
काठमाडौं : अमेरिका र इजरायलले इरानमाथि गरिरहेको क्रुर हमलालाई राष्ट्रिय क्रान्तिकारी मोर्चाको ऐक्यबद्धता गरिरहेको छ ।
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको कार्य सम्पादन समितिको २०८२ चैत्र २ गते बसेको बैठकपछि मोर्चाका संयोजक सन्तबहादुर नेपालीद्वारा जारी प्रेस वक्तव्यमा सो ऐक्यबद्धता प्रकट गरिएको हो
गत फेब्रुअरी २८ (माघ १६ गते) अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनेईलाई हत्या गरे सँगै यो युद्ध सुरु भएको थियो ।
वक्तव्यमा इरान–अमेरिका युद्धको प्रभावमा परेका देशमा रहेका नेपालीहरुको उद्धार र पुनस्र्थापनामा जोड दिइएको छ । नेपालमा राष्ट्रिय स्वाधीनता खतरामा पर्दै गएकाले देशभक्त, जनतान्त्रिक, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुको एकतामा जोड दिइएको छ । वक्तव्यमा ग्याँस र पेट्रोलियम पदार्थमा सिर्जना गरिएको कृत्रिम अभाव हटाउन, सुर्खेतमा इनिशा वि.क.को हत्यारालाई कार्वाही गर्न, कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसित माग गरिएको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीले २०८२ चैत्र ३ गते जारी प्रेस वक्तव्यको पूर्णपाठ यसप्रकार छ–“राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको कार्यसम्पादन समितिको बैठक २०८२ चैत्र २ गते मोर्चाका संयोजक क. सन्तबहादुर नेपालीको अध्यक्षतामा बस्यो । बैठकमा इरान–अमेरिकी युद्ध, युद्धरत देशमा रहेका नेपालीहरुको उद्धार र पुनस्र्थापना, ग्याँस र पेट्रोलियम पदार्थको कृत्रिम अभाव, कालोबजारी, इनिशा वि.क.को हत्या, कार्की आयोग प्रतिवेदन, देशभक्तहरु बीचको संयुक्त मोर्चा आदि विषयमा छलफल भयो । बैठकले लिएका निर्णयहरुलाई सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१) भेनेजुएलामाथि आक्रमण र राष्ट्रपति मादुरो र उनकी पत्नीलाई अपहरण गरेपछि अमेरिकी साम्राज्यवादले इजरायलसँग मिलेर ईरानमाथि भीषण हमला गर्दै त्यहाँका सर्बोच्च नेता अयातुल्ला अलि खामेनेई लगायत उच्च ईरानी अधिकारीहरुको हत्या साथै १७५ जना विद्यार्थीहरुको हत्या गरेर मध्यपूर्वमा भीषण युद्धको शुरुवात गरेको छ, इरानद्वारा प्रतिकार गर्ने क्रममा त्यसले बिश्वलाई नै तेश्रो विश्व युद्धको सँघारमा धकेलेको छ र अमेरिकाको त्यो हर्कतले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तराष्ट्रिय कानुन, अभिसन्धिहरु र राष्ट्रहरुको सार्बभौमिकताको सिद्धान्तको घोर उलंघन गरेको छ ।
विश्वका न्यायप्रेमी जनतासँगै राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल पनि इरानमाथि युद्ध थोपर्ने अमेरिकी–इजराइली साम्राज्यबादको घोर बिरोध गर्दछ र तत्काल यो युद्ध रोक्न कुटनीतिक पहल, वार्ता गरी समस्याको राजनीतिक समाधान खोज्न तथा ईरानी जनता र राष्ट्रको सार्वभौम सत्ताको सम्मान गर्न, युद्ध थोपरेर भएको नोक्सानीको क्षतिपूर्ति गर्न र आगामी दिनमा यस्तो नरसंहारकारी आक्रमण नगर्न सम्बद्ध पक्षहरुसित जोडदार माग गर्दछ तथा यो अत्यन्तै भयावह र अन्यायपूर्ण साम्राज्यबादी आक्रमणका बिरुद्ध इरानको न्यायपूर्ण तथा कडा प्रतिरोधप्रति हाम्रो मोर्चा ऐक्यबद्धता जनाउँदछ ।
