा थिए ।कोही ठूला राजा थिए ।कोही सम्राट थिए कोही साना राजा थिए । राजाहरु निकै बलिया शक्तिशाली ,तानाशाही पनि थिए । जसलाई निरंकुश राजतन्त्र भनिन्छ । समाज विकासको कालक्रममा राजा र राजतन्त्र नास हुने र त्यसको ठाउँ गणतन्त्रले लिने समय आयो । आज संसारभर त्यस प्रकारको राजाहरु र राजतन्त्र छैन। राजाहरु भएपनि प्रायः अधिकारविहीन छन् । यो लहरले नेपाललाई पनि छोयो । केही मान्छेहरुले राजा र राजतन्त्र राख्छौं भन्दा भन्दै पनि नेपालबाट राजतन्त्र समाप्त भयो । तर अहिले एकातिर पूर्वराजाले आफू फेरि राजा हुन सकिन्छ कि भनेर प्रयास गरेको पाइन्छ भने अर्कातिर राजावादीहरुले राजतन्त्र फर्काउन हर प्रयास गरिरहेका छन् । तर यो उनीहरुको दिवा सपना मात्र हो । यो सम्भव छैन किनभने इतिहासको पाङग्रा अगाडि बढ्छ पछाडि फर्कन्न । बेलायत ,जापान जस्ता देशहरुमा संवैधानिक राजाहरु छन् । त्यसै प्रकारको संवैधानिक राजतन्त्र नेपालमा पनि बनाउन सकिन्छ भन्ने तर्क आउन सक्छ वा त्यो पनि सम्भव छैन किनभने जुन समयमा बेलायत ,जापान आदि देशहरुमा संवैधानिक राजतन्त्रको व्यवस्था भयो । समाज अहिले त्यो भन्दा धेरै अगाडि बढिसकेको छ । त्यसैले त्यसप्रकारको संवैधानिक राजतन्त्र अहिलेको समाजले स्वीकार्दैन । राजा र राजावादीहरुले पुनः राजतन्त्र फर्काउन कोशिश गर्छन् भने अब उठ्ने विद्रोहले उनीहरुलाई नेपाल भन्दा बाहिर पठाउने छ ।
पूर्व राजालाई देशवासीको नाममा यस्तो सम्बोधन गर्ने आँट कसरी आयो ? यसको सीधा र स्पष्ट उत्तर छ नेपाली कांग्रेस , नेकपा एमाले र माओवादी केन्द्रको कारणले आयो । तानाशाही पञ्चायती व्यवस्थाले जनतामाथि भएको शोषण, दमन र उत्पीडनको कारणले ०४५÷०४६ सालमा जनआन्दोलन उठ्यो । त्यो आन्दोलनले निर्दलीय पञ्चायती व्यवस्थाको अन्त गरेर बहुदलीय व्यवस्थाको स्थापना ग¥यो । त्यस पछि ०६३ सालसम्म नेका र एमाले या त सरकारमा छ या त प्रतिपक्षमा छ ।०६३ सालदेखि नेकपा माओवादी केन्द्र पनि त्यो खेलमा सामेल भयो । ०४६ साल देखि अहिलेसम्म नेकाको कृष्ण प्रसाद भट्टराई ,गिरिजा प्रसाद कोइराला ,सुशिल कोइराला ,शेरबहादुर देउवा प्रधानमन्त्री भए । त्यसैगरी नेकपा एमालेबाट मनमोहन अधिकारी ,माधव कुमार नेपाल ,झलनाथ खनाल र केपी ओली पटक पटक प्रधानमन्त्री भए । ठीक त्यसरी नै नेकपा (माओवादी केन्द्र) बाट पुष्पकमल दाहाल (प्रचण्ड ), बाबुराम भट्टराई प्रधानमन्त्री भए ।पुष्पकमल ३ पटक प्रधानमन्त्री भए । यिनीहरुको शासनकालमा देशको आर्थिक ,राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक अवस्था झन् पछि झन् बिग्रदै गयो । देशमा भरखर खुलेका उद्योगहरु सबै समाप्त पारियो । वैदेशिक ऋणको भार अझ बढ्दै गयो । देशको सम्पूर्ण अर्थतन्त्र दलाल पूँजीपतिहरुको हातमा गयो । जनताको जीवनस्तर झन्पछि झन् बर्बाद हुँदै गयो । यस प्रकारको स्थितिमा अझ श्रमिक जनतामा आक्रोश र निराशा छाएको छ । नेका ,एमाले र माओवादी केन्द्रको कारणले जनतामा आएको निराशा र आक्रोसबाट फाइदा उठाउन सकिन्छ कि भन्ने पूर्वराजा र राजावादीहरुलाई लागेको छ । यसको साथै भाजपाले पनि त्यसका निम्ति उक्साएको पाइन्छ ।
जनताको यसप्रकारको निराशा र आक्रोशबाट राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता पार्टीले पनि फाइदा उठाउन खोजिरहेका छन् । तर उनीहरुबाट पनि समस्याको समाधान हुन सक्दैन । किनभने त्यो पनि यही संसदीय व्यवस्थामा रमाउने एउटा राजनीतिक पार्टी हो । यो संसदीय व्यवस्था भित्र हुने यस्तै हो । निश्चित रुपमा सत्तामा गएका राजनीतिक पार्टीहरुको व्यवहार थोरै मात्रामा पनि सही भएको भए आंशिक रुपमा केही सुधार हुने थिए । तर ती पार्टीहरु अत्यन्तै भ्रष्ट भएका कारणले देशमा सामान्य सुधारका कामहरु पनि हुन सकेन ।
आज राजनीतिक पार्टीहरुको कारणले देश यो अवस्थामा आयो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । कतिपय बुद्धिजिवीहरुबाट पनि यसो गर्न खोजेको पाइन्छ । यो भनाइ सर्वथा गलत छ ।यो प्रस्थापनालाई मान्ने हो भने देशमा राजनीतिक पार्टीहरु चाहिन्न भन्ने निश्कर्षमा पु¥याउँछ । त्यसैले राजावादीहरुले यही कुरामा विशेष जोड दिएको पाइन्छ । इतिहासलाई हेर्ने हो भने राजनीतिक पार्र्टीहरुको जन्म धेरै पछि मात्र भएको हो । नेपालमा त राजनीतिक पार्टीहरुको जन्म भएको १ सय वर्ष पनि पुगेको छैन । संसारभर राजनीतिक पार्टीहरुको जन्म समाजको ऐतिहासिक आवश्यकताले भएको हो । त्यसकारण राजनीतिक पार्टीहरुको आवश्यकता छैन भन्नु ऐतिहासिक आवश्यकतालाई अस्वीकार गर्नु हो । यसो गर्न समाज विकासको क्रमलाई अस्वीकार गर्नु हो । नेपालको सन्दर्भमा भन्नु पर्दा सबै राजनीतिक पार्टीहरुको कारणले गर्दा देश यो अवस्थामा आएको होइन कि २०४६ साल पछि नेपाली कांग्रेस ,नेकपा एमाले र नेकपा (माओवादी केन्द्र ) जस्ता संसदवादी राजनीतिक पार्टीहरुको कारणले गर्दा देशको अवस्था यस्तो भएको हो भन्नु सही र वस्तुवादी हुन्छ । किनभने २०४६ साल पछि यी नै तीन पार्टी कहिले एकल कहिले संयुक्त रुपमा सरकार चलाइरहेका छन् ।
वि.सं २०४६ सालको परिवर्तन पछि नेपाली जनताले अब देशमा केही हुन्छ भन्ने आशा गरेका थिए । तर जनताले आशा गरे जस्तो भएन । ठीक त्यसरी नै २०६२ ÷६३ को आन्दोलन पश्चात २०६५ सालमा राजतन्त्रको अन्त भएर गण्तन्त्रको स्थापना पछि अब त नेपाली श्रमिक जनताकोलागि केही हुन्छ भन्ने जनतालाई लागेको थियो । तर त्यसपछि पनि नेपाली श्रमिक जनताको पक्षमा कुनै कार्य हुन सकेन । नेपाली श्रमिक जनतालाई राजतन्त्रको अन्त भएर गणतन्त्र आएपछि पनि संसदीय व्यवस्थाबाट केही हुन्छ कि भन्ने लाग्नु भ्रम थियो । नेपाली श्रमिक जनताको हितमा काम हुनका लागि राज्य सत्ता श्रमिक जनताको हातमा आउनु पर्दछ ।