२) यो त्रासद युद्धको चपेटामा परेर खाडीका बिभिन्न देशमा काम गर्न गएका लाखौं लाख नेपालीहरुको जीवन असुरक्षित र संकटग्रस्त बनेको र उनीहरुले हार गुहार मागिरहेको भयावह अबस्थामा तिनको जीवनको रक्षा गर्न र सुरक्षित स्वदेश फिर्ता ल्याउने शिघ्रातिशिघ्र सम्भव सबै किसिमको प्रबन्ध गर्न र तिनलाई स्वदेशमै आवश्यक रोजगारी प्रदान गर्न समेत मोर्चा राज्यसँग जोडदार माग गर्दछ ।
३) आज हाम्रो देशको राष्ट्रिय सार्वभौमिकतामाथि विदेशी हस्तक्षेपको खतरा बढ्दै गएको र हाम्रो भूराजनीतिक अवस्थितिलाई मध्यनजरमा राखेर बिशाल र शक्तिशाली छिमेकी देशहरु र अन्य आणविक शक्ति राष्ट्रहरुसँग अनाक्रमण सन्धि गर्न, असंलग्नता, पञ्चशील, संयुक्त राष्ट्र संघको बडापत्र,अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रहरुको सार्बभौमिकताको सिद्धान्त समेतको आधारमा परस्पर सौहार्दपूर्ण र सुरक्षित सम्वन्ध कायम राख्न सबै राष्ट्र समुदायसँग सम–मैत्री सम्वन्ध कायम गर्न मोर्चा बिशेष माग गर्दछ ।
४) युद्धको चपेटामा परेर खाना पकाउने ग्यास, परिवहन,तेल आदिको कृत्रिम अभाव देखाएर मृल्य बृद्धि हुन थालेको,मुद्रा स्फिति र कालो बजारी बढ्न गई जनतालाई आक्रान्त पार्न थालेकोले त्यसलाई कडाईका साथ रोक्न र जनतालाई अभाव, महँगी र असुक्षाको स्थितिबाट मुक्त गर्न सरकारसँग जोडदार माग गर्दछ ।
५) भदौ २३ को जेनजी विद्रोह र २४ गतेको विध्वंशको छानबिन गर्न बनेको पछिल्लो गौरीबहादुर कार्की आयोगका साथै, रायमाझी आयोग र मल्लिक आयोगका सम्पूर्ण प्रतिबेदनहरु कुनै पनि प्रकारको टालमटोल नगरी तत्काल सार्बजनिक गर्न र अपराधीमाथि बिना मोलाहिजा कडा कारबाहीको दायरामा ल्याउन, सुशासनको शुरुवात गर्न र अवैध सम्पत्तिको छानवीन गर्न माग गर्दछ ।
६) सर्खेतमा किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको जघन्य यौन अपराध र हत्याका अपराधीहरुमाथि कडा र हदैसम्मको कारबाही गर्न माग गर्दछ । यस्ता जघन्य यौन अपराध लगायत महिलामाथि हुने गरेका सबै किसिमका अपराध पूर्णरुपले रोक्न कानुनी र अन्य सबै आवश्यक उपायहरु कार्यान्वयन गर्न माग गर्दछ ।
७) सबै प्रकारका बाह्य हस्तक्षेपका बिरुद्ध साम्रज्यवाद विरोधी सम्पूर्ण देशभक्त, जनतान्त्रिक, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु पहिले भन्दा बढी संयुक्त र मोर्चाबद्ध भएर अघि बढ्नु पर्ने राष्ट्रिय आवश्यकता अझ बढेको यथार्थता माथि ध्यान दिंदै बैठकले त्यसका लागि साम्राज्यवादको विरोध गर्ने सबै शक्तिहरु मोर्चामा सम्बद्ध हुन सबै पक्षसित पुनः जोडदार आग्रह र आह्वान गर्दछ ।”