२०४६ साल र २०६५ सालको परिवर्तनहरुमा शासकीय स्वरुपमा केही परिर्वतन त भए तर राज्यसत्ता उही पुरानै शोषक वर्ग दलाल नोकरशाही पूँजीपति र सामन्त वर्ग कै हातमा नै रह्यो । जनताले यो कुरा बुझेनन् अर्थात बुझाउन सकिएन ।त्यसको परिणाम नेपाली श्रमिक जनताले गणतन्त्र आएपछि के के न आयो भन्ने बुझे तर परिणाम उल्टो आयो । त्यसले आज जनतामा व्यापक निराशा र आक्रोश छ ।
गणतन्त्र दुई प्रकारको हुन्छ । एउटा वुर्जवा गणतन्त्र जसमा राज्यसत्ता दलाल, नोकरशाही तथा सामन्त वर्गको हातमा हुन्छ अर्को जनगणतन्त्र हो । जसमा राज्यसत्ता मजदुर किसान लगायत श्रमिक वर्गको हातमा हुन्छ । नेपालमा अहिले भएको गणतन्त्र वुर्जवा गणतन्त्र हो । हामी नेपाली श्रमिक वर्गलाई चाहिएको गणतन्त्र जनगणतन्त्र हो । नेपाली श्रमिक जनताको हित जनगणतन्त्र हुँदै समाजवादी गणतन्त्रमा जाने कुराले गर्दछ ।
नेकपा (एमाले ), नेकपा (माओवादी केन्द्र ) बारे पनि जनता प्रस्ट हुन जरुरी छ । यी दुईवटा पार्टीले आफूलाई कम्युनिष्ट पार्टी भएको दावी गर्छन् तर उनीहरुले भनेको कुरा सत्य होइन । कम्युनिष्ट पार्टी भनेको सर्वहारा वर्गको राजनीतिक पार्टी हो । कम्युनिष्ट पार्टीले जहिले पनि मजदुर ,किसान लगायत आम श्रमिक जनताको हितमा काम गर्दछ । नेकपा (एमाले)र माओवदाी केन्द्र पटक पटक सरकारमा गए अहिले पनि नेकपा एमालेको नेतृत्वमा सरकार छ तर यी दुई वटा पार्टीले कहिले पनि नेपाली मजदुर र किसानको हितमा काम गरेनन् । यिनीहरुको सरकारले जहिले पनि दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गको हितमा काम ग¥यो र गरिरहेको छ । यी पार्टीहरुले वुर्जुवा गणतन्त्रलाई संस्थागत गर्ने कुरा गर्दछन् । ताप्लेजुङको मुक्कलुङमा एउटा पूँजीपतिको स्वार्थ पूरा गराउन स्थानीय जनतामाथि गोली चलाउन ,दमन गर्नुले पनि एमालेले कस्को पक्षमा काम गरिरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । ठाउँ ठाउँमा सुकुमवासीहरुलाई उठीवास गराएको छ , उखु उत्पादन गर्ने किसानहरु ,दूध उत्पादन गर्ने किसानहरुले वषौं सम्म भुक्तानी पाएका छैनन् । एमाल,े माओवादी केन्द्र कानमा तेल हालेर बस्छ । त्यसकारण अब एमाले र माओवादी केन्द्रको नक्कली अनुहारको पर्दाफास गर्दै वुर्जुवा गणतन्त्रलाई संस्थागत गर्ने होइन जनगणतन्त्र हुँदै समाजवादी गणतन्त्रमा जानलाई संगठित भइ संघर्षमा उत्रनु सम्पूर्ण नेपाली श्रमिक जनताको अहिलेको कार्यभार हो । ( २०८१ फागुन १३ गते)